भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, १९ मङ्सिर । बुक क्लव भक्तपुरको आयोजनामा ‘सिम्रौनगढसँग नेपाल मण्डलको सम्बन्ध : हिजो र आज’ विषयमा पुस्तकका लेखक रोशनकुमार झासँग शुक्रबार अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अधिवक्ता झाको हालै प्रकाशित पुस्तक ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ को सेरोफेरोमा केन्द्रित रह्यो ।
कार्यक्रममा लेखक झाले नेपाल मण्डलको सभ्यतामा महत्वपूर्ण योगदान गरेको पूर्वमध्यकालीन राज्य सिम्रौनगढको उपेक्षित इतिहासलाई १८ वर्ष अध्ययन गरी प्रकाशमा ल्याएको स्पष्ट पार्नुभयो ।
भक्तपुरसँग आफ्नो पुरानो पारिवारिक नाता भएको चर्चा गर्दै लेखक झाले भन्नुभयो, “भक्तपुरले अन्य धेरै क्षेत्रको इतिहास जोगाइदिएको छ । त्यसैले भक्तपुरलाई नबुझी मधेशको इतिहास बुझ्न सकिन्न ।”
सिम्रौनगढको सभ्यता लोप हुन लागिसकेकोमा चिन्ता प्रकट गर्दै उहाँले यस क्षेत्रमा थप अध्ययन, अनुसन्धानसँगै पुरातात्विक स्थलको संरक्षणको लागि सबैजना लाग्नुपर्ने आग्रह गर्नुभयो ।
कार्यक्रममा सिम्रौनगढको इतिहास, तलेजु भवानीको आगमन, नेपाल मण्डलको कलाकृति, वास्तु, साहित्य तथा संस्कृतिमा सिम्रौनगढ वा तिरहुतेहरूको प्रभावका विभिन्न आयामबारे चर्चा भएको थियो ।
प्राध्यापक, अध्येता, पत्रकार तथा संस्कृतिकर्मीहरूको उपस्थितिमा भएको अन्तरसम्वाद कार्यक्रममा लेखकले जिज्ञासुहरूका प्रश्नको जवाफ पनि दिनुभएको थियो । संस्कृतिका अध्येता मनिष श्रेष्ठ, आर्किटेक्ट कृष्णगोपाल प्रजापति, पत्रकार कृष्ण प्रजापति, ईताछेंका बासिन्दा घनश्याम झा, संस्कृतिकी विद्यार्थी सृजना प्रजापतिले विभिन्न प्रश्न राख्नुभएको थियो ।
आयोजक बुक क्लबको तर्फबाट उज्ज्वल प्रजापतिले लेखकसँग सम्वाद गर्नुभएको थियो ।
Leave a Reply