भर्खरै :

जैविक मल तथा जैविक विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जैविक मल तथा जैविक विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १ पुस । भक्तपुर नगरपालिका ८ नं वडा समितिको आयोजनामा सोमबार जैविक मल तथा जैविक विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भनपा–८ का अध्यक्ष एलएन दुवालले कृषि क्षेत्रमा पनि आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले छ्वाली, पराल घाँसजस्ता जैविक वस्तुको प्राङ्गारिक मल प्रयोग गरी नयाँ प्रविधिबाट कृषि प्रणाली लागु गरी किसानहरूलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोराले रासायनिक मलको लामो समयदेखिको निरन्तर प्रयोगले माटो बिग्रिँदै गइरहेको वर्तमान अवस्थामा रासायनिक मलको साथै कृषिचुनको पनि प्रयोग बढाउँदै लानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाद्वारा उत्पादित प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “रासायनिक मललाई लामो समयदेखि जथाभावी रूपमा निरन्तर प्रयोगले यहाँको माटोको उर्वरा शक्ति घट्दै गइरहेको छ । त्यसैले कृषिचुनको साथै प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यसले माटोको उर्वराशक्तिलाई बढाउने कार्य गर्दछ ।”
उहाँले कृषिमा प्रयोग गरिने विषादीले माटोको साथै वातावरणमा समेत असर पारी दीर्घरोग बढ्दै गएकोले जैविक मल तथा जैविक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कृषि प्राविधिज्ञ सविन ख्याजूले भिडियोको माध्यमबाट माटोको गुणस्तर परीक्षण गर्ने तरीका, मल राख्ने तरिका, बालीनालीमा लाग्ने रोगको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
नगरपालिकाका मल प्राविधिज्ञ रमिता तमखूले भनपाद्वारा उत्पादित जैविक मलको उत्पादन तथा प्रयोगसम्बन्धी भिडियोमार्फत प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा भनपा–८ का वडाध्यक्ष एवम् सभापति कृष्णप्रसाद कोजूले कृषिकार्य महत्वपूर्ण तथा अनिवार्य कार्य भएकोले किसानहरूप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने आवश्यकता औँल्याउँदै भनपाद्वारा सञ्चालिन हुने कृषि चिस्यान केन्द्र यसै वर्षदेखि प्रयोगमा आउने जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा–८ कृषि समितिका संयोजक कृष्णलाल किसी, सचिव रञ्जन भेनात्वलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *