भर्खरै :

निहुँ खोज्दै हिँड्ने अमेरिकी साम्राज्यवाद

निहुँ खोज्दै हिँड्ने अमेरिकी साम्राज्यवाद

शताब्दीऔंदेखि विश्वका आम जनता शान्ति, समृद्धि र आ–आफ्ना सभ्यता, संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहन्छन् । तर नरसंहारकारी यूरोपेली तथा अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका र दक्षिण अमेरिकी महाद्वीपहरूमाथि आक्रमण गरेर आ–आफ्ना उपनिवेशहरू बनाए र यी गोरा यूरोपेली मुलुकहरूले उपनिवेश बनाएर त्यहाँका जनताका सभ्यता, संस्कृति र स्वतन्त्रतालाई ध्वस्त पारे । जुन जुन मुलुकका साम्राज्यवादी शासकहरूले जहाँ जहाँ अधिकार जमाए त्यहाँ त्यहाँ आ–आफ्ना भाषा, संस्कृति, नीति नियमहरू जबरजस्ती थोपरे । त्यहाको स्रोतसाधन र मानव स्रोतहरूको लुटपाट र चरम दोहन गरी आफू समृद्ध भए ।
सन् १९९१ मा शीतयुद्धको समाप्तिले आणविक युद्धको अन्त्य भएको भ्रम छरिए तापनि युद्धहरू निरन्तर रूपले विभिन्न मुलुकहरूमा अमेरिकी साम्राज्यवादले चलाइरहेको छ । शीतयुद्ध पछि अमेरिकाले दुई सय एकाउन्न स्थानमा सैन्य हस्तक्षेप गरेको छ । युद्धपिपासु अमेरिकी साम्राज्यवाद र मतियार यूरोपेली नाटो सम्बद्ध मुलुकहरूले इराक, अफगानिस्तान, लिविया, प्यालेस्टिन, लेवनान सिरिया आदि मुलुकहरूलाई ध्वस्त पारेर त्यहाँका जनतालाई गरिबीमा डुबाएर असीम कष्ट पु¥याइरहेछन् । तर, पनि इराकमा अकन्टक रूपले शासनसत्ता चलाउन सकेको छैन भने अफगानिस्तानमा लज्जाजनक रूपले परास्त भएर भाग्यो । अमेरिकी साम्राज्यवादलाई समर्थन गर्ने अफगानिस्तानीहरूलाई अमेरिकाले न शरण दिन्छ न त तालिवानी कट्टरपन्थी शासकहरूले सताउन र दण्डित गर्न छोड्छन् ।
कुनै बेला प्रजातन्त्र रक्षाको नाममा कोरियालाई विभाजन गरेर स्वतन्त्रताप्रेमी कोरियाली जनताविरूद्ध त कुनै बेला स्वधीनताप्रेमी भियतनामी जनताविरूद्ध युद्ध छेडेको अमेरिकी साम्राज्यवाद आज आफ्नै एक छिमेकी राष्ट्र भेनेजुयलामाथि आक्रमणको लागि तम्तयार छ । एकातिर विश्व शान्तिको निम्ति आफूले गरेको पहलका लागि आफूलाई नोवेल शान्ति पुरस्कार दिइनुपर्छ भनी दाबी गरेर नथाक्ने बदनाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू अर्कोतिर दक्षिण अमेरिकी देश भेनेजुयलामाथि हमला गर्न उद्यत छन् । उनीहरूको वास्तविक लक्ष्य भेनेजुयलाको पेट्रोलियम र सुन खानी हुन् भने भेनेजुयलामामाथि हमला गर्न प्रयोग गरिएको बहाना कथित लागु पदार्थको तस्करहरूमाथिको कारवाही हो । लागुपदार्थ तस्करी रोक्न अमेरिकी सेनाले अमेरिकाको समुद्र किनार र विमानस्थलमा निगरानी गरेमात्र पनि पुग्छ, भेनेजुयलासम्म पुग्नैपर्दैन, निर्दोष भेनेजुयाली जनताको ज्यान लिनु पर्दैन ।
विश्वमा आज सं.रा. अमेरिकालाई एक देशको रूपमा भन्दा पनि एक साम्राज्यको रूपमा बढी हेर्ने गरिन्छ । त्यसको कारक अरू कोही नभएर संरा अमेरिकी शासक वर्ग र त्यहाँको शासकीय र विदेश नीति हो । संरा अमेरिकाका संस्थापकहरूले आफूले स्थापना गरेको देश एक शक्तिशाली र समृद्ध देश होस् भनी पक्कै चाहेका थिएन होलान् तर साम्राज्यवादी र उपनिवेशवादी बनोस् भनी पक्कै चाहेका थिएनन् होला । तर, पुँजीवादी शासन प्रणाली अङ्गालेर अघि बढेको देशको नियति साम्राज्यवादमा पतन हुनु नै थियो । हुन त संरा अमेरिकामा प्रत्येक चार वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ र राष्ट्रपतिहरू पनि बदलिन्छन् । कहिलेकाहीँ आफूलाई युद्धविरोधी र शानितप्रेमी दावी गर्ने राष्ट्रपति पनि चुनिन्छ तर अमेरिकी शासकीय नीतिमा खासै कुनै परिवर्तन हुँदैन । शासकहरूको चाहनाले वा असलपनाले राज्य व्यवस्थामा खासै कुनै प्रभाव पार्दैन । महान राजनीतिक सिद्धान्तकार लेनिनले स्पष्ट लेख्नुभएको छ–साम्राज्यवाद भनेको पतनोन्मुख पुँजीवादको अन्तिम चरण हो । अर्थात् पुँजीवादको चरम विकासले कुनै पनि राज्यलाई साम्राज्यवादतिर डो¥याउँछ ।
अमेरिकी साम्राज्यवादले दोस्रो विश्वयुद्धको समाप्तियता अझै साम्राज्यवादको नाइकेको भूमिका निर्वाह गर्दै छ । उसको आक्रमणकारी चरित्रमा अलिकति पनि हेरफेर भएको छैन । जब जब साम्राज्यवादीहरू अप्ठ्यारो स्थितिमा पर्छन् तब तब प्रजातन्त्र, सुरक्षा र शान्तिको ध्वाङ फुक्छन् । अमेरिकी साम्राज्यवादीहरू आन्तरिक र बाह्यरूपमा गम्भीर सङ्कटको सामना गर्दै छन् । विश्वमा उनीहरू बदनामसँगै पतन हुँदै छन् । अमेरिकाभित्रै अमेरिकी जनताको युद्धविरोधी आन्दोलन चालु छ । संसारका स्वाभिमानी, स्वाधीनताप्रेमी, शान्तिकामी जनताले अमेरिकी साम्राज्यवादको खुलमखुला विरोध गरिरहेका छन् । साम्राज्यवादको विरोधमा हरेक दिनझैँ जुलुस प्रदर्शन तथा सभा गरिरहेका छन् । यो अमेरिकी साम्राज्यवादको संसारमा बदनाम मात्र होइन पतनको सङ्केत पनि हो । शान्ति, सुरक्षा, विकास चाहने देशभक्त, क्रान्तिकारी र प्रगतिशील तथा सङ्घर्षशील जनताले ‘शान्ति’ र ‘प्रजातन्त्र’ को पर्दाभित्र लुकेका अमेरिकी साम्राज्यवादीहरूले बढाएका आक्रमण, युद्ध गर्ने, गराउने र युद्ध गराउन उक्साउने कार्यको एकै स्वरमा विरोध गरिरहेका छन् । उनीहरूले अमेरिकाले गरेको ज्यादती, दमन, हस्तक्षेप र आक्रमणलाई एक एक गरी हेरिरहेका छन् र समीक्षा गरिरहेका छन् ।
अमेरिकी साम्राज्यवादको विरोधमा हिजो भियतनामी जनताले वीरतापूर्ण लडेका थिए । साम्राज्यवादविरूद्ध कम्बोडिया र लाओसका जनताले लडेको पनि इतिहास छ । आज साम्राज्यवादविरूद्ध लड्न क्युबाली, भेनेजुयालीलगायत ल्याटिन अमेरिकी देशका जनता तयार छन् । कोरिया, चीन, भियतनाम, कम्बोडिया, लाओस र अरू एसियाली देशका जनताले साम्राज्यवादी नीति र त्यसको चलखेलविरूद्ध अझै न्यायपूर्ण सङ्घर्ष गरिरहेका छन् । अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय महासन्धि र कानुनहरू तथा संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ । संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बन्नुहुँदैन । संयुक्त राष्ट्र सङ्घको बदनाम गर्ने, संयुक्त राष्ट्र सङ्घलाई उपयोग गरेर संसारका मुलुकलाई आफ्नो प्रभाव जमाउने, उपनिवेश बनाइरहेकोतर्फ सारा विश्व सचेत र सजग हुनुपर्छ । सबैतिर निहुँ खोज्दै हिँड्ने अमेरिकी साम्राज्यवादको पतन निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *