भर्खरै :

कानुन अध्ययनसँगै विद्यार्थीहरूमा असल आचरण र संस्कारको पनि विकास गर्नुपर्ने

कानुन अध्ययनसँगै विद्यार्थीहरूमा असल आचरण र संस्कारको पनि विकास गर्नुपर्ने

भक्तपुर, १२ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ‘फौजदारी कानुन र न्याय’ विषयक भएको राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा शुक्रबार धन्यवादज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले योग्य वकिल, न्यायाधीश, प्रशासक र दक्ष नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप कलेज अफ ल सञ्चालन गरी कानुन विषय अध्यापन गराउँदै आएको बताउनुभयो ।
उहाँले सम्मेलनमा प्रस्तुत कार्यपत्रहरू कलेजकै सम्पत्ति भएकोले त्यसलाई पुस्तकको रूपमा प्रकाशित गर्नुपर्ने बताउनुभयो । ख्वप कलेज अफ लले कानुन विषयको आवश्यकता र महत्वलाई बुझेर विद्यार्थीलाई कानुनी शिक्षा दिँदै आएको बताउँदै उहाँले कानुन अध्ययनसँगसँगै विद्यार्थीहरूमा असल आचरण र संस्कारको पनि विकास गर्नुपर्ने बताउनुभयो ।
कानुन सबै क्षेत्रमा महत्वपूर्ण विषय बन्दै गएको बताउँदै उहाँले देशमा राजनैतिक परिवर्तनसँगै संविधान र कानुनले जनताको अधिकार सुरक्षित गर्ने बताउनुभयो ।
नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलन विचार र सिद्धान्तबाट निर्देशित नभएको कारण देशभरि ध्वंसात्मक प्रदर्शन भएको बताउँदै उहाँले अन्तरिम सरकारले भ्रष्टाचारीलाई कारबाही र नयाँ निर्वाचनमा जोड दिनुपर्ने बताउनुभयो ।
अन्तरिम सरकारले देशको सबै सार्वजनिक संस्थानलाई कम्पनीमा लाने नीतिले देशलाई अझ पछाडि धकेल्ने बताउँदै उहाँले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको विकल्पको रूपमा विद्युतीय गाडीहरूको खरिद गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताउनुभयो ।
नेपालको व्यापारघाटा चुलिँदै जाँदा मुलुक आर्थिक सङ्कटतिर उन्मुख भएको बताउँदै उहाँले शासक दलको अदूरदर्शी सोचले देशलाई झन्झन् परनिर्भर बनाउँदै लगेको बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कानुनका विद्यार्थीहरूले सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै कानुन कार्यान्वयन गर्न जनताको चेतनास्तर बढाउनुपर्छ भन्नुभयो ।
ख्वप कलेज अफ लका शिक्षक लक्ष्मी बखाद्योले विज्ञ समूह गठन गरी सम्पन्न गरेको उक्त सम्मेलन सोचेभन्दा धेरै राम्रो भएको बताउँदै कलेजको तर्फबाट बढी कार्यपत्र प्रस्तुत गर्न पाएको भए अझ राम्रो हुने थियो भन्नुभयो ।
कार्यक्रममा शिक्षक राजु कैटीले पनि बोल्नुभएको थियो । सोही क्रममा नगर प्रमुख प्रजापतिले राष्ट्रिय सम्मेलन आयोजक समितिलाई धन्यवादज्ञापन गर्दै पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *