भर्खरै :

को हुन् डायज कानल ?

क्युवाका नयाँ राष्ट्रपति डायज कानलको जन्म सन् १९६० को अप्रिल २० मा भिल्ला क्लाराको प्लासिटास शहरमा भएको थियो । फिडेल क्यास्ट्रोले हवाना कब्जा गरेको एक वर्षपछि उनको जन्म भएको थियो । उनका बुवा विद्यालयका शिक्षक र आमा मेकानिकल परियोजनाका मजदुर थिए ।
कानलले सन् १९८२ मा लास भिल्लास केन्द्रीय विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्जिनियर उत्तीर्ण गरे । त्यसपछि उनी क्युवाली क्रान्तिकारी सशस्त्र सेनामा भर्ती भए । राष्ट्रपति पदमा निर्वाचित हुनुअघि उनी क्युवाका प्रथम उपराष्ट्रपति थिए । उनी सन् २००३ देखि यता क्युवाली कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य हुन् । सन् २००९ देखि २०१२ सम्म उनी क्युवाली उच्च शिक्षा मन्त्री थिए ।
सन् १९९३ देखि डायज–कानलले क्युवाली कम्युनिष्ट पार्टीमा काम गर्न थाले । त्यसको एक वर्षपश्चात क्युवाली कम्युनिष्ट पार्टीको भिल्ला क्लारा प्रान्तको प्रथम सचिव बने । सो पदमा रहेर उनले परेको कार्यको सर्वत्र प्रशंसा भएको थियो । सन् २००३ मा उनी होल्गुइन प्रान्तमा कम्युनिष्ट पार्टीको प्रथम सचिव पदमा चुनिए । सन् २००३ मै उनी पार्टीको पोलिटव्युरो सदस्यमा निर्वाचित भए । कानललाई कम उमेरमै महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गर्न सफल भएको नेताका रुपमा हेरिएको छ ।
क्युवाली समाजवादी आन्दोलनको नेतृत्व पदमा पुगिसकेपछि उनले आफू फिडेल र राउल क्यास्ट्रोको क्रान्तिकारी भावनाप्रति इमान्दार रहने प्रतिबद्धता व्यक्त गरे ।
डायज हाल आफ्नी श्रीमती लिस क्युस्टासँग बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *