विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
खण्ड तीन
विश्वयुद्ध
पाठ २२
विश्वयुद्धको थालनी
युद्धको घोषणा । सेना परिचालनको बेला मजदुर प्रदर्शनहरू । संसद्को घोषणा । युद्ध ऋणमा मत दिन अस्वीकार । युद्धको थालनीमा पार्टी गतिविधिको अवस्था । सेन्ट पिटर्सबर्ग समितिको पहिलो युद्धविरोधी उद्घोष । गुप्त प्रहरीको छापा । रुसको छातीमा यात्रा ।
बाकुको हडताल र सेन्ट पिटर्सबर्गका जुलाई प्रदर्शनहरू युद्ध सुरु हुनुभन्दा अगाडिका अन्तिम ठुला क्रान्तिकारी घटना थिए । यी सङ्घर्षहरूले गर्दा मजदुरहरूबिच धेरैजना पीडित बन्नुप¥यो । जनआन्दोलन छेकबारयुक्त लडाइँ र सशस्त्र भीडन्तमा विकसित भयो । जारशाही सरकारले उठ्दो क्रान्तिकारीलाई दबाउन कुनै कसर बाँकी राखेन । लगातार तालाबन्दी गर्दा मजदुरहरूको आर्थिक अवस्था खस्कियो । त्यसमाथि सामूहिक धरपकड र निर्वासन चलानले गर्दा मजदुर वर्गको राजनीतिक सङ्गठन कमजोर बन्यो । यसबाट माथि उठ्न र जारशाहीमाथि अर्को ताजा आघात पार्नेगरी शक्ति आर्जन गर्न सर्वहारा जनतालाई निश्चित समय चाहिन्थ्यो । तर, मजदुरहरूलाई यो फुर्सद नै दिइएन । बरु यसपछिको घटनाक्रम क्रान्तिकारी आन्दोलनको ठुलो बज्रपात बन्यो ।
युद्धको घोषणा प्रतिक्रियावादी शक्तिको अन्धयुगको सङ्केत थियो । उनीहरूले मजदुर आन्दोलनमाथिको आक्रमण दोब्बर पारे । बडाराष्ट्र अहङ्कारको प्रलाप र कृत्रिम अन्धराष्ट्रवादको जगजगीबिच जारशाही सरकारले मजदुर वर्गका कानुनी र गैरकानुनी गरी सम्पूर्ण सङ्घसङ्गठनलाई बर्बतारपूर्वक दबायो ।
भन्नलाई त अस्ट्रिया र सर्बियाबिचको झगडाले गर्दा युद्ध भएको भनियो । तर, यो साम्राज्यवादी डाँकाहरूबिचको राक्षसी हानथाप थियो । नयाँ बजारको लागि तिनीहरू एकअर्काको घाँटी काट्न तम्सिएका थिए । युद्धले पुँजीपति वर्गलाई विदेशमा लुटपाटका लागि ताजा भूमि पाउने र स्वदेशमा युद्धमय माहोलमा अकूत धन थुपार्ने सम्भावनाको ढोका खोलिदियो । सबै देशका पुँजीपतिहरूले युद्धलाई खुसीसाथ स्वागत गरे । उनीहरूले आफ्नो लुटपाट गर्ने कपटी लोभलाई राष्ट्रवादी आदर्शको पातलो खोलले ढाकछोप गरे । रुसी पुँजीपति वर्ग पनि यस मानेमा अरूभन्दा फरक देखिएन । यसअघि उनीहरूले उदारवाद र विपक्षी राजनीतिको खेल खेलिरहे । तर, अब साम्राज्यवादी महत्वाकाङ्क्षा बढेसँगै उनीहरू हत्तपत्त घुँडा टेकिहाले र जारशाही झन्डामुनि पूर्णतः बफादार रहने किरिया खाए । रुसको पुँजीपति वर्गले जनतामाथि निर्मम दमन गर्ने रोमानोभ राजवंशको निरङ्कुशतन्त्र र त्यसको रक्तपिपासु प्रहरीराजलाई अकस्मात प्रसियाका युङ्कर (धनी जमिनदार) र जर्मन सैन्यवादबाट प्रजातन्त्र र साना राष्ट्रहरूलाई जोगाउने रक्षक पायो ।
सेन्ट पिटर्सबर्गका सडकहरूमा देशभक्तिपूर्ण प्रदर्शनहरू भए । घरका चौकीदार, प्रहरी, गुप्त प्रहरीसँगै अनेकवली फटाहाहरू सडकमा उत्रे । राजा र राष्ट्रिय झन्डा बोकेका उनीहरूले ‘ईश्वरले राजाको रक्षा गरुन्’ बोलको गीत गाइरहे । बिचबिचमा उनीहरू ‘हुर्रा–हुर्रा’ भन्दै हर्षध्वनि कुर्लिन्थे । ‘कानुन र सुव्यवस्था’ पालन गराउने शक्तिको सुरक्षामा प्रदर्शनकारीहरू सन्किन्थे र बाटो छेउमा बसेका व्यक्तिका टोपी फालिदिन्थे, देशभक्तिमा पर्याप्त उत्साह नदेखाउने कुनै पनि नागरिकलाई कुटपिट गर्थे । यसप्रकारका कुनै पनि प्रदर्शनलाई जुनसुकै बेला रुसी नरसंहारकारी भीडमा बदल्न सकिन्थ्यो । सेन्ट पिटर्सबर्गमा ‘देशभक्तहरू’ ले जर्मन दूतावास भवनका झ्यालहरू फुटाइदिए । मस्कोमा उनीहरूले अनेक जर्मन व्यापारिक र औद्योगिक संस्थानमाथि पटकपटक आक्रमण गरे ।
‘देशभक्तहरू’ ले राजदरबारसामु भक्तिभावमा घुँडा टेके । बिचबिचमा उनीहरूले ‘देशभक्तिपूर्ण’ नरसंहार मच्चाउन थाले । आफ्नो ‘वामपन्थी’ परम्परामा गर्व गर्ने विद्यार्थीहरूले समेत शीतल दरबारसामु घुँडा टेके । उनीहरू ‘जय नरेश’ को नारा लगाए र आफ्ना ‘प्यारा’ अधिराजकहाँ देउसी खेल्न गए ।
बडा राष्ट्र अहङ्कारवादको लहरले देशलाई सर्लक्कै छोप्यो । यही मौकामा जारशाही प्रहरीले पुराना ‘आन्तरिक शत्रु’’ सँग हिसाब–किताब मिलाउन तँछाड–मछाड ग¥यो । उसका ‘आन्तरिक शत्रु’ थियो रुसका सर्वहारा जनताको सबैभन्दा सचेत तप्का । एक धर्सो हस्ताक्षरबाटै उसले बचेखुचेका मजदुर सङ्घसङ्गठनलाई दबायो । साइबेरिया (कालापानी) मा पुनः निर्वासितहरूको भीड लाग्यो । पार्टी सङ्गठनले आफ्ना धेरैजना अब्बल कार्यकर्ता गुमायो । पुँजीपतिहरूले अलि समयदेखि विश्वयुद्धको तयारी गर्दै थिए । तर, मजदुर वर्ग यसको लागि तयार थिएन । अझ युद्ध हुनुभन्दा ठिक अघि जारशाही शक्तिसँगको गम्भीर मुठभेडमा मजदुर वर्ग परास्त भएको थियो । यति नै बेला घटनाको वास्तविक महत्व नबुझेका अचेत मजदुरहरूको एउटा तप्का व्यापक प्रचार गरिएको देशभक्तिको विषले थला प¥यो । यस्तो स्थितिमा रुसका सर्वहारा जनताले युद्धको बौलाहट र प्रक्रियावादविरुद्ध सर्वत्र सङ्गठित प्रतिकार गर्ने कल्पना गर्न पनि गा¥हो थियो ।
यस्ता यावत अड्चन हुँदाहुँदै पनि युद्धका सुरुआती दिनहरूमा सेन्ट पिटर्सबर्गमा केही युद्धविरोधी गतिविधि भए । सरकारले सेना परिचालन गरेको केही दिनमै सेन्टपिटर्सबर्ग समितिले पहिलो युद्धविरोधी वक्तव्य जारी ग¥यो । त्यसमा लेखिएको थियो –“एउटा रक्तपिपासु भूतले युरोपलाई सताइरहेको छ । युद्ध मूर्दावाद ¤ युद्धविरुद्ध युद्ध छेडौँ ! यी शब्दहरू रुसका प्रत्येक गाउँ र सहरमा गुञ्जिनुपर्छ ।” मजदुर, किसान र सिपाहीलाई पार्टीको अपिल यही थियो । पार्टीले भन्यो, “मजदुरहरूले सीमामा आइपुगेका मजदुरहरू तिनका शत्रु होइनन् भनी बुझ्नुपर्छ । संसारभरिका मजदुरहरू धनीमानी र शासक वर्गबाट उत्पीडित छन् । तिनलाई सर्वत्र शोषण गरिन्छ । सिपाही र मजदुर साथीहरू, तपाइँहरूलाई कज्जाकहरूको कोर्राको गौरव बढाउन, देशको गौरव बढाउन युद्धमा धकेलिँदै छ । त्यही देश जसले मजदुर र किसानहरूलाई गोली ठोक्छ, तपाइँका सपुतहरूलाई जेलमा थुन्छ । हामी यो युद्ध चाहन्नौँ भनेर हामीले घोषणा गर्नुपर्छ । हाम्रो लडाइँको नारा हुनुपर्छ – रुसको स्वतन्त्रता ।”
यो वक्तव्य युद्ध सुरु भएको खबर पाउँदाबित्तिकै हतारमा खेस्रा गरिएको थियो । यसमा अवस्थाको सङ्क्षिप्त विश्लेषणमात्र समेटिएको थियो । तैपनि, जनताले सेन्टपिटर्सबर्ग समितिको सङ्केत बुझिहाल्यो । पछि यही विचारलाई पार्टीका अरू सबै सङ्घसङ्गठनले सबल, परिमार्जित र पूर्ण बनाउँदै लगे ।
प्रान्तहरूसँगको सम्पर्क तत्कालै बिथोलियो । तैपनि प्रान्तमा सक्रिय मजदुरहरूको सचेत तप्कामा पनि यही विचार पलाएकोमा हामीलाई रतिभरि शङ्का थिएन । यसबारे हामीले कताकति मात्र खबर पायौँ । सरकारले सेनापरिचालन गरेको केही दिनपछि नै मैले कोस्त्रोमाबाट पठाइएको पत्र पाएँ । पत्रमा कोस्त्रोमाको एक मजदुर समूहले यस्तो निर्णय गरेको उल्लेख थियो :
“जारशाही सरकारले जमर्नी र अस्ट्रियाका सर्वहारा जनताविरुद्ध भाइमारा युद्धमा रुसी सर्वहाराहरूलाई अघि सारेकोमा हामी जोडदार निन्दा गर्छौँ । संसद्को सामाजिक जनवादी मजदुर समूहले युद्धविरुद्ध के कस्तो पाइला चालेको छ र युद्धमा होमिएका देशका सर्वहारा जनताप्रति भाइचारापूर्ण ऐक्यबद्धता व्यक्त गर्नका लागि के गर्दै छ भन्ने हाम्रो प्रश्न छ ।”
सेना परिचालन भएको दिन सेन्टपिटर्सबर्गका झन्डै २० कारखानाका मजदुरहरू युद्धविरुद्ध हडतालमा उत्रे । केही स्थानमा विपक्षीहरूविरुद्ध उनीहरूले जोडजोडले ‘युद्ध मूर्दावाद’ को नारा र क्रान्तिकारी गीत घन्काए । तर, अबको प्रदर्शन केही हप्ताअघिको भन्दा फरक परिस्थितिमा हुँदै थियो । खासगरी सहरको मध्य भागमा हिँडिरहेका बटुवाहरू तमासे मात्र बन्न सकेनन् । उनीहरूको देशभक्ति जागेर आयो । उनीहरू ‘मैत्रीपूर्वक तटस्थ’ बस्न सकेनन् । उनीहरू प्रदर्शनकारीहरूविरुद्ध जाइलागे । तिनलाई पक्राउ गर्न उनीहरूले प्रहरीलाई मद्दत गरे ।
सेना परिचालनको पहिलो दिन नेभ्स्की सडकमा यस्तै ‘देशभक्तिपूर्ण’ घटना भयो । मजदुर प्रदर्शनकारीहरू नगर भवनबाट जाँदै थिए । बटुवाहरूमा धेरैजसो पुँजीवादी सोचका अल्छीहरू थिए । अघि अघि मजदुर प्रदर्शनहरू हुँदा यस्ता कामचोरहरू कि त लुक्थे, नत्र कुनै गल्ली खोजी भाग्थे । अब भने यिनीहरू एकदम सक्रिय भए । उनीहरू ‘देशघाती गद्दार’ भन्दै कुर्लिए । प्रदर्शनकारीहरूलाई कुटाउन उनीहरूले प्रहरीलाई सघाए । प्रहरीले मजदुरहरूलाई पक्राउ ग¥यो र चौकीमा लग्यो ।
यस्तो स्थितिमा युद्धविरुद्ध व्यापक आन्दोलन चलाउन सम्भव थिएन । त्यसैले मजदुर विशेषको पराक्रमलाई सैन्यवादी देशभक्तिको दलदलमा डुबाइयो ।
रुसका राजा र जनताबिच एकमना ‘एकता’ छ भनी देखाउन र युद्ध ऋणको पक्षमा भोट बटुल्न हतारमा संसद्को बैठक डाकियो । चरम दक्षिणपन्थीदेखि क्याडेट पार्टीका सांसदसम्म धेरैजसो त युद्धमुखी सोचका थिए । उनीहरूले ‘युद्ध नजितुञ्जेल लड्नुपर्ने’, ‘पितृभूमिको रक्षा’ जस्ता कुरा गरे । संसद्मा विभिन्न पार्टीका नेताहरूकाविदेशी शत्रुविरुद्ध एक भएर लड्नुपर्ने आह्वान र देशभक्तिपूर्ण भाषण छाप्न पत्रपत्रिकाबिच होड नै चल्यो ।
युद्धको विषयमा मजदुर सांसदहरूले के भन्ने हुन् भन्नेमा पुँजीवादी प्रेसले खूबै चासो लियो । एक साँझ म घरमै मजदुरहरूसँग भेट्दै थिएँ । सेन्ट पिटर्सबर्गका सबैजसो पत्रपत्रिकामा काम गर्ने पुँजीवादी पत्रकारहरू ओइरो लागेर मकहाँ आइपुगे । त्यहाँ कालासय अखबार ‘जेम्श्चिना’ देखि वामपन्थी ‘देन’ सम्मका पत्रकार थिए । उनीहरूले मसँग नानाथरी प्रश्न गरे । उनीहरूले सोधे, “युद्धप्रति मजदुरहरूको धारणा के हो ? तपाइँको समूहको विचार के छ ? संसद्मा मजदुर सांसदहरूले अब कस्तो प्रस्ताव राख्लान् ?”
भटाभट नोटबुक र कलम निकालेर उनीहरू मेरो जवाफ टिप्न तम्तयार भए । तर, मैले जे भनेँ त्यो तिनका पत्रपत्रिकामा छाप्न नमिल्ने खालको थियो । मैले भनेँ ः
“मजदुर वर्गले आफ्नो सारा बल लगाएर युद्धको विरोध गर्नेछ । यो युद्ध मजदुरहरूको हकहितविरुद्ध छ । बरु, यसको नाल संसारभरिका मजदुरहरूतर्फ नै फर्केको छ । समाजवादी इन्टरनेसनलको बास्ले अधिवेशनले संसारका सर्वहारा जनताको नाउँमा एउटा घोषणापत्र जारी ग¥यो । कदाचित युद्ध भइहाले त्यो युद्धविरुद्ध दृढ सङ्घर्ष चलाउनु नै हाम्रो कर्तव्य हुनेछ भनेर त्यसमा स्पष्ट उल्लेख छ । हामी मजदुर वर्गका सच्चा प्रतिनिधिहरू ‘युद्धविरुद्ध युद्ध छेडौँ” भन्ने मूल नाराका साथ डट्नेछौँ । हाम्रो समूहको प्रत्येक सदस्य आफ्नो बलबुताले भ्याएसम्म युद्धविरुद्ध लड्नेछ ।”
स्वभाविकै थियो, मेरो जवाफ कुनै पनि पत्रिकामा छापिएन । तर, गुप्त प्रहरीले तुरुन्तै यो खबर पायो । मेरो भनाइबाट हाम्रो पार्टीको युद्धविरोधी विचार उसले बुझिहाल्यो । यसपछि मलाई अनेक धम्कीपूर्ण चिठीपत्र आउन थाले । ती पत्र मलाई मनाउनभन्दा पनि मलाई सताउन लेखिन्थे ।
कालासय सांसदहरूले मलाई धेरै पत्र लेखे । सबैको सार हुन्थ्यो – खबरदार, तिम्रो हालत पनि हर्जेन्स्टिन र यलोसको जस्तै होला । हर्जेन्स्टिन र यलोस अघिल्लो संसद्का सांसद थिए । गुप्त प्रहरीसँगको मिलेमतोमा ‘रुसी जनताको युनियन’ दलका कार्यकर्ताले ती दुवैको हत्या गरेका थिए । मलाई पठाइएको एउटा पत्रमा त मेरो नरकङ्कालको चित्र पनि थियो । मेरो हालत त्यस्तै होला भन्ने धम्की थियो त्यो ।
यी धम्कीहरूबारे थाहा पाएपछि मजदुरहरूले मेरो घरबाहिर विशेष पहरा दिनुपर्ने अडान लिए । हत्याराहरूको गोलीबाट कोही बच्न सक्दैन भनी मैले कर गर्दा पनि मजदुरहरूले यो प्रस्तावमा जोडबल लगाए ।
यो घटना युद्धको पहिलो हप्तामा भएको थियो । युद्ध ऋणबारे मतदान हुने दिन सदनमा हामीले समूहको धारणा प्रस्ट पा¥यौँ । घटना त्योभन्दा पनि अगाडिको थियो । सुरुमा हामीले दुई सामाजिक जनवादी समूह र त्रुदोभिकहरूसँग मिलेर संयुक्त वक्तव्य निकाल्ने प्रयास ग¥यौँ । सेन्ट पिटर्सबर्गमा उपस्थित पार्टीका कामरेडहरूसँग सल्लाह गरेर हामीले युद्धको कडा निन्दा गर्ने र मजदुर वर्गले त्यसमा समर्थन नजनाउने घोषणा गर्ने निर्णय ग¥यौँ । तीन समूहबिच वार्ता चल्यो । तर, त्रुदोभिकहरू पहिलो बैठकबाट बाहिरिए । बैठकमा करेन्स्की, चखाइद्जे र म थियौँ । करेन्स्कीले रुखो भाषामा त्रुदोभिकहरू युद्धको पक्षमा रहेको बताए । चखाइद्जे सुरुमा अलमलमा थिए । पछि उनी‘देशको प्रतिरक्षा’ गर्ने आवश्यकतातर्फ ढल्के ।
यद्यपि, लामो वार्तापछि दुई समूहले संयुक्त वक्तव्य जारी गर्ने भए । वक्तव्यको भाषा हाम्रो सेन्ट पिटर्सबर्ग समितिका केही सदस्य र केही प्रमुख मेन्शेभिकहरूको उपस्थितिमा निक्र्योल गरियो । मैले सम्झेसम्म पहिलो मस्यौदा सोकोलोभले लेखेका थिए । त्यही दिन शागोभ र पेत्रोभ्स्की पनि सेन्ट पिटर्सबर्ग फर्केका थिए । उनीहरूसिधै त्यो भेलामा आए । त्यसपछि दुवै समूहका थप सांसदहरू पनि थपिए । अनेक खेप बैठक बसेपछि र लामो छलफलपछि वक्तव्यको अन्तिम पाठमा बोल्शेभिक र मेन्शेभिक दुवै राजी भए ।
संसद्को दोस्रो बैठक जुलाई २६ गते हुँदै थियो । त्योभन्दा केही दिन अगाडि अधिकांश सांसदहरू दरबारमा आयोजित एक बैठकमा गए । यसपालि त्यो टोलीमा त्रुदोभिकहरू पनि थिए । उनीहरू सबैले राजाप्रति बफादारी पोखे । दोस्रो बैठकमा रोद्जान्कोले उच्च देशभक्ति जाहेर गर्दै ‘राजा र उनका बफादार प्रजाबिच एकमना एकता’ कायम भएको बताए । उनले‘राज्यको प्रतिरक्षामा पितृभूमि सङ्कटमा पर्दा (कसरी) रुसमा बसोबास गर्ने सम्पूर्ण जातजाति एकै भ्रातृत्वपूर्ण परिवारमा समाहित भए’ शैलीका कुरा गरे । सैन्यवादी देशभक्तिका यस्ता खुइलिएका खोक्रा सूत्रलाई सदनमा बहुमत भएको दलका नेताहरूले केही शब्द हेरफेर गर्दै दोहो¥याइरहे । त्रुदोभिक दलको तर्फबाट करेन्स्कीले एउटा वक्तव्य पढे । केही छद्म क्रान्तिकारी वाक्यांश घोल्दै उनले त्रुदोभिकहरूको धारणा राखे । उनले भने, “रुसी लोकतन्त्रको महान् र मूल शक्तिले दुश्मनविरुद्ध एक दृढ र सफल प्रतिरोध पेश गर्नुका साथै स्वदेश तथा अग्रज पुस्ताले रगत पसिना बगाएर रचेको आफ्नो संस्कृतिको रक्षा गर्नेछ ।”
त्यसपछि सामाजिक जनवादी समूहको वक्तव्य वाचन भयो । तर, सदनको स्टेनो रिपोर्टमा छापिनुभन्दा अगाडि नै सभामुख रोद्जान्कोले त्यसमा कैँची चलाए ।
हाम्रो वक्तव्यमा युद्ध तथा त्यसबारे मजदुर वर्गको विचार स्पष्ट र सटिक शब्दमा वर्णन गरिएको थिएन । त्यसमा ठोस क्रान्तिकारी निर्देशन पनि थिएन । तैपनि, अन्धराष्ट्रवादीहरूसँग दाँज्दा त्यसमा युद्धउन्मादको विरोध स्पष्टै झल्कियो । अन्य दलका वक्तव्यहरूभन्दा विपरीत सामाजिक जनवादी वक्तव्यमा युद्धको कडा निन्दा थियो† त्यसविरुद्ध मजदुर वर्गको एकतामा जोड थियो† कालासय सदनले पाखण्डपूर्वक स्वागत गरेको राजा र प्रजाबिचको ‘एकता’ वास्तविकता नभएको प्रस्टोक्ति थियो ।
देशभक्तिको उन्माद फलाकेपछि संसद्मा युद्ध बजेटको लागि मतदान हुने भयो । इन्टरनेसनलको निर्णयअनुसार हाम्रो समूहले कुनै पनि मतदानमा भाग नलिने जनायो र सांसदहरू संसद्बाट निस्किए । हाम्रो वक्तव्य र युद्ध ऋणको मतदानमा भाग नलिने उद्घोष सुनेर बहुमत सांसदहरूले आगो ओकले । वामपन्थी क्याडेट र प्रगतिशीललगायत सबै पार्टीका सांसदले होसचेत गुमाए र सदनको लबीमा हामीविरुद्ध जाइलागे ।
उनीहरूले भने, “तिमीहरू को हौ ? तिमीहरू मजदुरका प्रतिनिधि हौ । तिमीहरूले तिनको नेतृत्व गर्नुपर्ने हो । तर, उल्टो तिमीहरूले रुसी जनतालाई नर्कको डिलतर्फ घिसार्दै छौ । तिमीहरूले यो राष्ट्रलाई ध्वस्त पार्नेछौ ।”
दक्षिणपन्थीहरूले मुख छाडे र उनीहरूले हामीसँग पनि हिसाब मिलाउने धम्की दिए । उनीहरू हामीलाई ठाउँको ठाउँ हान्न तयार थिए । सदनकॉराजभक्तहरू’ को धाकधम्कीपूर्ण कोलाहल चिर्दै हामी सदनबाट बाहिरियौँ ।
सदनमा हाम्रो युद्धविरोधी अडान छिट्टै मजदुरहरूले थाहा पाए । यसैलाई पार्टीको युद्धविरोधी मार्गचित्र ठानियो । हामीले बिस्तारै भूमिगत गतिविधि अगाडि बढाउन थाल्यौँ । युद्धविरुद्ध सङ्घर्ष गर्न जनतालाई सङ्गठित गर्नु नै हाम्रो लक्ष्य थियो । युद्धका सुरुआती दिनको सकसपूर्ण माहोलमा पार्टी गतिविधि गर्न गा¥हो थियो । विदेशमा रहेको केन्द्रीय समितिसँग सम्पर्क गर्न झन् गा¥हो थियो । अस्ट्रिया सरकारले लेनिनलाई गिरफ्तार गरिसकेको थियो । विदेशमा रहेको पार्टी केन्द्रसँग सम्पर्क पुनःस्थापित गर्नुभन्दा दुई महिनाअघिको घटना थियो त्यो । युद्धविरोधी प्रचारप्रसार गर्नु नै हाम्रो मुख्य कार्यभार थियो । युद्ध चलिरहेकै बेला यसो गर्दा पक्राउ पर्ने प्रत्येक कार्यकर्तालाई सिधै सैन्य अदालतले मृत्युदण्ड दिने पक्कापक्की थियो ।
Leave a Reply