भर्खरै :

माटो ओसारपसारमा संलग्नलाई कारबाही र उत्खनन नियन्त्रण गर्न स्थानीयको माग

  • पुष १, २०८२
  • हरिसुन्दर छुकां
  • समाचार
माटो ओसारपसारमा संलग्नलाई कारबाही र उत्खनन नियन्त्रण गर्न स्थानीयको माग

भक्तपुर, १ पुस । चाँगुनारायण नगरपालिका–९ ताथलीमा वडाको शान्ति सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्धलाई केन्द्रमा राखेर नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रभाग जगाति र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको संयुक्त आयोजनामा भएको सुनुवाइमा स्थानीयवासीले अवैध रूपमा भइरहेको माटो ओसारपसार र अनियन्त्रित उत्खनन तत्काल नियन्त्रण गर्न सामूहिक आवाज उठाएका छन् ।
सुनुवाइमा सहभागी नागरिकहरूले बढ्दो माटो तस्करीका कारण वातावरणीय सन्तुलन खल्बलिएको र ताथलीवासीको दैनिकी असहज बन्दै गएको उल्लेख गर्दै जनप्रतिनिधि र प्रहरीले तत्काल प्रभावकारी समाधान लागू गर्न माग गरे । ताथली–नाला सडक खण्डमा दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना, चोरी–डकैती तथा लागूऔषध दुव्र्यसनजस्ता समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले जनजीवन असुरक्षित बन्दै गएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले सबै वर्ग, क्षेत्र र निकायले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । “सबैले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरे समाज आफैँ सुरक्षित बन्छ,” उहाँले भन्नुभयो । स्थानीयका गुनासा समाधानका लागि नगरपालिकासँग समन्वय गरी आवश्यक कदम चालिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
वडाध्यक्ष त्यातका अनुसार पछिल्लो समय घडेरी सम्याउने नाममा सिफारिस लिइए पनि तोकिएको सीमाभन्दा बढी माटो उत्खनन भइरहेको छ । वडाबाट सिफारिस नदिँदा पनि नगरपालिकाबाट सिफारिस ल्याएर अवैध रूपमा माटो चोरी गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । अवैध माटो ओसारपसारले वातावरणीय क्षतिसँगै बस्ती, सडक र कृषि भूमिसमेत जोखिममा परेको उल्लेख गर्दै उहाँले यस विषयमा दैनिक गुनासा आउने गरेको जानकारी दिनुभयो ।
माटो बोकेका टिपर र ट्रकको अनियन्त्रित आवागमनका कारण सवारी दुर्घटनाको जोखिम बढेको, विद्यार्थी, पैदलयात्री तथा स्थानीय बासिन्दा असुरक्षित बनेको गुनासो गरिएको छ ।
नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले बनेका नीतिनियम कडाइका साथ लागू गर्न प्रहरीले तदारुकता देखाउनुपर्ने बताउनुभयो । उहाँले नागरिक सुनुवाइलाई टोल–टोलसम्म विस्तार गर्न सके मात्र वास्तविक समस्या उजागर हुने धारणा राख्नुभयो ।
पत्रकार हरिसुन्दर छुकांले अवैध माटो उत्खननलाई नीतिगत कमजोरी र कार्यान्वयनको अभावसँग जोड्दै यसबारे सार्वजनिक बहस र सूचनाको प्रवाह आवश्यक रहेको बताउनुभयो ।
स्थानीय युवा उत्तम साखकर्मीले युवापुस्तामाझ बढ्दै गएको लागूऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “लागूऔषध दुव्र्यसन अपराध, चोरी र असुरक्षासँग जोडिएको छ । यसको नियन्त्रणका लागि प्रहरी, स्थानीय सरकार र समुदायबिच समन्वय आवश्यक छ ।”
वडा सदस्यद्वय कमला गिरी र सुमित्रा दर्जीले वडावासीका गुनासा जायज रहेको उल्लेख गर्दै माटो उत्खनन र ओसारपसारमा पारदर्शी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिनुभयो । वडाबाट दिइने सिफारिसको दुरूपयोग रोक्न स्पष्ट मापदण्ड र नियमित अनुगमन आवश्यक रहेको उहाँहरूको भनाइ थियो । प्रहरीले नागरिकसँग विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
सहकारी क्षेत्रका तर्फबाट सयपत्री सहकारीका रामप्रसाद मचामसीले अवैध गतिविधिले सामाजिक अस्थिरता बढाएको उल्लेख गर्दै समुदायको सामूहिक सक्रियताबिना समस्या समाधान हुन नसक्ने बताउनुभयो ।
नालाछाप प्रगतिशील महिला सहकारीकी मीरा वाग्लेले महिलाहरू असुरक्षाबाट प्रत्यक्ष प्रभावित हुने गरेको बताउँदै शान्ति सुरक्षा र लागूऔषध नियन्त्रणमा महिलाको सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो ।
स्थानीय राजकुमार बस्नेतले वडामा शान्तिपूर्ण वातावरण बनाउन विभिन्न सङ्घसंस्था र नागरिक समाजबिच सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानीय रोशन गणेजुलगायतले माटो तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयोे ।
जगाती प्रहरी वृत्तका प्रहरी निरीक्षक कञ्चन राजचलले नागरिकको सुरक्षा, शान्ति र अमनचयन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । अवैध माटो उत्खनन, सवारी दुर्घटना न्यूनीकरण र लागूऔषध दुव्र्यसन नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै उहाँले नागरिकबाट प्राप्त सूचनालाई गोप्य तवरमा अनुसन्धान गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *