भर्खरै :

माओ र स्तालिन दिवसको अवसरमा शिक्षक भेला

माओ र स्तालिन दिवसको अवसरमा शिक्षक भेला

भक्तपुर, २७ मङ्सिर । विश्व सर्वहारावर्गका महान् गुरुहरू माओ त्सेतुङको १३२ औँ र जोसेफ स्तालिनको १४७ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार शिक्षक भेला ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले दुई छिमेकी मुलुकहरू चीन र भारतको स्वतन्त्रता सँगसँगै भए तापनि चीनले तल्लोस्तरबाटै शिक्षामा सुधारात्मक नीति अवलम्बन गरेको कारण आज विज्ञान, प्रविधि, अर्थतन्त्र, राजनीतिमा अगाडि रहेको चर्चा गर्दै क्रान्तिकारी परिवर्तनका लागि शिक्षामा जोड दिनुपर्ने विचार सोभियत समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिले देखाएको बताउनुभयो ।
गरिबी निवारणमा ऐतिहासिक उपलब्धि हासिल गर्दै चीनले आर्थिक असमानता हटाउन ‘समाजलाई फिर्ता गर’ भन्ने नारा अगाडि सार्दै विश्वमै चिनियाँ मोडलको समाजवाद स्थापनामा लागिपरेको भन्नुभयो ।
स्तालिनको नेतृत्वमा रहेको सोभियत समाजवादले नाजिवादसँग डटेर सामना गर्दा धेरै सोभियत सेनाहरूले समाजवाद रक्षार्थ बलिदान दिएको भन्दै पुँजीवादी सञ्चारमाध्यमले स्तालिनलाई तानाशाहीका रूपमा बदनाम गरिरहेको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विश्व कम्युनिस्ट आन्दोलनबाट सिकेर नेपाली जनताकै साथमा नेपालमा क्रान्ति गर्नुपर्ने औँल्याउँदै २०४६ सालको जनआन्दोलनपछि नेमकिपाले समाजवादी प्रचार अभियान थालिरहेको बताउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादी चरित्र बोकेका पार्टीहरू देखापरेको उल्लेख गर्दै उहाँले गैरसरकारी संस्थाहरूले देशको सार्वभौमिकता नै समाप्त गर्न सक्ने उदाहरण सोभियत सङ्घको विघटनपश्चात् पन्ध्रओटा देशमा टुक्रा भएबाट पुष्टि हुन्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकद्वय केपी छुस्याकीले माओको जीवनी र रत्नप्रसाद फैजूले स्तालिनको जीवनीबारे प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा शिक्षक घनश्याम खड्का र राजन लाखाले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *