गाजामा भत्केका विश्वविद्यालयहरू
- माघ ५, २०८२
डिजिटल युग
केही दशक अगाडिबाट सुरु भएको डिजिटल युग अहिले एउटा उत्कर्षमा पुगेको महसुस गरिँदै छ ।
नेपालमा गत भदौ २३ र २४ मा भएको प्रदर्शनको योजना, निर्देशन, प्रधानमन्त्री छनोटको प्रक्रियालगायतका अधिकांश निर्णयहरू डिजिटल माध्यमबाट भए गरेको अनुभव धेरैले गरेकै हुनुपर्छ ।
‘अनलाईन डिस्कर्ड’ को बारेमा धेरैलाई थाहा थिएन । तर, जब भदौमा जेनजी अर्थात् डिजिटल युगका युवाहरूको चर्चा हुन थाल्यो । जेन–जीको प्रदर्शनलगायतका गतिविधि साकार बनाउन अनलाइन डिस्कर्डले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको देखियो ।
अनलाइनमा एकै पटक लाखौँ जना चिनजान भएका नभएका मानिसहरू सहभागी भएर खेल खेल्न, छलफल गर्न, निर्देशन दिन सकिने निःशुल्क अनलाइन प्लेटफर्म हो ‘डिस्कर्ड’ ।
नेपालमा अनलाइन सामाजिक सञ्जालको सुरुबाट सन् २००५ देखि देखिन थालेको हो । तर इन्टरनेटको व्यापक प्रयोग भइनसकेकाले सामाजिक सञ्जालमा नेपालीहरूको सहभागिता उल्लेख्य थिएन ।
तर सन् २०१० देखि नेपालमा सामाजिक सञ्जाल लोकप्रिय हुनुका साथै तीब्र रूपमा फैलिएको देखिन्छ ।
सन् २००७ देखि २०१० सम्म नेपालमा फेसबुकको प्रयोगकर्ता बढ्न थालेको र सन् २०१३ देखि नेपालमा इन्टरनेटको महशुल सस्तो हुन थालेपछि यसको प्रयोगकर्ता निकै बढेको देखिन्छ ।
सन् २०१८ देखि टिकटकलगायतका सामाजिक सञ्जालको प्रयोगकर्ता बढ्दै जाँदा नेपाल पनि डिजिटल युगमा प्रवेश गरेको भान सबैले गरेकै हुनुपर्छ ।
अनलाइन बैङ्किङ, अनलाइन व्यापार, अनलाइन काम, अनलाइन उपचार, अनलाइनबाटै दैनिक जनजीवनका धेरै गतिविधिहरू सञ्चालन हुन थालेपछि नेपालीहरूको दैनिक जनजीवनमा अनलाइन (डिजिटल) प्रयोगकर्ताहरूको सबै किसिमका गतिविधिहरूमा आपराधिक क्रियाकलापहरू पनि बढ्न थाल्यो ।
बैङ्किङ क्षेत्रमा अनलाइनमार्फत ह्याकिङ गरेर एकको खातामा रहेको रकम अरूको खातामा सार्ने, बैङ्क खातामा रहेको पैसा अपरिचित अनलाइन एकाउण्टबाट झिक्ने आदि इत्यादि ।
त्यसैगरी अनलाइनमार्फत साथी सर्कल, सामाजिक सञ्जालमा सहभागी भएका किशोर किशोरीहरूबिचको सम्बन्ध, परिवारका सदस्य, पति पत्नीबिचको सम्बन्धमा पनि सुरुआतमा सम्पर्क बढ्दै माया प्रेम, सूचना सञ्चार र विभिन्न गतिविधि अनलाइन लात्मार्फत सँगै बसेर हेर्न र अनुभूत गर्न सकिने वातावरण बनेकोमा विस्तारै अनलाइनमा व्यक्त विचार, गोप्यता भङ्ग, गलत सूचना, अनावश्यक रूपमा गरिने देखासिकीका गतिविधिहरूले विस्तारै सम्बन्धहरूमा दरार उत्पन्न हुनुका साथै ती कमजोर सम्बन्ध र असमझदारीहरू आपराधिक क्रियाकलापमा परिणत हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरू सार्वजनिक भएका छन् ।
डिजिटल हिंसा
नेपाल प्रहरी साइबर ब्युरोका अधिकृतहरूले २०७८ मा एउटा अनुसन्धान गर्दा पक्राउ परेका २० वर्षीय केटाको मोबाइलबाट ४६ जना किशोरीहरूको नग्न फोटो तथा भिडियोहरू बरामद भए । सुरुमा प्रहरीले किशोरीहरूको फोटो तथा भिडियो फोटोसप वा अन्य कुनै डिजिटल माध्यमबाट बनाएको हुन सक्ने अनुमान गरे तर जाँचपडताल गरी हेर्दा ती सबै फोटो तथा भिडियोहरू सक्कली नै भएको तथ्य खुलेपछि प्रहरी आश्चर्य चकित परेको बताए ।
विगतमा काठमाडौँ उपत्यकामा मात्र दर्ता हुन आउने साइबर अपराधको मुद्दा अहिले ७७ वटै जिल्लाबाट अनुसन्धान र कारबाही हुन थालेको बताइन्छ । तर, साइबर अपराधका विज्ञहरूको अभावले नेपाल प्रहरीले उपत्यकामा मात्रै साइबर ब्युरो रहेको पनि बताइन्छ । अन्य जिल्लामा परेका आपराधिक क्रियाकलापको अनुसन्धान गर्न काठमाडौँ ब्युरोलाई गुहार्नुपर्ने बाध्यात्मक स्थिति छ ।
साइबर अपराध अर्थात् डिजिटल हिंसाका बारेमा नेपालमा पर्याप्त कानुनी व्यवस्था रहेको देखिँदैन ।
साइबर अपराध अर्थात् डिजिटल हिंसाका बारेमा उजुरी गरेपछि प्रहरीले कारबाही गर्न विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा अगाडि बढाउने गरेको पाइन्छ, जुन पर्याप्त होइन ।
अहिले जुन गतिमा साइबर अपराध, डिजिटल हिंसा, डिजिटल डाटाको व्यापार बढ्दो छ । यसका अवयवहरूलाई नियन्त्रण गर्न र पीडित पक्षलाई तत्काल न्याय दिलाउन नेपाल सरकारले पर्याप्त कानुनी व्यवस्थासहितको ऐन जारी गर्नुका साथै नेपाल प्रहरी र अनुसन्धान गर्ने निकायहरूलाई कानुनी अधिकारका साथै पर्याप्त स्रोत साधनको बन्दोबस्त गर्नु जरुरी छ ।
महिलामाथि डिजिटल हिंसा झन् बढ्दो
अहिले प्रहरीकोमा उजुरी आउने सबैभन्दा बढी घटना बदलाको भावनाले गर्न क्रियाकलाप तथा वारदातका सम्बन्धमा हुने गरेको, त्यसमा पनि पहिलो केटाकेटी साथी वा रिलेशनसिपमा रहने गरेको वा पति पत्नीको बिचमा भएका सम्बन्ध कमजोर तथा बिग्रिएपछि आपत्तिजनक तस्बिर, भिडियो, विवरण तथा अन्य सामग्री सार्वजनिक गरिदिने वा सार्वजनिक गरिदिने धम्की दिने गरेको देखिएको प्रहरीको तथ्याङ्क रहेको छ ।
महिलाहरूमाथि हुने डिजिटल हिंसासम्बन्धी साइबर अपराधका उजुरी मात्रै बर्सेनि ९ हजारभन्दा बढी उजुरी आउने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । उजुरी नै गर्न नसकेका वा आफै मिलाउने गरेका वा आत्मसमर्पण गर्ने गरेका घटनाका बारेमा प्रहरीलाई थाहा हुने कुरै भएन ।
संसारका ३८ प्रतिशत महिलाले अनलाइन हिंसाको अनुभव गरेको बताइन्छ ।
यसबाहेक अन्य व्यापारिक तथा बैङ्किङ क्षेत्रमा हुने डिजिटल हिंसा तथा अपराधका बारेमा असाध्यै धेरै उजुरी तथा समस्याहरू आउने गरेको जगजाहेर छ ।
नेपालको बैङ्किङ क्षेत्रमा बर्सेनि १२ हजार भन्दा बढी उजुरी दर्ता भएको तथ्याङ्क छ । बर्सेनि करिब ६ हजार शङ्कास्पद कारोबार भएको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदन छ ।
प्रविधिको विकाससँगै हिंसाका स्वरूप पनि फेरिँदै छ । राजनीतिक वृत्तमा पनि साइबर बुलिङ, ट्रोलिङ, अनलाइन धम्की, दुव्र्यवहार र घृणास्पद अभिव्यक्ति बढ्दो छ ।
राजनीतिक वृत्तमा मात्रै नभएर व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलगायत हरेक क्षेत्रमा डिजिटल हिंसा, अनलाइन आपराधिक गतिविधि बढ्दै जाँदा नेपालले यसको नियन्त्रण र न्यूनीकरणको लागि आवश्यक कानुनी बन्दोबस्त मिलाउन ढिला गर्न हुँदैन ।
विश्व डिजिटल युगमा प्रवेश गरे सँगै मानव मस्तिष्कको तथ्याङ्क (डाटा) को व्यापारको युगमा पुग्दै गर्दा नेपाल निकै पछाडि रहेको महसुस गरिएको छ ।
विचारमा भिन्नता भएपछि असहमत भएको कुरालाई सभ्य भाषामा छलफल गर्ने बानीको विकास गर्न सके बढ्दो डिजिटल हिंसा नियन्त्रण गर्न मद्दत मिल्ने देखिन्छ ।
यसको लागि पुस्तक अध्ययन, प्रत्यक्ष रूपमा सामाजिक सम्बन्ध, छलफललगायतका गतिविधिहरू विद्यालय, कलेजलगायत सबै कार्यक्षेत्रमा हुनु आवश्यक देखिन्छ ।
२०८२ मङ्सिर १४
Leave a Reply