साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
उम्मेदवारले निर्वाचन हुनुभन्दा ६ महिना अगाडिदेखि कुनै कारखानामा काम गरेको हुनुपथ्र्यो । दोस्रो बाधा यो थियो । मालिनोभ्स्की मस्कोनजिकै एउटा सानो कारखानामा काम गर्थे । निर्वाचन हुनुभन्दा केही साताअघि फोरमेनसँग झगडा गरेको हुनाले उनी कामबाट निकालिने स्थितिमा थिए । यसकारण, प्रहरीले फोरमेनलाई पक्राउ ग¥यो र निर्वाचनपछि मात्र निस्किने गरी थुनामा राख्यो । तैपनि, मालिनोभ्स्कीलाई कारखानाबाट निकालियो । उनले कारखानाको अधिकारीलाई घुस खुवाएर ‘बिदामा रहेको’ प्रमाणपत्र बनाए । यसरी गुप्त प्रहरीको मद्दतले निर्वाचनको लागि उनको ढोका खुल्यो ।
संसद्मा निर्वाचित भइसकेपछि मालिनोभ्स्की प्रहरीका एक अति महत्वपूर्ण एजेन्ट बने । नयाँ जिम्मेवारीमा उनलाई बिलेत्स्की आफैले तालिम दिए । सेन्ट पिटर्सबर्गको गुप्त प्रहरीले आफ्ना दस्ताबेजहरूमा उनलाई ‘एक्स’ भनी लेख्थ्यो । उनलाई प्रतिमहिना ५ सय रुबल तलब दिन्थ्यो । विशेष सूचनाका लागि पछि उनको तलब बढाएर ७ सय रुबल पु¥याइएको थियो । प्रहरीकै खर्चमा उनको घरमा टेलिफोन जडान गरिएको थियो । बिलेत्स्कीसँग उनका सबै कुराकानी गुप्त भाषामा हुन्थ्यो । उनले बिलेत्स्की र उनका सहयोगी भिसारियोनोभसँग कुनै रेस्टुराँको निजी कोठामा भेट्थे । मुद्दाका क्रममा बिलेत्स्कीले बकेअनुसार सोध्नुपर्ने प्रश्नावली आफै तयार पार्थे र मालिनोभ्स्कीले दिने जवाफ उनका सहयोगीले लेख्थे । धरपकड, खानतलासी र देश निकालाको काम धमाधम चल्यो । तर, मालिनोभ्स्कीलाई जोगाउन ठुलो सावधानी अपनाइयो । सन् १९१३ फेब्रुअरीमा प्रहरी विभागले कामरेड रोज्मिरोभिचलाई पक्राउ गर्ने निर्णय गर्दा मालिनोभ्स्कीले किभ सहरमा पक्राउ गर्न सल्लाह दिए । एक महिनापछि उहाँलाई पक्राउ गरियो । यसले गर्दा विदेशमा रहेको पार्टी केन्द्र सशङ्कित भयो । मालिनोभ्स्कीकै अनुरोधमा उहाँलाई पछि रिहा गरियो । (प्रहरीले सन् १९१४ अप्रिलमा सामोइलोभा र कुदेलीसँगै रोज्मिरोभिचलाई ‘राबोत्नित्सा’ (महिला मजदुर) को कार्यालयमा पक्राउ ग¥यो ।)
मालिनोभ्स्कीले दिने सूचना निकै मूल्यवान थियो । किनभने, उनलाई संसदीय समूहका साथै पार्टीको भूमिगत गतिविधिको राम्रो जानकारी थियो । ‘प्राभ्दा’ को सम्पादकीय कार्यालयमा हुने सबैथोकको सूचना उनी नियमितजसो प्रहरीलाई दिन्थे । बैठकमा सहभागी हुने प्रत्येकको व्यक्तिगत विवरण, बैठकको निर्णय र पत्रिकाको वित्तीय अवस्थाबारे उनी प्रहरीलाई भन्थे । यही सूचनाका आधारमा बिलेत्स्कीले पत्रिकालाई एकदम अप्ठ्यारो परिरहेको बेला जरिवाना तिराउने, पत्रिका जफत गर्ने आदि कारबाही गर्थे । त्यस्तै, मालिनोभ्स्कीले ‘प्राभ्दा’ का सबै चन्दादाता र नियमित ग्राहकको नामावली प्रहरीलाई बुझाए । पत्रिकाविरुद्ध दमनमा उत्रिने बेला यो सूची प्रहरीलाई निकै काम लाग्यो ।
मालिनोभ्स्कीको वाक्कलाका कारण हाम्रो समूहको तर्फबाट उनलाई बरोबर वक्ता बनाइन्थ्यो । तर, उनको मन्तव्यको मसिना विश्लेषण गर्दा त्यसमा हामी मजदुर सांसदहरूको मन्तव्यमा हुनुपर्ने तिखो क्रान्तिकारी कथ्य हुँदैनथ्यो । अन्य मजदुर सांसदहरू आफ्ना मन्तव्यलाई जानाजान तिखार्थे, कहीँ अड्किँदैनथे । तर, मालिनोभ्स्कीले जहिल्यै खतरनाक अनुच्छेदलाई बङ्ग्याउन खोज्थे । प्रश्नलाई क्रान्तिकारी शैलीमा प्रस्तुत गर्नबाट बच्थे । पार्टीले हाम्रो समूहका सदस्यहरूले आफ्ना सबै मन्तव्यमा क्रान्तिकारी कथ्य राख्नुपर्नेमा जोड दिन्थ्यो । मालिनोभ्स्की भने आफ्नो मन्तव्यबाट क्रान्तिकारी कथ्य हटाउन र त्यसलाई हानिरहित बनाउन निकै मिहिनेत गर्थे । खुला सभाहरूमा बोल्ने बेला उनले प्रहरी विभागलाई भनेर मन्तव्यको काट्नुपर्ने अनुच्छेदमा पुग्दा प्रहरी एजेन्टले हस्तक्षेप गर्नुपर्ने चाँजो मिलाउँथे । मस्कोमा छापा मजदुरहरूको अधिवेशनमा उनले मन्तव्य दिने बेला यस्तै भएको थियो ।
सदनमा छँदा उनको मुख्य गतिविधि सेन्ट पिटर्सबर्गमा केन्द्रित रह्यो । मस्को गुप्त प्रहरीसँग आफ्नो सम्बन्धलाई उनले पूर्णतः तोडेनन् । मस्को भ्रमणमा जाँदा जहिल्यै क्रान्तिकारी मजदुरहरू पक्राउ परेकै हुन्थे । उनले प्रहरीलाई सूचना दिन्थे र बदलामा विशेष आम्दानी गर्थे ।
सेन्ट पिटर्सबर्गमा मालिनोभ्स्कीले बिलेत्स्कीलाई समूहका बैठक, सांसदहरूको विचार र योजना, भ्रमणको नक्सा र स्थानीय अवस्थाको जानकारी दिन्थे । यही जानकारीको आधारमा प्रहरी मुख्यालयबाट आउने निर्देशनका आधारमा स्थानीय प्रहरीले भ्रमणमा जाने सांसदहरूका बैठकमा भाँजो हाल्थे । एकपल्ट त मालिनोभ्स्कीले बिलेत्स्कीलाई संसदीय समूहको दस्ताबेज जाँचबुझ गर्न र आवश्यक अनुच्छेदको प्रतिलिपि उतार्न दिएका थिए ।
बिलेत्स्कीले कबुल गरेअनुसार एकपल्ट मालिनोभ्स्कीले प्रहरीलाई गैरकानुनी साहित्यको ठुलै चाङ प्रहरीको हात पारेका थिए । धेरै अप्ठेराहरू झेल्दै भर्खर सेन्ट पिटर्सबर्ग पुगेको साहित्य प्रहरीकहाँ पुगेको थियो ।
‘एजेन्ट प्रोभोकेटर’ को परिचय खुल्ने हुनाले गुप्त प्रहरी निकै चनाखो रहन्थ्यो । मालिनोभ्स्कीसँग एकदम नजिक रहेर काम गर्ने पार्टीका कामरेडहरूलाई पक्राउ गर्दा निकै सतर्कता अपनाउँथ्यो । तर, स्वेर्दलोभ र स्तालिन सेन्ट पिटर्सबर्ग फर्केपछि प्रहरी विभागले ती दुवैलाई पक्रिन मालिनोभ्स्कीसँग चाँजो मिलाउन भन्यो ।
स्वेर्दलोभको पक्राउ यसरी भयो – निर्वासनबाट भागेर उहाँ मकहाँ लुक्नुभएको थियो । मालिनोभ्स्कीले दिएको सूचनाका आधारमा प्रहरीले उहाँलाई खोजतलास गर्न थाल्यो । एक दिन मकहाँ आएर चौकिदारले स्वेर्दलोभको हुलिया बताएर कतै उनी मकहाँ त छैनन् भनी सोध्यो । मैले मकहाँ कोही पाहुना नभएको बताएँ । तर, हामी स्वेर्दलोभ मकहाँ बस्नु सुरक्षित नभएको र उहाँले तुरुन्तै त्यो ठाउँ छोड्नुपर्ने टुङ्गोमा पुग्यौँ । झमक्क साँझ परेपछि मालिनोभ्स्की र म बाहिर गयौँ र त्यहाँ कसैलाई नदेखेपछि चुरोट सल्कायौँ । यो सङ्केतका आधारमा स्वेर्दलोभ पछिल्लो ढोकाबाट बाहिर निस्किनुभयो । हामीले उहाँलाई पर्खाल उक्लिन सघायौँ । त्यसपछि काठ गोदाम हुँदै हामी अर्को पर्खाल उक्लियौँ । त्यसपछि तटबन्ध आयो । त्यहाँ एउटा घोडागाडीले पर्खिराखेको थियो । उहाँलाई त्यहाँ छोडेर हामी दुई मालिनोभ्स्कीको कोठामा गयौँ । यसपछि स्वेर्दलोभ पेत्रोभ्स्कीकहाँ जानुभयो । त्यही रात त्यहाँबाट उहाँलाई गिरफ्तार गरियो । स्वेर्दलोभको सुरक्षाबारे खुब चासो देखाइरहेका मालिनोभ्स्कीले नै फोन गरेर प्रहरीलाई उहाँको नयाँ शरणस्थलबारे सूचना दिएका रहेछन् ।
तिनैताका मालिनोभ्स्कीले स्तालिनलाई पनि उसैगरी धोका दियो । सधैँझैँ स्तालिन यसपालि पनि निर्वासन छलेर पिटर्सबर्ग फर्किनुभएको थियो । उहाँ गुप्तबासमा हुनुहुन्थ्यो । बाहिर उति निस्किनु हुन्थेन । उहाँ फर्केको प्रहरीले पत्तो पाइसकेको थियो । प्रहरीले उहाँ कहिले बाहिर निस्कनुहुन्छ र फेरि पक्रौँला भनी ढुकिरहेको थियो । ‘प्राभ्दा’ को निम्ति चन्दा उठाउन कालाश्निकोभ भवनमा एउटा सङ्गीत कार्यक्रम थियो । यस्ता कार्यक्रममा प्रायः पार्टीलाई समर्थन गर्ने बुद्धिजीवीहरू उपस्थित हुन्थे । खुला रूपमा भेला हुन नमिल्ने पार्टी सदस्यहरू यस्तै भीडको मौका छोडेर बैठक र बातचित गर्न यस्ता कार्यक्रममा आउँथे । स्तालिनले पनि त्यहाँ जाने निधो गर्नुभयो । मालिनोभ्स्कीलाई यो कुरा थाहा थियो । उनले प्रहरीलाई सूचना दिइहाले । परिणाम, स्तालिन पुनः ठाउँको ठाउँ पक्राउ पर्नुभयो ।
यी दुई गिरफ्तारीबाट मालिनोभ्स्की पार्टीको कति भित्रसम्म पुगिसकेका थिए भन्ने स्पष्ट हुन्छ । उनले धेरै दुःख र पीडा खेपेर भर्खरै निर्वासनबाट उम्केका पार्टीका दुई अति महत्वपूर्ण कार्यकर्तालाई प्रहरीको हात लगाए ।
मालिनोभ्स्की र हाम्रो संसदीय समूहका बाँकी सदस्यबिच सुरुदेखि नै सम्बन्ध चिसियो । छलफल गर्ने बेला सानातिना विषयमा पनि उनी प्रायः बम्किहाल्ने वा सन्किने गर्थे । उनको यस्तो व्यवहारमा अन्य सदस्यहरूले आपत्ति जनाउँथे । यसले गर्दा बरोबर खटपट र मनमुटाव भइरहन्थ्यो । उनले सदन छोड्नुभन्दा केही दिनअघि यस्तै खटपट भएको थियो । बोल्शेभिक सांसदहरूलाई १५ बैठकबाट निकाला गरिएपछि यसको जवाफमा के गर्ने भन्ने विषयमा समूहको छलफल भइरहेको थियो । मालिनोभ्स्कीले सदनलाई परित्याग गनुपर्ने र क्रान्तिकारी कारबाहीको लागि जनतालाई अपिल गर्नुपर्नेमा जोड दिए । विरोधको यस्तो शैलीको पक्ष लिँदै गर्दा मालिनोभ्स्कीले संसद्बाट बाहिरिने मेसो पनि मिलाउँदै थिए । पछि मात्र कुरा खुल्यो, त्यही बेला प्रहरी विभागले उनीबाट काम नलिने निर्णय गरेको रहेछ । सन् २०१३–१४ को हिउँदमा गृह मन्त्रालयमा थोरै हेरफेर भयो । मस्कोका पूर्वगभर्नर जनरल कुख्यात जर्नेल जुन्कोभ्स्की जनपद र सशस्त्र प्रहरीका सहायक मन्त्री नियुक्त भए । यो नियुक्तले गर्दा प्रहरी विभागमा अधिकारीहरूको फेरबदल भयो । जुन्कोभ्स्कीले बिलेत्स्की र उनका सहयोगी भिसारियानोभको सट्टा आफ्नै मान्छेलाई नियुक्त गरे र मालिनोभ्स्कीबाट पिण्ड छुटाउने निधो गरे ।
आफ्नो बयानमा जुन्कोभ्स्कीले प्रहरी एजेन्टरूपी एक ‘झन्झट’ लाई संसद् सदस्यको रूपमा स्वीकार्न नसकेको बताए । यो व्याख्या पत्यारिलो छैन । हाम्रो समूहको सदस्यको रूपमा मालिनोभ्स्कीले प्रहरीले आँट्नेभन्दा पर गएर काम गरेको हुनसक्छ । अथवा, कर्मचारीतन्त्रमा पाइने विभागीय इष्र्याका कारण उनी निकालिएको पनि हुन सक्छ । नयाँ अधिकारीहरूले प्रायः आफूअघिका कर्मचारीलाई दोष लगाउने र जनतासामु ठिक्क बन्न आफूले नयाँ र गतिलो नीति अपनाइरहेको बताउने गर्छन् ।
जुन्कोभ्स्कीको आदेशमा गुप्त प्रहरी विभागको हाकिमले मालिनोभ्स्कीलाई संसद् छोडेर तुरुन्तै विदेश जान भन्यो । काम छोड्नुअघि प्रहरीले अन्तिम तनखाको रूपमा उनलाई एकमुष्ट ६ हजार रुबल दियो । सदनमा मालिनोभ्स्कीको राजीनामा दिनुको खास कारण थाहा पाउने एकमात्र व्यक्ति सभामुख रोद्जान्को थिए । उनकै शब्दमा भन्ने हो भने निलम्बित सांसदहरू सदनमा फर्किने दिन बिहानीपख एकजनाले उनलाई फोन ग¥यो । उसले ती सांसदहरूले पढ्ने वक्तव्यको पाठबारे जानकारी गरायो । रोद्जान्कोले यस विषयमा थप छानबिन गर्ने सोचे । यसपछि जुन्कोभ्स्कीले उनलाई मालिनोभ्स्की प्रहरीको सुराकी हो र उसबाट पिण्ड छुटाउने तय भइसकेको बताइदिए । यसरी सत्य बुझेरै त्यो रहस्य रोद्जान्कोले सदनबाट लुकाइराखे ।
मालिनोभ्स्की त्यसपछि पार्टी र सार्वजनिक जीवनबाट गायब भए । युद्धको सङ्घारमा उनी सेनामा भर्ती भए र त्यसको केही समयपछि जर्मनहरूले उनलाई बन्दी बनाए । क्रान्तिपछि उनी रुस फर्के र गिरफ्तार भए ।
सन् १९१८ नोभेम्बर ५ को दिन क्रान्तिकारी अदालतले मस्कोमा मालिनोभ्स्कीविरुद्ध मुद्दा चलायो । जारशाही प्रहरी विभागका केही हाकिम (बिलेत्स्की, भिसारियानोभ, जुन्कोभ्स्की, माकारोभ आदि) लगायत अनेक साक्षीहरूको बयानका साथै गुप्त प्रहरीको अभिलेखालयका धेरै दस्ताबेजबाट उनको विश्वासघातको इतिवृत्तान्त खुल्यो । उनको जीवन अपराधै अपराधको मालाजस्तो थियो । उनको बुद्धि र क्षमतालाई मजदुर आन्दोलनलाई कमजोर पार्ने धनवानहरूले प्रयोग गरेका थिए ।
अदालतमा एक घुसपैठियाको रूपमा उनका कर्तुतहरू छताछुल्ल भयो । मालिनोभ्स्कीले आफ्ना अपराधहरू अस्वीकार गर्न सकेनन् । त्यसैले बचाउका लागि उनले अर्कै उपाय अपनाए । उनले पूर्णतः प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा आफूलाई जबरजस्ती सुराकी बनाइएको आरोप लगाए । एक सुराकीको रूपमा आफ्नो पेसालाई उनले पीडा र पश्चातापले लत्पतिएको दीर्घ सहादत भने र आफू त्यसबाट भाग्न नसक्ने बताए । त्यति नै बेला यो सिद्धान्तसँग बाझिने गरी उनले स्वीकार पनि गरे, “सुरुमा मैले घिन लागेर (गुप्त प्रहरीको एजेन्ट बन्ने) प्रस्ताव अस्वीकार गरेको थिइनँ । मलाई अलिकति पनि घिन लागेको थिएन । तर, नचाहेरै मैले अस्वीकार गरेको थिएँ । मैले दोहोरो भूमिका खेल्न सक्छु जस्तो नलागेर मैले अस्वीकार गरेको थिएँ ।”
तर, प्रहरीले मालिनोभ्स्कीका पुराना अपराधहरू बाहिर ल्याउने धम्की दिएपछि एकाएक उनले एजेन्ट बन्न स्वीकार गरे रे । उनले भने, “अब गुत्थी सुल्झियो । मलाई हिच्किचाहट भएन, कुनै पश्चाताप भएन ।”
आफ्नो करियरभरि मालिनोभ्स्कीले जे गरे मुद्दाका क्रममा पनि त्यही गरे । उनले झूटो बोले । उनले स्वेच्छाले संसद् छोडेको साबित गर्न सकेको बल लगाए । उनले व्यक्तिगत रूपमा बेखुसी हुनाले र प्रहरीसँग राजनीतिबाट सन्न्यास लिने अनुमति पाएकाले संसद् छोडेको दलिल दिए । उनले भने, “तत्कालीन स्थिति गौण हो । महत्वपूर्ण के हो भने बिलेत्स्कीले मलाई छोड्ने अनुमति दिए ।… मैले नयाँ अवस्थामा नैतिक र अन्य कारणले काम जारी राख्न सम्भव नभएको भन्दै मैले जुन्कोभ्स्कीलाई बाहिरिने बताएँ ।”
तर, अहिले हामीलाई उनको राजीनामाको खास कारण थाहा थियो । हामीलाई थाहा भयो, बिलेत्स्कीलाई हटाइएपछि मालिनोभ्स्कीले प्रहरी विभागसँग पुनः आफ्नो साँठगाँठ मिलाइदिन बिलेत्स्कीसामु बिन्ती बिसाएका रहेछन् । मालिनोभ्स्कीको भनाइ झूटो थियो । मुद्दाको अवधिभरि उनले जानाजान यी झूट दोहो¥याइरहे । उनले आफूले गम्भीर अपराध गरेको कबुल गरे र साथमा साँच्चिकै पश्चाताप गरेको देखावा पनि गरिरहे । उनले मृत्युदण्डको अपेक्षा गरेको बताए । तर, यही रवैयाका कारण उनले आफ्नो सजाय थोरै खुकुलो पारिने अपेक्षा पनि गरिरहे । क्रान्तिपछि आफूखुसी रुस फर्किनु जवाडेले अन्तिम चाल चलेझैँ थियो । क्रान्तिकारी अदालतले मजदुर वर्गविरुद्ध… अपराध गरेको हुनाले उनलाई माफी दिएन । अदालतले उनलाई गोली ठोक्ने सजाय दियो ।
मालिनोभ्स्की एक अति सक्रिय ‘घुसपैठिया’ को रूपमा स्मरण गरिनेछन् । उनले क्रान्तिमा ठूलो क्षति पु¥याए । उनको क्रियाकलापको अर्को पाटो पनि छ । त्यो के भने उनका क्रियाकलाप स्वयम् जारशाहीका लागि हानिकारक ठहरिए । बोल्शेभिक समूहको सदस्यको दोस्रो भूमिकामा उनले सदनमा जबरजस्ती क्रान्तिकारी भाषण दिनुप¥यो र हाम्रो प्रचारप्रसार अभियानमा पनि भूमिका खेल्नुप¥यो । यी क्रियाकलापले हामीले चाहेजस्तो नतिजा ल्याए । क्रान्तिकारी सङ्घर्षमा जारशाही सरकार घुनझैँ बढारिनुप¥यो ।
मालिनोभ्स्कीको क्रियाकलापले प्रहरी कस्तो स्थितिमा पुग्यो भन्ने विषयमा लेनिनले यसरी वर्णन गर्नुभयो ः
“एक घुसपैठियालाई संसद्मा निर्वाचित हुन सघाउँदा र त्यसका लागि बोल्शेभिक उम्मेदवारका सबै विपक्षीलाई बाटोबाट हटाइरहँदा गुप्त प्रहरी बोल्शेभिकसम्बन्धी कुनै नक्कली सोचले भन्दा पनि विकृत विचारले निर्देशित थिए । बोल्शेभिकहरूले ‘सशस्त्र विद्रोहको तयारी गर्लान्’ भन्ने तिनको कल्पना थियो । यो आउँदो विद्रोहका सबै तानाबाना आफ्नो हातमा राख्न तिनले आफ्नो अडानबाट अलि अलग्गिएर मालिनोभ्स्कीलाई सदन र हाम्रो पार्टीको केन्द्रीय समितिमा निर्वाचित गराए ।
तर, यी दुवै उद्देश्य पूरा गरेपछि उनीहरूले के चाल पाए भने मालिनोभ्स्की एउटा लामो र बलियो बन्धनको कडीमा परिवर्तित भएको पाए । यो कडीले विभिन्न तरिकाले हाम्रो कानुनी आधार र जनतालाई प्रभावमा ल्याउने पार्टीका दुई हाँगा ‘प्राभ्दा’ र ‘संसद्’ सँग जोड्ने काम गथ्र्यो । आफ्ना काम फत्ते गर्न त्यो घुसपैठियाले यी दुवै हाँगालाई जोगाउनुपथ्र्यो ।
यी दुवै हाँगा हाम्रो प्रत्यक्ष मार्गनिर्देशनमा चल्थे । जिनोभित् र मैले ‘प्राभ्दा’ का लागि दिनकै लेखिरहन्थ्यौँ । त्यसको नीति पूर्णतः पार्टीको निर्णयबाट तय हुन्थ्यो । यसरी चालिसदेखि साठी हजार मजदुरहरूमाथि हाम्रो प्रभाव सुरक्षित हुन्थ्यो । संसदीय समूहमा पनि यही कुरा लागू हुन्छ । खासगरी मुरानोभ, पेत्रोभ्स्की र बादायेभले मालिनोभ्स्कीबाट झन्झन् स्वतन्त्र भएर काम गरे । उनीहरूले मजदुरहरूसँगको आफ्नो सम्बन्ध सबल पारे र थप मजदुरहरूमाझ आफ्नो प्रभाव फैलाए ।
मालिनोभ्स्कीले केही व्यक्तिलाई बर्बाद पार्न सक्थे र पारे । तर, उनले पार्टीको विस्तारलाई नियन्त्रण गर्न वा खुम्च्याउन सक्दैनथे । न उनले जनताबिच पार्टीको बढ्दो महत्वलाई, लाखौँ मजदुरहरूमा फैलिएको पार्टीको प्रभावलाई नै कसैगरी निस्तेज पार्न सके । (सन् १९१२ पछि भएका हडतालहरूबाट यो प्रभाव फैलिँदै गएको थियो ।) मालिनोभ्स्कीलाई संसद्बाट हटाउने बेला गुप्त प्रहरीले यो तर्क राखेकोमा मलाई आश्चर्य लागेको छैन – मालिनोभ्स्की जनताबिच क्रान्तिकारी गतिविधि गरिरहेका संसदीय समूह र प्राभ्दासँग एकदम घनिष्ट भएको पाइयो र उनको उत्साही सक्रियता प्रहरीलाई सह्य भएन ।”
मालिनोभ्स्कीले खेलेको वस्तुगत भूमिकाबारे लेनिनको यो मूल्याङ्कनले कसैगरी पनि उनको अपराधलाई घटाउँदैन बरु एक विश्वासघातीको चरित्र उदाङ्गो पार्छ ।
Leave a Reply