भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – १९

  • मंसिर ७, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – १९

कपडा युनियनका प्रतिनिधिहरूसँग राज्यले नियुक्त गरेको त्यो निरीक्षकले भन्यो, “मैले कुनै पनि मजदुर युनियनसँग वार्ता गर्न मिल्दैन । ऐनअनुसार मलाई विवाद उत्पन्न भएको ठाउँका निश्चित मजदुरहरूसँग मात्र छलफल गर्ने अधिकार छ ।”
प्रतिनिधि टोलीले भन्यो, “तर, हामी कानुनअनुसार नै कुरा गर्दै छौँ । कानुनी अधिकारीहरूले नै हाम्रो तह तोकिदिएका हुन् । युनियनसँग आफ्ना सदस्यहरूका आवश्यकताको विषयमा व्यक्ति विशेष र सरकारी संस्थानका अधिकारीसँग वार्ता गर्ने अधिकार छ ।”
यी दुईथरी ‘कानुनपालक’ बिचको मतभेद संयोगले हल भयो । युनियनको प्रतिनिधित्व गर्दै आएका एक व्यक्ति निकालामा परेका रहेछन् । उनी पीडित हुनाले उद्योग निरीक्षकलाई वार्ता गर्न कर लाग्यो । दुई घण्टासम्म वार्ता चल्यो । निरीक्षक खुट्टा तन्काएर आरामकुर्सीमा बसिरह्यो । युनियनका प्रतिनिधिहरू हातमा टोपी समाएर मजदुरको हित ‘रक्षक’ सामु दुई घण्टासम्म उभिरहे ।
निरीक्षकले भन्यो, “जहाँसम्म पुलिसले कारखानामा जाने मजदुरहरूसँग दुव्र्यवहार गरेको र कुटपिट गरेको कुरा छ तिमीहरूले प्रहरी प्रमुखकहाँ जाहेरी दिनुपर्छ । यो कुरा मेरो अधिकार क्षेत्रभित्र पर्दैन । यसमा म तिमीहरूलाई सहयोग गर्न सक्दिनँ ।”
निरीक्षकले कारखाना प्रशासनको कामकारबाहीमा पनि हस्तक्षेप गर्न नमिल्ने बतायो । उसको कुरा सुन्दा सबथोक ठीकठाक चलिरहेझैँ लाग्थ्यो । मजदुरहरूले पन्ध्र दिनको ज्याला सुरुमै लिन नमिल्ने उसले बतायो । मजदुर मालिकहरूले आपसमा सल्लाह गरी गरेको तालाबन्दी तोड्ने अधिकार आफ्नो विभागसँग नभएको निरीक्षकको तर्क थियो । सबैलाई बिदा गर्दै उसले भन्यो, “तिमीहरूको मुद्दा मिल्दैन ।”
उद्योग निरीक्षकसँगको भेटले फेरि एकपल्ट रुसको कानुन कसका लागि बनाइएको हो भन्ने पुष्टि भयो । मजदुरहरूले आफूमाथि मात्र भर पर्न सक्थे । सेन्ट पिटर्सबर्गका सर्वहाराहरूको मैत्रीपूर्ण सहयोगमा भर पर्न सक्थे । उनीहरूले सहयोग पनि पाए । तालाबन्दीबाट प्रभावित महिला र पुरुष गरी दुवैथरी मजदुरलाई पिटर्सबर्गका अन्य कारखानामा काम गर्ने मजदुरहरूले सहयोग पठाए । त्यति नै बेला नजिकैको अर्को ठुलो सुती कारखानामा २ हजार थप मजदुरलाई कामबाट निकाला गरियो । अब मजदुरहरूले एउटा कारखानाको लडाइँ समस्त मजदुरवर्गले एकैबाजि लड्नुपर्छ भन्ने बुझे ।
कपडा कारखानाका मालिकहरूले गरेको तालाबन्दीका कारण सेन्ट पिटर्सबर्गका सबै मजदुरहरू आक्रोशित भए । कतैकतै अराजक तत्वहरूले प्रचारबाजी सुरु गरे । उनीहरूले मेसिन तोडफोड र आगजनीजस्ता आतङ्ककारीविधि अपनाएर बदला लिन आह्वान गरे । सामाजिक जनवादीहरूले यो प्रचारको विरोध गरे । यस्तो विधिमा जाँदा मजदुर वर्गमाथि झन् नयाँ विपत्ति आइलाग्छ भनेर सम्झाए । सामाजिक जनवादीहरूले सदैव यस्ता विधिलाई अस्वीकार गर्दै आएका थिए । आतङ्ककारी विधि बेकार छ । यसले मजदुर आन्दोलनलाई हानि मात्र गर्छ भन्ने थियो । राम्रै भयो,थोरै मान्छेले मात्र ती अराजकतावादीहरूलाई समर्थन गरे । छिट्टै नै हामी त्यो विचारमाथि हावी हुन सफल भयौँ ।
कपडा कारखानाका मजदुरहरूलाई सेन्ट पिटर्सबर्गका सर्वहाराले दिएको सहयोगले अर्कै रूप लियो । निकालामा परेका मजदुरहरूलाई राहत दिनका लागि छिट्टै विभिन्न कलकारखानामा चन्दा सङ्कलन सुरु भयो । यसरी जम्मा भएको रकम संसद्को सामाजिक जनवादी समूहलाई पठाइन्थ्यो र हाम्रो समूहले त्यसलाई सही तरिकाले वितरण गर्ने चाँजो मिलाउँथ्यो ।
तालाबन्दीको सुरुका दिनहरूमा कपडा मजदुरहरूले सामाजिक जनवादी समूहले हजारौँ मजदुरहरूलाई निकाला गर्ने मालिकहरूको खेलबारे सदनमा प्रश्न उठाउनुप¥यो भनेर माग गरेका थिए । त्यो मागका सम्बन्धमा हामीले तुरुन्तै आपत्कालीन बैठक डाकेर प्रश्नको खेस्रा गर्ने निधो ग¥यौँ । मौका पाउँदाबित्तिकै ती प्रश्न सदनमा राख्ने हामीले सोचेका थियौँ । फेब्रुअरीको सुरुमा हामीले त्यो खेस्रा तयार पारेका थियौँ । तर, मार्च १ सम्म पनि सदनमा त्यसलाई छलफलको विषय बनाइएन । तालाबन्दी सुरु भएको ६ हप्ता बितिसकेको थियो । संसद्का बहुमत सांसदले जानाजान हाम्रो प्रश्नको छलफललाई पछि सारेका थिए । प्रश्नबारे छलफल हुनुभन्दा अगाडि नै मजदुरहरूको उत्साह सेलाओस् भनेर त्यसो गरिएको थियो ।
विद्यमान कानुनको उल्लङ्घन पक्रेर मात्र सरकारलाई प्रश्न सोध्न सकिन्थ्यो । तालाबन्दी त्यसप्रकारको उल्लङ्घन थिएन । किनभने, रुसी साम्राज्यको कानुनले मजदुरहरूलाई सामूहिक निकाला गर्नबाट रोक्दैनथ्यो । त्यसकारण, कानुनी तरिकाले प्रश्न तयार गर्नका लागि उद्योग निरीक्षक आफ्नो कर्तव्य पालन गर्नमा असफल भएको विषय समातियो । यो वैध आधारभित्र खँदिलो कुरा थियो । यसभित्र मजदुर वर्ग र तिनका युनियनहरूविरुद्ध पुँजीपतिहरूले सङ्गठित अभियान चलाएको कुरा उदाङ्ग्याउने ठाउँ थियो ।
हाम्रो प्रश्न मिल मालिकहरूले घोषणा गरेको आम तालाबन्दीको सामान्य असरबाट सुरु हुन्थ्यो । सारमा, हाम्रो समूहले उद्योग निरीक्षकले गरेको गैरकानुनी कामबारे उद्योग तथा वाणिज्य मन्त्रीसँग सदनले सोध्नुपर्ने प्रस्ताव राख्यो । उद्योग निरीक्षकले ‘आफ्नो विभागका कर्मचारीहरूलाई कानुनबमोजिम आआफ्नो कर्तव्य पूरा गर्न उत्साहित गरेको’ बताएका थिए ।
हाम्रो प्रश्नलाई सदनले स्वीकार ग¥यो । तर, यसको हाल पनि हाम्रो समूहले राखेका अघिअघिका प्रश्न जस्तै हुने निश्चित थियो । हाम्रो प्रश्न सुनेपछि सम्बन्धित मन्त्रीहरूले कर्मकाण्डी कर्मचारीतन्त्रलाई अघि सारे । ‘छानबिन हुँदै छ’, ‘प्रतिवेदनको पर्खाइमा छौँ’ जस्ता अल्झो थापियो । यसरी हाम्रो प्रश्न सरकारी ढड्डाको धुलोमा हराइसकेपछि, मुद्दा सेलाइसकेपछि अन्त्यमा गएर मन्त्रीले आफ्नो औपचारिक दायित्व पूरा गरे र आफ्नो ‘व्याख्या’ प्रस्तुत गरे ।
प्रश्नको जवाफ ६ महिनापछि आयो । उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारी लित्भिनोभ–फालिन्स्कीले जवाफ दिए । उनले राजशाही सरकारको समग्र मजदुर नीतिका प्रस्तावक र कार्यपालकको नाम कमाएका थिए । घटनाबारे उनले दिएको जवाफ मनपरीतन्त्रको हद थियो । जारशाही मन्त्रहरूको भन्दा पनि कपटीजवाफ थियो उनको । लित्भिनोभले हामीले प्रश्नमा चित्रण गरेको स्थिति वास्तविक होइन भने । सुती कारखानाको कार्डिङ विभागमा ज्याला नघटाइएको बताए । तालाबन्दी भएकै छैन र उद्योग निरीक्षकले कुनै गैरकानुनी कार्य नगरेको भने । त्यसबेला चलनचल्तीमा रहेको मापदण्डअनुसार पनि यस्तो अभिव्यक्ति सरासर भड्किलो थियो । यो सुनेर सदनका अति दक्षिणपन्थीहरू मार्कोभ, पुरिश्केभिचहरू र तिनका मित्रमण्डली हर्षले गद्गद् भए । उनीहरूले दिल खोलेर ताली बजाए र ‘वामपन्थीहरूको झूट’ भन्दै हाँसो उडाए ।
सुतीको मिलको सङ्घर्ष टुङ्गिएको पनि थिएन कपडा कारखानाहरूमा तालाबन्दीको नयाँ सिलसिला सुरु भयो । यसले गर्दा म्याक्सवेल कारखानाका मजदुरहरू प्रभावित भए । सन् १९१२ को डिसेम्बरमै तीतो विवाद सुरु भइसकेको थियो । यहाँ मालिकहरू झन् ठाडो आक्रमणमा उत्रेका थिए । अघिल्लो विवादमा जस्तै यहाँ पनि राजनीतिक हडतालमा उत्रेको भन्दै मजदुरहरूलाई निकाला गरियो । (ती मजदुरले लेनामा भएको नरसंहारको विरोधमा हडताल गरेका थिए ।)
एउटा बैठक बस्यो । मजदुरहरूले ज्याला र निष्कासन दुवैलाई अस्वीकार गर्ने र त्यसको जवाफ हडतालबाट दिने निर्णय गरे । कारखानाबाट निष्कासित गरिएका मजदुरहरूलाई पुनः बहाल गर्ने मागसहित यो हडताल हुने भयो । साथमा, कार्यस्थलको अवस्था सुधार गर्नुपर्ने माग पनि राखियो । अभाव हुँदाहुँदै पनि मजदुरहरूले ठूलो उत्साहसाथ सङ्घर्ष गरे । अघि जस्तै यसपालि पनि उनीहरू सेन्ट पिटर्सबर्गका सर्वहाराहरूमाथि भर परेका थिए ।
हडतालीहरूले मलाई राहत कोष सङ्कलन गर्न अनुरोध गरे । हडतालको सुरुमै मैले ‘प्राभ्दा’ मा सम्पूर्ण मजदुरहरूलाई सम्बोधन गर्दै एउटा अपिल प्रकाशित गरेँ । त्यसको जवाफ सन्तोषप्रद नै रह्यो । सबै कारखानामा चन्दा सङ्कलन भयो । साँझपख सबै चन्दा मकहाँ आइपुग्यो । मैले त्यो रकम हडतालीहरूका प्रतिनिधिलाई दिएँ । पहिलो दिन ७०० रुबल, दोस्रो दिन ५०० रुबल र एवंरितले हडताली कोष जम्मा हुँदै गयो ।
मालिकको तालाबन्दी र मजदुरको हडताल महिनादिन नै चल्यो । मे २ गते कारखाना खुल्यो तर कारखाना प्रशासनले सबै मजदुरलाई बहाल गरेन । प्रशासन आफ्नो योजनामा पूरै सफल भने भएन । तालाबन्दी गर्दा सुरुमा उनीहरूले ज्याला कटौती गर्ने र कामको समय लम्ब्याउने घोषणा गरेका थिए । तर, पछि उनीहरूले पुरानै ज्याला कायम गर्नुप¥यो । लामो र सङ्गठित सङ्घर्ष चलाएका मजदुरहरूका लागि यो निर्णय जित नै थियो ।
सन् १९१३ को वसन्त याममा धेरै कपडा उद्योगले पुनः तालाबन्दीको घोषणा गरे । बजारको अवस्था अनुकूल नहुँदासम्म मिल मालिकहरूले तालाबन्दी गरिरहे । गर्मी याममा आउँदै गरेको निज्नी नोभगोरोद मेलाका कारण कपडाको बजार सुध्रिन थाल्यो । अब मालिकहरूको लागि तालाबन्दी उति लाभदायी देखिएन । अनेक आर्थिक हडतालका कारण मजदुरको कार्यवस्था सुध्रिने भयो । उनीहरूको ज्याला अलि बढ्ने देखियो ।
सन् १९१२–१३ को तालाबन्दीताक सेन्ट पिटर्सबर्गका कपडा मजदुरहरूले धेरै दुःखकष्ट व्यहोर्नुप¥यो । कताकति पराजय भोग्नुपरे पनि धेरै ठाउँमा मजदुरहरू विजयी भए । सर्वहाराहरूमा पिछडिएका कपडा मजदुरहरूले सङ्गठन र ऐक्यबद्धताको महत्व बुझे । दुःखकष्ट खेर गएन । त्यसले भविष्यका ठूला लडाइँको लागि मजदुरहरूलाई अझ तम्तयार र इस्पात बनाउने काम ग¥यो ।
पाठ ९
लेसनर कारखानाको हडताल
हडतालको कारण । स्त्रोङ्गिनको अन्त्येष्टि । लेसनर कारखानाका मजदुरहरूको सङ्घर्ष । मजदुरहरूको ऐक्यबद्धता । तीन महिना लामो सङ्घर्ष । रेलवेले झुपडपट्टी मर्मत गरिदियो ।
विश्वयुद्ध सुरु हुनुभन्दा ठीक अघिका वर्षहरूमा सेन्ट पिटर्सबर्गका मजदुरहरूले साङ्गठनिक एकता र शक्तिको अनेक प्रमाण दिए । तर, सोही अवधिमा लेसनर कारखानामा भएको सघन र पराक्रमी सङ्घर्षको स्थान विशेष छ । यो सङ्घर्ष सन् १९१३ को गर्मी यामभरि चल्यो ।
लेसनर कारखानामा भएको हडताललाई राजनीतिक वा आर्थिक भनेर कित्ताकाट गर्न सकिन्न । क्रान्तिकारी उभारको अवधिमा भएका धेरै हडतालमध्ये एउटा थियो त्यो । मजदुरहरूको एउटै माग थियो – हाम्रो एक कामरेडको मृत्युको दोषीफोरमेनलाई निकाला गर्नुपर्छ । झट्ट हेर्दा यो मुद्दा मामुली थियो । तर, यो हडताल एउटा लामो, जुझारु र खुला लडाइँको कारण बन्न पुग्यो । पुँजीपतिवर्गले मजदुरवर्गमाथि थोपरेको दुर्दशाबिच यस्तो लडाइँ हुनु स्वाभाविक थियो ।
‘नयाँ लेसनर’ कारखानामा भएको हडताल यसरी सुरु भयो । एउटा मेसिन ज्यासलको फोरमेनले स्त्रोङ्गिन नाउँका मजदुरलाई केही सय नट–बोल्ट दिएछ । मजदुरले त्यसमा धारी लगाउनुपर्ने थियो । काम गर्ने सिलसिलामा केही नट हराएछन् । काममा भुल्नाले केही नट फोहरको थुप्रोमा खसेछन् र कतिपय अर्को ज्यासलमा उछिट्टिएछन् । स्त्रोङ्गिनले यो कुरा फोरमेनलाई भने । एक्कासि फोरमेन रिसले बम्किन थाल्यो । उसले मुखमा आए जतिको गालीगलौज ग¥यो । दुई दिनभित्रै हराएका नट ल्याउन भन्यो । नत्र ‘मैले तँलाई लातैलातले भकुर्नेछु र तेरो ज्याला–पुस्तिकमा ‘चोर’ भनी लेख्नेछु’ भन्यो । स्त्रोङ्गिनले नट भेटाउन सकेनन् । उनले आफू चोर होइन भनी प्रमाणित गर्न पनि सकेनन् । फोरमेनले भकुर्नेर चोर भनेर हल्ला गर्ने कुरा उनको दिमागमा घुमिरह्यो । त्यो अपमानको क्षण सम्झिल्याउँदा उनी झसङ्ग भइरहे । स्त्रोङ्गिनले रातमा पनि काम गर्ने अनुमति मागे । रातको बेला उनी मान्छे उति नजाने ठाउँहरूमा गए र त्यही सिँढीमुनि झुन्डिएर आत्महत्या गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *