भर्खरै :

सञ्चारमाध्यमले नाफाको लागि नभई आस्थाको पत्रकारितामा जोड दिनुपर्ने

सञ्चारमाध्यमले नाफाको लागि नभई आस्थाको पत्रकारितामा जोड दिनुपर्ने

भक्तपुर, २८ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थीहरूलाई शनिबार प्रमाणपत्र वितरण गर्नुभयो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अङ्ग भएको चर्चा गर्दै टेलिभिजन सञ्चालनको लागि अनुभवी जनशक्ति र विषयगत जानकारी आवश्यक भएको बताउनुभयो ।
राज्यको महत्वपूर्ण अङ्गको रूपमा रहेको सञ्चारमाध्यमले नाफाको लागि नभई आस्थाको पत्रकारितामा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सञ्चारमाध्यमहरूले जनताको समस्यालाई अगाडि सार्न मद्दत पु¥याउनुपर्छ भन्नुभयो ।
केही सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याट र प्रजग कोरियाका किम जोङ उनलाई तानाशाहीजस्ता भ्रमजन्य झूटा समाचारहरू प्रचारप्रसार गर्दै आइरहेकोमा आपत्ति व्यक्त गर्दै त्यस्ता समाचारको खण्डन गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “२० वर्ष पुरानो गाडी सञ्चालन गर्न नदिने सरकारको निर्णय गलत छ । गाडी आयात गर्दा देशको सम्पत्ति बाहिर जाने भएकोले पुराना गाडीहरू मर्मत गरी पुनः सञ्चालन गर्नु जरुरी छ । नगरपालिकाले गाडी मर्मतका तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति तयार गर्नु उचित हुनेछ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगर र नगरपालिकाका गतिविधिहरू सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गर्दै आएको उल्लेख गर्दै समाज परिवर्तनमा सञ्चारमाध्यमले सशक्त भूमिका खेल्न सकिने बताउनुभयो ।
उहाँले भक्तपुर नपाले आफ्नै स्वामित्वमा टीभी सञ्चालन गर्ने तयारीलाई मूर्त रूप दिन आवश्यक जनशक्ति व्यवस्थापनको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको र ख्वप टीभी दर्ता सञ्चालन प्रक्रियामा पनि अनेकौँ समस्याहरू पार गर्दै ख्वप टीभीले परीक्षण प्रसारण सुरू गरिरहेको बताउनुभयो ।
सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले अन्तर्राष्ट्रवादी पत्रकारहरूको जीवनी अध्ययन गरी प्रेरणा लिन सकिने बताउँदै उहाँले पत्रकारहरूले ऐन–कानुनको ज्ञान राख्नुपर्छ भन्नुभयो ।
तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले सिक्ने सिकाउने काम जीवन पर्यन्त चलिरहने भए पनि १५ दिने तालिममा सिक्ने र सिकाउने अवसर पाएको बताउनुभयो ।
टीभी सञ्चालन गर्ने भक्तपुर नगरपालिका देशकै पहिलो स्थानीय तह भएको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको युगमा यसको सही र व्यापक प्रयोगले नगरको प्रचारप्रसार अझ सशक्त बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा ख्वप टीभीका व्यवस्थापक रवीन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो भने प्रशिक्षार्थीहरू रमिता बासुकला र शम्भुचरण राजभण्डारीले तालिमको अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *