भर्खरै :

राजनीतिक कार्यकर्ता निःस्वार्थी, इमानदार र निडर हुनुपर्ने

राजनीतिक कार्यकर्ता निःस्वार्थी, इमानदार र निडर हुनुपर्ने

खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति या कर्मी नै कार्यकर्ता हो । जिल्ला, नगर र गाउँ–गाउँको बस्ती बस्तीमा पुगेर राजनीतिक, सामाजिक तथा सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति कार्यकर्ता हो । खासमा उद्देश्य पूरा गर्न काम गर्ने व्यक्ति नै कार्यकर्ता हो । समाजको कार्य गर्ने सामाजिक कार्यकर्ता हुन्छ र समग्र देश र जनताको पक्षमा राजनीति गर्ने या पार्टीमा बसेर पार्टीको उद्देश्य जनतामाझ पु¥याउने जनतालाई सिद्धान्त र विचारबाट सुसूचित पारेर सङ्गठित गर्ने काम राजनीतिक कार्यकर्ताको हो । राजनीतिक कार्यकर्ता जनतामाझ पुग्छन्; जनतामाझ पुगेर राष्ट्रिय र अन्तर्राट्रिय परिस्थितिबारे जनतालाई बुझाउँछन् । जनतामाझ पुग्ने, जनताको दुःख बुझ्ने भएकाले राजनीतिक कार्यकर्ताहरू जनताका प्रिय हुन्छन्; जनताका विश्वासिला हुन्छन् । जनतामाझ भिजेर परिचित हुनुपर्ने कार्यकर्ताहरू जनताले चिन्दैनन्, जनतामाझ भिज्दैनन्; जनताको दुःख सुख बुझ्दैनन् भने त्यस्तो कार्यकर्ता नाउँ मात्रको हुन्छ । त्यस्तो कार्यकर्ताले जनताको सेवा गर्दैन ।
हरेक राजनीतिक कार्यकर्ता क्रियाशील, सक्रियमात्र होइन इमानदार निःस्वार्थी, निडर हुनुपर्छ । उनीहरूमा देश र जनताको सेवा गर्ने भावना हुनुपर्छ । लोभलालचमा फस्ने, कसैको लहै लहैमा लाग्ने, शत्रुको पछि लागेर धोका दिने, राजनीतिलाई कमाइ खाने धन्दा बनाउने कार्यकर्ताहरू असल चरित्रका हुँदैनन् । पदको दुरूपयोग गरी घुस र कमिसन खाने, राजनीतिको खोल खोढेर कार्यकर्ता कार्यकर्ताबिच झगडा गराउने, जुधाउने, राजनीतिमा लागेको जस्तो देखाएर भित्र भित्र नेता तथा कार्यकर्ताको विरोध गर्ने कार्यकर्ताहरू कहिल्यै सच्चा हुँदैनन् । कुनै कार्यकर्ता आफूलाई टोलकै अगुवा ठान्छन्, जान्ने बुझेका र पढे लेखेका ठान्छन् । तर, काम खासै गर्दैनन् । आफू कुनै काम नगर्ने तर अरुको खिसी उडाउने, विरोध गर्ने कार्यकर्ता पनि नदेखिएका होइनन् । राजनीतिक कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गरेको छ कि छैन ? समीक्षा गर्नु आवश्यक छ ।
कार्यकर्ताले पार्टीको निर्देशनमा, पार्टीको सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्छ । टोल, गाउँमा समाजमा राजनीति गर्न, जनतालाई सचेत र सङ्गठित गर्ने काममा जहिल्यै पार्टीको निर्देशन लिइरहनु आवश्यक छैन । राजनीतिक कार्यकर्ताको काम माक्र्स, माओ, लेनिन, स्तालिन जयन्ती मात्र मनाउनु होइन । देश विदेशमा भएका विभिन्न ऐतिहासिक आन्दोलनको स्मरण गर्नु मात्र होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याबारे अवगत गराउने, आमूल परिवर्तनको निम्ति पूर्वाधारहरू पनि तयार गर्दै जानुपर्छ । जनताको सांस्कृतिक स्तर उठाउने, नागरिक भावना जगाउने, देशभक्त, चरित्रवान् नागरिक तयार गर्ने काम पनि कार्यकर्ताको हो । जनतामा राजनीतिक चेतना जगाउन सकिएन, सिद्धान्त र विचारबाट सुसूचित पार्न सकिएन भने कुनै बेला शत्रु या अरु दलले जनतालाई भड्काउन बेर लाग्दैन; फुटाउन बेर लाग्दैन । अरुले दिएको मिठो र आकर्षक नाराको पछि लाग्न बेर लाग्दैन । यसकारण, जनतामा पनि दृढ अडान जगाउनुपर्छ; सिद्धान्तनिष्ठ भएर शत्रुले फैलाएको झूटको खेतीको प्रतिवाद गर्नुपर्छ । प्रतिवाद गर्ने क्षमताको विकास गर्नुपर्छ ।
राजनीतिक कार्यकर्ता हरेक हिसाबले योग्य हुनुपर्छ । असल, इमानदार र निःस्वार्थी त हुनैपर्छ । राजनीतिक कार्यकर्ताहरू स्वच्छ छविको हुनुपर्छ । फराकिलो मनको दूरदूर्शी हुनुपर्छ । हरेक राजनीतिक कार्यकर्ताले आफ्नो टोल, वडा, गाउँ या बस्तीमा रहेका हरेक नागरिकको स्थिति थाहा हुन्छ; थाहा पाउनुपर्छ । उनीहरूको दुःख सुख थाहा हुन्छ । आफ्नो टोलमा कुन कुन राजनीतिक दलको के स्थिति छ थाहा हुन्छ । टोलमा कस्ता कस्ता उच्छृङ्खल, अराजक, घुस्याहा, भ्रष्टाचारीहरू छन् भन्ने थाहा हुन्छ । टोलमा रहेका जालीफटाहा, लुटाहा आदिको जानकारी हुन्छ । यस्ता व्यक्तिहरूबाट सतर्क हुन र गलत बाटोमा नलैजानेतर्फ जहिल्यै चनाखो भइरहनुपर्छ ।
राजनीतिक कार्यकर्ताहरू अन्धविश्वासविरोधी हुन्छन् । समाजमा व्याप्त कुसंस्कार र कुरौती विरोधी हुन्छन् । उनीहरू जनताको सेवा गर्न पछि हट्दैनन्; जनताको सेवामा लाग्दा आइपर्ने चुनौतीसँग जुध्दै अघि बढ्छन् । उनीहरू निरास हुँदैनन् र थाक्दैनन् । उनीहरूलाई उत्साहित र प्रेरित बनाउने काममा जहिल्यै अगाडि हुन्छन् । यही कारण कार्यकर्ताहरू जनसेवक हुन्छन् । असल कार्यकर्ताको देन या योगदान सम्झेर नै जनता पनि उनीहरूको पछि लाग्छन् । जनतालाई धोका दिने, जनताको भावनामा कुल्चने कार्यकर्तालाई जनताले रोज्दैनन्† विश्वास गर्दैनन् ।
निःस्वार्थी राजनीतिक कार्यकर्ता वास्तवमा देश र जनताका पुँजी हुन् । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने कार्यकर्ताहरू देशका पथ प्रदर्शक हुन्; देश विदेशको राजनीतिक स्थितिबारे जानकारी दिने अगुवा हुन् । यसकारण, कार्यकर्ताहरू जनतामाझ परिचित हुन्छन्; उनीहरू प्रशंसाका पात्र हुन्छन्; पूज्य हुन्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञानको ज्योति छरेजस्तै कार्यकर्ताले जनतालाई राजनीतिक शिक्षा दिन्छन् । राजनीतिक शिक्षा दिएर देश जोगाउने, देश बनाउने कार्यकर्ताको पार्टी र जनताले उच्च मूल्याङ्कन गरेका हुन्छन् । त्यस्तो असल कार्यकर्ता बाचुञ्जेल मात्र होइन जीवन छोडिसकेपछि पनि जनतामाझ स्मरणीय भइरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *