भर्खरै :

अमेरिकी साम्राज्यवाद भेनेजुयलाबाट हात झिक !

अमेरिकी साम्राज्यवाद भेनेजुयलाबाट हात झिक !

२०७५, १९ साउनको दिन १७ हजार सिपाही सहभागी भेनेजुयलाको राष्ट्रिय गार्ड स्थापनाको ८१ औँ वार्षिक समारोह कार्यक्रममा ड्रोनमार्फत बम विस्फोट गराई राष्ट्रपति माडुरोको हत्या गर्न खोजियो । धेरै सम्भव छ, त्यस घटनामा पनि संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएको हात हुनुपर्छ । त्यसका केही कारण छन् :

क) संरा अमेरिकाका तत्कालीन राष्ट्रपति मुनरोले ‘अमेरिका अमेरिकीहरूको हो’ भन्ने नीति पहिले नै प्रस्ट पारेको सर्वविदित छ ।
यसकारण भेनेजुयला, बोलिभिया, निकारागुआ आदि देशका राष्ट्रपति तथा ल्याटिन अमेरिकी देशका नेताहरूले त्यस घटनाबारे अमेरिकी साम्राज्यवादतिरै इङ्गित गरेका छन् ।
ख) पानामाका राष्ट्रपतिलाई संरा अमेरिकी सेनाले पक्राउ गरी अमेरिकामै बन्दी बनाएको विषयबारे सबै अवगत छन् । संरा अमेरिका ल्याटिन अमेरिकाका हरेक देशमा सीआईएमार्फत लागुपदार्थको व्यापार गराउँछ र सो देशका शासकहरूले अमेरिकी प्रशासनसँग मतभेद गर्नासाथै लागुपदार्थको व्यापार गरेको निहुँमा स्वतन्त्र र सार्वभौम देशहरूमा हस्तक्षेप गरी आफ्नो दलाल सरकार स्थापना गर्छ ।
भेनेजुयलाले संरा अमेरिकी साम्राज्यवादको तखतमा बस्न नचाही आफ्नै देश र जनताको हित चाहेको हुनाले भेनेजुयाली जनतामाथि संरा अमेरिकाले आतङ्क मच्चाउँदै छ ।
ग) चिलीमा अमेरिकी तामा उद्योगहरूमाथि कर लगाउँदा राष्ट्रपति एलन्डेको हत्या गरी सैनिक तानाशाह पिनोचेलाई सत्ता सुम्पने काम संरा अमेरिकी गुप्तचर विभाग सीआईएले गरेको खुलासा भएको थियो ।
घ) चे ग्वेभाराको नेतृत्वमा बोलिभियालाई संरा अमेरिकी साम्राज्यवादबाट मुक्त गराउने मुक्तिसङ्घर्षलाई दबाउन अमेरिकी गुप्तचर संस्था सीआईएले चेको हत्या गरेको त्यसैबेला संसारलाई थाहा भएको थियो ।
ङ) इराकका राष्ट्रपति सद्दाम हुसेनको हत्या गर्न र उनको सालिकसमेत बाल्न सीआईएले नै मानिस पठाएको त्यसैबेला खुलासा भएको थियो ।
च) लिबियाका राष्ट्रपति गद्दाफीको हत्या पनि सीआईएले गरेको समयमै प्रस्ट भएको थियो ।
छ) दक्षिण अफ्रिकी कम्युनिस्ट नेता क्रिश हानीको हत्या गर्न सीआईएले नै पोल्यान्डका हत्याराहरू प्रयोग गरेको थियो ।
ज) सैनिक विद्रोहबाट कङ्गोका पहिलो निर्वाचित प्रधानमन्त्री पेट्रिस लुमुम्बाको हत्या गरेको र घानाका जनताबाट निर्वाचित राष्ट्रपति क्यामे एनक्रुमालाई विदेश भ्रमणमा आएको बेला सेनाको बलमा सत्ता परिवर्तन पनि सीआईएले गराएको सर्वविदित छ ।
झ) इन्डोनेसियाका राष्ट्रपति सुकार्नोलाई बन्दी बनाई त्यहाँको प्रगतिशील सरकारलाई हटाउन सुहार्ताजस्ता सैनिक तानाशाहलाई अगाडि सारेर १५ लाख कम्युनिस्ट सदस्य, प्रगतिशील नेता, युवा, विद्यार्थी, किसान र मजदुरहरूको हत्या गरियो । यसमा पनि संरा अमेरिकी सीआईए नै जिम्मेवार थियो ।
यसरी सन् १९६० को दशकमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा हरेक तीन महिनामा एउटा न एउटा देशमा सैनिक विद्रोह गराउने र सत्ता परिवर्तन गराई संसारलाई अस्थिर बनाउने काममा संरा अमेरिकी साम्राज्यवादकै हात थियो । संरा अमेरिकाले आज पनि सिरियामा त्यहाँका विद्रोहीहरूमार्फत अमेरिकी डलर र हतियारकै सहयोगमा गृहयुद्ध चलाउँदै आएको छ । संरा अमेरिका आफैले रासायनिक हतियार प्रयोग गरी सिरियालाई दोष लगाउने काम गरेको हो । कति देशमा संरा अमेरिकी साम्राज्यवाद आफैँ बोक्सी आफैँ धामीको काम गर्दै छ ।
श्रमिक साप्ताहिकको सम्पादकीय
२२ साउन २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *