भर्खरै :

“निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर जस्तै हो”

“निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर जस्तै हो”

भक्तपुर, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगर समितिको आयोजनामा नेमकिपाको तर्फबाट २०७९ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उम्मेदवार तथा कार्यकर्ताहरूको भेला र प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “निर्वाचन घोषणापत्रको लडाइँ हो । एउटा वर्गसङ्घर्ष हो । जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटरजस्तै हो ।”
कम्युनिस्ट दाबी गरेकाहरूले निर्वाचनलाई पुँजीवादी सरकारमा जाने भ¥याङ जस्तै बनाएको हुँदा देश र जनतालाई दुःख भएको उहाँले स्पष्ट गर्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “एमालेले एकातिर भदौ २३ र २४ गतेपछिको अन्तरिम सरकारको प्रक्रियालाई अस्वीकार गर्ने र छानबिन आयोगमा बयान दिन नजाने बताउने तथा अर्कोतिर निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता पनि गर्ने दोहोरो भूमिका खेलेको छ ।”
नेमकिपाले राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्रको रूपमा लिँदै आएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूले देश र जनताको समस्या समयमै सम्बोधन नगर्ने र सम्भावित घटनाबारे पूर्वानुमानसमेत गर्न नसक्ने अवस्थाले गर्दा देशमा अन्योल बढ्दै आएको हो । प्रम र मन्त्री भएकाहरू देश र जनताप्रति जिम्मेवार नहुँदा आजको सङ्कट आएको हो ।”
वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वाग्मती प्रदेशसभामा पक्षपात, भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति, बेथितिका कार्यहरू व्यापक भएको हुँदा त्यसको विरूद्धमा आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो ।
उहाँले देश र जनताको हित हुने खालका प्रस्तावहरू दर्ता गर्नुका साथै पारित गराउन विशेष भूमिका खेल्दै आएको बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति न्हुछेभक्त फोजुले कार्यकर्ताहरू देश र जनताको सेवामा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले कार्यकर्ताहरू हरेक विषयमा जानकार हुन, देश विदेशका अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, विश्वका मजदुर आन्दोलन र क्रान्ति, समाजशास्त्र, मानवशास्त्र, पार्टी विधान, दस्ताबेजहरू अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकामा भ्रष्टाचार, अनियमितता, बेथिति, विकृति–विसङ्गति, पक्षपात व्यापक भइरहेको कुरा चर्चा परिचर्चा भइरहेको हुँदा सो विषयमा पनि कार्यकर्ताहरूले चासो राख्नुपर्छ ।”
नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिना, सदस्यहरू नारायणभक्त न्हेम्हाफुकी र गणेश त्यातले देश–विदेशमा भइरहेको समसामयिक विषयमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *