भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – २८

  • मंसिर १६, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – २८

हामीले पूर्णतः माक्र्सवादको भावनाअनुरूप कार्य गर्दै आएका छौँ र वैचारिक हिसाबले हामी यही नीतिमा प्रतिबद्ध छौँ । यो कुराबारे तपाईँहरू अवगत हुनुहुन्छ । कामरेडहरू, हाम्रा क्रियाकलाप माक्र्सवादसम्मत छन् र रुसका अब्बल दर्जाका माक्र्सवादी मजदुरहरूको ठुलो बहुमतको आदेशअनुसार हामी चलेका छौँ । हामीले बढाइँचढाइ गर्नुपर्दैन, तपाईँहरूलाई यो कुरा थाहा छ । मजदुरहरूको पहिलो पत्रिका ‘प्राभ्दा’ ले सन् १९१२ अप्रिल–मे महिनामा ल्याएको मजदुर आन्दोलनको उभारबाट पनि यो कुरा प्रमाणित हुन्छ । त्यो बेला बहुमत मजदुरवर्ग जुलुस प्रदर्शनमा आएका थिए । चौथो राज्य संसद्को लागि मजदुर निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा बोल्शेभिकहरूको विजयले पनि सोही तथ्य साबित गर्छ । दोस्रो र तेस्रो संसद्मा भन्दा यसपालि बोल्शेभिक सांसदहरू भारी मतले निर्वाचित भए । रुसका वर्गसचेत मजदुरहरूबिच विघटनकारीहरूको विरोधमा माक्र्सवादको प्रभाव बढ्दै छ । सेन्ट पिटर्सबर्गको धातु मजदुर युनियनको बोर्ड निर्वाचनका साथै मस्कोमा पहिलो मजदुर पत्रिकाको प्रकाशनले यही कुरा साबित ग¥यो ।
हामी माक्र्सवादको झण्डामुनि गोलबन्द रुसी मजदुरहरूको आदेशअनुसार काम गर्नुलाई नै आफ्नो कर्तव्य मान्छौँ । तैपनि, तपाईँ सात सांसद त्यो जनादेशभन्दा बाहिर गएर स्वतन्त्र ढङ्गले काम गर्न खोज्नुहुन्छ । तपाईँहरू जनादेशविपरीत गएर निर्णय लिनुहुन्छ । तपाईँहरूले पोलिस सांसद जागेल्लोलाई समूहमा स्वागत गर्नुभएको हामीले बिर्सेका छैनौँ । जब कि पोल्यान्डको कुनै पनि सामाजिक जनवादीले उनलाई चिन्दैन । हेक्का रहोस्, तपाईँहरूले मजदुरहरूको चाहनाविपरीत गएर सांस्कृतिक स्वायत्तताको राष्ट्रवादी नारा दिनुभएको थियो । यस्ता धेरै घटना छन् । विघटनकारी विचारबारे तपाईँहरू के सोच्नुहुन्छ भन्ने विषयमा हामीसँग सटिक तथ्याङ्क छैन । तर, आधा मनले भए पनि तपाईँहरू त्यसतर्फ तानिनुभएको छ भन्ने हाम्रो बुझाइ छ । जेहोस्, तपाईँहरू आफूलाई कुनै विचार वा वर्गसचेत रुसी मजदुरहरूको आकाङ्क्षाले बाँधिएको मान्नुहुन्न । तर, हामी तिनै मजदुरसँग काँधमा काँध मिलाएर अघि बढिरहेका छौँ ।
यस्तो स्थितिमा विश्वको जुनसुकै देशका प्रत्येक समाजवादी, प्रत्येक वर्गसचेत मजदुरले हामीलाई दबाउने तपाईँहरूको प्रयासको कडा निन्दा गर्नेछ । एउटै अतिरिक्त भोटले तपाईँहरूले हामीलाई दबाउँदै हुनुहुन्छ र यही झिनो अन्तरले तपाईँहरू हामीमाथि आफ्नो नीति लाद्न खोज्नुहुन्छ । जब कि तपाईँहरूको नीतिलाई रुसका बहुमत मजदुरले अस्वीकार गरेका छन् ।
बाध्य भएर भन्नैपर्छ काम गर्ने सवालमा सदनभित्र र बाहिर हामीबिच सम्झौता नै गर्न नसकिने मतभेदहरू छन् । तपाईँहरूको कार्यशैली हामीलाई बहिष्कार गर्ने र सकेसम्म कम प्रतिनिधित्व गराउने खालको छ । यो फुटको बाटो हो । यसले हामी सँगै काम गर्ने सम्भावनाको घाँटी रेट्छ । तर, सामाजिक जनवादी समूहको एकतामाथि मजदुरहरूले लगातार जोड दिँदै आएका छन् । यसकारण, विगतको अनुभवले देखाएअनुरूप सदनको काममा देखावटी रूपमा भए पनि संसद्को काममा यस्तो एकता हासिल गर्न सकिन्छ । तसर्थ, हामी साफ शब्दमा तपाईँहरूसँग अन्तिम पल्ट भन्दै छौँ – आइन्दा मजदुरहरूका ६ सांसदलाई तपाईँका ७ मतले दबाउन पाइनेछैन । ‘६’ र ‘७’ सांसदबिच पूर्ण समानता मान्य हुन्छ र तपाईँहरूले सदनको काममा हामीबिच सम्पूर्ण मुद्दामा एकमत हुन स्वीकार्नुहुन्छ भनेमात्र सामाजिक जनवादी समूहको एकता सम्भव हुनेछ ।”
यो घोषणा ‘प्राभ्दा’ पत्रिकामा प्रकाशित भयो । सारा मजदुरहरूलाई हामी ‘६ बोल्शेभिक’ को मागमा समर्थन जनाइदिन अपिल गर्दै यसलाई पर्चाको रूपमा पनि छापियो । समूहभित्र भइरहेको सङ्घर्षको अर्थ व्याख्या गर्दै सोही दिन ‘प्राभ्दा’ ले ‘७ मेन्शेभिकहरू’ विरुद्ध प्रचार अभियान सुरु ग¥यो । एउटा लेखमा सामाजिक जनवादी समूहका सांसदहरू निर्वाचित भएको क्षेत्रमा बसोबास गर्ने मजदुरहरूको तथ्याङ्क छापियो । बोल्शेभिकहरू विजयी भएका क्षेत्रमा १० मध्ये ९ मजदुर बस्थे भने मेन्शेभिकहरू विजयी भएका क्षेत्रमा कुल मजदुरमध्ये १० को १ भाग मात्र बस्थे । (मेन्शेभिक) विघटनकारीहरूलाई उदाङ्ग्याउँदै विदेशमा निर्वासित केन्द्रीय सदस्यहरूले धेरै लेख पठाए । केही लेख लेनिनका थिए । ‘प्राभ्दा’ मा ती लेख सिलसिलेवार छापियो । तीमध्ये केही लेखमा मेन्शेभिकहरूले पार्टीविरुद्ध चलाइरहेको सङ्घर्षको आपराधिक पाटो उजागर गरिएको थियो ।
‘प्राभ्दा’ ले मजदुरहरूका लागि एउटा अपिल छाप्यो – “रक्षाका लागि एकजुट बनौँ ¤ हाम्रो धैर्यको बाँध भत्किँदै छ । मजदुर सांसदहरूले समूहको बहुमतसँग काम गर्ने स्वतन्त्रताको माग गरेका थिए । सर्वहारा जनताले दिएको आदेशअनुसार काम गर्न आग्रह गरेका थिए । जवाफमा ‘७ सांसद’ ले विषयलाई पन्छ्याउन खोजे । त्यसकारण, मजदुरहरू आफैले यो मुद्दा सल्टाउनुपर्छ । मजदुरवर्गको हित चाहने सबै हितैषीसँग हाम्रो अपिल छ, मजदुर सांसदहरूको रक्षाका लागि एकजुट बनौँ । ‘७ सांसदहरू’ लाई बताइदिऔँ – मजदुरले रोजेका सांसदहरूको, प्रतिबद्ध माक्र्सवादीहरूको भावनामा चोट पु¥याउन पाइँदैन । मजदुरहरूले त्यसो हुन दिने छैनन् ।”

सेन्ट पिटर्सबर्गका मजदुरहरूले हाम्रो अपिलको जवाफ दिए । तिनको उदाहरणलाई देशका अन्य ठुला सहरका मजदुरले पनि पछ्याए । ‘प्राभ्दा’ का पानाहरू देशभरिका मजदुरहरूले पारित गरेका प्रस्तावले भरिन थाले । मजदुरहरूले ‘७ मेन्शेभिकहरू’ को व्यवहारको निन्दा गरे र मजदुर सांसदहरूको पक्ष लिने वाचन दिए । मेन्शेभिकहरूले हाम्रा मागको विषयमा विचार राख्नुपूर्व हामीले प्राप्त गरेको सुरुसुरुको मजदुर प्रस्ताव यस्तो थियो :
“हामी पुतिलोभ कारखानाको बन्दुक ज्यासलका मजदुरहरूले राज्य ड्युमाको सामाजिक जनवादी समूहभित्र भइरहेको वादविवादबारे अखबार पढेर थाहा पायौँ । मजदुर क्षेत्रबाट निर्वाचित ६ सांसदहरूको माग एकदम सही छ भन्ने हाम्रो बुझाइ छ । यी सांसद समग्र रुसी मजदुरवर्गका प्रतिनिधि हुन् । साथै, मजदुरवर्गको कार्यनीतिसम्बन्धी सम्पूर्ण कार्यमा दिशानिर्देश गर्ने ‘६ सांसद’ को अधिकारलाई ७ सांसदहरूले स्वीकारेको हामी हेर्न चाहन्छौँ ।”
‘७ मेन्शेभिकहरू’ सामु गरेको घोषणा प्रकाशित भएको पहिलो हप्ता २५ वटा कारखानामा मजदुरहरूले ‘प्राभ्दा’ मा आफ्ना निर्णय र सङ्कल्प पठाए । ती पत्रहरूमा २५ सय मजदुरहरूको हस्ताक्षर थियो । साथै, सेन्ट पिटर्सबर्ग क्षेत्रका सयौँ मजदुरहरूका चार प्रतिनिधिको बैठकले (मेन्शेभिक) विघटनकारीहरूको विरोध गरे र ‘६ सांसद’ को पक्ष लिए । यस्तै प्रस्ताव झन्डै ३ हजार मजदुरहरूको प्रतिनिधित्व गर्ने चार ट्रेड युनियनको कार्यसमितिले पारित ग¥यो ।
फुट लगभग निश्चित भइसकेको त्यो बेला हाम्रा सम्पूर्ण पार्टी सङ्गठनले मजदुरहरूबिच राम्रो गतिविधि गरे । धातु मजदुरहरूको समितिले कैयन् बैठकहरू डाके । ती बैठकमा हामी ‘६ सांसदहरू’ ले दिनकै आफ्ना कुरा राख्थ्यौँ । मजदुरहरूले पनि मेन्शेभिकहरूविरुद्ध सङ्घर्षमा निकै चासो लिइरहेका थिए । केही जिल्लामा भएका सभामा मेन्शेभिकहरूका समर्थकहरूले हामीले बोल्दै छौँ भन्ने थाहा पाएपछि ‘७ सांसद’ मध्ये एकजनालाई पनि बोलाएछन् । यस्तो जम्काभेटमा हुने वादविवादमा मेन्शेभिकहरू जहिल्यै अप्ठ्यारोमा पर्थे । किनभने, झगडाको सही कारण प्रस्ट बुझेपछि बहुसङ्ख्यक मजदुरहरू बोल्शेभिकहरूको पक्षमा आउँथे र संसदीय समूहले बोल्शेभिक नीति अङ्गीकार गर्नुपर्ने माग राख्थे ।
हाम्रा मागबारे सिधै जवाफ दिन अस्वीकार गर्दै ‘७ सांसदहरू’ ले ‘नोभाया राबोचया गजेट’ मा आफ्नो अडानबारे लम्बेतान व्याख्या छापे । (पुरानो ‘लुच’ को सट्टा मेन्शेभिकहरूले यो ‘गजेट’ छाप्न थालेका थिए ।) उनीहरूको नीति एकदम स्पष्ट थियो । उनीहरू विषयलाई भरसक पछि धकेल्न चाहन्थे । साथमा उनीहरू अखबारमा अभियान चलाउँदै थियो र बेलाबेला मजदुरहरूबिच गइरहेका थिए । यसरी हामीलाई बाहिरबाट दबाब दिने तिनको सोच थियो । तर, उनीहरूको हिसाब गलत ठहरियो । हाम्रो निर्णय गम्भीर थियो र केही दिनको ढिलाइले त्यसलाई असर गर्ने थिएन ।
अक्टोबर २१ गते हामी संसदीय समूहको नियमित बैठकमा सहभागी भयौँ । हामीले पुनः उही माग दोहो¥यौँ । ‘७ सांसद’ को तर्फबाट चखाइद्जेले अन्तिम जवाफ चार दिनपछि दिने बताए । त्यतिञ्जेल पुरानै आधारमा काम जारी राख्न सकिने उनले भने । अर्थात्, समूहका दुई खेमा समान हुन् भन्ने विचार नमानी अघि बढ्नुपर्ने उनको आसय थियो । त्यसपछि बैठक त्यही स्थगित भयो । ‘६ बोल्शेभिक’ र ‘७ मेन्शेभिक’ हरूले कामरेड नोभोस्योलोभसँग छुट्टाछुट्टै बैठक बसे । नोभोस्योलोभ हाम्रो समूहका पाले हुनुहुन्थ्यो । उहाँले दुवै खेमाका प्रस्ताव एकअर्काकहाँ पु¥याइदिने काम गर्नुहुन्थ्यो । अन्त्यमा हामीले ‘७ सांसद’ लाई हामी केही दिन पर्खिन राजी भएको तर यसबिच हामीले समूहको तर्फबाट कुनै मतदानमा भाग नलिने जानकारी गरायौँ । बरु, प्रत्येक मुद्दामा हामीले ‘६ सांसद’ को सामूहिक निर्णय घोषणा गर्ने पनि जनाइदियौँ ।
समूहका त्यसपछिका बैठकबाट पनि मेन्शेभिकहरूले आफ्नो (एउटा अतिरिक्त मतले प्राप्त) सत्ता त्याग्न नचाहेको देखियो । उनीहरूले सदनको प्रश्नोत्तरमा हामीलाई बोल्न दिएनन् । प्रेसको विषयमा हाम्रो समूहको तर्फबाट दुई वक्ताले बोल्ने अवसर थियो । तर, यसमा पनि दुई मेन्शेभिकहरूले बोले । उनीहरूले हाम्रा दुई खेमाबिच यस सम्बन्धमा कुनै मतभेद नहुनाले दुवै खेमाका वक्ताका बोल्न दिनुको तुक नभएको तर्क दिए । मतभेद भए बोल्शेभिक वक्तालाई बोल्न दिनुहुँदैन किनभने त्यसले एकता भाँड्छ र मतभेद नभए सदनमा बोल्शेभिकहरूले बोल्न आवश्यक नै छैन – कति रमाइलो तर्क !
सदनको अर्को सत्रमा ‘७ सांसद’ ले विघटनकारी सिद्धान्तलाई कुन हदसम्म स्वीकारेका रहेछन् भनेर देखाए । समूहको तर्फबाट बोल्दै मेन्शेभिक तुल्याकोभले घोषणा गरे, “सङ्गठनको अधिकारमा बैठक बस्ने अधिकार पनि पर्छ र यही नै हाम्रो सङ्घर्षको नारा हो ।” यसरी तुल्याकोभले खुलेर एउटा विघटनकारी नारा लगाए । यो हाम्रो पार्टीको मान्यताविरुद्ध थियो । किनभने, मजदुरहरूको वास्तविक क्रान्तिकारी मागलाई यसले ओझेलमा पाथ्र्यो ।
अन्त्यमा अक्टोबर २५ को दिन मेन्शेभिकहरूले हाम्रा मागहरूको जवाफ दिए । हामीले सोचेझैँ भयो । उनीहरूले हाम्रा सारा माग अस्वीकार गरे र पुरानै ढर्रामा समूहको काम जारी राख्ने प्रस्ताव राखे । यस्तो लिखित जवाफ पाएपछि हामी बैठकबाट बाहिरियौँ । त्यो नै चौथो राज्य संसद्मा क्रियाशील सामाजिक जनवादी समूहको अन्तिम बैठक भयो । फुट अब अनिवार्य तथ्य बनिसकेको थियो ।
भोलिपल्ट ‘प्राभ्दा’ मा सम्पूर्ण मजदुरहरूलाई सम्बोधन गर्दै ‘६ सांसदहरू’ को अपिल प्रकाशित भयो :
“७ सांसदहरूको हाम्रा सारा माग अस्वीकार गरे र तिनको जवाफ पढेर प्रत्येक मजदुरहरूले आफूलाई निःसन्देह यही सोध्नेछ – अब के गर्ने त ?
के समूह पुनः एक होला ? माक्र्सवादी सङ्गठनभन्दा माथि बसेर सामाजिक जनवादको नाममा मजदुरहरूले ७ सांसदहरूलाई बोल्न देलान् त ? ‘७ सांसदहरू’ ले एकमते बहुमतका आधारमा मजदुरहरूको आकाङ्क्षाविरुद्ध जाने नीति अपनाएको स्थितिमा हामीले अब गर्ने ?
मजदुरहरूले सदनको सामाजिक जनवादी समूहलाई एकताबद्ध देख्न चाहेको हामीलाई थाहा छ । त्यो एकताको आधारबारे हामीले राखेको अवधारणामा तपाईँहरूको मत के छ भनी सर्वहारा जनतालाई सोध्दा हजारौँ मजदुरहरूले ‘सही छ’ भने । हामी विश्वस्त छौँ रुसका बहुसङ्ख्यक मजदुरहरूको राय यही हो ।
त्यो एकताका निम्ति हामीले समूहको कामलाई रोकेनौँ र समूहको एकता भाँड्नबाट बहुमतलाई रोक्न सकेको सबै ग¥यौँ । समूहका आपसी खटपटलाई एकातिर राखेर ७ सांसदहरूले लाखौँ मजदुरहरूको आवाज सुन्नेछन् भनी हामीले अपेक्षा गरेका थियौँ । किनभने, ती मजदुरले विभिन्न निर्णय र सङ्कल्प पारित गरेर हाम्रा मागहरूलाई अनुमोदन गरेका थिए ।
तर, हामीले सोचेजस्तो भएन । ती ‘७ सांसद’ ले हाम्रा माग अस्वीकार गरे, मजदुरहरूलाई हेला गरे र आफ्नै इच्छालाई माथि राखे । अब हामीलाई स्वतन्त्र अस्तित्व बनाउनुपर्ने खण्ड आइलागेको छ । माक्र्सवादी सङ्गठनका हित र सर्वहारा जनताको लक्ष्यलाई माया गर्ने सम्पूर्ण मजदुरहरू अब यो कुरामा प्रस्ट हुनुपर्छ ।
यो सङ्गीन घडीमा हामीलाई साथ सहयोग दिनुहुन हामी तपाईँ सम्पूर्ण कामरेडहरूमा अपिल गर्दछौँ ।”
यसरी अन्ततः हामी ‘७ सांसद’ बाट अलग्गियौँ । अक्टोबर २७ को दिन हामीले सदनको नयाँ बोल्शेभिक खेमाको पहिलो बैठक बस्यौँ । हाम्रा मागहरू अस्वीकार गरिरहेको हुनाले आइन्दा हामी सदनमा स्वतन्त्र समूहअनुसार चल्नेछौँ भनी हामीले ‘७ सांसद’ लाई जानकारी पनि गरायौँ । सदनबाट संयुक्त गतिविधि गर्नको लागि हामी जहिल्यै पनि विशेष सम्झौता गर्न तयार रहेको हामीले उनीहरूलाई बतायौँ ।
त्यति नै बेला हामीले ‘प्राभ्दा’ पत्रिकामा अर्को विज्ञप्ति प्रकाशित ग¥यौँ । त्यसमा हामीले बोल्शेभिक समूहको गठन तथा फुटका वास्तविक कारणहरूबारे प्रस्ट भाषामा उद्घोष ग¥यौँ । हामीले लेख्यौँ :
“केही समय यता वर्गसचेत र सङ्गठित मजदुरहरूका माझमा आफ्नो विचार स्थापित गर्न दुई प्रवृत्तिबिच सङ्घर्ष भइरहेको छ । एउटाले पुराना सर्वहारा झन्डाहरूमा लेखिएका नारा घन्काइरहेको छ । अर्कोतर्फ यी नारा अस्वीकार गर्ने नेताहरू छन् । उनीहरूमा सामाजिक जनवादको विगत एउटा भ्रम थियो । उनीहरू अब त्यसका मूल नारालाई तपसिलका नाराले विस्थापित गर्नुपर्ने उपदेश दिन्छन् ।
मजदुरहरूको पङ्क्तिमा यी दुई प्रवृत्तिबिच वर्षौँदेखि सङ्घर्ष चलिरहेको छ । यस्तो प्रवृत्तिप्रति सम्झौता गर्ने कुरै आउँदैन । ‘७ सांसद’ ले आफ्नो समूहभित्र मात्र आफ्नो आवाज राख्दैनन् । हामीले सदनमा लिने नीतिको पनि उनीहरूले विरोध गर्दै आएका छन् । उनीहरूको नीति विघटनकारी छ । हाम्रो पुरानो झन्डालाई होच्याएको र हाम्रा पुराना मागलाई हेला गरेको हामीलाई सह्य छैन । हाम्रा मागहरूको रक्षाका लागि, मजदुरवर्गको सेवाको लागि हामीले हाम्रा नाराहरूको प्रतिरक्षा गर्नैपर्छ र तिनलाई हेपिएको स्थानबाट माथि उठाउनैपर्छ । कामरेडहरू, अब हाम्रो झन्डालाई हामी एक्लैले उठाउनेछौँ, सदनभित्र र बाहिरका तमाम साथीहरूले उठाउनेछौँ । यो जिम्मेवारीपूर्ण कार्यमा हामी यहाँहरूको साथ समर्थनका लागि हार्दिक अपिल गर्छौँ ।”
हामी र विघटनकारी मेन्शेभिकहरूबिच उठेका सम्पूर्ण मतभेद हामीले विचार गर्नका लागि मजदुरवर्गसमक्ष राखिदियौँ । हामीलाई परिणाम के आउला भन्ने चिन्तै थिएन । यो एउटा ऐतिहासिक क्षण थियो । पार्टी बोल्शेभिक र मेन्शेभिक गरी तलदेखि माथिसम्मै विभाजित थियो । तर, अहिलेसम्म यो फुट गैरकानुनी वा भूमिगत सङ्गठनमा मात्र थियो । त्यही नै सबैभन्दा क्रान्तिकारी र वर्गसचेत मजदुरहरू थिए । अब यो प्रश्नले रुसी क्रान्तिको दिशामा ठुलो प्रभाव पार्ने निश्चित थियो । यसको जवाफ अब समग्र मजदुरवर्गले दिनुपर्ने स्थिति थियो । हामी ‘६ सांसद’ को समूहलाई समर्थन गरेर रुसी सर्वहारावर्गले जारशाही निरङ्कुशताविरुद्ध मात्र होइन, समस्त पुँजीवादी सत्ताको विरोधमा सङ्घर्ष गर्ने सङ्कल्प गर्दै थियो । मेन्शेभिकहरूका लागि मात्र नभई हाम्रा लागि पनि मजदुरवर्गले हाम्रो संसदीय समूहको फाटोलाई कसरी लिन्छ भन्ने प्रश्न जीवन–मरणको प्रश्न थियो । पार्टी सङ्गठनका कोणबाट यो साँच्चिकै जीवन–मरणको विषय थियो । हाम्रो पार्टीको लाइन कति सही छ भन्ने कुरा अब आम परीक्षणमा राखिएको थियो । यसको टुङ्गो रुसका व्यापक सर्वहारा जनताले लगाउँदै थिए ।
७ मेन्शेभिकहरूसँग अन्ततः अलग्गिने र मजदुर जनसमूहको साथ समर्थन खोज्ने हाम्रो निर्णय एकदम गम्भीर थियो भन्नेमा हामीलाई रत्तिभर शङ्का थिएन । फुटमा जानुपर्ने सुझावबारे पार्टी केन्द्रहरूमा बारम्बार छलफल भएको थियो । परिस्थितिको मिहीन जाँचपड्ताल गर्दा मजदुरवर्गले मेन्शेभिकहरूलाई नभई हामीलाई नै साथ दिनेछन् भन्ने निष्कर्ष परिपुष्ट बनेको थियो । तैपनि, केही कामरेडहरू अझै धर्मराउँदै थिए र पूर्णरूपमा अलग्गिनु अधकल्चो निर्णय हुने त होइन भनी प्रश्न गर्दै थिए । उनीहरू सोध्थे – मजदुरहरूले सर्वसम्मत साथ देलान् त ? कम्तीमा एकताजस्तै देखिने कुनै गोलबन्दीलाई जोगाउनुपर्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *