भर्खरै :

राजनीति गरेर देश र जनताको सेवा गर्नुपर्छ

राजनीति गरेर देश र जनताको सेवा गर्नुपर्छ

राजनीति राज्यको शासन व्यवस्थासम्बन्धी नीति हो । यो राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने र यस्तै अन्य कार्य गर्ने नीति राजनीति हो । राजनीति देश र जनतासित सम्बन्धित हुने हुँदा राजनीति गर्नु हुँदैन भन्ने कुरा होइन । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्ति प्रहरी, सेना सबैले राजनीतिप्रति चासो राख्नुपर्छ । के देशका नागरिकहरूले देश र जनताप्रति चासो राख्नु हुँदैन ? चिन्ता लिनु हुँदैन ? कुनै देशले नेपालमा आक्रमण गरे देशभरका सबै नेपाली मिलेर प्रतिकार गर्नुपर्ने हुन्छ† भूमि मिचेमा एकै स्वरमा विरोध गर्नुपर्ने हुन्छ । विदेशी थिचोमिचो, अतिक्रमणको विरोध गर्नु पनि राजनीति हो । भदौ २३ गते जेन–जीहरूको आन्दोलन भयो† ठुलो धनजनको क्षति भयो । त्यो आन्दोलन कति सही या गलत टिप्पणी गर्न पाइन्छ । विध्वंस राजनीतिको विरोध गर्नुपर्छ† अन्यायको विरोध गर्नुपर्छ । विध्वंस र अन्यायको विरोध गर्ने काम राजनीतिक नेता तथा कार्यकर्ताको मात्र होइन† सबै नेपाली नागरिकको पनि हो ।
निर्वाचनमा आफूलाई मनपरेको दलका उम्मेदवारलाई मतदान गर्नु राजनीति हो । मौलिक र राजनीतिक अधिकार हुनुपर्छ भन्नु राजनीति हो । जनताका समस्यालाई लिएर सत्तारुढ दलको ध्यानाकर्षण गर्नु, विरोध प्रदर्शन गर्नु राजनीति हो । आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउनु राजनीति हो । कुनै दलले निर्वाचनमा बहिष्कार गर्नु पनि राजनीति हो । प्रहरी र सेनाले जनताको शान्ति सुरक्षा कायम गर्नु पनि राजनीतिभित्रै पर्छ । सत्तारुढ दलले देश र जनताविरोधी काम गर्छ भने शिक्षक र कर्मचारी भनेर मौन बस्नु हुँदैन । कुनै वस्तुको महँगो भयो, अभाव भयो, लामो समयसम्म कर्मचारी, शिक्षक, सुरक्षाकर्मीले तलब पाएनन् भने सरकारको खबरदारी या ध्यानकर्षण गर्ने कि नगर्ने ? आफूलाई परेको पीडा पोख्ने बित्तिकै राजनीति गरेको ठान्नु के गलत हुन्छ ? राजनीति गर्नु हुन्न भन्नु पनि राजनीति हो ।
राजनीति शासक दल, ठुलाबडा सामन्त, पुँजीपति, जालीफटाहा, विचौलिया, अपराधी भ्रष्टाचारी, कमिसनखोर, कालाबजारीले गर्न पाउने अनि अरुले गर्न नपाउने भन्ने होइन । राजनीति त इमानदार, निःस्वार्थी, असल व्यक्तिहरूले गर्नुपर्छ । राजनीतिको नाउँमा गलत राजनीति गर्ने, भ्रम फैलाउने, झूटको खेती गर्ने, श्रमजीवी वर्गमाथि शोषण, दमन गर्नेहरूको विरोधमा बोल्नुपर्छ । जसले जे गरे पनि सहेर बस्ने धृष्टता गर्नु उचित होइन । खराबको विरोध गर्नैपर्छ । कसैले खराबको विरोध गर्दैन भने असल समाज कसरी बन्छ ? समाजमा अपराधीहरूलाई छुट दिँदै गयो भने, उनीहरूको राज भयो भने समाजको स्थिति के हुन्छ ? त्यस्तो समाजमा शान्ति र सुरक्षा कसरी हुन्छ ? त्यसकारण, हरेक नागरिकहरू राजनीतिबाट अलग्ग हुन सकिँदैन ।
शिक्षक र कर्मचारीले राजनीति गर्नु हुँदैन भन्ने कुरा बेला बखत सरकारी शिक्षा मन्त्रीहरू खोक्छन् । उनीहरू शिक्षक र कर्मचारीले राजनीति गरेको पाइएमा तुरुन्तै कारबाही गर्ने चेतावनी दिन्छन् । जबकि मन्त्रालयका सचिव तथा उच्चस्तरीय तहका व्यक्तिहरू शासक दलका नेताहरूलाई घुमाउँछन्† गलत सल्लाह सुझाव दिएर देशघाती र जनघाती काम गराउन अग्रसर हुन्छन् । के यो राजनीति होइन ? यस अर्थमा राजनीति गर्नु गलत होइन । राजनीतिको नाउँमा झूटको खेती पो गर्नु हुँदैन । जालझेलको राजनीति पो गर्नु हुँदैन । यस्तै झूटको राजनीतिले गर्दा निर्वाचनमा दलहरूको मत र जनप्रतिनिधिहरूको सङ्ख्यामा धेरै अदलबदल भइरहेको हो । पहिलो दल तेस्रो दलमा झरेको हो ।
शासकहरूलाई सही ठाउँमा ल्याउनको लागि राजनीति गर्नुपर्छ । विध्वंस मच्चाउने अराजक र उच्छृङ्खल तत्वहरूको विरोध गर्न राजनीति गर्नुपर्छ । देश जोगाउन र बनाउन राजनीति गर्नुपर्छ । श्रमिकवर्गको निम्ति श्रमिकवर्गको सरकार बनाउन राजनीति गर्नुपर्छ । देशको स्वाधीनता र सार्वभौमिकता सधैँ कायम राख्न राजनीति गर्नुपर्छ । राजनीति व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न होइन नेपाल र नेपालीको हितमा गर्नुपर्छ । नेपाललाई संसारमा चिनाउन राजनीति गर्नुपर्छ । राजनीति देश र जनतासित सम्बन्धित हुन्छ । अतः राजनीति गर्नुहुँदैन भन्ने कुरा होइन राजनीति गरेर देश र जनताको सेवा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *