भर्खरै :

नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले इमानदारीपूर्वक जनताको सेवा गर्दै छन्

नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले इमानदारीपूर्वक जनताको सेवा गर्दै छन्

भक्तपुर, १३ मङ्सिर । संगम बचत तथा ऋण सहकारी संस्थाको अठारौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिकाको सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले देश र जनताको सेवामा भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतमा प्राथमिकता दिई कार्य गरिरहेको जानकारी दिनुभयो ।
नगरवासीको आर्थिक र सांस्कृतिक स्तर उठाउन भक्तपुर नगरपालिकाले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताअनुसार जनप्रतिनिधिहरूले इमानदारीपूर्वक कार्य गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरमा सञ्चालित सहकारी संस्थाहरूको विशेष आर्थिक सहयोगबाट नै ख्वप अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न सफल भएकैले ख्वप अस्पतालले बिरामीहरूको लागि निःशुल्क अक्सिजन वितरण गर्न सकेको हो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नगरवासीको हितलाई ध्यानमा राखेर नै भनपाले विभिन्न ठाउँमा आवास योजना सञ्चालन गरिरहेको हो । यसैको निरन्तरता देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजना पनि हो ।”
भक्तपुर जिल्ला बचत तथा सहकारी संस्थाका प्रतिनिधि कृष्णगोविन्द लाखाले सहकारीको नीति भनेको सहकार्य र सहयोग भएकोले बचतकर्ताको हित हुने आर्थिक उन्नतिका गतिविधि सञ्चालन गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि सदस्यहरूको हितमा सीपमूलक तालिम र व्यवसाय प्रवद्र्धनसम्बन्धी तालिम दिनु जरुरी छ, यसो गर्न सकेमा सहकारीको वास्तविक उद्देश्य पूरा हुनेछ ।”
संस्थामा सल्लाहकारद्वय राजाराम चवाल र न्हुछेराम भेलेले संस्थाले स्थापनाकालदेखि नै जनताको समस्या समाधान गर्दै आयस्रोत बढ्ने गतिविधिलाई जोड दिँदै आएको छ भन्नुभयो । समुदायमा आधारित सहकारीले सामाजिक कार्यमा सहकार्य गर्दै निमुखा जनताको आर्थिक उन्नतितर्फ सहकारीले ध्यान दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
साधारणसभाबाट संस्थाको प्रगति प्रतिवेदन, विभिन्न गतिविधि र निर्णय तथा आर्थिक प्रतिवेदनहरू पारित गरियो ।
कार्यक्रममा संस्थाका सचिव विजय लोहला, कोषाध्यक्ष बलराम नागा, लेखा समिति संयोजक पुण्यराम भेले, सञ्चालक सदस्य विकास तमखु र विश्वगणेश हाकुदुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष बलराम सिबन्जारको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *