समाजवादउन्मुख राज्य व्यवस्थाको आधारमा बजेट ल्याउनुपर्छ
- जेष्ठ १०, २०८३
कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तनको निम्ति समाजवादी क्रान्ति गर्नुपर्छ । समाजवादी क्रान्ति गर्न देशको भित्री र बाहिरी परिस्थिति अनुकूल हुनुपर्छ । देशको भित्री परिस्थिति भन्नाले बहुमत जनता सचेत र सङ्गठित हुनुपर्छ । सरकारले बहुमत जनताको हक हितमा काम गर्न नसक्दा, सत्तासीन दलका नेताहरू एक आपसमा पदको निम्ति लाग्दा सरकारप्रति जनताको असन्तोष स्वाभाविक रूपमा बढ्छ र जनता आन्दोलित हुन्छन् । देशको परिस्थिति अनुकूल भए पनि अन्तर्राष्ट्रिय परिस्थिति मिल्नुपर्छ । क्रान्तिको निम्ति बाह्य परिस्थिति मिलेन भने क्रान्ति अधुरो, अपुरो र असफल हुन्छ । क्रान्ति कसैले चाहना राख्दैमा, हतार हुँदैमा आउने होइन । क्रान्ति आफूखुसी आउँदैन । क्रान्तिको निम्ति पूर्वाधार तयार गर्ने काम कम्युनिस्ट पार्टीले गर्छ । यसको निम्ति कम्युनिस्ट पार्टी अघि बढिरहनुपर्छ । कम्युनिस्ट पार्टी सरकारमा गएर परिवर्तन हुने होइन । सरकारको निम्ति तँछाडमछाड गरेर, धेरैपटक सरकारमा गएर परिवर्तन हुने होइन । परिवर्तनको अर्थ सरकारको नेतृत्व हेरफेर गर्नु मात्र होइन ।
शासक दलका नेताहरू पैसा, जातजाति, भाषा, धर्म एवम् बलको भरमा निर्वाचन जित्छन् । सिद्धान्त र विचारको राजनीति नगरी पद र पैसाको आधारमा राजनीति गर्ने दलका नेताहरूले परिवर्तन गर्दैनन्; गर्न चाहँदैनन् । शासक दलहरू जित्नका निम्ति निर्वाचनमा सक्रिय हुने तर जितेपछि कम्युनिस्टको सिद्धान्त र विचारलाई पाखा लगाएर अघि बढ्यो भने कसरी परिवर्तन हुन्छ ? निश्चय नै समाजमा राम्रा, इमानदार र इज्जतदार नेता तथा कार्यकर्ताहरू हुन्छन् । हुन पनि निःस्वार्थ रूपले जनताको सेवा गर्ने, कामदारवर्गको दीर्घकालीन हितको निम्ति काम गर्ने समर्पित नेता कार्यकर्ताहरूको खाँचो हुन्छ । तर, समाजमा सबै इमानदार र इज्जतदार हुँदैनन् । समाजमा रहेका प्रतिक्रियावादी र जालीफटाहाहरू कहिले पनि राम्रो कार्यमा लाग्दैनन्; सच्चा बाटो कोर्दैनन् । चिनियाँ जनताका नेता माओ त्सेतुङ भन्नुहुन्थ्यो, “कार्यकर्ताहरू अथक हुनुपर्छ; थाक्नुहुन्न† निःस्वार्थ रूपले देश र जनताको सेवा गर्नुपर्छ ।” हामीले थाहा पाउनुपर्छ, कुनै दलको नेतृत्वमा सरकार जाँदैमा विकास हुने होइन; बहुमत जनताले राहत पाउने होइन । सरकारको नेतृत्व गर्ने दलले सामन्त, पुँजीपति, जालीफटाहाको सेवा गर्छ भने बहुमत जनताको सेवा कसरी हुन्छ ? अतः कुनै नेता धेरैपटक प्रधानमन्त्री, मन्त्री हुँदैमा जनताले सुख पाउने होइन ।
सामन्त र पुँजीपतिवर्गले बहुमत जनताको पक्षमा काम गर्दैन भन्ने कुरा देशका सच्चा कम्युनिस्टहरूले बुझ्नुपर्छ । कम्युनिस्ट भएर बहुमत जनताको सेवा गर्नुजस्तो ठुलो सेवा र महान् कार्य अरु के हुनसक्छ ? कम्युनिस्ट पार्टीले गर्नुपर्ने त्यस्तै सेवा हो । ढिलो चाँडो परिवर्तन अवश्यम्भावी छ । तर, परिवर्तन छिटो भएन भनेर राजनीतिबाट अलगिने या पछि हट्ने कुरा होइन । परिवर्तनको निम्ति लाग्दा सङ्घर्षको बाटोमा अनेक बाधा अड्चन आउन सकिन्छ । आइपर्ने बाधा अड्चन पन्छाउँदै अघि बढ्नुपर्छ । त्यसबेला जाली मुद्दामा फसाउने, पक्राउ गर्ने, जेलमा थुन्ने र शारीरिक तथा मानसिक यातना दिइएको हुन्छ । सिद्धान्त र विचारको निम्ति राजनीति गर्ने दल र दलका नेताहरूमा हुनसक्ने हरेक चुनौतीको सामना गर्दै अघि बढ्ने अठोट र दृढता आवश्यक हुन्छ । नेपाल मजदुर किसान पार्टी समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यले स्थापित नेपालको एक राजनीतिक दल हो । व्यापक जनतालाई शिक्षित र सङ्गठित नगरी चुनावमा विजयी भएको पार्टी र सरकारले मात्रै समाजको आमूल परिवर्तन गर्नसक्दैन । शिक्षित र सङ्गठित गर्ने काम ५/१० मा सकिने पनि होइन ।
कति शासक दलका नेताहरू पैसा खर्च गरेर, ठेकेदार, तस्कर, घर जग्गाका दलाल, कालाबजारिया, शोषक, गुण्डा र करचोरहरूको समर्थन र सहयोगमा चुनावमा जित्छन् र चुनावताका देशलाई ‘स्वर्ग’ बनाइदिने उद्घोष गर्छन्; जनतालाई झुक्याउँदै निर्वाचनमा जित्छन् । तर, जितेपछि आफ्ना वाचा र प्रतिबद्धता भुल्छन् । सिद्धान्त र विचार थाती राख्छन् । दुई चारवटा जिल्ला, नगर र गाउँका जनता सङ्गठित भएर आमूल परिवर्तन हुने होइन । गाउँ–गाउँ र बस्ती–बस्तीका कामदार जनतालाई पुँजीवाद र समाजवादको भेदबारे सुसूचित पार्नुपर्छ । समाजवादको सैद्धान्तिक ज्ञान, समाजवादमा हुने परिस्थितिबारे र विभिन्न देशका समाजवादी क्रान्तिबारे शिक्षित गर्नु आवश्यक छ । नेमकिपा पुँजीवादी विचार र व्यवस्थाको विरोधमा कामदारवर्गको शासन व्यवस्था स्थापनार्थ सङ्घर्षरत दल हो; नेमकिपा माक्र्सवादी–लेनिनवादी विचार बोकेको राजनीतिक दल हो । यो राजनीतिक दर्शनमा आधारित आदर्श समाज तथा शोषणरहित समाज स्थापनाको निम्ति अघि बढेको दल हो ।
Leave a Reply