भर्खरै :

पाठेघर परीक्षण (भीआईए टेस्ट) तथा स्तन परीक्षण शिविर सम्पन्न

पाठेघर परीक्षण (भीआईए टेस्ट) तथा स्तन परीक्षण शिविर सम्पन्न

भक्तपुर, २७ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा शनिबार वडावासी महिलाहरूको पाठेघर परीक्षण (भीआईए टेस्ट) तथा स्तन परीक्षण शिविर सम्पन्न भयो । नगर उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालका चिकित्सक डा. श्रीजा किसीलाई परीक्षण सामग्री हस्तान्तरण गरी शिविरको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले नगरवासीहरू स्वस्थ र निरोगी बनेमा नगरपालिका नै निरोगी हुने र आत्मनिर्भर बन्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेको चर्चा गर्दै ख्वप अस्पतालमार्फत गरिब कामदार जनताको सहज उपचार गराइरहेको प्रस्ट पार्नुभयो ।
पुरूषहरूको तुलनामा महिलाहरूलाई ४३ वटाभन्दा बढी रोग लाग्ने चिकित्सकहरूको भनाइ उद्धृत गर्दै उपप्रमुख जोशीले नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सको सल्लाहमा औषधि सेवन गर्न सबैमा अनुरोध गर्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले सबै जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हेल्थ प्रोफाइल तयार गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले शिविरको महत्वबारे प्रस्ट पार्दै महिलाहरूले पाठेघर परीक्षण नियमित रूपमा गर्नुपर्ने र रोग लागेमा आत्तिनेभन्दा पनि मनोबल बलियो बनाई उपचारमा लाग्नुपर्ने सुझाव दिनुभयो ।
नर्स रचना सुवालले भीआईए टेस्ट महिलाहरूको पाठेघर क्यान्सर परीक्षणको लागि प्रभावकारी रहेको र यसले १० वर्षपछि क्यान्सर हुनसक्ने भएमा त्यसको समेत सङ्केत देखाउने भएकोले सबै महिलाहरूले परीक्षण गर्न अनुरोध गर्नुभयो ।
वडा सदस्य इन्द्रबहादुर प्याथले स्वागत गर्नुभएको उक्त शिविरमा जम्मा १५४ जना महिलाहरूले पाठेघर तथा स्तनको परीक्षण गरेको बताइएको छ । परीक्षणमा समस्या देखिएका केही महिलाहरूलाई तुरून्त अस्पतालमा थप स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह लिन सुझाव दिइएको शिविरमा संलग्न स्वास्थ्यकर्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *