भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ४१

  • मंसिर २९, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ४१

‘प्राभ्दा’ पत्रिका र मजदुरहरूको छापाखाना बन्द भएपछि संसदीय समूह मात्र पार्टी शक्तिको एकमात्र अगुवा केन्द्र बन्यो । सेन्ट पिटर्सबर्ग समिति ध्वस्त थियो । त्यसका सदस्यहरूमध्ये बिरलै मात्र सेन्ट पिटर्सबर्गमा थिए । धेरैजना पक्राउ परे । अन्य धेरैजना नजिकैका जिल्लाहरूमा लुक्न बाध्य भए । तिनको मुख्य शरणस्थल फिनल्यान्ड थियो । ओल्मिन्स्की, येरेभेयेभ, कामेनेभ, देम्यान बेद्नी, गोर्की र अन्य कामरेडहरू त्यही बसोबास गर्नुहुन्थ्यो । उहाँहरूसँग सम्पर्क राख्न सा¥है गा¥हो हुन गयो । तर, समिति पुनर्गठन गर्नु अति महत्वपूर्ण थियो । अर्कोतिर, सेन्ट पिटर्सबर्ग समितिका गतिविधिहरू सकेसम्म गोप्य राख्न आवश्यक थियो । यसकारण, नयाँ समितिको जिम्मेवारी निकै ठुलो भए पनि थोरै मात्र सदस्य राखियो ।
विभिन्न जिल्लासँग सम्पर्क स्थापित गर्नु र पर्चा छाप्न छापाखानाको पुनः व्यवस्थापन गर्नु समितिको पहिलो जिम्मेवारी थियो । हामीले छापाखाना भत्काउने र पर्चा छापेपछि मेसिनका सबै पार्टपुर्जा निकालेर अन्यत्र सार्नुपथ्र्यो । गुप्त प्रहरीले लगातार हाम्रा नयाँ सदस्यहरूलाई गिरफ्तार गरिरहे पनि यसरी हामीले हाम्रो काम जारी राख्न सक्यौँ ।
मैले पहिलो पर्चाको खेस्रा सम्पादकका लागि फिनल्यान्ड पु¥याएँ । सीमामा कडा निगरानी हुनाले मैले खेस्राको एक प्रति जुत्तामा राखेँ । प्रहरीले खानतलासी लिए तुरुन्तै जलाउन सकिने हुनाले मैले अर्को प्रति सलाइको डिब्बामा राखेँ । निर्धारित स्थानमा मैले कामरेड येरेभेयेभलाई भेटेँ । त्यो रात खेस्रा सच्याउनमै बित्यो । भोलिपल्ट बिहानीपख उस्तै सावधानी अपनाउँदै म सेन्ट पिटर्सबर्ग फर्केँ । मैले सच्याएको प्रति छाप्ने र वितरण गर्ने कामरेडहरूको टोलीलाई दिएँ । यी कामरेडहरू सहरका एकदम भीडभाड हुने स्थान रेल स्टेसन र भर्ती केन्द्रमा जान्थे र जगेडा सैनिकहरूलाई पर्चा दिन्थे भने कहिले चुपचाप तिनका खल्तीमा राखिदिन्थे ।
सेन्ट पिटर्सबर्ग समितिले अगस्ट महिनाको सुरुतिर युद्धको विषयमा दोस्रो पर्चा जारी ग¥यो । यो पर्चामा फौजीहरूबिच प्रचारको आवश्यकता, सशस्त्र सङ्घर्षको तयारी र नजिकिँदो सामाजिक क्रान्तिबारे लेखिएको थियो । यसरी, ‘युद्धविरुद्ध युद्ध छेडौँ’ भन्ने नारा क्रान्तिकारी सङ्घर्षका लागि युद्धलाई उपयोग गर्ने एउटा व्यवहारिक कार्यक्रममा विकसित हुँदै थियो ।
यो पर्चा आएपछि गुप्त प्रहरी चनाखो भयो । उनीहरूले पार्टी सङ्गठनलाई नामेट पारिसकेको ठानेका थिए । आफ्ना दमनचक्र र बढ्दो देशभक्तिको भावनाले क्रान्तिकारी पार्टीहरूको आधारभूमि नै मेटिएको उनीहरूको विश्वास थियो । पर्चा वितरणले नामेट हुनुको साटो बोल्शेभिकहरूले नयाँ परिस्थितिको मौका छोप्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाइरहेको देखाइदियो । सरकारले यो ‘देशद्रोह’ लाई कुल्चिने निर्णय ग¥यो । गुप्त प्रहरीले पर्चा छपाइमा संलग्न कामरेडहरूको सिकार सुरु ग¥यो । उसले अवैध छापाखाना खोज्न थाल्यो । धरपकडको क्रम सुरु भयो तर छापाखाना पत्ता लागेन ।
(टिपोट ः गुप्त प्रहरीको अभिलेखालयमा सुरक्षित दस्ताबेजहरू हेर्दा यी घोषणापत्र जारी गर्ने मुख्य एजेन्ट मलाई मानिएको थियो । गुप्त प्रहरीको प्रमुखले यसरी रिपोर्ट बुझाएको रहेछ – ‘सेन्ट पिटर्सबर्ग समितिको गतिविधि ठप्प छ’ तैपनि ‘गैरकानुनी सङ्घसङ्गठनका अस्थिर र ठिटा सदस्यहरूले जबरजस्ती निस्क्रिय भएर बस्नुपर्दा चित्त बुझाएका छैनन् र सामाजिक जनवादी सांसद बादायेभको भाउँतोमा लागेर तिनले समसामयिक घटनाक्रमबारे शृङ्खलाबद्ध पर्चा जारी गर्न थालेका छन् । युद्धप्रति सरकारी नीतिको बद्ख्वाइँ गर्ने उद्देश्यले यसो गरिँदै छ’ । मलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गर्ने गरी प्रमाण जुटाउन गुप्त प्रहरीलाई आदेश दिइएको स्पष्ट बुझिन्छ । तर, उनीहरूले खानतलासीबाट कुनै सबुत हात पार्न सकेनन् । उनीहरूले हाकिमलाई रिपोर्ट बुझाए, “गिरफ्तार व्यक्तिहरूबाट सांसद बादायेभ क्रान्तिकारी प्रचारबाजीमा संलग्न छन् भन्ने प्रमाण बकाउन सम्पूर्ण उपाय अपनाइनेछ ।”)
दुई हप्तापछि सेन्ट पिटर्सबर्ग समितिको नाउँमा हामी अर्को घोषणापत्र जारी गर्न सफल भयौँ । युद्धकालीन कडिकडाउबिच पनि समितिको घोषणापत्र कलकारखाना, जगेडा फौजी र एक हदसम्म नियमित फौजीहरूकहाँ पुग्यो । जनताको क्रान्तिकारी भावनालाई बिस्तारै मलजल गर्दै र सरकारी छापा माध्यमले फैलाएको बडाराष्ट्र अहङ्कारको कुहिरो फार्दै ती प्रकाशनले आफ्नो उद्देश्य पूरा गरे । हामीले साम्राज्यवादी युद्धको सक्कली अनुहार देखाइदियौँ र जनतालाई सर्वहाराहरूको विश्वव्यापी ऐक्यबद्धताको झन्डामुनि सशस्त्र सङ्घर्षको तयारी गर्न जनतालाई अपिल ग¥यौँ ।
बिस्तारै पार्टीका तल्ला समितिहरू गठन भए । पक्राउबाट बचेका पार्टी कार्यकर्ताहरूले आफूवरपर सबै सक्रिय मजदुरहरूलाई एकगठ गरे । पार्टीको सुझावअनुसार उनीहरूले गोप्यताका कठोर उपाय अपनाए । मजदुरवर्गका कानुनी सङ्गठनहरूको अभावमा पार्टी कार्यकर्ताहरूले बीमा संस्थाहरूमा ध्यान दिए । त्यहाँबाट उनीहरू मजदुरहरूसँग सम्पर्कमा गए । जिल्ला समितिहरू पुनः गठन गरिए । केही जिल्लामा त गतिविधिले जीवन्त रूप लियो । प्रतिनिधिहरूलाई सेन्ट पिटर्सबर्ग समितिमा पठाइयो । ठुलो कष्ट उठाउँदै मन्दगतिमा सेन्ट पिटर्सबर्गको बोल्शेभिक सङ्गठन तङ्ग्रिन थाल्यो । यसले नयाँ सम्पर्क र समितिहरू बनायो र आफ्नो क्रान्तिकारी गतिविधिलाई निरन्तरता दियो । यो समिति अब मूलतः युद्धविरुद्ध लड्न र मजदुरवर्गबिच क्रान्तिको तयारीमा केन्द्रित भयो ।
प्रान्तहरूले पनि यसैगरी गतिविधि बढाए । अगस्ट महिनाको उत्तराद्र्धमा म रुसको यात्रामा निस्केँ । पार्टी महाधिवेशनको तयारीको क्रममा म यो यात्रामा जाने तय भएको थियो । तर, त्यही भ्रमण अब अर्कै उद्देश्यका लागि गर्दै थिएँ । स्थानीय पार्टी सङ्गठनहरू पुनर्गठन गर्नु र तिनलाई सबल पार्नु नै मेरो भ्रमणको ध्येय थियो । भोल्गा नदीका किनारमा अवस्थित केही सहर घुमेपछि म बाकु र तिफ्लिसतर्फ लाग्ने मेरो तयारी थियो । गर्मी यामको लामो हडतालपछि बाकुको सङ्गठन छिन्नभिन्न भएको थियो । साथै, मैले शरद्मा गर्ने प्रस्ताव गरिएको पार्टी सम्मेलनको तयारी थाल्नुपर्ने थियो ।
गुप्तचरहरूबाट जोगिन मैले लुकिछिपी सेन्ट पिटर्सबर्ग छोड्नुपर्ने थियो । केही समय सहरको चक्कर लगाएपछि म ओबुखोभ स्टेसननजिकै जङ्गलमा पसेँ र रेल नआउँदासम्म पर्खिबसेँ । रेल आएपछि म रेलको लाइनतिर दौडिएँ र उफ्रेर रेलमा चढेँ । त्यो रेलले मलाई ल्युबान पु¥यायो । पार्टी समिति ध्वस्त भएपछि कोन्कोर्डिया सामोइलोभा र युरिएभ त्यहीँ बस्दै आएका थिए । उनीहरूले मलाई निर्धारित स्थानमा भेटे र मेरो हातमा एउटा रेलको टिकट थमाइदिए । रेल छुट्नुभन्दा ठ्याक्कै अगाडि म स्टेसनमा पुगेँ र गाडीमा चढेर सिधै माथिल्लो सिटमा उक्लेँ । गुप्त प्रहरीले म सेन्ट पिटर्सबर्गमा नरहेको सुइँको पाइहाल्यो र सहरभरि छान मार्दै मलाई खोज्ने असफल प्रयास ग¥यो ।
मैले धेरै सहरहरूमा गएँ । पार्टी सदस्यहरूसँग सम्पर्क राखेर तिनकै मद्दतले मैले पालैपालो बैठकहरू राखेँ । मैले उनीहरूलाई मसँग पत्राचार गर्ने सुरक्षित ठेगाना दिएँ, पार्टी साहित्य दिएँ र स्थानीय पार्टी गतिविधिमा उत्पन्न भएका समस्याहरू सल्टाउने बैठकहरूमा भाग लिएँ ।
बाकुमा नयाँ सङ्गठन निर्माण गर्नुपर्ने थियो । कामरेड शौम्यानलगायत बाकुका बोल्शेभिकहरूसँग धेरैपल्ट सभामा बसेपछि मैले तेलखानीमा मजदुरहरूको ठुलो बैठक आयोजना गर्ने निधो गरेँ । यी बैठक कहिल्यै हुन सकेनन् । केही सुराकीहरू सभामा घुसेका रहेछन् । यसपछि गुप्तचरहरू वरिपरि झुम्मिन थाले । मैले भेट्ने व्यक्तिहरूलाई खतरामा नपारी म कहीँ पनि जान नसक्ने स्थिति आयो । यस्तो स्थितिमा हामीले मजदुरहरूको ठुलो बैठक गर्ने विचार नै त्याग्नुप¥यो । गुप्तचरहरूको घेराभित्र रहेर केही पनि हात नलाग्ने हुनाले म सिधै सेन्ट पिटर्सबर्ग फर्किन बाध्य भएँ ।
सेन्ट पिटर्सबर्ग पुगेपछि मैले के थाहा पाएँ भने गुप्त प्रहरीको एउटा ठुलै जत्था मेरो थातठेगान पत्ता लगाउनका लागि परिचालन गरिएको रहेछ । म बाकुमा फेला परेँ भन्ने सूचना पाएपछि (गुप्तचर प्रमुख) जुन्कोभ्स्की कतिबिघ्न खुसी भएका थिए भनेर मैले संसद्मा थाहा पाएँ । एक सांसदसँग कुरा गर्ने बेला जुन्कोभ्स्कीले आफ्नो तृप्ति नलुकाई भनेका रहेछन्, “बादायेभ गुमनाम भएको थियो । तर, भर्खरै हामीले उसलाई बाकुमा फेला पा¥यौँ ।”
सेप्टेम्बरको महिना आयो । लगत्तै हाम्रो समूहका अन्य सदस्यहरू पनि सेन्ट पिटर्सबर्ग फर्के । महाधिवेशनको तयारी गर्ने काम उनीहरूले बिचमै छोड्नुपरेको थियो । तैपनि, उनीहरू प्रान्तहरूका पार्टी समितिहरूलाई सुदृढ पारेर आएका थिए । क्रान्तिकारी मजदुरहरूले हाम्रो युद्धविरोधी प्रचारको समर्थन गरेका रहेछन् । विभिन्न जिल्लामा सक्रिय समितिहरूको खबरबाट यही पुष्टि भयो ।
पाठ २३
नोभेम्बर सम्मेलन
दोस्रो इन्टरनेसनलको धोका । भेन्डरभेल्डको पत्र । मेन्शेभिकहरूले युद्धलाई समर्थन गरे । युद्धबारे लेनिनको थेसिस । सम्मेलन । विद्यार्थीहरूलाई सन्देश । थेसिसबारे छलफल ।
पार्टी गतिविधि विकसित गर्दै, युद्धविरोधी प्रचारप्रसार गर्दै र युद्धविरुद्ध अभियान चलाउँदै हामीले अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनहरूको निर्णय पालन गर्दै थियौँ । यी सम्मेलनहरूले पुँजीवादी सरकारहरूबिच भइरहेको युद्धको बारम्बार निन्दा गरेका थिए, संसद्मा युद्ध ऋणका विरुद्ध मतदान गर्नु नै सामाजिक जनवादीहरूको कर्तव्य हुनेमा जोड दिएका थिए र सशस्त्र विद्रोहको मद्दतले जुनसुकै युद्ध अन्त्य गर्न मजदुरहरूलाई अपिल गरेका थिए ।
युद्धअघि सन् १९१२ मा यस प्रकारको अन्तिम अधिवेशन भएको थियो । त्यसबेला बाल्कन क्षेत्रमा युद्धको सङ्कट थियो । अधिवेशनले जारी गरेको वक्तव्यमा विश्वका सम्पूर्ण सर्वहारा जनतालाई सम्बोधन गरिएको थियो, “सरकारहरूले याद राखून्, फ्रान्स–प्रसिया युद्ध हुँदा पेरिस कम्युनको क्रान्तिकारी ज्वालामुखी फुटेको थियो, रुस–जापान युद्धको बेला रुसी साम्राज्यका सम्पूर्ण जातिहरूको क्रान्तिकारी आन्दोलन उठेको थियो । विश्वका मजदुरहरू पुँजीवादी मुनाफा, राजवंशहरूबिचको दुश्मनी वा गुप्त कूटनीतिको नाउँमा एकअर्कालाई गोली ठोक्नुलाई अपराध मान्छन् ।” हाम्रो संसदीय समूहले यही वक्तव्यमा टेकेर आफ्ना गतिविधि अघि बढायो ।
भर्खरै गठन भएको हाम्रो समूहले बास्ले अधिवेशनलाई पत्र पठाएको थियो । पत्रमा लेखिएको थियो, “युद्ध र रक्तपात शासक वर्गलाई चाहिन्छ । तर, सम्पूर्ण देशका मजदुरहरू हर हालतमा शान्ति चाहन्छन् । युद्ध हाम्रो समयको अभिशाप हो । हामी रुसका मजदुरहरू अन्य सबै देशका मजदुरहरूसँग भाइचारापूर्ण हात बढाउँछौँ र उनीहरूसँग मिलेर तिनको युद्धविरोधी सङ्घर्षमा सामेल हुन्छौँ ।” पछि रुस र अस्ट्रियाबिच भीडन्त हुने खतरा आइलाग्दा सन् १९१३ को अप्रिलमा संसद्को सामाजिक जनवादी समूहले अस्ट्रियाली सदनको सामाजिक जनवादी समूह र हङ्गेरीको सामाजिक जनवादी पार्टीको कार्यकारी समितिसँग पत्राचार ग¥यो । त्यो बेला हामीले लेखेका थियौँ, “आपराधिक युद्धलाई जतिसुकै उचित ठ¥याए पनि रुसी साम्राज्यभित्र बसोबास गर्ने जातजातिले विश्वास गर्दैनन् । हामी जर्मनी तथा अस्ट्रियाका विरुद्ध चलिरहेको रुसका उदारवादीहरूको प्रचारबाजीको कडा भत्र्सना गर्छौँ । उनीहरू जर्मनीका जनतालगायत सबथोकविरुद्ध रुसी जनतालाई भड्काउने बर्बर प्रयासलाई प्रगतिशील रङले छोप्न खोज्दै छन् ।”
जवाफमा हाम्रो विचार पढेर अस्ट्रियाका सामाजिक जनवादीहरूले खुसी र सन्तोष जाहेर गरेको लेखे, “स्लाभ बडाराष्ट्र अहङ्कारविरुद्ध तपाईँहरूको निर्भिक गतिविधिलाई हामी युरोपेली लोकतन्त्र र शान्तिको एउटा उत्कृष्ट ग्यारेन्टी मान्छौँ ।… हामी तपाईँहरूका दमनकारी शासकहरूप्रति आक्रोशित छौँ तर शान्ति एवम् स्वतन्त्रताको साझा सङ्घर्षमा हामी रुसी जनतासँग कहिल्यै नहराउने धागोले बाँधिएका छौँ ।”
युद्धको घोषणा भएको भोलिपल्ट इन्टरनेसनलका नेताहरूले इतिहासकै एक ठुलो विश्वासघात गरे । राष्ट्रवादको लहरमा लहरिएर समाजवादी पार्टीहरूले आ–आफ्ना सरकारहरूको अगुवाइलाई पछ्याए र तिनका राष्ट्रिय पुँजीपतिहरूको हातको खेलौना बने । ‘प्रतिरक्षावाद’ जस्तो कुख्यात नीतिले मुन्टो उठायो । नेताहरूले क्रान्तिलाई विश्वासघात गरे र युद्ध सुरु भएपछि आफ्नो पितृभूमिको प्रतिरक्षा गर्नुपर्छ भन्ने सिद्धान्त गढे । यसमा उनीहरूले पुँजीवादी प्रेससँग हात मिलाएर निकृष्ट अन्धराष्ट्रवादी भावना जगाए र ‘शत्रु’ विरुद्ध निर्मम सङ्घर्ष चलाउन आह्वान गरे । जर्मनीका सामाजिक जनवादीहरूले आफूहरू रुसी जारशाहीविरुद्ध लडिरहेको उद्घोष गरे । समाजवादीहरूको मण्डलीले जर्मन सैन्यवाद र प्रसियाली युङ्करवादविरुद्ध युद्धको समर्थन गरे । यसरी दुवै पक्षले करोडौँ मजदुर र किसानलाई अचानोमा राख्दै आफ्ना प्रतिस्पर्धीलाई नष्ट गर्न कम्मर कसेका साम्राज्यवादी डाँकाहरूको पक्ष लिए ।
म यो विश्वासघात, युद्ध ऋणसम्बन्धी मतदान र पुँजीवादी मन्त्रिमण्डलमा मन्त्री बन्ने स्वीकृतिलगायत विषयको सविस्तार चर्चा गर्दिनँ । बरु, रुसी सामाजिक जनवादीहरूलाई पनि त्यही बाटोमा तान्ने चेष्टाबारे कुरा गर्छु । यो कामको नेतृत्व बेल्जियमका समाजवादी र इन्टरनेसनलका अध्यक्ष एमिल भेन्डरभेल्डले लिए । युद्धका सुरुवाती दिनहरूमै उनी बेल्जियम सरकारका मन्त्री बने ।
केही महिनाअघि सन् १९१४ को वसन्त ऋतुमा रुसको मजदुर आन्दोलनबारे बुझ्न भेन्डरभेल्ड रुस आएका थिए । विभिन्न सामाजिक जनवादी खेमाका प्रतिनिधिहरूसँगको भेलामा उनी जारशाहीविरुद्ध रुसका सर्वहारा जनताले चलाइरहेको सम्झौताहीन सङ्घर्षसँग यथेष्ट परिचित भएका थिए । त्यो भेलामा हाम्रो बोल्शेभिक समूह पनि सहभागी थियो । रुसको बसाइँमा भेन्डरभेल्डले निरङ्कुश जारशाहीले मजदुरहरूमाथि गरेको निर्मम दमन आफ्नै आँखाले देखेका थिए । यति हुँदाहुँदै पनि भेन्डरभेल्डले जारशाहीविरुद्ध सङ्घर्ष रोक्न र त्यसैले तयार गरेको युद्धको समर्थन गर्न प्रस्ताव गरे । भेन्डरभेल्डको प्रस्ताव अवसरवादको प्रस्ट उदाहरण थियो । इन्टरनेसनलका नेताहरूलाई यही अवसरवादले गाँजेको थियो । यसले अन्ततः उनीहरूलाई अन्तर्राष्ट्रिय पुँजीपतिहरूका सहयोगी र समर्थक बनाइदियो ।
भेन्डरभेल्डको प्रस्तावमा संसद्का दुवै सामाजिक जनवादी समूहलाई सम्बोधन गरिएको थियो । जारशाही सरकारले यस्तो विदेशी तार हामीसम्म पुग्न दिनु स्वाभाविक थियो । यो तार सन्देशको भाषा छनोटबाट युरोपका सामाजिक जनवादीहरू बडाराष्ट्र अहङ्कारवादको कस्तो भाषमा डुबेका थिए भन्ने छर्लङ्ग हुन्छ, “पश्चिम युरोपका समाजवादीहरूका लागि प्रसियाली सैन्यवादको पराजय, म जर्मनी भन्दिनँ किनभने उसलाई हामी माया र सम्मान गर्दछौँ, जीवन र मरणको विषय हो ।… तर, पुँजीवादी समाजका अन्तर्विरोधहरूका कारण युरोपमाथि आइलागेको यो भयानक युद्धमा स्वतन्त्र तथा लोकतान्त्रिक राष्ट्रहरू रुसी सरकारको सैन्य सहायतामाथि भर पर्न बाध्य छन् ।
यो सहायता कति प्रभावकारी हुने वा नहुने भन्ने कुरा धेरै त रुसी क्रान्तिकारी सर्वहाराहरूमाथि निर्भर छ । निश्चय नै म तपाईँहरूले के गर्नुपर्छ वा तपाईँको हित केमा छ भनी अ¥होटप¥होट गर्न सक्दिनँ । यो कुरा तपाईँहरूले आफै निर्णय गर्नुपर्छ । तर, म यहाँहरूसँग युरोपका सामाजिक जनवादीहरूको साझा दृष्टिकोण साझा गर्न आग्रह गर्दछु । यदि बिचरा जौरेस जीवित हुन्थे भने उनले मेरो यो अनुरोध स्वीकार्ने थिए ।… यो खतराबाट पार पाउन हामी सबै एकताबद्ध हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । यस विषयमा तपाईँहरूको धारणा थाहा पाउन पाए हामी खुसी हुने थियौँ । अझ यहाँहरूको धारणा हाम्रोसँग मिले हामी झन् खुसी हुने थियौँ ।”
यो तार सन्देशमा सगौरव हस्ताक्षर गरिएको थियो, “एमिल भेन्डरभेल्ड, अन्तर्राष्ट्रिय समाजवादी ब्युरोका लागि बेल्जियमका मजदुरहरूका प्रतिनिधि तथा युद्धको घोषणापछि बेल्जियमका मन्त्री ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *