भर्खरै :

साम्यवादले संसारलाई फासीवादबाट जोगाउनेछ

साम्यवादले संसारलाई फासीवादबाट जोगाउनेछ

सन् १९४२ को अगस्ट महिना भर्खर सुरु भएको थियो । लेनिनग्रादभरि सोभियतहरूले लाउडस्पिकर लगाए । नाजीहरूले नाकाबन्दी लगाएको ३०० दिन नाघिसकेको थियो । मानिसहरू भोकले छटपटिएका थिए । सङ्गीतका कन्डक्टर कार्ल इलियासबर्गले लेनिनग्राद रेडियो अर्केस्ट्रा सञ्चालन गर्न छोडेनन् । वाद्यवादकहरूलाई उनी बेलाबेला अभ्यास गराइरहन्थे । तिनको पेट भर्न उनीहरूलाई बरोबर खाना खुवाउने स्टेशनसम्म लग्थे । अगस्त ९ को दिन इलियासबर्गले लेनिनग्राद रेडियो अर्केस्ट्राका १५ जीवित सदस्यलाई जम्मा पारे । बाँकी वाद्यवादक उनले सेनाको ब्यान्डबाट ल्याए । सबैजना बोल्शोइ पिलहार्मोनिक हलमा भेला भए । त्यहाँ उनीहरूले रुसका महान् सङ्गीतज्ञ दिमित्री शोस्तोकोभिचको सिम्फोनी नम्बर ७ बजाए । यसलाई लेनिनग्राद सिम्फोनी पनि भनिन्छ । रेडियो र सार्वजनिक लाउडस्पिकरबाट यो सिम्फोनीको प्रत्यक्ष प्रसारण गरियो ।
सी मेजरमा लेनिनग्राद सिम्फोनी गुञ्जायमान भयो । यसमा चार मुभमेन्ट छन् । पहिलो, शान्त र गाउँले खालको छ । यसले युद्ध अघिको लेनिनग्रादलाई झल्काउँछ । दोस्रोमा बिस्तारै ड्रम बज्न थाल्छ । ड्रमको चर्किँदो धुनले नाजी आक्रमणलाई जनाउँछ । तेस्रो मुभमेन्टमा तार बाजा र हावाले बज्ने बाजाको चित्कार छुट्छ । यो मरेका र मर्न लागेका लाखौँ सोभियत जनता र तिनको भयावह वेदनाको झलक हो । अन्तिममा सी मेजरको धुन बज्छ । यो मुभमेन्ट भव्य र गर्विलो छ । यसले फासिवादी दुष्टतामाथि विजयको पूर्वानुमान हो । विजय हुने/नहुने स्पष्ट तस्बिर आइसकेको थिएन । तर, उनीहरू नाकाबन्दीको आधाआधीमा थिए । थप ५३६ दिन नाकाबन्दी झेल्न बाँकी थियो । लड्न अझै बाँकी थियो । नाकाबन्दीको बिचमा नाजीहरूले सुनून् भनेर उनीहरू बसेतिर लाउडस्पिकर घुमाएर सिम्फोनी बजाउनु असामान्य थियो । सोभियत जनताको साहसको परिचय थियो त्यो । सोभियत अभिलेखालयमा एक गुप्तचरले लेखे, “शत्रुले समेत चुपचाप त्यो धुन सुने । तिनीहरूलाई थाहा थियो निराशामाथि हाम्रो विजय थियो त्यो ।” पछि एक जर्मन कैदीले भने, “त्यो सिम्फोनी ‘हामीले मार्न नसकेको सहरबाट आइरहेको एउटा दैत्य’ थियो ।”
सोभियत लालसेनाले जर्मनीको ८० प्रतिशत सेनालाई नामेट पा¥यो । पूर्वी युरोपको चमत्कारी मुक्ति यात्रामा लालसेनाले जर्मन वेयरमाख्तको ढाड भाँच्यो । पश्चिमा सेनाहरू जर्मनीको सीमामा पुग्दासम्म नाजी सत्ता ढलिसकेको थियो । नाजीहरूले यातनागृहमा थुनेका अधिकांश बन्दीलाई सोभियत लालसेनाले नै मुक्त पारेको थियो । लालसेनाको वैज्ञानिक युद्धकलाका कारण नै रोमानियाजस्ता पूर्वी युरोपका नाजी साझेदारहरूले आत्मसमर्पण गर्नुप¥यो र सोभियत सङ्घको पक्ष लिनुप¥यो । सोभियत सङ्घले नाजीहरूविरुद्ध आफ्नो सम्पूर्ण शक्ति लगाउन सक्नुको कारण चिनियाँ कम्युनिस्ट र देशभक्तहरू थिए । जापानी सैन्यवादीहरूको आक्रमणबाट सोभियत सङ्घको पूर्वी मोर्चाको रक्षा गरेर उनीहरूले सोभियत सङ्घलाई सघाए । सीमित हतियारका साथ चिनियाँ कम्युनिस्ट र देशभक्तहरूले जापानमाथि ठूलै मार हाने । जापानको ६० प्रतिशत सेना त्यही खपत भयो । यसले गर्दा प्रशान्त महासागरका विभिन्न टापु छिचोल्दै बेगले आइरहेको अमेरिकी सेनामा जापानले ध्यान दिन सकेन ।
चिनियाँहरू जापानी सेनालाई नअल्झाएको भए सोभियत सङ्घ हार्ने थियो भने अमेरिकी सेनाले साइपन (सन् १९४४) र इवो जिमा (सन् १९४५) का लडाइँ जित्न सक्दैनथ्यो । यसको अर्थ नाजी जर्मनीले सारा युरोपमा कब्जा जमाउने थियो । सोभियत लालसेना तथा चिनियाँ कम्युनिस्ट एवम् देशभक्तहरूले करोडौँ जीवनको आहुति दिएर फासिवादलाई परास्त गरेका थिए । (हाम्रो अध्ययनअनुसार त्यो युद्धमा सोभियत र चिनियाँ आहुति झन्डै ५ देखि १० करोडको हाराहारीमा थियो ।) सन् १९४५ को मे महिनासम्ममा नाजी सत्ता ढल्यो । जापानी सैन्यवादले आत्मसमर्पणको तयारी गर्दै छ भन्ने स्पष्ट भइसकेको थियो । संरा अमेरिकाले सन् १९४५ को जूनमा ट्रिनिटी (परमाणु बम) परीक्षण गर्न अनि हिरोशिमा (अगस्त ६) र नागासाकी (अगस्त ९) मा परमाणु बम खसाल्न आवश्यकै थिएन । सोभियत जनता तथा चिनियाँ कम्युनिस्ट र देशभक्तहरूले ठूलो बलिदान दिएर नरसंहारकारी हतियारको प्रयोगलाई रोकिराखेका थिए । तर, अमेरिकाले नरसंहारक अस्त्र प्रयोग ग¥यो । यसबाट साम्राज्यवादको हिंस्रक चरित्र उजागर भयो । साम्राज्यवादले मानव जीवनलाई कत्ति पनि महत्व दिन्न भन्ने छर्लङ्ग भयो । आज गाजामा हामी पुनः त्यही चरित्र देख्दै छौँ ।
पहिलो झूट : पश्चिमा शक्तिहरूले सुरुदेखि नै फासिवादको विरोध गरेका थिए र फासिवादविरुद्ध युद्ध पनि तिनैले जिते ।
साँचो कुरा : पश्चिमा सरकारहरूले सुरु (सन् १९१७) मा नै अक्टोबर क्रान्तिको घाँटी निमोठ्न आफ्नो सेना पठाएका थिए । सोभियत सरकारले सन् १९१७ को डिसेम्बरमा शान्ति प्रस्ताव पठायो । तैपनि, जर्मनीले फिनल्यान्ड र बामे सर्दै गरेको सोभियत गणतन्त्रमाथि हमला ग¥यो । यसले गर्दा धेरै देशले अनेक ठाउँबाट रुसमाथि आक्रमण गरे । (संरा अमेरिका, बेलायत, फ्रान्स, रोमानिया, इस्टोनिया, ग्रिस, अस्ट्रेलिया, क्यानडा, जापान र इटलीका फौज सोभियत गणतन्त्रमाथि जाइलागे ।) यी ‘मित्र देशहरू’ को रवैया बेलायती राजनीतिज्ञ विन्स्टन चर्चिलका लेखाइ र भनाइबाट एकदम स्पष्ट हुन्छ । सन् १९१९ मा उनले मित्र देशहरूले ‘बोल्शेभिकहरूलाई कोक्रामै मार्नुपर्छ’ भनेका थिए । (त्यसको ३० वर्षपछि पनि उनले ‘बोल्शेभिकहरूलाई बच्चैमा घाँटी थिचेको भए मानव जातिलाई ठूलै वरदानसरह हुने थियो’ भनी लेखे ।) सन् १९३० र १९४० का दशकभरि पश्चिमा सरकारहरूले जर्मनी र इटलीका फासिवादी सत्ताले आफ्ना हातहतियार सोभियत सङ्घतिर सोझ्याएको र त्यसलाई ध्वस्त पारेको हेर्न चाहे । ‘रिझ्याउने नीति’ को अर्थ त्यही थियो । उनीहरूले एडोल्फ हिटलरको साम्यवादविरोधी विचारमा सहमति जनाए । हिटलर सोभियत सङ्घविरुद्ध केन्द्रित हुँदासम्म पश्चिमा सरकारहरूले उनलाई सेना सुगठित पार्न मद्दत गरे । बेलायत र फ्रान्सले सन् १९३९ सेप्टेम्बरमा जर्मनीविरुद्ध युद्धको घोषणा गरे । तैपनि, उनीहरूले महिनौँसम्म जर्मनीविरुद्ध सिन्को भाँचेनन् । त्यो समयलाई इतिहासमा ‘झूटो युद्ध’ भनिन्छ । (त्यसलाई जर्मनीको ‘ब्लित्जक्रिग’ विरुद्ध ‘सित्जक्रिग’ भनिन्छ ।)
सन् १९४१ मा हिटलरको फौजले सोभियत सङ्घमाथि आक्रमण ग¥यो । सन् १९४३ मा भएको तेहरान सम्मेलनमा अमेरिका र बेलायतले लालसेनाले नै फासिवादलाई ध्वस्त पारिरहेको स्वीकार गर्नुप¥यो । चर्चिलले बेलायती राजा जर्ज छैटौँको तर्फबाट सोभियत नेता जोसेफ स्तालिनलाई शिफिल्ड स्टीलले बनेको तरबार दिए । नाजी नाकाबन्दीको सामना गर्ने र नाजीहरूलाई दनक दिने सोभियत जनताको पराक्रमलाई सम्मान गर्दै त्यो ‘स्तालिनग्राद तरबार’ दिइएको थियो । (नाकाबन्दीमा २० लाख सोभियत जनताले ज्यान गुमाएका थिए ।) यति हुँदाहुँदै पनि युरोपको युद्धमा होमिन ‘मित्र देशहरू’ ले अर्को एक वर्ष पर्खे । सन् १९४४ मा मात्र उनीहरू युद्धमा होमिएका थिए । यस बेलासम्म जर्मन सेनालाई लालसेनाले धुलो चटाइसकेको थियो । (यसमा ‘मित्र देशहरू’ को हवाइ बमबारीको पनि आंशिक योग रह्यो ।) पश्चिमा देशहरू युद्धमा होमिए किनभने लालसेना जर्मनीको जिम्मेवारी आफैले लिएर युरोपको मुटुमै बस्नेछ भन्ने उनीहरूलाई डर थियो ।
पश्चिमा सरकारहरूको नजरमा त्यो युद्ध उदारवाद र फासिवादबिच थिएन । किनभने, उदारवाद र फासिवाद दुवै साम्राज्यवादी गढभित्रका शक्ति थिए । पश्चिमाहरू यो युद्ध साम्राज्यवाद र समाजवादबिच भइरहेको मान्थे । खासमा साम्राज्यवाद युद्धमुखी गढ थियो भने समाजवाद शान्तिमुखी गढ थियो । यो अन्तर्विरोध सन् १९१७ देखि १९९१ सम्म चलिरह्यो । यहीबिच दोस्रो विश्वयुद्ध वा भनौँ विश्व फासिवादविरोधी युद्ध भएको थियो ।
दोस्रो झूट : प्रशान्त युद्धमा अमेरिकाले बलिदान ग¥यो र जापानी सहर हिरोशिमा अनि नागासाकीमा परमाणु बम खसालेर जापानी सैन्यवादलाई परास्त ग¥यो ।
साँचो कुरा : विश्व फासिवादविरोधी युद्ध सन् १९३९ मा अस्ट्रियामाथि जर्मनीको कब्जाबाट सुरु भएको थिएन । यो त दुई वर्षअघि चीनको मार्को पोलो पुल काण्डबाट सुरु भएको थियो । (सन् १९३७ मो जुलाई महिनामा पेइचिङनजिकै मार्को पोलो पुलमा आक्रमण गरेर जापानले चीन कब्जा गर्ने अभियान थालेको थियो ।) यो युद्ध कोरियाविरुद्ध अमेरिकी युद्धसम्म चलिरह्यो जुन युद्ध सन् १९५३ मा युद्धविरामपछि मात्र टुङ्गियो । कोरिया र हिन्द–चीन युद्धका अति दक्षिणपन्थीहरू जापानको पक्षमा एकगठ भएको स्थितिमा जापानी सैन्यवादविरुद्ध लाखौँ बहादुर देशभक्त तथा फासिवादविरोधी योद्धाले लडाइँ लडे । सन् १९४१ को डिसेम्बरमा अमेरिका युद्धमा घुस्यो तर त्यो बेलासम्म चिनियाँ देशभक्त र कम्युनिस्टका साथै हिन्द–चीन एवम् दक्षिणपूर्वी एसियाका मुक्तिसेनाहरूले जापानको ६० प्रतिशत फौजलाई अल्झाइसकेका थिए । यसले गर्दा जापानले सोभियत सङ्घको पूर्वी मोर्चामा आक्रमण गर्न सकेन । सन् १९४० मा चिनियाँ लालसेनाले ‘सय पल्टनियाँ आक्रमण’ मा ठूलो बलिदानी गरेको कुरा बिर्सनुहुन्न । जनरल चुतेहको कमानमा ४ लाख चिनियाँ फौजले उत्तरी चीनमा जापानी सेनाको पूर्वाधार ध्वस्त पारिदियो । (त्यसबेला उत्तरी चीनमा जापानले ९ सय किलोमिटर लामो रेलमार्ग बनाएको थियो ।)
अमेरिकी जलसेनाले इलो जिमाको पहाड उक्लेको वा अमेरिकाले परमाणु बम खसालेर जापानलाई घुँडा टेकाएको जस्ता कथा हावादारी हुन् । जापानले पहिल्यै बज्रमुक्का खाइसकेको थियो, जापानीहरू आत्मसमर्पणको तयारीमा लागिसकेका थिए र हिरोसिमा–नागासाकी सैन्य इलाका थिएनन् भन्ने तथ्यलाई लुकाउन यी (अमेरिकामुखी) कथाको प्रयोग हुन्छ । सन् १९४५ को अगस्त महिनामा जे भयो त्यसलाई सैन्य रणनीति भन्न मिल्दैन । बरु त्यो अमेरिकाको शक्तिप्रदर्शन थियो । ‘अमेरिकाले नयाँ अस्त्र बनायो’ र ‘यो हतियार एसियाका कम्युनिस्टहरूविरुद्ध खस्न सक्छ है’ भन्ने चेतावनी थियो त्यो । फासिवादलाई परास्त गर्न एसियाका लाखौँ मजदुर र किसानले मृत्युवरण गरेका थिए । बर्मामा मेरा नातागोता पनि सोही युद्धमा मारिएका थिए । यो तथ्यलाई १९४५ को अगस्तमा जापानमा खसेको परमाणु बमको बादलले मेट्न खोजियो । मान्छेको दिमागमा अब त्यो बादल मात्र बच्यो । दक्षिणपूर्वी एसियाको एकएक इन्च भूमिको लागि बमले होइन मानिसले लडेका थिए । त्यसैले त्यो युद्धका वास्तविक नायक मजदुर र किसान हुन् । बमलाई नायक बनाउनु दोस्रो झूट हो ।
सबैभन्दा ठूलो साँचो कुरा : यी दुई झूटबिच एउटा ठूलो सत्य छ । त्यो सत्यलाई जनताको स्मृतिमा गाढिएको छ । त्यो सत्य हो – फासिवाद अरूको सार्वभौमसत्ता र आत्मगौरवको निषेध हो† उपनिवेशवादको कुरूप जुम्ल्याहा भाइ हो फासिवाद । फासिवाद र उपनिवेशवादबिच फरक छुट्याउन गा¥हो छ । उपनिवेशवादी शासनमा जातिसंहार भइरहन्थ्यो । (कङ्गोमा ६० लाख जनतालाई उपनिवेशवादले नै मारेको थियो । जर्मनीले दक्षिण–पश्चिम अफ्रिकामा रैथाने हेरेरो र नामा जातिलाई नामेट पारेको थियो । त्यस्तै अमेरिकाका रैथाने जनताको जातिसंहार यही लहरमा आउँछ । सन् १९४३ मा ३० लाख बङ्गालीहरूलाई अङ्ग्रेज राजले मारेको हामीले बिर्सनुहुँदैन ।)
जर्मन फासिवाद र जापानी सैन्यवादलाई परास्त गरेपछि यो सत्य अझ उजागर भयो । डच, फ्रेन्च र अङ्ग्रेज उपनिवेशवादीहरू अमेरिकी मित्रसँगै आफ्ना पूर्वउपनिवेश इन्डोनेसिया, हिन्द–चीन र मलाया हत्याउन दलबलसहित फर्केका थिए । सन् १९४० र १९५० का यी औपनिवेशिक युद्धमा देखिएको हिंसा अत्यन्त घिनलाग्दो थियो । डचहरूले इन्डोनेसियालाई पुनः उपनिवेश बनाउन खोजे । त्यसबेला राष्ट्रवादी नेता सुकार्नोले भने, “उनीहरू यसलाई प्रहरी कारबाही भन्छन् । तर, स्वतन्त्रताको निम्ति हाम्रा गाउँघर जल्छन्, हाम्रा जनता मर्छन् र हाम्रो राष्ट्र रगताम्य हुन्छ ।” मलेसियाका एक कम्युनिस्ट चिनपेङले यही शैलीमा भनेका थिए, “हामीले हाम्रा गाउँहरू भोकभोकै छटपटिएको देख्यौँ† पैसा र सत्ताले मान्छेको स्वर थुनेको देख्यौँ† त्यसैले हामी सङ्घर्ष गर्न उठ्यौँ ।” मलायामा बेलायतको आपत्कालीन शासन चलाउने जनरल सर जेराल्ड टेम्पलरले आफ्नो इलाकामा एउटा विद्रोह उठेपछि भनेका थिए, “त्यो पाँच हजार नामर्दहरूको गाउँ थियो ।” उनले ती गाउँलेलाई चामल नदिएर भोकभोकै मारेका थिए ।
गाउँहरू जले । गाउँलेहरू भोकभोकै मरे । पुनः औपनिवेशीकरणको खेलमा सर्वत्र यस्तै दृश्य देखियो । यसपछि अमेरिकाले कोरिया युद्ध सुरु ग¥यो । कोरियामा आक्रमण थाल्दा राष्ट्रपति ह्यारी ट्रयुमेनले भने, “(हाम्रो सेनाले) हामीसँग भएका प्रत्येक अस्त्र प्रयोग गर्नुपर्छ ।” जापानमा परमाणु बम खसिसकेको सन्दर्भमा त्यो अर्को डरलाग्दो टिप्पणी थियो । तर, आणविक बम प्रहार गर्नैपरेन । किनभने, हवाइ बमबारी गरेरै अमेरिकाले उत्तर कोरियाका सबै सहर धुलोपिठो पा¥यो । सन् १९५१ मा अमेरिकी सिनेटमा मेजर जनरल इम्मेट ओडोनेलले भने, “सबै ध्वस्त भयो । सग्लो केही पनि बाँकी छैन त्यहाँ । कोरियामा अब तारो बनाउनुपर्ने केही छैन ।” यस्तो रवैया हुन्छ फासिवाद औ उपनिवेशवादको ।
पश्चिमा उपनिवेशवादीहरूले जापान, कोरिया, हिन्द–चीन लगायत देशहरूमा पुनः फासिवादी शासकहरूलाई चिहानबाट निकालेर सत्तामा पु¥याए । तिनीहरूसँग एउटा अन्तर्राष्ट्रिय (हिटलरी) गठबन्धन गरे – मजदुर, किसान र कम्युनिस्टहरूका विरुद्ध । यसबाट स्पष्ट हुन्छ, पश्चिमा उपनिवेशवादीहरू कहिल्यै पनि फासिवादविरोधी थिएनन् । वास्तविक शत्रु मजदुर र किसान थिए । मजदुर र किसान प्रस्ट विचारका साथ एकजुट होलान्, तिनले आफ्नो आत्मबल बढाउलान् र समाजवादी भविष्यतर्फ एकसाथ लम्केलान् भन्ने डर थियो पश्चिमा उपनिवेशवादीहरूलाई ।
सबैभन्दा ठूलो सत्य के हो भने नाजी जर्मनी र जापानी सैन्यवादलाई यथार्थमा सोभियत लालसेना तथा चिनियाँ कम्युनिस्ट र देशभक्तहरूले धुलो चटाएका थिए । फासिवादविरुद्ध यिनै शक्तिले सबैभन्दा ठूलो आहुति दिएका थिए । यिनै शक्तिले फासिवाद, पुँजीवाद र उपनिवेशवादको भित्री साँठगाँठ बुझेका थिए । कुनै पनि व्यक्तिले एकैपल्ट फासिवादको विरोध गर्न र उपनिवेशवाद अनि पुँजीवादको पक्ष लिन मिल्दैन । यो असम्भव छ । किनभने, त्यो विरोधाभाषपूर्ण कुरा हो ।
मेरो दिमागमा अझै पनि सन् १९४५ अगस्तको लेनिनग्राद घुमिरहेको छ । त्यो सङ्गीत सम्झन्छु र सम्झन्छु शोस्ताकोभिचको सिम्फोनी नम्बर ७ । नाजीहरूले सहरलाई घेरा हाल्छन् । एकाएक सहर मौन हुन्छ । अनि सङ्गीत सुरु हुन्छ । झन्डै एक घन्टा सिम्फोनी गुञ्जिन्छ । त्यसपछि सङ्गीत बन्द हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *