भर्खरै :

साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – १०

  • मंसिर १६, २०८२
  • रामरतन चौधरी
  • विचार
साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – १०

सन्दर्भ : बङ्गलादेशको जुलाई विद्रोह

राजनीतिमा शेख हसिनाको उदय
शेख हसिना बङ्गलादेश स्वतन्त्रता युद्धका प्रभावशाली नेता शेख मुजिबर रहमानकी छोरी हुन् । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पाकिस्तान भारतबाट छुट्टिएर अलग देश बन्यो । बङ्गाल पनि पूर्वीपाकिस्तान (अहिलेको बङ्गलादेश) र पश्चिम बङ्गाल (भारतको राज्य) दुई क्षेत्रमा बाँडियो । मार्च १९४८ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री लियाकत अली खानले उर्दुलाई पाकिस्तानका सबै क्षेत्रमा राष्ट्रिय भाषाको रूपमा लागु गरिने घोषणा गरे । यो विषय पूर्वीपाकिस्तानका जनतालाई चित्त बुझेन । त्यसपछि ढाका विश्वविद्यालयमा भाषा आन्दोलन सुरु भयो । अन्ततः भारतको सहयोगमा १६ डिसेम्बर १९७१ मा पाकिस्तानबाट छुट्टिएर बङ्गलादेश स्थापना भयो । त्यसको केही समयपछि शेख मुजिबर रहमान बङ्गलादेशका संस्थापक राष्ट्रपति चुनिए ।
१५ अगस्ट १९७५ मा रहमान र उनका परिवारका अधिकांश सदस्यको षड्यन्त्रपूर्वक हत्या भयो । हसिना र उनकी बहिनी शेख रेहाना त्यतिबेला युरोप भ्रमणमा रहेको हुँदा बाँच्न सफल भए । घटनापछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले यी दुई दिदीबहिनीलाई सुरक्षित आवासको प्रबन्ध गरिदिएकी थिइन् । त्यसभन्दा अघि उनीहरू पश्चिम जर्मनीका बङ्गलादेशी राजदूतको घरमा शरण लिएर बसेका थिए । रहमान परिवारको हत्यापछि बङ्गलादेशको शासनसत्ता सेनाले हातमा लियो । बुबाको मृत्युपछि हसिनाका दिदी–बहिनी राजनीतिमा संलग्न भए । सन् १९८१ मा अवामी लिगका कार्यकर्ता तथा नेताहरूले दिल्लीमा भेला भएर हसिनालाई पार्टी अध्यक्ष चुने । उनी आजसम्म पनि यो पदमा बहाल छिन् ।
सन् १९८१ मा बङ्गलादेश फर्किएपछि हसिनाको नेतृत्वमा अवामी लिगले प्रजातान्त्र पुनःस्थापनाको अभियान चलायो । हसिनाले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की नेतृ खालिदा जियासँग मिलेर गरेको आन्दोलनले सन् १९९० मा बङ्गलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासन अन्त्य गरी संसदीय प्रजातन्त्र पुनःस्थापना भयो । यो सङ्घर्षको कारण हसिना बङ्गलादेशमा लोकप्रिय बनिन् । सन् १९९१ मा बङ्गलादेशमा आमचुनाव भयो । यस चुनावमा खालिदा जिया (स्वतन्त्रता सेनानी जनरल जिउर रहमानकी पत्नी) नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीले अवामी लिगलाई थोरै सिटले पछि पा¥यो । हसिनाले चुनावमा धाँधली भएको आरोप लगाएर संसद् बहिष्कार गरिन् । विपक्षीले जियाको सरकारलाई अवरोध सिर्जना ग¥यो । खालिदा जिया राजीनामा गर्न बाध्य भइन् । जियाको राजीनामापछि बनेको अन्तरिम सरकारले जुन १९९६ मा निर्वाचन ग¥यो । उक्त निर्वाचनमा अवामी लिगले बहुमत ल्यायो भने हसिना पहिलोपल्ट प्रधानमन्त्री भइन् ।
जुलाई २००१ को निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी पुनः पहिलो भयो । खालिदा जिया दोस्रोपल्ट प्रधानमन्त्री बनिन् । यी दुईबिचको सत्ता हानथापको कारण बङ्गलादेशमा हत्या, हिंसा र बम विस्फोटका घटना पनि धेरै भएका छन् । २१ अगस्ट २००४ मा हसिना आफै बम हमलाको सिकार भइन् । डिसेम्बर २००८ को निर्वाचनमा हसिनाको अवामी लिगले कुल ३ सय ५० सिटमध्ये ३ सय सिटमा प्रत्यक्ष निर्वाचन हुँदा २ सय ३० सिट जित्यो । यो जितले हसिनालाई फेरि सत्तामा पु¥यायो । त्यसयता सबै निर्वाचन जितेर उनी २०२४ मा आन्दोलन हुनुअघिसम्म सत्तामा रहिन् ।
हसिनाका बुवा शेख मुजिबुर रहमान भारतको सहयोगमा सत्तामा आएका थिए । भारतकै सहयोगमा बङ्गलादेशमा मुक्तिबाहिनी सेना पनि बनेको थियो । सङ्कटको बेला हसिनालाई पनि भारतले नै शरण दिएको थियो । बङ्गलादेश मुक्ति आन्दोलनको समयदेखि नै भारतीय शासकहरू र बङ्गलादेशका शेख परिवारको राम्रो सम्बन्ध रहँदै आएको हो ।
आरक्षण कोटाविरुद्धको आन्दोलन
बङ्गलादेशको स्वतन्त्रतापछि राष्ट्रपति शेख मुजिबर रहमानको नेतृत्वमा रहेको अवामी लिगको सरकारले निजामती सेवाको लागि कोटा प्रणाली स्थापना गरेको थियो । यो कदमको ढाका विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रो. मुजफ्फर अहमद चौधरीले विरोध गरेका थिए । बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा लडेका परिवारलाई १९७२ देखि विशेष आरक्षण दिइँदै आएको थियो । सरकारी जागिरको ५६ प्रतिशत आरक्षणमध्ये स्वतन्त्रता सङ्ग्रामका योद्धाका परिवारलाई ३० प्रतिशत, स्वतन्त्रताको समयमा अत्याचार सहनु परेका महिला (बलात्कारमा परेका) हरूलाई १० प्रतिशत र पिछडिएको जिल्लाका मानिसलाई ४० प्रतिशत आरक्षण कोटा बाँडिएको थियो । हसिना सरकारले यसलाई निरन्तर बढाउँदै लग्यो । सन् १९९७ मा स्वतन्त्रता सङ्ग्रामका योद्धाका छोरा छोरीले पनि कोटा पाउने भए । सन् २०१० मा अर्को फेरबदल भयो । जसअनुसार स्वतन्त्रता सङ्ग्राममा लडेकाहरूका नाति नातिनाले समेत ३० प्रतिशत कोटा पाउने भए । त्यस्तै महिलाहरूले १० प्रतिशत, पिछडिएको जिल्लाका मानिसहरूलाई १० प्रतिशत, अल्पसङ्ख्यकलाई ५ प्रतिशत र शारीरिक असक्षमहरूलाई १ प्रतिशत आरक्षणको बन्दोबस्त गरियो । योग्यताको आधारमा (Merit Base) ४४ प्रतिशतले मात्र अवसर पाउने भए । यसले जनतामा असन्तुष्टि बढ्यो । आरक्षण कोटा अवामी लिगको मुख्य जनाधार थियो ।
कोटा सुधारको आन्दोलन सन् २०१३ मा पनि भएको थियो । सन् २०१८ मा विद्यार्थीले अर्को आन्दोलन छेडे । त्यसपछि हसिना सरकारको सामान्य प्रशासन मन्त्रालयले आन्दोलनकारीको मागअनुसार कोटा खारेज गर्न सरकारी निकायमा सर्कुलर जारी ग¥यो । तर, सरकारी निर्णयविरुद्ध युद्धमा लडेका एक लडाकुका सन्तान र अन्य ६ जनाले २०२१ मा उच्च अदालतमा निवेदन गरे । ४ जुन २०२४ मा उच्च अदालतले सरकारको सर्कुलर अवैध रहेको भन्दै पुरानै कोटा प्रणाली फर्काइदियो । त्यसपछि योग्यताका आधारमा अवसर पाउनुपर्ने माग गर्दै बङ्गलादेशका युवाले जुलाई १ देखि अदालतको निर्णयविरुद्ध प्रदर्शन थाले । सर्वोच्च अदालतले अगस्ट १ मा उच्च अदालतको फैसला बदर ग¥यो । तर, पनि प्रदर्शन रोकिएन । कोटाविरुद्धको प्रदर्शन सरकार ढाल्ने विषयमा परिणत भयो ।
प्रधानमन्त्री पदमा रहेकी ‘शेख हसिनाले २०२४ जुलाई १४ मा एक पत्रकार सम्मेलनमा आन्दोलनमा उत्रिएका छात्रहरूलाई ‘रजाकर’ भनेर उक्साउने किसिमको टिप्पणी गरेको आरोप छ । बङ्गलादेशमा ‘रजाकर’ शब्दलाई देशद्रोही वा गद्दारको सङ्ज्ञा दिन प्रयोग गरिन्छ । बङ्गलादेश मुक्ति युद्धको समयमा पाकिस्तानी सेनालाई सघाएका र देशविरुद्धको जघन्य अपराधमा संलग्न समुदाय, व्यक्ति, जातिविरुद्ध ‘रजाकर’ शब्द प्रयोग गरिन्छ ।
अगस्ट ४ मा एकै दिन १०० जना प्रदर्शनकारी मारिए । प्रदर्शनकारी विद्यार्थीहरूले सरकारविरुद्ध नागरिक अवज्ञा आन्दोलन सुरु गरे । नागरिकहरूलाई कर नतिर्न र हसिनाको राजीनामा नआएसम्म कारखाना र सरकारी कार्यालयहरूमा काम बन्द गर्न आह्वान गरे । अगस्ट ५ मा विद्यार्थीहरूले Long march को आह्वान गरे । प्रदर्शनकारीहरूको भिडले प्रधानमन्त्री निवासमा आक्रमण ग¥यो । अन्ततः ७८ वर्षीया हसिना ५ अगस्ट २०२४ मा हेलिकप्टरबाट देश छोडेर भारत निर्वासनमा जान बाध्य भइन् । उनी भारतको गाजियावादस्थित हिन्डन हवाई अड्डा (Hindon Airport) पुग्दा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र अन्य वरिष्ठ भारतीय सैन्य अधिकारीहरूले स्वागत गरे । भनिन्छ, दिनको १ः३० बजे हसिनालाई भारतका उच्च अधिकारीबाट एउटा छोटो कल आउँछ, “ढिलो भइसकेको छ, यदि तपाइँले तत्काल बङ्गलादेश नछाडे उनीहरूले तपाइँलाई मार्नेछन् । आज तपाइँ बाँच्नुभयो भने फेरि लड्न सक्नुहुन्छ ।” त्यसपछि उनी भारततर्फ लागिन् । (Inshallah Bangladesh: The Story of an Unfinished Revolution- Deep Halder, Jaideep Mazumdar and Sahidul Hasan Khokon / Wion, 2025 Nov 7, Gulshan Parveen)
युनुस सरकार प्रमुख
हसिनाले देश छाडेपछि सशस्त्र बलका प्रमुख जनरल वाकर उज जमानले एक सम्बोधन गर्दै देशको सुरक्षाको जिम्मेवारी लिई अन्तरिम सरकार गठनको घोषणा गरे । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले २०२४ अगस्ट ६ मा संसद् विघटन गरेर ७ अगस्टमा मुहम्मद युनुस (Muhammad Yunus) लाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरे । ग्रामीण बैङ्कका संस्थापक तथा लघुवित्तका अग्रणी मानिएका मुहम्मद युनुस अहिले सरकार प्रमुख छन् । उनले अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालय (Vanderbilt University) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । सन् २००६ मा उनले नोवेल शान्ति पुरस्कार प्राप्त गरेका थिए भने अमेरिकाले सन् १९८४ मा रेमन म्गाग्सेसे पुरस्कार पनि प्रदान गरेको थियो ।
युनुसको युएसएआईडी (United States Agency for International Development) र फोर्ड फाउन्डेसन (Ford Foundation) जस्ता अमेरिकी संस्थाहरूसँग बलियो सम्बन्ध रहेको छ । उनी अमेरिकी हितको निम्ति काम गर्छन् । फोर्ड फाउन्डेसन संस्थालाई भारतविरोधी गतिविधिमा लागेको भनेर भारतीय अनुसन्धान एजेन्सीहरूले निगरानीमा राख्ने गरेका छन् । (India Today, 2024 Aug 14)
बङ्गलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल Asaduzzaman Khan Kamal ले बङ्गलादेशका सेना प्रमुख जनरल वाकर उज जमान (Waker-Uz-Zaman) लाई सीआईएको एजेन्टको रूपमा काम गरेको र हसिना सरकारलाई ढाल्ने विद्रोहको योजना बनाएको आरोप लगाए । उनले सेना प्रमुखलाई ‘मुख्य षड्यन्त्रकारी’ भन्दै अमेरिकाले बङ्गलादेशलाई अस्थिर बनाएको आरोप पनि लगाए । (First Post.Com FP News Desk, 4 Nov 2025)
हसिनालाई मृत्युदण्डको फैसला
बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुम्दारको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले मङ्सिर १ गते (२०२५ नोभेम्बर १७) सोमबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो । हसिनामाथि २०२४ जुलाई १५ देखि ५ अगस्टसम्म चलेको विद्यार्थी आन्दोलनका क्रममा करिब १ हजार ४ सय जनाको हत्या गरेको आरोप लगाइएको छ । प्रदर्शनमा २५ हजारभन्दा बढी घाइते भएको पनि अभियोजनपत्रमा उल्लेख छ । अभियोजन पक्षले २०२५ जुनमा हसिनासहित तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर गरे । प्रदर्शनकारीको हत्या गर्न आदेश दिएको, प्रदर्शन नियन्त्रण गर्न घातक हतियार, हेलिकोप्टर र ड्रोन प्रयोग गर्न आदेश दिएको, हिंसालाई उक्साएको, प्रमाण नष्ट गर्ने प्रयास गरेको, हत्यापछि विद्यार्थीका शव जलाएको समेत मानवताविरुद्धका अपराधमा ५ मुद्दा चलेको थियो । त्यसमध्ये दुई वटामा दोषी ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । हसिनासँगै बङ्गलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय सुनाइएको छ । न्यायाधिकरणले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दियो ।
अदालतको फैसलापछि हसिनाले विज्ञप्ति जारी गर्दै आफूमाथि प्रतिशोध साधिएको बताइन् । उनले निष्पक्ष सुनुवाइको मौका नदिएको र प्रजातान्त्रिक जनादेशविपरीतको सरकारले नियुक्त गरेको न्यायाधिकरणले निर्णय लिएको आरोप लगाइन् । न्यायाधिकरणको स्थापना २०१० मा हसिना सरकारले नै गरेको थियो । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका क्रममा भएका हिंसाका घटनामा दोषीलाई कारबाही गर्न न्यायाधिकरण स्थापना गर्ने कानुन १९७३ मै तयार भएको थियो ।
ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा पनि हसिनालाई २१ वर्षको जेल सजाय सुनायो । उनलाई प्रत्येक मुद्दामा ७–७ वर्षको दरले सजाय तोकिएको छ । बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोग एसीसी (Anti-Corruption Commission) ले गत जनवरीमा हसिना र उनको परिवारका सदस्यहरूविरुद्ध ढाकाको पूर्वाञ्चल क्षेत्रमा सरकारी प्लट गैरकानुनी रूपमा बाँडेको आरोपमा ६ वटा छुट्टाछुट्ट्रै मुद्दा पनि दायर गरेको छ ।
हसिनाको पतनपछि बङ्गलादेशको अवस्था
बङ्गलादेशको मुख्य मानव अधिकार समूह ‘ओधिकार’ (Odhikar) नामक संस्थाले ढाकामा एक प्रतिवेदन सार्वजनिक गर्दै अगस्ट २०२४ देखि सेप्टेम्बर २०२५ सम्म बङ्गलादेशमा भएका राजनीतिक हिंसामा कम्तीमा २८१ जनाको मृत्यु भएको जनायो । अहिले बङ्गलादेशमा धार्मिक द्वन्द्व पनि बढ्न सक्ने सम्भावना देखिँदै छ । बङ्गलादेशमा रहेका हिन्दू अल्पसङ्ख्यकविरुद्ध विभिन्न ठाउँमा आक्रमण हुँदै गरेको समाचार पनि प्रकाशित भइरहेका छन् । विश्लेषकहरू बङ्गलादेशमा पश्चिमाहरूले धार्मिक र जातीय द्वन्द्व चर्काउन खोजिरहेको आशङ्का व्यक्त गर्दै छन् । सन् २०२२ को जनगणनाअनुसार बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दूहरू ७.९५ प्रतिशत छन् ।
विद्रोहपछि ढाका र वासिङ्टनबिच रक्षा साझेदारी बलियो भएको दाबी गरिँदै छ । सन् २०२५ मै अमेरिका र बङ्गलादेशबिच The Pacific Angel 25-3, Tiger Shark – 2025 / Tiger Lightning जस्ता सैन्य अभ्यासहरू भए । यसले बङ्गलादेशमा अमेरिकाको पकड बलियो बन्दै गएको बुझिन्छ । हेर्दा सामान्य अन्तर्राष्ट्रिय अभ्यासजस्तो देखिए पनि यसले दक्षिण एसियामा खतरा निम्त्याउने सङ्केत गर्छ । बङ्गलादेशमा सत्ता परिवर्तन भएको १ वर्ष नाघिसक्यो । तर, बङ्गलादेशको अवस्था झन बिग्रँदो छ । केवल, साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ सफल भएको विश्लेषकहरू अनुमान गर्दै छन् ।
२०८२ मङ्सिर १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *