भर्खरै :

अफ्रिकाको ‘अफगानिस्तान’ बन्ने मार्गमा सुडान

  • मंसिर ८, २०८२
  • हुसेन हक्कानी
  • विचार
अफ्रिकाको ‘अफगानिस्तान’ बन्ने मार्गमा सुडान

लामो द्वन्द्वका कारण सन् १९९० को दशकमा अफगानिस्तान विश्वव्यापी जिहादको केन्द्र बन्न पुग्यो । सुडान अहिले त्यस्तै खालको दीर्घकालीन अराजकतातर्फ जाँदै छ, जसप्रति अन्तर्राष्ट्रिय समुदायले ध्यान दिन आवश्यक छ । सुडानको राजधानी खार्तुम अहिले जनरल अब्देल फताह अल–बुरहान नेतृत्वको सुडानी राष्ट्रिय सेनाको नियन्त्रणमा छ । तर, देशको पश्चिमी भागमा भने जनरल मोहम्मद हमदान डागालो, ‘हेमेदती’ नेतृत्वको प्रतिद्वन्द्वी ‘¥यापिड सपोर्ट फोर्स (आरएसएफ)को कब्जा छ । आरएसएफले गत महिना उत्तरी डार्फरको राजधानी सहर अल–फसेरमाथि पुनः नियन्त्रण गरेको छ । त्यसपछि आरएसएफले त्यहाँ व्यापक नरसंहार मच्चाएको समाचार विश्वभरका मिडियामा आएका थिए ।
युद्धविराम र अन्तर्राष्ट्रिय समर्थन रहने सर्वपक्षीय सरकारका लागि वार्ता सुरू नहुने हो भने सुडान लामो समयसम्म द्वन्द्वमा फस्ने दिशामा अघि बढिरहेको छ । द्वन्द्वरत दुई पक्षलाई सघाउने समूहको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ । यसले पूरै समाज ध्रुवीकृत भइरहेको छ । जस्तो, जनरल अल–बुरहानलाई मुस्लिम ब्रदरहुडसँग आबद्ध इस्लामिक लडाकुले समर्थन जनाइरहेका छन् भने हेमेदतीले देशका आदिवासी सहयोगी, इस्लामविरोधी मिलिसिया र बाह्य समर्थन पाइरहेका छन् ।
यस्तै अवस्था सन् १९८९ मा सोभियत सङ्घको फिर्तीपछि अफगानिस्तानमा देखिएको थियो । त्यतिबेला पनि बाँकी विश्वले त्यहाँको स्थितिलाई अहिले सुडानलाई गरेजस्तै बेवास्ता गरेको थियो । परिणामस्वरूप तालिबानको उदय भयो । तिनले अलकायदाजस्ता धेरै अतिवादी समूहलाई आश्रय दिए । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको आक्रमणको योजनादेखि सबै तयारी त्यहीँ भएको मानिन्छ । लामो युद्धपछि, अलकायदा र यसको थप हिंस्रक रूप इस्लामिक स्टेट (आइएस) अहिलेका लागि कमजोर बनेका छन् । तर, मुस्लिम विश्वमा चरमपन्थी शक्तिहरूले विगतमा आफूलाई विभिन्न क्षेत्रमा विभिन्न रूपमा पुनरूत्थान गरेको इतिहास छ ।
वैश्विक बेवास्ताले सुडान अर्को नयाँ जिहादी उत्थानको उर्वर भूमि बन्न सक्छ । यस्तो छुट दिनु गम्भीर रणनीतिक भूल हुनेछ । अलकायदा आबद्ध समूह यसअघि नै नजिकैको मालीमा झन्डै देशै कब्जा गर्ने स्थितिमा पुगेको छ । धेरैले बिर्सिएका होलान्, तर अफगानिस्तानमा आश्रय पाउनुअघि अलकायदा सन् १९९० को दशकको सुरूमा सुडानमा स्थापित हुने प्रयास गरेको थियो ।
वर्षौंको राजनीतिक अस्थिरता, कुशासन र सैन्य प्रतिस्पर्धा आजको सुडानी राष्ट्रिय सेना र आरएसएफबिचको वर्तमान द्वन्द्वका लागि जिम्मेवार छन् । त्यसको मूल जरा सन् १९८९ को सैन्य विद्रोहसँग जोडिन्छ । मुस्लिम ब्रदरहुडका विचारक हसन अल–तुराबी त्यस कुका मास्टरमाइन्ड थिए । कुले जनरल ओमर हसन अल–बसिरलाई सत्तामा ल्यायो । तुराबी आन्तरिक शक्ति सङ्घर्षमा उनै जनरल अल–बसिरबाट पन्छाइए । सन् २०१९ को जनविरोधले अल–बसिरको ३० वर्षे शासनमा पूर्णविराम लगायो ।
इस्लामिक कट्टरपन्थी सुडानको द्वन्द्वमा एक महत्वपूर्ण हिस्सा रहेका छन् । राजधानी खार्तुम कब्जा गरिबसेको आरएसएफ फौजलाई हराउन राष्ट्रिय सेनाले जनरल अल–बसिरको शासनकालका हजारौँ पूर्वगुप्तचर अधिकारीको समर्थन खोजेको थियो । यसलाई जनरल अल–बसिरले वैचारिक नेता तुराबीसँग बनाएको गठबन्धनसँग तुलना गर्न सकिन्छ । दशकौँअघि एकजना महत्वाकाङ्क्षी जनरलको इस्लामिक समूहसँगको गठबन्धनका कारण सुडानले ठुलो मूल्य चुकाएको थियो । त्यो स्थिति दोहोरिने जोखिम बढ्दै छ । सुडानी राष्ट्रिय सेना र इस्लामिक समूहबिचको साझेदारीले देश उत्तर अफ्रिका र लाल सागर जोड्ने मार्गबिचमा अतिवादीलाई सुरक्षित आश्रय दिन सक्छ । उसो त द्वन्द्वरत आरएएफ र राष्ट्रिय सेना दुवैलाई अन्धाधुन्ध आक्रमण, नागरिक दमन, मानवीय सहायता वितरण प्रभावित बनाएको र मानवअधिकार उल्लङ्घनको आरोप लागिरहेको छ । खार्तुम आरएसएफबाट फिर्ता लिएपछि जनरल बुरहान थप सैन्य आक्रमणका लागि हौसिएका छन् । उनको संरक्षणमा रहेको सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) ले लाई आफ्नो प्रतिद्वन्द्वी शक्तिलाई समर्थन गरेको आरोप लगाएको छ । तर, यो आरोप खासमा बुरहानको इस्लामवादी समूहसँगको गठबन्धनबाट ध्यान अन्यत्र मोड्ने प्रयास मात्र हो ।
अहिलेको स्थिति हेर्ने हो भने दुई वर्षदेखि चलिरहेको सुडान गृहयुद्ध सैन्य माध्यमबाट मात्र समाप्त हुने देखिँदैन । सुडान जातीय र भौगोलिक रूपमा विशाल तथा विविधतायुक्त देश हो र यी दुई शक्तिशाली समूहले देशका विभिन्न भागको नियन्त्रणका लागि लड्दा यो गृहयुद्ध वर्षौं लम्बिन सक्छ । लामो गृहयुद्धले सुडानलाई अर्को यमन बनाउन सक्छ, जहाँ अन्तर्राष्ट्रिय व्यवस्था नमान्ने अतिवादी समूहको प्रभुत्व छ । यो अर्को लिबिया पनि हुनसक्छ, जहाँ दुई अलग सरकारले अलग क्षेत्रमा शासन गरिरहेका छन् वा अफगानिस्तानमा तालिबानको उदयजस्तै अनपेक्षित परिणाम निम्तिन पनि सक्छ । सुडानको थप पतन वा विघटनले नजिकका इथियोपिया, चाड, दक्षिण सुडान र समग्र हर्न अफ अफ्रिकामै असर पर्नेछ । बिस्तारै सम्पूर्ण अफ्रिका र मध्यपूर्व यस द्वन्द्वको चपेटामा आउनेछन् ।
संयुक्त राष्ट्र, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ, साथै अरब र अफ्रिकी राष्ट्रले त्यो विपत्ति रोक्न मद्दत गर्न आवश्यक छ । सुडानलाई पूर्ण असफल राज्य हुन नदिन अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविरामको आह्वान गर्नुपर्छ । त्यसपछि खार्तुममा सर्वपक्षीय सरकार गठनका लागि वार्ता हुनुपर्छ । द्वन्द्वको निरन्तरताले अतिवादी समूहलाई खेल्ने ठाउँ सिर्जना गर्छ । जसबाट सबैलाई घाटा मात्र हुनेछ ।
(अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत हक्कानी वासिङटन डिसीस्थित हड्सन इन्स्टिच्युटका सिनियर फेलो हुन् ।)
नेसनल इन्ट्रेस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *