भर्खरै :

तेल खानी कब्जा गर्न भेनेजुयलामाथि अमेरिकी आक्रमण

तेल खानी कब्जा गर्न भेनेजुयलामाथि अमेरिकी आक्रमण

संयुक्त राज्य अमेरिकाले भेनेजुयलाको तेलखानी कब्जा गर्ने नियतले नै राति अचानक आक्रमण गरेको हो; राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सत्ता नछोडे या अरुलाई हस्तान्तरण नगरे अमेरिकाले नै भेनेजुयलाको प्रशासन सम्हाल्ने चेतावनी दिएका छन् । अमेरिकी आक्रमण, राष्ट्रपति नियन्त्रण र आफूले नै भेनेजुयलाको प्रशासन सम्हाल्ने ट्रम्पको धम्कीले अमेरिका आतङ्कवादी र ट्रम्प आतङ्ककारी भएको पुष्टि हुन्छ । लागूऔषध कारोबार अमेरिकी राष्ट्रपतिको निहुँमात्र हो ।
अमेरिकाले भेनेजुयलामा आक्रमण गरेपछि तेल कब्जा गरेर अमेरिकी कम्पनीहरूको हातमा दिने ट्रम्पको धम्कीले लागूऔषधको कुरा बहानामात्र भएको पुष्टि हुन्छ । लागूऔषध कारोबारको प्रसङ्ग उठाएर अमेरिकाले भेनेजुयलामा आक्रमण गर्नुपर्ने होइन, त्यहाँको राष्ट्रपतिलाई अमेरिकी सेनाको टोलीले नियन्त्रणमा लिनुपर्ने होइन । यसले अमेरिकी राष्ट्रपति ट्रम्प अन्तर्राष्ट्रिय अराजकतावादको बाटोमा लागेको प्रस्ट छ । उनले स्वाधीन र सार्वभौम देशमा आक्रमण गरेर असुरक्षित र आतङ्ककित बनाउने कुत्सित प्रयास गरेको स्पष्ट छ ।
बलियो देशले निर्बलियो देशलाई जे पनि गर्न पाउने कस्तो अधिकार ? जे गरे पनि टुलुटलु हेरेर बस्ने कस्तो संयुक्त राष्ट्र सङ्घ ! देश ध्वस्त पार्दै नरसंहार गर्दै हिंड्ने अमेरिकालाई संरा सङ्घले खबरदारी र विरोध गरेर पुग्दैन† संसारका स्वाधीन र देशभक्त देशहरू मिलेर आक्रमण गर्नुपर्छ, आतङ्ककारीको आरोप लगाएर अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्छ र कडा कारबाही गर्नुपर्छ । अमेरिकाले धेरै देशमा आक्रमण गरिसकेको छ, देश ध्वस्त पारेर अर्थतन्त्र कमजोर बनाएको छ; राष्ट्र प्रमुखको हत्या गरिसकेको छ । तर, संरा अमेरिका र अमेरिकी राष्ट्रपतिप्रति संयुक्त राष्ट्र सङ्घ किन मौन ! आतङ्क मच्चाउने अमेरिकी राष्ट्रपतिको विरोध गर्नु भनेको त उनीहरूको निम्ति गैडालाई फूलले हान्नेसरि भएको छ । कुनै शक्तिशाली देशले आफ्नो सैन्य र राजनीति शक्ति प्रयोग गरेर अर्को स्वाधीन र सार्वभौम देशको निर्वाचित सरकारलाई अपदस्थ गर्नु निन्दनीय छ । अमेरिकी यो अभ्यासलाई छुट दियो भने अमेरिकी राष्ट्रपतिले पछि विश्वका अरु सानो देशमा पनि शक्ति प्रयोग गरेर देशलाई ध्वस्त पार्ने र देशका प्रमुखहरूलाई सत्ताच्युत गराउने, बन्दी बनाउने र आफूले भनेको नमानेमा फासी दिन पछि पर्ने छैन ।
अमेरिकी साम्राज्यवादी संसारभरका न्यायप्रेमी देशहरूले विरोध गरिरहेका छन् । यस अर्थमा संसारमा आतङ्क मच्चाएर असुरक्षित बनाउने अमेरिका एक्लिँदै छ । संसारभर साम्राज्यवादी देश अमेरिकाको विरोधले अमेरिका एक्लिँदै गएको थाहा हुन्छ । अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पाउन लालायित राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय अपराधीको संज्ञा दिनुपर्छ । निर्वाचित सरकार प्रमुखलाई हटाएर अल्पमतका विपक्षी दलका नेतालाई राष्ट्रपति बनाउने गैरजिम्मेवारी अभिव्यक्ति दिने ट्रम्पको अहङ्कार र हस्तक्षेप कसरी स्वीकार्य हुन्छ ? अस्थिर मनका राष्ट्रपति ट्रम्पले क्यानाडालाई अमेरिकाको प्रान्त बनाउने अभिव्यक्ति दिए । अरु देशलाई प्रान्त बनाउने, अरु देशमा आक्रमण गरेर राष्ट्र प्रमुखलाई सत्ताच्युत गर्ने शासक कसरी प्रजातान्त्रिक हुन्छ, शान्तिप्रेमी र देशभक्त हुन्छ ? अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की कुनै पनि स्वाभिमानी देश र सार्वभौम देशका राष्ट्र प्रमुख र जनतालाई पाच्य हुनेछैन । अरु देशमा आतङ्क मच्चाउँदै हिँड्ने राष्ट्रप्रमुख कसरी सद्दे हुन्छ ?
भेनेजुयलामाथिको आक्रमण गलत हो भने राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएर कतै लगेको हो भने त्यसको विरोध संसारका सबै सरकार र राजनीतिक दलले गर्नुपर्छ । संसारका सबै सञ्चारकर्मी र पत्रिकाले विरोध गर्नुपर्छ । आज भेनेजुयलामाथि भएको आक्रमण भोलि अर्को देशमा नहोला भन्न सकिन्न । अर्को देशका राष्ट्र प्रमुखलाई कब्जामा लिएर देशलाई ध्वस्त पार्न सकिन्छ । संसारभरका दल र जनताले विरोध गरेनन् भने अमेरिकी राष्ट्रपतिमा थप हौसला मिल्नेछ । आक्रामक नीति र आक्रमणलाई कसैले पनि हौसला दिनुहुँदैन† त्यसलाई हौसला होइन निरुत्साहित गर्नुपर्छ । निरुत्साहित गरेर संसारका जनतामाझ उदाङ्ग्याउनुपर्छ । उदाङ्ग्याएर उनको कर्तुत संसारलाई चिनाउनुपर्छ । ठुला या शक्तिशाली देशले त संसारका जनतालाई शािन्तको सन्देश छर्ने हो; विकासमा टेवा पु¥याउने हो† एक आपसमा सद्भाव फैलाएर मित्रता बढाउने हो । मित्रता बढाएर एक अर्कासित सम्बन्ध गहिरो बनाउने हो । यसतर्फ विशेषतः संयुक्त राष्ट्र सङ्घ गम्भीर हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घले ट्रम्पमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *