भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – २५

  • मंसिर १३, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – २५

यस्तो स्थितिमा फुटका वास्तविक मतियार ‘७ मेन्शेभिकहरू’ हुन् भनी दर्शाउनु नै सही राजनीतिक पाइला हुन्थ्यो ।
‘प्राभ्दा’ को प्रत्येक अङ्कमा मेन्शेभिक हमलाको प्रतिकार गर्न आह्वान गरिन्थ्यो । नेता स्तालिनले फेब्रुअरी २६ गते ‘प्राभ्दा’ पत्रिकामा लेख्नुभयो, “प्रत्येक वर्गसचेत मजदुरले (संसदीय) समूहभित्रको फुटपारुवा प्रयासविरुद्ध आवाज उठाउनुपर्छ चाहे यस्तो प्रयास जुनसुकै तप्काबाट किन नहोस् । यो सिलसिलामा सामाजिक जनवादी समूहको आधा हिस्सामाथि आक्रमण गर्ने सात सामाजिक जनवादी सांसदलाई यस अर्थमा अनुशासित पार्नु वर्गसचेत मजदुरहरूको कर्तव्य हो । समूहको एकता जोगाउन मजदुरहरूले हस्तक्षेप गर्नैपर्छ । अब चुप लागेर बस्न मिल्दैन । अब पनि नबोल्नु अपराध हुन्छ ।”
हाम्रा पार्टी समितिहरूले कलकारखाना र ज्यासलहरूमा व्यापक प्रचारप्रसार अभियान चलाए । संसदीय समितिमा उठेका मतभेदबारे मजदुरहरूलाई बताइयो । मजदुर सांसदहरूले विघटनकारी पत्रिकामा भाग लिन किन अस्वीकार गरे भन्ने पनि खुलस्त राखियो । यसपछि सर्वत्र हाम्रो पक्षमा मजदुरहरूले प्रस्ताव पारित गरे । उनीहरूले मेन्शेभिकहरूको अडान र कार्यनीतिलाई अस्वीकार गरे । यो मामिलामा सेन्ट पिटर्सबर्गका कारखाना र ज्यासलहरूका प्रतिनिधिहरू मजदुर सांसदहरूसँग प्रत्यक्ष भेट गर्न आए । उनीहरूले यसअघि मेन्शेभिकहरूको पक्षमा लाग्ने मजदुरले समेत हस्ताक्षर गरेका ती प्रस्तावहरू हामीलाई देखाए । पिटर्सबर्गका मजदुरहरूको आवाजमा चाँडै दूरदराजका मजदुरहरूले पनि आफ्नो आवाज मिसाए ।
(कहलिएका माक्र्सवादी बुद्धिजीवी) प्लेखानोभले समेत (मेन्शेभिक पत्रिका) ‘लुच’ मा ‘७ मेन्शेभिकहरू’ विरुद्ध लेखे ।
‘लुच’ मा मेन्शेभिकहरूमाथि आक्रमण भइरहँदा मजदुरहरूका बैठकहरूमा हाम्रो संसदीय समूहभित्र हामीविरुद्ध लडाइँ चलिरहेको थियो । एउटा मत बढी भएको फाइदा उठाउँदै मेन्शेभिकहरूले हामी मजदुर सांसदहरूको मुख थुन्न खोजिरहेका थिए । उनीहरू मिलेसम्म हामीलाई सदनमा बोल्नबाट रोक्न खोज्थे ।
सदनमा बोल्ने बेला हामीले सधैँजसो समूहको बहुमतसँग बाझाबाझ गर्नुपथ्र्यो । लामो र कठिन सङ्घर्षपछि मात्र उनीहरू हामीलाई बोल्न दिन राजी हुन्थे । यस्तो स्थितिमा बोल्शेभिकहरूले आफूले तय गरेको आजु पूरा गर्न हम्मेहम्मे पर्दै गयो । क्रान्तिकारी विचारको प्रचार गर्न संसद्को मञ्चलाई उपयोग गर्नु नै हाम्रो आजु थियो ।
हामीलाई सदनका बैठकहरूमा बोल्न नदिएर मात्र ‘७ मेन्शेभिकहरू’ ले चित्त बुझाएनन् । उनीहरूले हामीलाई संसदीय आयोगहरूबाट बाहिर राख्न खोजे । यी आयोग खासमा प्रश्नको विषयमा छलफल गर्नका निम्ति खडा गरिएका थिए । यस्ता आयोगमा विभिन्न विधेयक, बजेट आदिबारे बहस हुन्थ्यो । यी आयोग स्थायी थिए र संसद्को पहिलो सत्रमै खडा गरिएका थिए ।
संसदीय आयोगहरूमा सरकार र अन्य स्रोतबाट ठुलो मात्रामा दस्ताबेज जम्मा हुन्थ्यो । सदनमा विचार राख्नका लागि पनि सांसदहरूले यी सामग्रीको जानकारी राख्न आवश्यक थियो । सरकारका प्रतिनिधिहरू आयोगको बैठकमा आउँथे र सांसदहरूले उठाएका प्रश्नको जवाफ र स्पष्टीकरण दिन्थे । थल र जल सेनाका आयोगलाई छोडेर बाँकी सबै संसदीय आयोगमा सामाजिक जनवादी समूहका प्रतिनिधि थिए । हामीले धेरै विरोध गर्दागर्दै पनि कालासय संसद्ले हामी सामाजिक जनवादी र त्रुदोभिकहरूलाई ती दुई आयोगमा राख्न मानेनन् ।
आयोगका कामकारबाहीमा हामीले प्रचारप्रसारका लागि प्रचुर सामग्री पाउँथ्यौँ । हामी ती सूचनाको प्रयोग गर्दै हाम्रो पत्रपत्रिकामा लेख्थ्यौँ । संसद्को सबैभन्दा भित्री घेराभित्र के हुँदै छ मजदुरहरूलाई बताउँथ्यौँ । तैपनि, ‘७ मेन्शेभिकहरू’ संसद्का प्रायः सबै आयोगहरूमा समूहको तर्फबाट प्रतिनिधि बन्न मरिहत्ते गर्थे ।
सदनको पहिलो वर्ष संसद्का २६ आयोगमध्ये १९ आयोगमा समूहका प्रतिनिधि बने । बोल्शेभिकहरू बाँकी ७ आयोगमा मात्र समूहका प्रतिनिधि रहे । सामाजिक जनवादी समूहलाई दुई सीट छुट्याइएका आयोगमा समेत मेन्शेभिकहरू दुवै सीटमा बस्न खोज्थे । सबैभन्दा महत्वपूर्ण आयोग बजेट आयोग थियो । यो आफैमा छोटे संसद् थियो । संसदीय गतिविधिको एउटा प्रमुख अङ्ग थियो । सुरुसुरुका बैठकहरूमा चखाइद्जे र मालिनोभ्स्कीले यो आयोगमा हाम्रो समूहको प्रतिनिधित्व गरे । यतिले ‘७ मेन्शेभिकहरू’ को चित्त बुझेन । त्यो वर्षको अन्त्यमा पेत्रोभ्स्कीलाई ठाउँ छोडेर मालिनोभ्स्कीले बजेट आयोगबाट राजीनामा दिए । तर, त्यो स्थानमा मेन्शेभिकहरूले आफ्नै प्रतिनिधिलाई निर्वाचित गरे ।
‘७ मेन्शेभिकहरू’ को समग्र व्यवहार मजदुर सांसदहरूको घाँटी थिच्नमै केन्द्रित थियो । हाम्रा प्रत्येक कार्यमा तिनीहरूले हलो अड्काइरहे । अन्तर्राष्ट्रिय समाजवादी ब्युरोमा पनि सामाजिक जनवादी समूहको प्रतिनिधिको रूपमा तिनीहरूले एकहट्ट्ी गरे । ब्युरोको बैठकमा उनीहरू आफ्नै प्रतिनिधि पठाउँथे । त्यही प्रतिनिधिलाई विश्वले रुसी मजदुरहरूको वास्तविक प्रतिनिधि मान्नुपर्ने अवस्था थियो ।
सन् १९१३ को वसन्त यामको आगमनसँगै संसद्को हिउँदे अधिवेशन टुङ्गिन थाल्यो । त्यो बेलासम्म सामाजिक जनवादी समूहको किचलो सहिनसक्नु भइसकेको थियो । हाम्रो संसदीय समूहभित्रको दुर्दशालाई अझै सहँदै गए । हाम्रो गतिविधिका साथै समग्र क्रान्तिकारी आन्दोलनमा नोक्सानी पुग्ने पक्का भइसकेको थियो ।
चाँडै नै गर्मी बिदा सुरु भयो । यो बिदाले हाम्रो संसदीय समूहको अन्तिम फुटलाई केही समय स्थगनमा राखिदियो ।
पाठ ७
पोरोनिनो सम्मेलन
सम्मेलनको तयारी । पोरोनिनोमा । केन्द्रीय समितिको प्रतिवेदन । प्रमुख प्रस्तावहरू । ‘६ बोल्शेभिक’ बारे छलफल । के हामीले संसदीय समूहको फुट स्वीकार्ने नै हो ?
सन् १९१३ को जून १५ को दिन संसदको गर्मी बिदा सुरु भयो । पार्टीको नियमित सम्मेलन संसद् स्थगनपछि हुने तय भएको थियो । सम्मेलनलाई गर्मीको अन्त्यतिर सारिएको थियो । हामी ‘६ बोल्शेभिकहरू’ लाई आ–आफ्नो निर्वाचन क्षेत्रको भ्रमण सक्याएर सहभागी गराउन सम्मेलनलाई पछि सारियो । उनीहरूले आआफ्ना (प्रान्तका) स्थानीय समितिहरूमा संसदीय गतिविधिको रिपोर्ट दिनुपथ्र्यो र ती समितिको स्थिति बुझ्नुपथ्र्यो । स्थानीय समितिहरूमा संसदीय समूहभित्रको अवस्था खुलस्त राख्नु नै मजदुर सांसदहरूले यसपालिको मुख्य विषयवस्तु बन्यो । अर्कोतर्फ, यसरी जम्मा गरिएको जानकारीलाई सांसदहरूले आउँदो पार्टी सम्मेलनमा छलफलको सामग्री बनाउनुपर्ने थियो ।
सेन्ट पिटर्सबर्गबाट मजदुर सांसदहरू बाहिर जानाले गुप्त प्रहरीको चहलपहल एकाएक बढ्यो । प्रहरी विभागले स्थानीय अधिकारीहरूलाई आदेश दिएर हैरान पार्न थाले । हेर्नू, नियाल्नू, मनाही गर्नू आदि इत्यादि सुरु भयो । स्थानीय पार्टी समितिहरूलाई खतरामा नपारी हाम्रो जिम्मेवारी पूरा गर्न र साथमा प्रहरीको आँखा पनि छल्न असाध्यै गा¥हो थियो ।
हामी ‘६ बोल्शेभिकहरू’ विभिन्न जिल्लाका मजदुर वर्गीय केन्द्रमा गयौँ† मजदुरका सभा र बैठकहरूमा बोल्यौँ† स्थानीय पार्टी अधिकारीहरूसँग विचार आदानप्रदान ग¥यौँ । यति गरेपछि जनताको ठुलो हिस्सा बिस्तारै बोल्शेभिक पक्षमा आइरहेको हामीले देख्यौँ । ‘६ बोल्शेभिकहरू’ ले सदनभित्र र बाहिर गरेको गतिविधिलाई स्थानीय सङ्गठनका बहुमत सदस्यहरूले सकारे । तीमध्ये केहीले त ‘७ मेन्शेभिकहरू’ बाट तुरुन्तै अलग्गिनुपर्ने विचार समेत राखे ।
तैपनि, बहुमत मजदुरहरूले सामाजिक जनवादी समूहको एकतालाई जोगाउन एउटा अन्तिम प्रयास गर्नुपर्ने बताए । बाहिर देखाउनै भए पनि अन्तिम प्रयत्न जरुरी रहेको उनीहरूको राय थियो । संसदीय समूहमा बोल्शेभिक नेतृत्व कायम गर्न असम्भव ठहरिए कम्तीमा ‘७ मेन्शेभिक’ लाई नोक्सानी गर्नबाट रोकेर बोल्शेभिक सांसदहरूले संसद्को अधिकतम उपयोग गर्न मिल्ने बताइयो । यति पनि गर्न नमिले पार्टीका अन्य सङ्गठनमा जस्तै सदनमा पनि मेन्शेभिकहरूबाट अलग्गिनुपर्ने बहुमत मजदुरहरूले बताए ।
हामीले भ्रमणको क्रममा पार्टी समिति र मजदुरहरूको सामान्य मनोदशाबारे थाहा पाएका कुराको सारसंक्षेप तयार पा¥यौँ । यति गरेपछि सेप्टेम्बरको अन्त्यतिर हामी पार्टी सम्मेलनतर्फ प्रस्थान ग¥यौँ । सम्मेलन पोरोनिनो गाउँमा हुँदै थियो । पोरोनिनो एउटा गाउँ थियो । यो गाउँ अस्ट्रियाको राजधानी क्राकोनजिकै रहेको गालिसियामा पथ्र्यो । लेनिन र केन्द्रीय समितिका अन्य केही सदस्य त्यही गुप्तबासमा हुनुहुन्थ्यो । प्रहरीको आँखा छल्न पोरोनिनो सम्मेलनलाई हामीले सधैँ अगस्त सम्मेलन भन्थ्यौँ । वास्तवमा त्यो सम्मेलन सन् १९१३ को सेप्टेम्बरमा भएको थियो ।
सम्मेलनमा पार्टी सङ्गठनका २५–३० प्रतिनिधि सहभागी थिए । गालिसियामै बस्ने लेनिन, जिनोभित् र क्रुप्सकायाका साथै सम्मेलनमा कामेनेभ, शटमान, इनेसा अर्मान्दा, त्रोयानोभ्स्की, राज्मिरोभिच, हानेकी र अन्य पार्टी नेता आउनुभएको थियो । बोल्शेभिक सांसदहरूमध्ये सामोइलोभबाहेक सबैजना सम्मेलनमा उपस्थित भयौँ । सामोइलोभ बिरामी हुनाले उपस्थित हुन सकेनन् ।
क्राको सम्मेलनपछि झन्डै १२ महिना बितेका थिए । यसबिच रुसको क्रान्तिकारी आन्दोलनमा धेरै प्रगति भएको थियो । जनवरी ९ (आइतबारे हत्याकाण्डको स्मृति), अप्रिल ४ (लेना नरसंहारको स्मृति) र मे १ मा भएका राजनीतिक हडताल निकै सशक्त थिए । बितेको वर्ष रुसी मजदुरहरूले पहिलोपल्ट अन्तर्राष्ट्रिय महिला दिवस मनाएका थिए । आर्थिक हडतालमा पनि मजदुरहरूको जुझारूपन र बलियो संयोजन देखिएको थियो । मजदुरहरूविरुद्ध पुँजीपतिहरूले तालाबन्दी जस्तो नयाँ अस्त्र प्रयोग गरेकोमा मजदुरहरूले बडो साहसका साथ इँटको जवाफ पत्थरले दिएका थिए । समग्रमा सन् १९१३ मा रुसका १० लाखभन्दा बढी मजदुर हडतालमा सहभागी भएका थिए । त्यसमध्ये राजनीतिक हडतालमा ५ लाख मजदुरले भाग लिएका थिए ।
सन् १९१३ मा पार्टी गतिविधि सबल, व्यापक र सुदृढ बन्यो । सङ्गठनका नयाँ समूहहरू बने । पुराना समितिहरू ठुला र प्रभावशाली बन्दै गए । मजदुरवर्गका सबै गैरकानुनी सङ्गठनहरूका साथै गुप्त सांस्कृतिक र शैक्षिक समाजहरूमा बोल्शेभिक प्रभाव बढ्यो । यो क्रान्तिकारी उभारको फलस्वरूप पोरोनिनो सम्मेलनमा ठुला धेरै विषयमा छलफल भयो । सम्मेलनमा सङ्गठन, कार्यनीति, प्रचारप्रसार, सङ्घर्ष आदि बहसका विषय बने ।
विभिन्न समितिका प्रतिवेदन वाचन सम्मेलनको पहिलो एजेन्डा बन्यो । सेन्ट पिटर्सबर्ग, मस्को, युक्रेन, पोल्यान्ड र युरोलका प्रतिवेदनबारे छलफल भयो ।
सम्मेलनका सबै प्रतिनिधि सेन्ट पिटर्सबर्गका मजदुरले गरेका हडताल र राजनीतिक गतिविधिबारे अवगत थिए । त्यसैले मेरो प्रतिवेदन मुख्यतया पार्टी सङ्गठनको अवस्था र सेन्ट पिटर्सबर्ग समितिका कामकारबाहीमा केन्द्रित गरेँ । क्राको सम्मेलनको निर्णय अनुसार समितिहरूको पुनर्गठनका लागि महत्वपूर्ण उपाय अवलम्बन गरिएको थियो र सेन्ट पिटर्सबर्ग सङ्गठन सदृढ पारिएको थियो । संसद्को उद्घाटनको बेलाजस्तो छिटफुट छापामार गतिविधि गर्न सम्भव थिएन । नेतृत्व अब कार्यकारी आयोगहरूमा केन्द्रित थियो । सेन्ट पिटर्सबर्ग समिति नार्भा, नेभा, भिबोर्ग र भासिल्योस्त्रोभ्स्की जिल्लासँग जोडिएको थियो । यी जिल्ला रुसका मुख्य मजदुर वर्गीय इलाका थिए । मैले त्यसबेला सेन्ट पिटर्सबर्गसँग मिलेर काम गरिरहेका दुई भूमिगत छापाखानाका गतिविधिबारे विस्तृत कुरा बताएँ । ती छापाखानाले मजदुर युनियनको गतिविधिसँग जोडिएका २० हजार पर्चा प्रकाशित गरेका थिए । साथै, मैले ‘प्राभ्दा’ लाई सहयोग, हडताली कोषको लागि गरिएको अपिल आदि बारे बताएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *