भर्खरै :

विद्यार्थीका लागि बोझ बन्दै सिकाइ

विद्यार्थीका लागि बोझ बन्दै सिकाइ

हाम्रो शैक्षिक क्षेत्रमा अहिले उठिरहेको सबैभन्दा गम्भीर प्रश्न हो, “पढाइमा विद्यार्थीको रूचि किन छैन ?” यस प्रश्नको उत्तर खोज्दा हामी प्रायः विद्यालयलाई मात्र दोष लगाउँछौँ, तर विस्तृत अध्ययनले देखाउँछ – बालबालिकाको सिकाइमा अरूचि हुनु कुनै एक पक्षको गल्ती होइन – यो घर÷समाज, प्रविधि, संस्कार र युवा पुस्ताको रूचिको त्रिकोणात्मक असन्तुलनको जटिल परिणाम हो ।
सबैभन्दा पहिले कुरा आउँछ – बालकको घरायसी वातावरणको । अहिलेका अभिभावकहरू आफ्नो व्यस्त काम, आर्थिक दबाब र सामाजिक प्रतिस्पर्धाको कारण बच्चालाई, ‘मोबाइल’ लाई विकल्प शिक्षकजस्तै बनाएर दिन्छन् । रोएको छ भने मोबाइल दिने, खान मान्दैन – युट्युब खोलिदिने, चकचक गर्छ, गेम खेलाएर देखाइदिने गर्दा, अभिभावकलाई त तत्काल राहत दिन्छन् तर बालकको मानसिक विकासका लागि त्यसले विशाल क्षति गर्छ । मनोविज्ञान भन्छ—१२ वर्षभन्दा तलको बच्चाको मस्तिष्क निरन्तर परिवर्तनशील र संवेदनशील हुन्छ । स्क्रिनको अत्यधिक उत्तेजनाले उसको ध्यान–केन्द्रित क्षमता गम्भीर रूपमा घटाउँछ, जसले गर्दा कक्षामा बस्नै कठिन हुन्छ । यसरी, सिकाइको पहिलो आधार–ध्यान–घरमै खण्डित हुन पुग्छ ।
बच्चाको दिमागमा बसाइएको अर्को खतरनाक धारणा हो – ‘नपढे पनि पास त भइहालिन्छ नि ¤’ नेपालको पछिल्ला वर्षहरूमा लागू भएको ‘उदार उत्तरपुस्तिका परीक्षण’ नीति, ग्रेस मार्क, अभिभावकको दबाब, विद्यालयमा राम्रो नतिजा देखाउनुपर्ने प्रतिस्पर्धा – यी सबैले विद्यार्थीमा ‘प्रयास नगरे पनि परिणाम आउँछ’ भन्ने निष्क्रिय मानसिकता बनाइदिएका छन् । प्रयासविहीन सहजता र उपलब्धि सबैलाई मज्जा लाग्छ र जब पढाइ ‘चुनौती’ नभई ‘सजिलो’ बन्न थाल्छ तब सिकाइको गहिराइ पूर्णरूपमा हराउँछ । विडम्बना ! कतिपय समाजले पढेर पास हुने मेहनती विद्यार्थीलाई भन्दा नपढी पास हुने विद्यार्थीको दैनिकी सुन्न/जान्न रुचाउँछन् ।
यतिबेला बालबालिकामा बढ्दै गएको अर्को प्रवृत्ति हो – कसैलाई नमान्ने प्रवृत्ति । हिजोका अभिभावक र आजका अभिभावकबिचको एक ठुलो अन्तर – अघिल्लाहरूले शिक्षकको कठोरतामा पनि अर्थ हेर्थे, आजका धेरैजसोले शिक्षकको सामान्य टिप्पणीलाई पनि ‘अनावश्यक कठोरता’ ठान्छन् । फलस्वरूप, बच्चामा ‘मलाई कसैले केही गर्न सक्दैन’ भन्ने मानसिकता विकसित हुन थाल्छ । सिक्न उत्साहित गर्ने डर, अनुशासन र परिणाम – यी सिकाइका प्राथमिक शर्त हुन् । तर, जहाँ बालक न शिक्षकदेखि डराउँछ न अभिभावकले भनेको मान्छ, न गल्ती बोध गर्छ न दण्डको परिणाम बुझ्छ – त्यहाँ सिकाइ कसरी सम्भव हुन्छ ?
त्यसको अर्को पक्ष घरायसी जीवनसँग सम्बन्धित छ । अहिलेका धेरै परिवारहरूले बच्चालाई आफ्नो कठिन जीवनको सन्तुलनका रूपमा राखेर अत्यधिक माया र सुविधा दिन्छन् । ‘काम नगरोस्’, ‘कसैको दबाबमा नपरोस’्, ‘कुनै पनि कुरामा दुःख नपाओस्’, ‘आफूले जति कष्ट पाए पनि उसलाई त्यस्तो नहोस्’ भन्ने अति–संरक्षणले बच्चालाई जिम्मेवारीविहीन बनाउँछ । कुनै पनि कार्यमा सफलता पाउन परिश्रम गर्नुपर्छ, केही दुःख पाउनुपर्छ, धैर्य चाहिन्छ । यी सबै कुुरा सानैदेखि, जीवनका साना–साना जिम्मेवारीहरूबाट सिकिने हो । तर, बच्चाले न थाली उठाउँछ न कोठा बढार्छ न कपडा धुन्छ न कुनै पारिवारिक काममा सहभागी हुन्छ । उसलाई पढ्नुको निहुँ छ । ‘खेल्नुको काम’ छ । त्यस्तो बच्चाले कक्षाकोठामा ४०÷४५ मिनेट शान्त भएर बस्न र शिक्षकको निर्देशन पालना गर्नभन्दा अटेरी बन्न र ‘मनलाग्दो’ व्यवहार गर्न नै सहज मान्छ ।
अर्को रोचक यथार्थ – अभिभावकले बच्चालाई ‘असिम प्यार’ दिने क्रममा मागेजति पैसा दिन्छन् । उसले रोजेको मोबाइल÷कपडा÷विलासी सामान किनिदिन्छन् । पास भइस् भने म यो थोक किनिदिन्छु भन्छन् । अनि सोच्छन्, “मेरा छोराछोरी खुसी छन् ।” तर, खुसी र बिग्रिएको आत्मअनुशासनबिचको सिमाना धेरै पातलो हुन्छ । बच्चाले जब केही प्रयासै नगरी सबै कुरा सहज पाउँछ, त्यसपछि उसले कक्षामा २–३ पृष्ठ पढ्नुपर्ने पाठलाई पनि दण्डको रूपमा लिन्छ । मनोविज्ञान भन्छ, ‘अत्यधिक सुविधा’ ले सबैभन्दा पहिले ‘दायित्व’ मार्छ । दायित्वबोधबिना सिकाइ हुन सक्दैन ।
विद्यार्थीहरूको सिकाइ खस्किनुमा अर्को सामाजिक भ्रम गहिरोसँग जोडिएको छ – विदेश जाने मोह । आज नेपालका हजारौँ परिवारमा एउटै धारणा छ : “पढाइले होइन, विदेशले जीवन चल्छ ।” यही सोच बालकमा पनि बस्छ, “पढे पनि विदेश जाने, नपढे पनि विदेश जाने† त्यसैले किन नेपाली सिक्ने, किन विज्ञानमा ध्यान दिने ¤ बरु अहिलेदेखि अलि अलि गरेर भाषा सिक्दा राम्रो हुन्छ ।” यसले दुई गम्भीर परिणाम दिन्छ – पहिलो, विद्यार्थी आफ्नो वर्तमान सिकाइलाई अनावश्यक ठान्छ । दोस्रो, देशलाई ‘अस्थायी बसाइँ’ को रूपमा हेर्न थाल्छ । यस्तो भएपछि कक्षाकोठाको अर्थ गुम्छ । पाठ्यपुस्तक ‘भिसा प्रक्रिया’ का बिचको एउटा औपचारिकता जस्तै मात्र रहन्छ ।
विद्यार्थी र शिक्षकबिचको औपचारिक दूरी पनि अहिले निकै कमजोर भएको छ । ‘विद्यार्थीलाई छुन नपाइने’, ‘उनीहरूको चित्त दुख्ने कुरा नभन्ने’, ‘कडा बोल्यो भने उजुरी’, अति गरेको बेलामा ‘एक थप्पड हान्यो भने मुद्दा’ – ‘आधुनिक सिकाइ’ का यी बन्देजहरूले शिक्षकलाई भत्ीत बनाएका छन् । शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न डराउनुपर्ने भएको छ । पाठ सोध्नु भएन । गृहकार्य किन नगरेको भन्नु भएन । त्यसले विद्यार्थीको चित्त दुख्छ ¤ यसरी सिकाइको वातावरण नै नष्ट भएर बालबालिकाले नियन्त्रणविहीन स्वतन्त्रता पाउँदै छन् । परिणाम – कक्षामा शिक्षक असहज, विद्यार्थी निर्बाध !
विद्यार्थीलाई प्रेरणा होस् भनेर विभिन्न असल/सफल व्यक्तिको जीवनी पढाइन्छ । जब शिक्षकले कुनै सफल व्यक्तिको सङ्घर्ष कथा सुनाउँछन्, विद्यार्थीको पहिलो प्रश्न हुनसक्छ – “उनी गरिब थिए, म किन कष्ट गर्छु ? म त विदेश गएर सजिलै कमाउँछु ।” यसले सिकाइको मूल अर्थ ‘सङ्घर्ष–सीप–सफलता’ लाई पैसाको तुलनामा कमजोर बनाइदिन्छ । प्रेरक पात्रबाट ‘कष्ट, सङ्घर्ष र अनुशासन’ सिक्नुपर्ने हो, तर आजका बालकले तिनको ‘आर्थिक अवस्था’ मा मात्र चासो राख्छन् ।
खानपानको विकृतिले पनि विद्यार्थीकै सिकाइमा प्रत्यक्ष असर पारिरहेको छ । अहिलेको पुस्ता जङ्क फुडमा अत्यधिक निर्भर छ । मीठो, मसिनो, चिल्लो, मिठाइ, प्याकेट फुड… । फल, गेडागुडी, परिकार र स्वस्थ खानामा भने ‘निरस’ मानिन्छ । जङ्क फुडले शरीरमा ऊर्जा दिन्छ जस्तो लाग्छ तर तिनले वास्तवमा ध्यान, स्मरणशक्ति र मानसिक स्थिरतालाई कमजोर बनाउने वैज्ञानिक प्रमाण धेरै छन् । यो अवस्थामा सिकाइले यथोचित परिणाम दिन सक्दैन ।
अन्त्यमा, शिक्षक पेसाप्रति समाजले देखाएको बेवास्ता, अभिव्यक्तिगत जोखिम र असुरक्षाले सिकाइमा प्रत्यक्ष असर पारिरहेको छ । शिक्षक कडाइ गर्न नसक्ने, कक्षा नियन्त्रण गर्न नसक्ने, अभिभावकले गाली गर्ने डर, सामाजिक सञ्जालमा भिडियो सार्ने प्रवृत्ति – यी सबैले शिक्षकलाई ‘सिकाउने’ होइन ‘बाँच्ने’ र ‘जागिर जोगाउने’ मोडमा धकेलिदिन्छन् । जति शिक्षक कमजोर, त्यति कक्षा कमजोर र जति कक्षा कमजोर, त्यति शिक्षा खस्किँदै जान्छ । शिक्षकको मनोबल हराउँदा शिक्षा ‘रूप मात्रको संरचना’मा सीमित रहन्छ ।
अब मूल प्रश्न :
माथि उल्लिखित विभिन्न कारणले विद्यार्थीले सिकेनन् । अब कसरी सिक्छन् त ?
शिक्षा कुनै जादू होइन† यो वातावरण, व्यवहार र मनोविज्ञानको समष्टिगत फल हो । यही कुरालाई हृदयङ्गम गर्दै समाधानका केही आधारभूत र अत्यन्त प्रभावकारी मार्गहरू यसप्रकार उल्लेख गर्न सकिन्छ :
पहिलो, परिवारले आफूलाई ‘माया दिने पक्षमात्र’ नभई ‘संयमित र जिम्मेवारी सिकाउने पहिलो विद्यालय’ ठान्नुपर्छ । मोबाइलको समय निर्धारण, काम बाँडफाँड, दायित्व, सीमित सुविधा, अनुशासन – यी बच्चामा आत्मनियन्त्रण र धैर्य निर्माण गर्ने मूल आधार हुन् ।
दोस्रो, विद्यालय र अभिभावकबिचको सहकार्य अनिवार्य छ । बच्चाको व्यवहार, सिकाइ र प्रविधिको प्रयोगसम्बन्धी स्पष्ट संयुक्त नीति बनाउनुपर्छ, जसमा विद्यालयले भनेको कुरा घरमा पनि मानिने होस् र घरले बनाएको सीमा विद्यालयमा पनि समान रूपमा लागु होस् ।
तेस्रो, विद्यार्थीमा ‘किन पढ्ने ?’ भन्ने उद्देश्य–केन्द्रित बुझाइ विकास गर्नुपर्छ । पाठ्यपुस्तक जीवनका समस्या समाधान गर्ने सीप हो भन्ने बोध गराइदिनु, सिकाइलाई आत्मनिर्भरता, चिन्तनशक्ति, व्यक्तित्व विकाससँग जोडिदिनु अत्यावश्यक छ ।
चौथो, अनुशासनलाई ‘डर’ होइन ‘मार्गदर्शन’ का रूपमा पुनर्परिभाषित गर्नुपर्छ । स्पष्ट, न्यायपूर्ण र समान व्यवहारले मात्र विद्यार्थीले ‘दायित्व’ बुझ्छ । अनुशासनविहीन स्वतन्त्रता शिक्षा होइन, बिग्रिएको ‘उन्मुक्ति’ हो ।
पाँचौँ, मोबाइललाई पूर्ण रूपमा हटाउने होइन, सकारात्मक उपयोगमा मोड्ने नीति आवश्यक छ । सिकाइ एप, समय अनुशासन, डिजिटल सामग्रीको छनोट – यी आधुनिक युगमा अनिवार्य छन् ।
छैटौँ, स्वास्थ्य, खानपान र मानसिक सन्तुलनलाई शिक्षाको एक महत्वपूर्ण भाग बनाउनुपर्छ । शरीर स्वस्थ भएन भने मन स्वस्थ हुँदैन र मन स्वस्थ नभए पढाइ सम्भव हुँदैन ।
सातौँ, शिक्षकको सुरक्षा, सम्मान र मनोबल पुनःस्थापित गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । शिक्षक सुरक्षित भए भने मात्र उनले प्रभावकारी कक्षा सञ्चालन गर्न सक्छन् । शिक्षक सम्मानित भए भनेमात्र विद्यार्थीले अनुशासन सिक्न सक्छन् । समाजले शिक्षकलाई ‘सरोकारविहीन कामदार’ होइन, ‘राष्ट्र निर्माणकर्ता’ को रूपमा हेर्नुपर्छ ।
निष्कर्ष
विद्यार्थीले किन सिकेनन् भनेर सोध्दा हामीलाई धेरैजसो समस्या बाहिर देखिन्छ – मोबाइल, जङ्क फुड, विदेशी मोह, अनुशासनहीनता, शिक्षकप्रतिको बेवास्ता…। तर, मूल समस्या हो – सिकाइका लागि आवश्यक वातावरण परिवार, समाज र विद्यालय । यी तीनै तह विखण्डित अवस्थामा छ । जबसम्म यो तीनै तह एकमत, समन्वित र व्यवस्थित हुँदैनन् तबसम्म कुनै पाठ्यक्रम, कुनै प्रशिक्षण र कुनै सुधारले पनि गहिरो परिवर्तन ल्याउन सक्दैन ।
शिक्षा संस्थान होइन, साँच्चिकै संस्कार हो । संस्कार परिवारले दिन्छ, विद्यालयले विकसित गर्छ र समाजले संरक्षण गर्छ । यदि यी तीनै हात मिलाउन सके, हाम्रा विद्यार्थीले सिक्छन्, बुझ्छन् र सक्षम नागरिक बन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *