भर्खरै :

शासकहरूकै कारण देश पराधीन

शासकहरूकै कारण देश पराधीन

यो पुँजीवादी व्यवस्थामा पुँजीवादी पार्टी तथा नक्कली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र सो पक्षका अन्य पिछलग्गूहरूले इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने जनप्रतिनिधि, सांसद तथा नेता कार्यकर्ताहरूलाई विरोध गर्नु स्वाभाविक हो । शासकहरूलाई सही ठाउँमा ल्याउनको निम्ति सदन र सडकमा आवाज बुलन्द गर्नेहरूलाई उनीहरू मनपराउँदैनन् । आर्थिक सङ्कट र ऋणीको देश बनाएर बाँडीचुँडी खाने हालसम्मका शासकहरूकै कारण देश पराधीन बनेको हो; अराजनीतिक र आपराधिक गतिविधि बढेको हो । राजनीतिलाई कमाइ खाने भाँडो बनाउन पछि नपर्ने शासक दलका नेता र कार्यकर्ताहरूले निःस्वार्थपूर्वक देश र जनताप्रति समर्पित भएर सेवा गरिरहेका नेमकिपाका नेता तथा कार्यकर्ताहरूलाई आधाधुन्ध विरोध गर्ने कामलाई आफ्नो धर्म ठाने । अबको प्रतिनिधिसभाको निर्वाचनमा देशभक्त, इमानदार, निःस्वार्थी, दूरदर्शी तथा देश र जनताप्रति समर्पित दलका नेता तथा कार्यकर्ताहरूलाई होइन† अपराधी, भ्रष्टाचारी, कमिसनखोर, दलगत र व्यक्तिगत स्वार्थ खोज्ने, सिद्धान्त र विचार बन्धक राखेर भागबन्डा गर्ने, सरकारको नेतृत्व गर्ने नाउँमा वर्गीय शत्रुसँग गठबन्धन गर्ने, पद र पैसाको निम्ति राजनीति गर्ने दलका उम्मेदवारहरूलाई सबै जिल्लाबाट हराउनुपर्छ ।
पुँजीवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले अनेक पद र पैसाको प्रलोभनमा, सर्वसाधारण जनतालाई फसाउने, भड्काउने, भ्रम फैलाएर हातमा लिने काम हिजोझैँ आज पनि गरिरहेका छन् । देशका सबै दल तथा दलका नेताहरूले नेमकिपाका नेता तथा कार्यकर्ताले झैँ निःस्वार्थी र इमानदारीपूर्वक सेवा गरे, शोषित पीडित जनताको पक्षमा राजनीति गरे न देशमा भ्रष्टाचार हुन्छ न अनियमितता हुन्छ । नेमकिपाले लिएको र देखाएको बाटोमा सरकारहरू लागेका भए सन्तुलित विकासमात्र होइन† शोषित पीडित जनताको हित हुन्छ र देशमा शोषणरहित समाज स्थापना हुन्छ । देशमा साँच्चै विधि र सुशासन हुन्छ ।
सर्वसाधारण जनतामा राजनीतिक, वैचारिक, सांस्कृतिक र सैद्धान्तिक ज्ञानको अभावको कारण देशका सामन्त, प्रतिक्रियावादी, पुँजीपति, जालीफटाहा, कमिसनखोर, अपराधी र उच्छृङ्खल तथा अराजकतावादीहरूले फाइदा उठाइरहेका छन् । सांस्कृतिक स्तरको कमजोरीकै कारण देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेका दलका उम्मेदवारहरूलाई चाहेर पनि सर्वसाधारण जनताले देशको विभिन्न जिल्लामा निर्वाचित गर्न सकेका छैनन् । पैसामा बिक्ने, कुरै नबुझी लहैलहैमा लाग्ने र सिद्धान्त र विचारभन्दा पद, पैसा र भागबन्डा शासकहरू लागेको कारण स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा इमानदार र निःस्वार्थी जनप्रतिनिधिहरूको अभाव भएको हो । पद र पैसाको राजनीति गर्ने दलका उम्मेदवारहरू निर्वाचित भएसम्म उनीहरू इमानदारीपूर्वक देश र जनताको सेवा गर्दैनन् ।
नेमकिपाले कहिले पनि जातीय राजनीति गरेन; साम्प्रदायिक भावना फैलाउने काम गरेन । प्रतिनिभिसभा निर्वाचनमा समानुपानिफतर्फ सदर मतको ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सीट जितेमा राष्ट्रिय दलको मान्यता पाइने थ्रेसहोल्ड (मतसीमा) को विरोध गर्ने पहिलो दल नेमकिपा नै हो । दलले प्राप्त गरेको मतको आधारमा कुनै दललाई ‘राष्ट्रिय’ र ‘अराष्ट्रिय’को सूचीमा राख्नु प्रजातान्त्रिक कदम होइन । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन अहिले पुराना दलमात्र होइन धेरै नयाँ दलहरूले पनि निर्वाचन आयोगमा दल दर्ता गरे । यही थ्रेसहोल्ड (मतसीमा) कै कारण कति दलहरू मिले, कतिले अलग अलग भए पनि एउटै चुनाव चिह्न रोजे । मङ्सिर १४ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘नयाँ – पुराना दललाई थ्रेसहोल्डकै चिन्ता !’ शीर्षकको समाचार छापियो । निर्वाचन आचारणसंहिता तोड्ने, सरकारमा गएर पनि दलको घोषणापत्रअनुसार काम नगर्ने, पैसा बाँडेर जित्ने दलका उम्मेदवारहरू खारेज गर्नुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने, व्यक्तिको सम्पत्ति सीमाङ्कन गर्नुपर्ने माग नेमकिपाले नै उठाएको हो । नेमकिपाका यी मागहरू के देश र जनतासित सम्बन्धित छैनन् ?
वास्तवमा देशको निम्ति नेमकिपा आवश्यक छ । देशलाई पराधीन बनाउने, देशको अस्थिरतामा आँच पुग्ने खालका सन्धिसम्झौता गर्ने, तराई टुक्रा गर्न भूमिका तयार गर्ने र देशै नरहे पनि हुने तर्क दिने दल र दलका नेताहरूले निर्वाचनमा जति प्रतिशत मत ल्याए पनि जति सांसद जिते पनि ‘राष्ट्रिय’ पार्टी हुनसक्दैन । ‘राष्ट्रिय’ पार्टीको मापदण्ड निर्वाचनमा प्राप्त मतलाई होइन त्यो दलको सिद्धान्त र विचारलाई मान्नुपर्छ । देशको प्राकृतिक स्रोत र साधन विदेशलाई दिने ‘राष्ट्रिय’ र त्यसको विरोध र निन्दा गर्ने दल ‘अराष्ट्रिय’ ? देशको सीमा मिचे पनि मौन रहने या समर्थन गर्ने दल ‘राष्ट्रिय’ र त्यसको विरोध गर्ने दल कहिल्यै ‘अराष्ट्रिय’ हुन्छ ? प्राप्त मतको आधारमा राज्यको स्रोतमा आँखा गाड्ने दल ‘राष्ट्रिय’ र दललाई देशको पैसाले पाल्नु हुँदैन भनी विरोध गर्ने दल ‘अराष्ट्रिय’ । आज ‘राष्ट्रिय’ दलको मान्यता पाउने तर व्यवहारत : ‘अराष्ट्रिय’ गतिविधिमा संलग्न दलका नेता र कार्यकर्ताहरू पार्टी स्थापनादेखि देश र जनताको निम्ति सङ्घर्षरत दलका उम्मेदवारलाई हराउनुपर्छ भनी समय खर्चिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *