ऐना
- असार २६, २०८३
अब एउटा कुरा खुलाएर भन्नैपर्छ – शिक्षकलाई गाली गरेर मात्र शैक्षिक गुणस्तर सुध्रिँदैन । बरु, शिक्षकसँग सहकार्य गर्नुपर्छ । उनीहरूसँग सहयोग गर्नुपर्छ । उनीहरूलाई सम्मान दिनुपर्छ र समझदारी गर्नुपर्छ । समाज हरेक दिन शिक्षकलाई दोष लगाइरहेको छ तर अझै पनि आशा भने शिक्षककै काँधमा टोलाइरहेको छ ।
समाजसँगै समय बदलिएको छ । तर, यो परिवर्तनले शिक्षकको भूमिकालाई सहज बनाएको छैन । सधैँजसो अनुशासन, सम्मान र मेहनतका कुरा सिकाउँदै आएका शिक्षक अहिले उल्टै कठघराबाट न्यायका लागि गुहार माग्ने अवस्थामा पुगेका छन् । विद्यालयमा देखिने हरेक समस्या, हरेक असफलता, हरेक गल्ती सबैको दोष शिक्षककै काँधमा थुपारिन्छ । हामी जति अघि बढ्ने अपेक्षा राख्छौँ, त्यत्तिकै पछाडि धकेलिन्छौँ । अनि फेरि भनिन्छ, शैक्षिक गुणस्तर किन सुधारिएन ?
आजका विद्यार्थीहरूको जीवनशैली, पारिवारिक संस्कार, सामाजिक परिवेश र प्रविधिको प्रभाव यति जटिल र अनियन्त्रित बन्दै गएको छ कि कक्षामा बस्ने एउटा बालकको मनोविज्ञान बुझ्न मात्रै पनि शिक्षकलाई कति ऊर्जा खर्चनुपर्छ, त्यो सामान्य दर्शकले कल्पना पनि गर्न सक्दैन । तर, आम अभिभावक र समाजको बुझाइ सरल छ, “मास्टरले ठीकसँग हेरेन, त्यसैले बच्चा बिग्रियो ।” यही एक वाक्यले शिक्षकको महिनौँको मेहनत, निरन्तर प्रयास र थकानलाई शून्यमा पु¥याइदिन्छ ।
विद्यालयमा देखिने घटनाहरू नियाल्ने हो भने समस्या धेरैजसो घरबाट सुरु हुन्छ । एउटा विद्यार्थी चर्पीमा लुकी–लुकी चुरोट तानिरहेको पाइन्छ । शिक्षकले समात्छन्, सचेत गराउँछन्, अभिभावकलाई बोलाउँछन् । सुरुमा अभिभावक रुष्ट हुँदै घोक्रो फुलाउँछन्, “हाम्रो बच्चा त्यस्तो काम गर्नै सक्दैन !” तर, प्रमाण देखेपछि भने जिम्मेवारी शिक्षककै काँधमा बोकाइन्छ, “हामीबाट सम्भव भएन, अब तपाईँले सुधारिदिनुहोस्, जे गरेर भए पनि । भएन भने थप्पड पनि लगाउनु होला ।” तर, अर्को दिन त्यही विद्यार्थी गलत काममा समातिँदा शिक्षकले सजाय दिन खोज्छन्, त्यतिबेला अभिभावक नै फेरि दलबलसहित विद्यालय पुग्छन्, “हाम्रो बच्चालाई पिट्ने कुन मास्टर हो ?” क्षतिपूर्ति तिर्न बाध्य शिक्षक, अपमानित शिक्षक र “अबदेखि विद्यार्थीलाई छुँदैनौँ” भनेर कागजमा हस्ताक्षर गर्न बाध्य शिक्षक । यही हो आजको शैक्षिक वास्तविकता । जुन समाज आफ्ना बालबच्चा सुधार्नुपर्ने जिम्मा शिक्षकसँग राख्छ, त्यही समाज शिक्षकलाई अपराधीझैँ व्यवहार गर्छ ।
अत्यधिक स्वच्छन्दताले विद्यार्थीहरूमा अनुशासनको संस्कार बिस्तारै क्षीण बन्दै गएको छ । चुरोट तान्दै, ट्याटु हान्दै, सामाजिक सञ्जालमा अनावश्यक भिडियो बनाउने जमात बढ्दै गएको छ । यस्तो व्यवहारलाई रोक्न खोज्ने शिक्षक नै समस्या ठहरिन्छन्, रोक्दैनन् भने पनि दोष त्यहीँ पुग्छ – “मास्टरहरूले हेरेका छैनन् ।” एउटा कुहिएको आलुले पूरा बोरा दुर्गन्धित बनाइदिएझैँ, गलत सङ्गतमा परेका केही विद्यार्थीले विद्यालयको परिवेश नै अस्वस्थ र अस्तव्यस्त बनाइदिन्छन् । शिक्षकले के गरोस् ! समस्या थप्ने विद्यार्थीलाई विद्यालयबाट निकाल्ने कुरा पनि भएन । पढ्ने अधिकार हनन होला । अनि जब शैक्षिक गुणस्तर खस्कन्छ, अभिभावक, स्थानीय सरकार, नीति–निर्माता, युट्युबर सबैका औँला शिक्षकतिरै सोझिन्छन् ।
देशमा शैक्षिक नीति निर्माण हुन्छ, भइरहन्छ । बैठक बस्छ, विज्ञका नाममा भत्ते विशेषज्ञहरूको टोली विदेश अध्ययन भ्रमणमा पठाइन्छ । फर्किएपछि ‘पूर्ण बालमैत्री वातावरण बनाउनू’ भन्ने सामान्य निर्देशन जारी हुनसक्छ । त्यो निर्देशनलाई गाउँका ‘छोटे राजाहरू’ अर्थात् स्थानीय तहका नेता र पदाधिकारीले कागजकै आधारमा शिक्षकलाई धम्की दिन थाल्छन् । युट्युबरहरूले क्यामेरा ठड्याएर ‘शिक्षकको कमी’ देखाउँदै भ्युज कमाउन थाल्छन् । कुनै शिक्षामन्त्री वा शिक्षाविद्ले शिक्षककै विरोध गरेर भाषण गर्न सक्छन् । ती भाषण सुन्दा लाग्छ, शिक्षा सुधार भनेको केवल भाषणकै कुरा हो । उनीहरूलाई न विद्यालयको कष्ट बुझ्नु छ न शिक्षकको पीडा ।
यता शिक्षक आफ्नो पीडा बोकेर पुनः कक्षामा फर्किन्छन् । आफ्ना आँसु भित्री मनमा टल्क्याउँदै, अपमानलाई भुल्दै, ‘मबाट जति सकिन्छ गर्छु’ भन्ने दृढताका साथ फेरि विद्यार्थीलाई हेर्दै, बुझ्दै, सिकाउँदै जान्छन् । शिक्षकको हृदय जलेर खरानी भए पनि, उनकै मनले उज्यालो छर्ने दियो बन्दै रहन्छ । समाजले चाहे जति दोषारोपण गरोस्, शिक्षक भने कहिल्यै हार मान्दैनन् ।
अब एउटा कुरा खुलाएर भन्नैपर्छ – शिक्षकलाई गाली गरेर मात्र शैक्षिक गुणस्तर सुध्रिँदैन । बरु, शिक्षकसँग सहकार्य गर्नुपर्छ । उनीहरूसँग सहयोग गर्नुपर्छ । उनीहरूलाई सम्मान दिनुपर्छ र समझदारी गर्नुपर्छ । समाज हरेक दिन शिक्षकलाई दोष लगाइरहेको छ तर अझै पनि आशा भने शिक्षककै काँधमा टोलाइरहेको छ । अन्त्यमा एकपटक आफूले आफैँलाई सोधौँ,
– विद्यार्थी बिग्रिएको छ भने दोष शिक्षकको मात्र हो कि समाजकै सामूहिक जिम्मेवारी ?
– शिक्षकलाई निरन्तर अपमानित गर्दा शिक्षालाई उज्यालो बनाउने शक्ति कसरी टिकिरहला ?
– यदि कसैले शिक्षकलाई गाली गर्न चाहन्छ भने पनि कम्तीमा एक पटक सोच्नुपर्छ, आफूले गाली गरिरहेको त्यो व्यक्ति आज पनि कसैको भविष्य बचाउन आफ्नो जीवन अर्पिरहेको छ ।
Leave a Reply