क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सोभियत सङ्घको औद्योगीकरणको निम्ति सैद्धान्तिक सङ्घर्ष
औद्योगीकरणविना रूस स्वतन्त्र हुने थिएन नत रूसमा समाजवाद सफल हुने थियो । त्यसको निम्ति ठुलो धनराशी आवश्यक थियो । जार सरकारले जनतासँग चुसेर साम्राज्यवादी देशलाई वर्षमा ५० करोड रुबल हर्जाना तिर्दै थियो । फेरि समाजवादी देशले कमजोर देशलाई उपनिवेश बनाएर हर्जाना लिने र पुँजीवादी देशहरूसँग ऋण मागेर पुँजी जम्मा गर्ने दृष्टिकोण खोटपूर्ण थियो । समाजवादको निम्ति त्यस्ता अन्याय र पुँजीवादी देशसँग झुक्ने कुरा पनि थिए ।
औद्योगीकरणको निम्ति आफ्नै देशमा मेसिनहरू, कल–पूर्जा, मोटर, रासायनिक वस्तु, फलाम, इस्पात, इन्जिन बनाउने, बिजुली निकाल्ने, धातु र कोइला खानी उत्खनन, देशको रक्षाको निम्ति गोला–बारुद, तोप, हवाई–जहाज, टैङ्क आदि युद्ध सामाग्रीहरू बनाउनु आवश्यक थियो । कृषिको निम्ति कुटो–कोदालीदेखि हलो र ट्याक्टर एवम् खेतीसँग सम्बन्धित मेसिनहरू उत्पादन गर्नु जरुरी थियो ।
सोभियत सरकारले शोषक वर्गको कल–कारखाना, जग्गा–जमिन, यातायातका साधन, व्यापार र बैङ्कको नाफा एवम् हर्जाना दिने ५० करोड रुबलले उद्योग र कलकारखाना निर्माण गर्न सुरु ग¥यो । त्यही रिसमा बेलायती साम्राज्यवादले सोभियत सङ्घमाथि १९२७ मे महिनामा हमला ग¥यो र २६ मे को दिन कूटनैतिक सम्बन्ध चुँडाल्यो । ७ जूनको दिन पोल्यान्डको रूसी राजदूतको हत्या ग¥यो । रूसको विभिन्न भागमा बेलायती गुप्तचरहरूले विध्वंसात्मक गतिविधिहरू गरे । जर्मनी र अन्य देशमा रूसी ाणिज्यदूतहरूमाथि हमला गरे ।
जिनोभियव र कामेनेभहरूले नयाँ छापाखानाहरूमार्फत औद्योगीकरणको विरोध गरे, पेरिस कम्युनको बेलाजस्तो मजदुर र किसानबिच झगडा लगाउने काम गरे । कुलाकहरूको पक्ष लिएर औद्योगीकरणको विरोध गरे । एकै साथमा बेलायती सरकार र पार्टीका शत्रु, त्रोत्स्कीहरू सबै एक भए ।
सन् १९२९ को वर्ष रूसको निम्ति उत्पादन वृद्धिको गौरवको वर्ष थियो । तर, बुखारिन र अन्य विरोधीहरूले विदेशी तत्वहरू, कुलाक, काला बजारियासँग मिलेर उपद्रवहरू गर्न थाले ।
स्तालिनका सम्भावित उत्तराधिकारी किरोभको हत्याकाण्ड
किरोभ २७ मार्च १८८६ मा रूसको कजाकिस्तानमा जन्मेका थिए । आमा–बुबाबाट वञ्चित ७ वर्षको उमेरमा किरोभ र उनकी बहिनीलाई बज्यैले पालेकी थिइन् ।
सन् १९०१ मा कजाकको एक औद्योगिक विद्यालयमा एक धनी परोपकारीले किरोभलाई छात्रवृत्तिको बन्दोवस्त गरेका थिए । इन्जिनियरिङको स्नातक भएपछि उनी साइबेरियाको एक नगर टोम्स्कमा बसाइँ सरे । सन् १९०४ मा किरोभ माक्र्सवादी बने र रूसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए ।
सन् १९०५ को रूसी क्रान्तिमा किरोभले पनि भाग लिए र पक्राउ परे । त्यसपछि बोल्शेविक पार्टीको सदस्य बनी जेलबाट रिहा भए ।
दोस्रो पटक उनी सन् १९०६ मा पक्राउ परे र कानुनविरोधी साहित्य छापेको अपराधमा उनलाई ३ वर्षको जेल सजाय भयो । जेलमुक्त भएपछि फेरि उनी क्रान्तिकारी गतिविधिमा लागे । केही समयपछि उनी तेस्रो पटक कानुनविरोधी साहित्य छापेकोमा पक्राउ परे । एक वर्षको हिरासतपछि उनी ककाससमा सरुवा भए । १९१७ को मार्च महिनामा राजतन्त्रविरोधी फेबु्रअरी क्रान्तिपछि किरोभ रिहा भए । उनको उमेर त्यसबेला ३१ वर्षको थियो ।
क्रान्तिपछि प्रतिक्रियावादीहरूले ठाउँ–ठाउँमा सङ्घर्ष गरे । त्यसको विरोधमा किरोभले पनि बोल्शेविक सैनिक प्रशासनको नायक भएर १९२० सम्म आस्ट्राखान भन्ने ठाउँमा लाल सेनाको तर्फबाट सङ्घर्ष गरेका थिए ।
सन् १९२१ मा किरोभ अजरबैजानको कम्युनिस्ट पार्टीको प्रथम सचिव भए । उनी औद्योगीकरण र सामूहिकीकरणका समर्थक थिए । तर, बुखारिन, राइकोभ र त्रोत्स्की त्यस नीतिका कट्टर विरोधी थिए । यसकारण, तिनीहरू किरोभलाई मन पराउन्नथे । १९३० को दशकमा उनी सा¥है सक्रिय भए ।
सन् १९३० तिर सोभियत कम्युनिस्ट पार्टीको तर्फबाट लेनिनग्राद पार्टीको प्रमुख र पार्टीको सर्वोच्च पद राजनैतिक समितिको सदस्य थिए । त्यसैबेला उनलाई स्तालिनका उत्तराधिकारी सम्झिन थालिएको थियो । यसकारण, १ डिसेम्बर १९३४ मा उनकै कार्यालय स्मोल्नीमा पार्टी विरोधीहरूले ठुलो षड्यन्त्र गरे र निकोलायेभ (Nikolayev) भन्ने व्यक्तिले किरोभलाई पछाडिबाट गर्दनमा गोली हानेर मारे । उनी ४८ वर्षका थिए र स्तालिनपछिका सम्भावित पार्टी नेता तथा सोभियत रूसका नेता थिए, जुन कुरो साम्राज्यवादीहरूलाई मन पर्दैनथ्यो ।
किरोभको व्यक्तित्व
पेट्रोग्रादको विद्रोहको निम्ति केन्द्रीय समितिले आफ्ना प्रतिनिधिहरू पठाएर सबै मोर्चा सम्हाल्ने कार्यमा भोरोशिलोभ, मोलोतोभ, जेरजिन्स्की, कगानोविच जस्तै अन्य महत्वपूर्ण व्यक्तिहरूमध्ये एक जना किरोभ पनि थिए । तिनीहरू आफ्नो उद्देश्यको लडाइँलाई न्यायपूर्ण मान्थे, अनुशासित, आत्म बलिदानी र सामूहिक बलिदानलाई महत्व दिन्थे । सोभियत कम्युनिस्ट पार्टीको सत्रौँ महाअधिवेशनमा बुखारिन, राइकोभ, जिनोभियव, कामेनेभ आदि पार्टीका विश्वासघाती र विदेशी शत्रुहरूसँग मिलेका जासुसहरूले भाषणमा पार्टीको सफलतालाई सा¥है प्रशंसा गर्थे र पार्टीको सफलताको निम्ति सा¥है खुसी प्रकट गर्थे । तर, भित्रभित्र षड्यन्त्र गरिरहेका हुन्थे ।
१ डिसेम्बर १९३४ को दिन किरोभलाई लेनिनग्रादको स्मोल्नीमा क्रुरतापूर्वक गोली हानेर मारेपछि पार्टीभित्रका शत्रुहरूको विरोधमा छानबिन सुरु भयो ।
जिनोभियवपन्थीहरूको एक सोभियतविरोधी गुटको एक सदस्य पक्राउ परे । त्यो गुट पार्टीभित्र लुकेको एक विश्वासघाती गुट थियो ।
किरोभ मजदुर वर्गमा सा¥है प्रिय नेता थिए । उनको हत्याले रूसभरि आक्रोश र विरोधको ठुलो लहर चल्यो । त्रोत्स्कीपन्थीहरूको पनि त्यसमा हात थियो । तिनीहरूले आफूलाई फासीवादीहरूको पैसामा बेचिसकेका थिए । यसरी त्यो हत्याकाण्ड त्रोत्स्कीपन्थी र बुखारिन गुटले गरेको अपराध थियो ।
किरोभको हत्याले सोभियत पार्टीका सबै सदस्यहरूलाई शत्रुहरूदेखि होसियार हुन र शत्रुहरू कमजोर भएपछि समाजवादतिर लत्रेर आउनेछन् भन्ने उदार दृष्टिकोण हुनेछ भनी सचेत पार्ने सूचना प्रवाह ग¥यो, ‘सफलताले सन्तोष वा आत्मसन्तोष लिनुहुन्न ।’
किरोभको हत्या र अन्य विध्वंसात्मक गतिविधिका साथै गोर्कीको हत्यामा २० वर्षसम्म पुँजीवादी राज्यहरूको गुप्तचर विभागहरूसँग त्रोत्स्की, जिनोभियव, कामेनेभ, बुखारिन, राइकोभ आदिको सम्बन्ध थियो र विदेशबाट तिनीहरू सञ्चालित थिए । सोभियतको अदालतले ती सम्बन्धित सबैलाई गोली हानी मृत्युदण्ड दिने सजाय सुनायो ।
नक्कली कम्युनिस्टहरूबाट कुटिल चाल
(१ डिसेम्बर १९३४ मा जर्मनी र अन्य प्रतिक्रियावादीहरू मिलेर बोल्शेविक पार्टीका ठुला नेता किरोभलाई गोली हानेर मारे ।) सर्वोच्च न्यायालयको सैनिक अदालतले १९३७ मा त्रोत्स्की, जिनोभियव, कामेनेभ, बुखारिन, राइकोभ आदिलाई प्रमाणहरू र अपराध स्वीकार गरेको आधारमा गोली हानेर मार्ने सजाय सुनायो । तिनीहरूले ‘किरोभको हत्या स्तालिनले गर्न दिएको’ हल्ला गरेर रूसी पार्टी र देशमै आतङ्क मच्चाउन चाहेका थिए । त्यस अदालती कारबाहीको बेला अमेरिकी राष्ट्रपति रुजवेल्टका अमेरिकी राजदूत समेत उपस्थित थिए । ती अपराधीहरूको युक्रेन, बेलारुस कब्जा गर्ने र देशको समुद्री इलाका विदेशी शत्रुको हातमा सुम्पने षड्यन्त्रको खुलासा पनि भयो ।
पार्टीका विश्वासघातीहरूसँगको सङ्घर्षमा स्तालिन त्रोत्स्की
त्रोत्स्की नामले चर्चित लिओन त्रोत्स्की (Leon Trotsky) ७ नोभेम्बर १८७९ मा एक धनी यहुदी परिवारमा रूसको युक्रेनमा जन्मेका थिए । आठ वर्षको उमेरमा उनी कालासागरको उत्तरमा पर्ने ओडेसाको एक विद्यालयमा भर्ना भएका थिए । सन् १८९६ मा उनले युक्रेनकै अर्को सहर निकोलाएभको विद्यालयबाट आफ्नो प्रवेशिका परीक्षा दिए ।
त्यसबेला उनी १७ वर्षका थिए र माक्र्सवादतिर आकर्षित भए । सन् १८९७ मा उनी दक्षिण रूसी मजदुर सङ्घ स्थापना गर्न सहयोगी भए । उनी भर्खर अठार वर्षका थिए र पक्राउ परे । दुई वर्ष नहुँदै जेलबाट भाग्न खोजेको हुँदा चार वर्षको निम्ति उनी साइबेरियामा अर्थात् कालापानी पठाइए । त्यहाँ उनले एक सहयोगीसँग विवाह गरे । उनका दुई छोरी भए ।
चार वर्षको कालापानीको सजायमा उनले दुई वर्षमात्र बिताए र सन् १९०२ मा उनी जहान र छोरीहरू छोडेर भागे । उनी बेलायत पुगे र लन्डनमा समाजवादी प्रजातान्त्रिक दलमा सामेल भए । त्यसैबेला उनले लेनिनसँग भेटे । त्यसबेला उनी २३ वर्षका थिए ।
समाजवादी–प्रजातान्त्रिक सानो पार्टी भए पनि लेनिन पेशेवर क्रान्तिकारीहरूले ठुलो समूहका पार्टी समर्थकहरूको नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, मार्तोभ भन्ने अर्को रूसी नेता समर्थकहरूको ठुलो समूहलाई पनि समान प्रजातान्त्रिक अधिकार दिनुपर्छ भन्ने पक्षमा थिए । त्रोत्स्की त्यस मामिलामा तटस्थ थिए । अर्थात्, लेनिनको पक्षमा थिएनन् ।
२२ जनवरी १९०५ मा रूसमा निःशस्त्र जनतामाथि गोली चलाउँदा धेरै मानिस मारिए र जनता विद्रोहमा उठे । बा¥हौँ महिना वा वर्षको अन्त्यमा विद्रोह दबाइयो । त्रोत्स्की फेरि पक्राउ परे र साइबेरिया पठाइए । त्यसबेला २८ वर्षको उमेरमा उनी चर्चामा आए र जनवरी १९०७ मा उनी विदेश भागे । १० वर्षसम्म उनी अस्ट्रिया, स्वीजरल्यान्ड, फ्रान्स, अमेरिकाजस्ता देशका सहरमा बसेर रूसी क्रान्तिकारी पत्रिकाहरूमा लेख्दै गए । उनी ३४ वर्षका भए ।
फेब्रुअरी सन् १९१७ मा रूसमा पुँजीवादी क्रान्ति भयो । त्यसबेला उनी क्यानाडामा थिए । जारको गुप्तचरले बेलायत सरकारमार्फत उनलाई क्यानाडामै पक्राउ गर्न दबाब दियो । उनी एक महिना बन्दी भए र रूसको अस्थायी सरकारले उनको रिहाइको माग ग¥यो, उनी छुटे ।
रूसको अस्थायी सरकारको प्रधानमन्त्री पुँजीवादी दलको नेता करेन्स्की थिए । प्रम करेन्स्कीको निम्ति त्रोत्स्की एक आतङ्क लाग्यो र उनी पक्राउ परे । उनी जेलमा बोल्शेविक पार्टीमा सामेल भए र छिट्टै रिहा भए । त्यसपछि अस्थायी सरकारको विरोधको एक बलियो गढ पेट्रोग्राद सोभियतको उनी अध्यक्ष निर्वाचित भए ।
नोभेम्बर सन् १९१७ मा अस्थायी सरकारको पतन भयो र लेनिन जनताको सोभियत मन्त्रिपरिषद्को अध्यक्ष चुनिनुभयो । त्रोत्स्कीलाई नयाँ सरकारको विदेश विभागको मन्त्री बनाइयो । जर्मनीले सोभियत सङ्घमाथि हमलाको निहुँ खोज्दै थियो । सन् १९१८ जनवरी महिनामा जर्मनीले रूसको केही क्षेत्र र युद्धको क्षतिपूर्ति माग्दै थियो । रूसमाथि त्यसबेला धेरै साम्राज्यवादी देशहरूले आक्रमणको अवसर खोज्दै थिए । लेनिन तिनीहरूको एकतालाई टुक्र्याउन र जर्मनीको अन्यायपूर्ण मागहरूलाई अस्थायीरूपमा पूरा गरी पहिले रूसलाई बलियो बनाउन चाहनुहुन्थ्यो । तर, शान्तिको निम्ति लेनिनको उद्देश्यलाई अस्वीकार गर्दै त्रोत्स्कीले आफ्नो पदबाट राजीनामा गरी भर्खरको कम्युनिस्ट सरकार, त्यसको रक्षा र समाजवादको निर्माणलाई खतरा पु¥याउने काम गरे ।
लेनिनले त्रोत्स्कीलाई लालसेनाको नेता बनाउनुभयो । तर, त्रोत्स्कीका समर्थकहरूले सेनामाथि बोल्शेविक पार्टीको नियन्त्रण वा प्रभावको विरोध गरे । प्रतिक्रियावादी सेनाको आत्मसमर्पणपछि त्रोत्स्की पार्टी केन्द्रीय समितिको सदस्यमा चुनिए । लेनिनलाई सन् १९२२ मे महिनामा पहिलो हृदयघात भयो । सन् १९२२ मा लेनिनले स्तालिनलाई नयाँ पद, केन्द्रीय समितिको महासचिवमा नियुक्त गर्नुभयो । सन् १९२४ मा लेनिनलाई तेस्रो हृदयघात भयो । त्यही वर्षको २१ जनवरीमा उहाँ बित्नुभयो । सन् १९२७ को अक्टोबरमा त्रोत्स्कीलाई पार्टी केन्द्रीय सदस्यबाट निष्काशन गरियो र सन् १९२९ फेब्रुअरीमा कजाकिस्तानको अल्मा–अटामा निष्काशन गरियो । त्यसपछि उनी टर्की, फ्रान्स, नर्वे र मेक्सिको नगर गरी सात वर्ष घुमिरहे । ३० अगस्त १९४० मा मेक्सिको नगरमा बन्चरोको प्रहारबाट उनी ६० वर्षको उमेरमा मारिए ।
कामेनेभ
कामेनेभ सन् १८८३ जुलाई १८ मा मस्कोमा जन्मेका थिए । उनका बुबा एक रेल्वे मजदुर थिए । १९०१ मा १८ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीमा सामेल भएका थिए । उनी जर्जियाको तिफलिस भन्ने विद्यालयमा भर्ना भए र पछि मस्को विश्वविद्यालयमा अध्ययन गरे । तर, १९०२ मा पक्राउपछि अध्ययनमा निरन्तरता पाएनन् र पिटर्सवर्ग, मस्को र तिफलिसमा कार्यकर्ता भई काम गरे ।
कामेनेभले त्रोत्स्कीकी बहिनी ओल्गा (इनिब) कामेनेभसँग १९०० अर्थात् १७ वर्षको उमेरमा विवाह गरेका थिए ।
सन् १९०२ मा कामेनेभले विदेशमा गएर ‘रूसी समाजवादी प्रजातान्त्रिक’ दलका नेता लेनिनसँग भेटेका थिए । पेरिसमा गएर ‘फिलिङ्गो’ समूहसँग भेटे । सन् १९०५ मा ‘रूसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी’ को लन्डनमा तेस्रो महाअधिवेशनमा भाग लिएका थिए । सन् १९०५ को रूसी क्रान्तिमा उनी पिटर्सवर्गमा सामेल भएका थिए । त्यसपछि उनले लन्डनमा रूसी समाजवादी–प्रजातान्त्रिक मजदुर पार्टीको पाचौँ महाअधिवेशनमा भाग लिए तथा सन् १९०७ को मई महिनामा बोल्शेविक केन्द्रको पार्टी केन्द्रीय समितिमा निर्वाचित भए । रूस फर्कँदा उनी पक्राउ परे तथा १९०८ मा जेलबाट छुटेपछि उनी विदेश गई लेनिनको ‘सर्वहारा’ पत्रिकाका सहयोगी बने ।
सन् १९०८ को मध्यमा लेनिनसँग अलेक्जेन्डर बोग्दानोभसँग मतभेद भएपछि कामेनेभ र जिनोभियव लेनिनका सहयोगी बने । तिनीहरूले बोेग्दानोभलाई निष्कासन गर्न मद्दत गरे ।
पेरिसमा १९१० मा बोग्दानोभले केही मेन्सेविक गुटसँग मिलेर पुनः एकताको प्रस्ताव राखे । लेनिनले त्यस प्रस्तावको कडा विरोध गर्नुभएको थियो । कामेनेभ र जिनोभित्र्ले दोधारे चरित्र देखाए । लेनिनको घोषणामा दुवै ‘भगुवा’ थिए ।
सन् १९१८ मा कामेनेभ मस्को सोभियतको अध्यक्ष भए तथा छिट्टै श्रम र रक्षा परिषद्मा लेनिनको सहायक बने । १९१९ मार्चमा उनी पहिले राजनैतिक समितिको पूर्ण सदस्य छानिए । उनको व्यक्तिगत सम्बन्ध उनको जेठान त्रोत्स्कीसँग १९१७ को क्रान्ति, रूसी गृहयुद्ध र सन् १९२० पछिसम्म पनि राम्रो थियो । त्यो सम्बन्ध पछिल्लो १५ वर्षसम्म थियो । जिनोभियव उनीभन्दा बढी महत्वाकाङ्क्षी थिए । अध्ययनले तिनीहरू कहिले फरक देखिन्थे र कहिले एक हुन्थे ।
सन् १९२४ मा त्रोत्स्कीले सन् १९१७ को क्रान्तिबारे ‘जिनोभियव र कामेनेभ सत्ता कब्जा गर्नेबारे विरोधमा थिए’ भनी लेखे । त्रोत्स्कीको विरोधमा ती दुवै स्तालिनसँग मिले । रूसी गृहयुद्धमा, सेनाको मन्त्रीबाट दिएको राजीनामा र जहाजको विषयमा सन् १९२५ को जनवरीमा क्रान्तिकारी सैनिक परिषद्को अध्यक्ष पदबाट राजीनामा गरेको हुँदा त्रोत्स्कीको प्रतिष्ठामा ठुलो धक्का लागेको थियो । जिनोभियवले त्रोत्स्कीलाई कम्युनिस्ट पार्टीबाट निकाल्न माग गरेका थिए । तर, स्तालिनले बडो कुशलतापूर्वक भद्रताको भूमिका खेल्नुभयो ।
सन् १९२५ मा त्रोत्स्की किनारा लागेपछि स्तालिन, जिनोभियव र कामेनेभ एक ठाउँमा भए र पार्टीको मुखपत्र ‘सत्य’ का सम्पादक बुखारिन र सोभियत प्रधानमन्त्री राइकोभलाई हटाए । जिनोभियव र कामेनेभ लेनिनकी पत्नी (विधवा) लाई उक्साउन पुगे ।
डिसेम्बर १९२५ मा चौधौँ पार्टी महाअधिवेशनमा जिनोभियव र कामेनेभले स्तालिनलाई पार्टी महासचिवबाट हटाउने निर्णय गराउने पक्षमा थिए, जुन कुरा असम्भव थियो ।
जिनोभियव
जिनोभियव रूसको युक्रेनमा २३ सेप्टेम्बर १८८३ मा जन्मेका थिए । उनका बुबा एक डेरी किसान थिए । उनको औपचारिक शिक्षा थिएन, घरमै पढेर १४ वर्षको उमेरमा एक कर्मचारी भएका थिए ।
सन् १९०१ मा उनी रूसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए र मजदुर सङ्घको गतिविधिमा लागे । प्रहरीको पक्राउ र यातनाबाट जोगिन उनी रूसबाट जर्मनी (बर्लिन) हुँदै पेरिस पुगे, सन् १९०३ मा उनी स्वीजरल्यान्ड पुगे तथा लेनिन र प्लेखानोभ सँग भेटे ।
सन् १९०३ को शरद ऋतुमा जिनोभियव रूस फर्की ‘फिलिङ्गो’ को प्रकाशनमा लागे । पछि स्वीजरल्यान्डमा गई वर्न विश्वविद्यालयमा रसायनशास्त्र पढे । उनले बोल्शेविक पत्रिका ‘भेरोड’ मा योगदान गरे ।
सन् १९०५ को क्रान्तिमा जिनोभियव रूस फर्की पिटर्सवर्गको आम हडतालमा काम गरे । गम्भीर मुटुको व्यथाको कारण उनी सङ्घर्ष छोडेर उपचार गर्न विदेश गए ।
सन् १९०६ को मार्च महिनामा रूस फर्की पिटर्सवर्गको धातु मजदुर गतिविधिमा भाग लिए तथा बोल्शेविक भएर पनि पिटर्सवर्गको मजदुर र सशस्त्र सङ्घर्षलाई रोक्न मेन्सेविकहरूसँग लागे ।
सन् १९३५ मा सर्गेइ किरोभ (Sergey kirov) को हत्याको आरोपमा जिनोभियव पक्राउ परे अपराधमा संलग्न हुँदा १० वर्षको जेल सजाय भयो र पछि स्तालिनको हत्या गर्न आतङ्कवादी सङ्गठन बनाएको अभियोगमा जिनोभियव र सरकारमा रहेका अन्य नेताहरू समेत अपराधमा संलग्न पाएको हुँदा २५ अगस्त १९३६ मा मस्कोमा ज्यान सजाय भयो ।
बुखारिन
निकोलाई तनोभिच बुखारिन ९ अक्टोबर १८८८ मा मस्कोमा जन्मेका थिए । उनी एक प्राथमिक विद्यालयका शिक्षक थिए । सन् १९०५ को रूसी क्रान्तिको बेला उनी एक विद्यार्थी कार्यकर्ता थिए । त्यसबेला उनी १७ वर्षका थिए ।
१८ वर्षको उमेरमा अर्थात् सन् १९०६ मा उनी रूसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी, बोल्शेविक गुटको सदस्य भए । १९०९ मा १९ वर्षको उमेरमा उनी मस्कोमा भएको राष्ट्रिय युवा सम्मेलनमा सहभागी भए ।
सन् १९०८ मा उनी २० वर्षको उमेरमा पार्टीको मस्को समितिको सदस्य भए । त्यसबेला त्यस्ता पार्टी समितिहरूमा जारका गुप्तचरहरू छ्याप्छ्याप्ती हुने गर्थे । उनी एक समितिका सक्रिय कार्यकर्ता भएको हुँदा गुप्तचरहरू पछि लाग्नु स्वाभाविक थियो ।
२३ वर्षको उमेरमा सन् १९११ मा केही समयको निम्ति उनी पक्राउ परे तथा निर्वासनबाटै उनी जर्मनीको हानोभर सहरमा भागे ।
सन् १९१२ मा उनले पोल्यान्डको काक्रोमा लेनिनसँग पहिलो पटक भेटे । निर्वासनमै उनले लेनिनको ‘साम्राज्यवाद – पुँजीवादको चरम अवस्था’ भन्ने पुस्तक पढेका थिए । त्यस पुस्तकबाट प्रभावित भएर उनले ‘साम्राज्यवाद र विश्वको अर्थतन्त्र’ भन्ने लेख लेखे । उनमा युरोपेली वामपन्थी नेताहरूको प्रभाव परेको थियो । उनी खास गरेर अस्ट्रियाली माक्र्सवादी साहित्यबाट आकर्षित थिए । त्यसकै सिलसिलामा उनी गैर–माक्र्सवादी आर्थिक सिद्धान्तकारहरूको नजिक पुगे ।
लेनिनसँग बरोबर छलफल हुन्थ्यो र कहिलेकाहीँ चर्काचर्की पनि पथ्र्यो भन्ने गरिन्छ । १६ अक्टोबर १९१६ मा बुखारिन न्युयोर्क पुगे । त्यहाँ उनले ‘नयाँ विश्व’ (नोई मिर) भन्ने रूसी समाचारपत्र प्रकाशित गरे । त्यहीँ उनको लियोन त्रोत्स्की र अलेक्जान्द्रा कोलोन्ताईसँग सङ्गत भयो । त्रोत्स्की जनवरी १९१७ मा न्युयोर्क पुगेका थिए र बुखारिन २८ वर्षका थिए ।
सन् १९१७ को रूसको फेब्रुअरी क्रान्तिबारे उनले न्युयोर्कमै समाचार सुने र उनी जापानबाट रूस पुगे अनि बोल्शेविक पार्टीको नेतृत्व तह केन्द्रीय समितिमा पुगे ।
(पत्रकार समाज नेपालले प्रकाशित गरेको स्तालिनका अङ्गरक्षक ए. टी. रेबिनको संस्मरण पुस्तकको नेपाली रूपान्तरण ‘स्तालिनसँग’ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको भूमिका पाठकको अध्ययनको निम्ति प्रकाशित गरिएको छ । भूमिकाको शीर्षक हामीले राखेका हौँ ।–सम्पादक)
Leave a Reply