भर्खरै :

ख्वप कलेजको दोस्रो कलेज सभा सम्पन्न कलेजको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

ख्वप कलेजको दोस्रो कलेज सभा सम्पन्न  कलेजको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप कलेजको दोस्रो कलेज सभा सोमबार सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक परिवर्तनमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै कलेजहरूले विद्यार्थीको चाहना र मागबमोजिम नयाँ नयाँ विषय थप्दै लाने विषयमा जोड दिँदै आएको बताउनुभयो ।
एक घर एक स्नातक अवधारणालाई साकार पार्न यी कलेजहरूले विशेष भूमिका खेले पनि सरकारले नियोजित रूपमा विद्यार्थीलाई बिदेसिन बाध्य पारिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षालाई जोड दिँदै कामदारवर्गलाई माथि उठाउने र कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले भक्तपुर नगरपालिकाले कलेजहरू स्थापना गरेको हो; यी कलेजहरू स्थापना गर्नमा जनप्रतिनिधि, भक्तपुर नगरपालिकाबाहेक अप्रत्यक्षरूपमा सहयोग गर्ने नगरवासीहरू हुन्, हामीले उहाँहरूको योगदानलाई कदापि भुल्नु हुँदैन ।”
बाग्मती प्रदेशसभाका सांसद एवं कलेज सभाका सदस्य सुरेन्द्रराज गोसाईले नगरपालिकाबाट सञ्चालित कलेजहरू एउटा स्तरीय ब्रान्ड भइसकेकोले कलेजले स–साना कुरामा ध्यान दिई अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।
विद्यार्थी, अभिभावक र शिक्षकहरूको समय सुहाउँदो मागलाई सम्बोधन गर्दै ख्वप सर्कलले अन्य शैक्षिक सङ्घसंस्थासँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिस्पर्धी होइन सहकार्यको भावना राखी सहकार्य गर्दै अगाडि बढ्नुपर्ने र सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सभाका उपाध्यक्ष रजनी जोशीले ख्वप सर्कलले दक्ष जनशक्ति उत्पादन गर्दै प्रतिस्पर्धी र देशभक्त नागरिक तयार गरिरहेको बताउँदै कलेजले भक्तपुरको पहिचानसहितको गतिविधिलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
उहाँले वैज्ञानिक समाज निर्माण गर्नेतर्फ संस्था अगाडि बढ्नुपर्ने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
सभामा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पेस गर्नुभएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन र कलेजको आ.व. २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित गरिएको थियो ।
प्रतिवेदनमाथि कलेज सभासद्हरू ई. सुनिल दुवाल, ई. सुजन माक, डा. रत्नसुन्दर लासिवा, प्रा.डा. राजुभाइ त्यातले टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *