भर्खरै :

सम्पदा दिवस मनाइयो

भक्तपुर । विश्व सम्पदा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले बुधबार आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागी अतिथिहरुले भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गराउने विषयमा धेरैपटक अध्ययन र सिफारिस भइसकेको र नेपाल सरकारको नवौं पञ्चवर्षीय योजना एवं अन्तरिम योजनामा समेत उल्लेख भइसकेको अवस्थामा पनि सरकारले यस विषयमा कुनै चासो नलिनुमा दुःख व्यक्त गर्दै नयाँ व्यवस्था अनुसार प्रदेश सरकारले साँस्कृतिक नगर घोषणा गर्न सक्ने बताउनुभयो । सरकारमा रहेका शासक दल र कर्मचारीतन्त्रमा साँस्कृतिक नगरको महत्वबारे बेवास्ता गरेको उहाँहरुको कथन थियो ।
सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका विषयक प्रवचन कार्यक्रममा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं माननीय साँसद प्रेम सुवालले भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गराउन पार्टीको तर्फबाट पटक पटक संसदमा प्रस्ताव गरेको स्मरण गर्दै राजनीतिलाई विना लगानी नाफा खाने व्यवसाय बनाएका शासक दलका भ्रष्ट नेताहरुका कारण साँस्कृतिक नगर घोषणा हुन नसकेको बताउनु भयो ।
साँसद सुवालले सम्पदा संरक्षणलाई अन्धविश्वासको रुपमा नभई मानव सभ्यता विकासको उच्चतम् श्रृंखलाको रुपमा ग्रहण गरी उचित संरक्षण तथा सम्बद्र्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने चर्चा गर्नुभयो । सभ्यता जोगाउन सम्पदा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणले पर्यटन विकासमा टेवा पु¥याउने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले उतिबेलाका स्थानीय सीप, प्रविधि र स्थानीय सामग्रीहरुको प्रयोग गरी बनाइएका उत्कृष्ट कलाकृतिहरु अहिले सम्पदा बनेको बताउनुभयो । उहाँले पुर्खाले छोडेर गएका सम्पदाहरुको स्याहार सम्भार र संरक्षण गरी युगौंसम्म जस्ताको तस्तै राख्न नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिंदै आएको बताउनभुयो ।
सम्पदा संरक्षणको महत्व नबुझेकालाई ठेक्काको भरमा जिम्मा दिंदा सम्पदा विकृत बन्ने चर्चा गर्दै उहाँले भक्तपुरमा स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षणका कार्यहरु भइरहेको प्रष्ट पार्नुभयो । भक्तपुर नगर ऐतिहासिक र सम्पदाको धनी नगर भएकोले यसबारे नयाँ पुस्तालाई जानकारी दिने हेतुले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी विद्यालयहरुमा यसै शैक्षिक सत्रदेखि लागू गरेको जानकारी दिनुभयो ।
पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीले भक्तपुर नगर पूर्वको रोम भएको उल्लेख गर्दै यहाँका पचपन्न भ्mयाले दरवार र ङातापोल मन्दिर अद्वितीय नमूनाका सम्पदाहरु हुन् भन्नुभयो । उहाँले सम्पदा संरक्षण गर्दा त्यसको मौलिकता, संवेदनशीलता र स्थानीय सीप एवं प्रविधिलाई यथावत कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
आपूm सरकारी सेवामा रहँदा कार्यदलमार्फत लामो अध्ययनपश्चात सम्पदा नीति तयार गरी तत्कालीन संसदबाट पारित समेत गरेको तर त्यसलाई हाल दराजमै थन्क्याइएकोमा दुःख व्यक्त गर्दै सरकार र कर्मचारीतन्त्रमा सम्पदा संरक्षणबारे दृष्टिकोण नै नभएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले प्राज्ञिक अध्ययन पश्चात सम्पदा संरक्षण कार्य अघि बढाइरहेकोमा खुशी व्यक्त गर्दै स्थानीय उपभोक्ता समितिमार्फत पचपन्न भ्mयाले दरवारका जीर्णोद्धार गरिएको संसारकै लागि सिक्न योग्य भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्कृतिविद् प्रा. पुरुषोत्तम लोचन श्रेष्ठले संस्कृति र सम्पदा मर्दा देशै मर्ने चर्चा गर्दै सम्पदालाई छोएर नभई हेरेर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । सम्पदालाई भगवानको रुपमा आस्था राख्दै पूजा गर्दा, अक्षता, अबिर र धुप प्रयोग गर्दा पुर्खाले सिर्जेका सम्पदाहरु खिइँदै र नष्ट हुँदै गएको उहाँको कथन थियो । सम्पदा सबैको सम्पति भएकोले युगौंसम्म पनि जस्ताको तस्तै राख्न उहाँले आग्रह गर्नुभयो ।
पुरातत्व कार्यालय भक्तपुरका प्रमुुख मोहनसिंह लामाले २०७२ सालको भूकम्पपछि भक्तपुर जिल्लामा ४६ वटा सम्पदा संरक्षणको योजना कार्यान्वयन गरिरहेकोमा भक्तपुरमा १३ वटा योजनाहरु संचालन भइरहेको र ६ वटा योजना सम्पन्न भएको बताउनुभयो ।
राष्ट्रिय कला संग्रहालयका प्रमुख सरस्वती सिंहले क्षेत्रफलको हिसावले देशकै सानोमध्येको एक भक्तपुरमा ८ सयभन्दा बढी सम्पदाहरु हुनु गौरवको विषय भएको चर्चा गर्दै सम्पदा संरक्षणमा नगरपालिका र स्थानीय जनताले देखाएको उत्साहप्रति खुशी व्यक्त गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउने अभियानमा भक्तपुर नगरपालिका नगरबासीहरुसंग एकाकार भई सम्पदा संरक्षणमा लागिपरेको बताउनुभयो ।
भनपा ९ नं. वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरमा अनगिन्ति मूर्त एवं अमूर्त सम्पदाहरु रहेको उल्लेख गर्र्दै सम्पदा संरक्षण र साँस्कृतिक जर्गेनामा नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो ।
सोही कार्यक्रममा साँसद सुवालले नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरुलाई ख्वप इन्जिनियरिङ कलेजका शिक्षक र विद्याथीहरुले अनुसन्धान गरी तयार पारेको सम्पदाहरुको वर्तमान स्थितिबारे अभिलेख पुस्तक हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *