भर्खरै :

क्युवालीले मनाए संरा अमेरिकामाथि विजय दिवस

हवाना । हरेक वर्षको अप्रिल १९ मा समाजवादी देश क्युवाले संरा अमेरिकी हमलामाथिको विजय दिवसको रुपमा मनाउँदै आएको छ । यो वर्ष पनि भोलि क्युवाले संरा अमेरिकी हमलामाथिको ५७ विजय दिवस मनाउँदैछ । आजभन्दा ५७ वर्षअघि अप्रिल १९ को दिन क्युवाली लडाकुहरुले तालिमप्राप्त र हातहतियारले सुसज्जित १५ सय अमेरिकी लडाकुहरुलाई नियन्त्रणमा लिएका थिए । अमेरिकी तालिमप्राप्त लडाकुहरुले बे अफ पिगबाट क्युवामा भर्खरै स्थापना भएको समाजवादी बन्दोबस्तमाथि हमला गर्ने प्रयास भएको थियो । क्युवाली लडाकुहरुले उनीहरुको त्यो प्रयासलाई असफल बनाएका थिए । अमेरिकी महादेशमा त्यो घटनालाई संरा अमेरिकाको सबभन्दा ठूलो पराजय मान्ने गरिन्छ ।
मंगलबार क्युवाली कम्युनिष्ट पार्टी र क्युवाली युवा संघको आयोजनामा ५७ वर्षअघि फिडेल क्यास्ट्रोले समाजवादी क्रान्तिको घोषणा गरेको चोकमै ५७ औं संरा अमेरिकामाथि क्युवाली विजय दिवस मनाइयो ।
‘हाम्रो पुस्ता कदापि टुक्रिएको पुस्ता बन्ने छैन बरु यो हाम्रो आदर्शको निरन्तरता र रक्षाको पुस्ता बन्नेछ । त्यसैले क्युवाली क्रान्ति एउटै मात्र छ ।’, कार्यक्रममा बोल्दै क्युवाली युवा संघका माइलिन अल्बर्टेले भने ।
सन् १९५९ को जनवरीमा क्युवाली राजधानी क्रान्तिकारी विद्रोहीले कब्जा गरिसके वाशिङ्टनले क्युवामाथि चर्को दबाब थोप¥यो । नयाँ सरकारलाई कमजोर बनाउने वाशिङ्टनले राजनीतिक र आर्थिक रुपमा क्युवाले ठूलै दबाब दिएको थियो । व्यापारमा रोक र तेल पठाउन बन्द मात्र गरेन वाशिङ्टनले बरु सशस्त्र प्रतिक्रान्तिकारी समूह परिचालन गरेर क्रान्तिकारी सरकारलाई दबाउन खोज्यो ।
सन् १९६० मा तात्कालीन संरा अमेरिकी राष्ट्रपति एजनआवरले सीआईएलाई क्युवाली टापु कब्जा गर्न क्युवाबाट भागेका भगुवा क्युवालीहरुलाई आर्थिक बन्दोबस्त गर्न, सशस्त्र दस्तामा भर्ती गर्न र तालिम दिन आदेश दिएका थिए ।
संरा अमेरिकी सेनाजस्तै जल र थल दुवै क्षेत्रमा लड्न सक्ने त्यस्तो सशस्त्र टोलीलाई ब्रिगेड २५०६ नाम दिइएको थियो । त्यो टोलीसँग स्वचालित हतियार, बख्तरबन्द सैनिक गाडीहरु र ३० वटा युद्धक विमानहरु थिए ।
सीआईएले क्युवाको पश्चिमी मातान्जस क्षेत्रको दक्षिणमा अवस्थित जापाता जलक्षेत्रबाट हमला थाल्ने योजना बनाए । त्यहाँ कमै मात्र मानिसको बसोबास थियो र जाने बाटा पनि थोरै मात्र थिए । ४ हजार ५ सय २० वर्ग किलोमिटरमा फैलिएको त्यो क्षेत्रमा जम्मा नौ हजारमात्र मानिस बस्थे ।
अप्रिल १७ सन् १९६१ को बिहानबाट क्युवामाथिको हमला शुरु गरियो । प्लाया लार्ज र प्लाया गिरोन भन्ने स्थानहरुबाट हमला शुरु गरियो । तीन दिनसम्म उनीहरुको लडाई क्युवाली क्रान्तिकारी लडाकुहरुसँग भयो । अप्रिल १९ को दिन संरा अमेरिकी तालिमप्राप्त प्रतिक्रान्तिकारी लडाकुहरु पराजीत भए । सीआईएको आक्रमण ७२ घण्टा पनि टिक्न सकेन । प्रतिक्रान्तिकारी समूहबाट ८८ जनाले ज्यान गुमाए भने १ हजार १ सय ९७ जना पक्राउ परे । क्युवाली पक्षका १५५ जना योद्धाहरु मारिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *