भर्खरै :

सैन्य हमला, अन्तर्राष्ट्रिय कानुन र नेपालका दलहरू

सैन्य हमला, अन्तर्राष्ट्रिय कानुन र नेपालका दलहरू

यतिखेर विश्वको ध्यान केही दिन अगाडि संरा अमेरिकाले गरेको एउटा सैन्य हमलामा केन्द्रित भएको छ । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र र सार्वभौम मुलुक भेनेजुयलामाथि गरेको सैन्य आक्रमणको चर्चाले नेपालको राजनीति मात्रै होइन विश्वको ध्यान तानेको छ । एउटा दक्षिण अमेरिकी मुलुक, जहाँको नेतृत्व वामपन्थी दलको हातमा छ, त्यस देशमाथि आज संसारकै महाशक्ति राष्ट्र भनिएको मुलुक संयुक्त राज्य अमेरिकाले सैन्य हमला गरेको छ । निकोलस मादुरोको नेतृत्वमा रहेको उक्त दक्षिण अमेरिकी मुलुक भेनेजुयलाले आज अमेरिकी गिद्धेदृष्टिका कारण सैन्य हमलाको सामना गर्नुपरेको छ । सन् २०१२ मा वामपन्थी नेता ह्युगो चाभेजकै पालामा उत्तराधिकारी घोषणा गरेका निर्वाचित राष्ट्रपति मादुरोले चाभेजको मृत्युपछि सत्ताको नेतृत्व गर्न पुगेका मादुरो त्यसपछि निरन्तर अमेरिकी साम्राज्यवादको निशानामा प¥यो । चाभेज अमेरिकी साम्राज्यवादविरोधी प्रखर नेताको रूपमा परिचित थिए । मादुरोले चाभेजकै बाटो पछ्याउँदै आएको स्पष्ट छ । आप्mनो चाभेजकै अनुयायीको छवि बनाएका राष्ट्रपति मादुरो शासित देशमा अमेरिकाले ‘आतङ्ककारी शैली’ मा सैन्य आक्रमण गरेको हो ।
विगतमा भेनेजुयलामा वामपन्थीहरूको नेतृत्वमा आएको सरकारले त्यहाँस्थित ठुला तेलखानी उद्योग कलकारखानाहरू राष्ट्रियकरण गरेको थियो । भेनेजुयला तेलको अपार भण्डार रहेको ठाउँ हो । सो देशमा तेल कुवाहरुमा अमेरिकी कम्पनीहरुको प्रभुत्व थियो । ती तेल कुवाहरु राष्ट्रियकरण गरेपछि अमेरिकी सत्तालाई त्यसले झस्काएको थियो । पुँजीवादी विश्वको नेताको रूपमा रहेको अमेरिकाको लागि वामपन्थी सरकारको उक्त कदम स्वीकार्य थिएन । त्यसपश्चात् अमेरिका भेनेजुयलाका सरकारलाई अपदस्थ गर्ने वा आप्mनो कठपुतली सरकार स्थापना गर्न प्रयासरत थियो ।
आज लामो समयदेखि अमेरिकाले एउटा बहाना पाएझैँ भयो । उनले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले लागूऔषधको तस्कर गरेको आधारहीन आरोप लगाए । भेनेजुयलासँग भएको तेलमा विभिन्न अन्य मुलुकहरूले ठुलो परिमाणमा तेल उपभोग गर्ने गरेको र त्यसले अमेरिकाको डलरको मूल्य घट्ने स्वयं अमेरिकी विश्लेषकहरूका दाबीका कारण उनीहरु त्रसित थिए । ठुलो परिमाणको तेललाई आप्mनो नियन्त्रणमा लिन उक्त कदम उठाएको पुष्टि हुन्छ । संसारकै पुँजीवादी र दक्षिणपन्थीहरूको नेतृत्व गरेको अमेरिकाले कुनै पनि मुलुकमा कम्युनिस्ट र वामपन्थीहरूको सरकारलाई ‘तारो’ बनाउँदै आएको छ । ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने नेपाली उखानझैँ भेनेजुयाली राष्ट्रपति मादुरोविरुद्ध लागूऔषधको निहुँमा राजधानी काराकासमा सैन्य हमला गर्नुका साथै राष्ट्रपति र उनकी पत्नीसमेतलाई पक्राउ गरी हतकडी लगाई अमेरिका पु¥याइएको खबर सञ्चारमाध्यममा फैलिनुले अमेरिकी दादागिरी छताछुल्ल हुन पुगेको छ ।
यस आक्रमणमा परी केही घण्टामै दर्जनौँ भेनेजुयाली नागरिकको मृत्यु भएको समाचार बाहिर आएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकी सरकारले भेनेजुयाली जनताप्रति गरेको आक्रमण र बर्बरतापूर्ण गतिविधि अमानवीय छ, सार्वभौमसत्ता सम्पन्न मुलुकका जनतालाई अर्को देशका राष्ट्रप्रमुखको यस किसिमको गतिविधि निन्दनीय छ ।
अमेरिका आफू विश्वको एक मात्र धु्रवीय मुलुक बन्ने अभियानअन्तर्गत यो घटना घट्न पुगेको विश्लेषकहरूको दाबी छ । आजको संसारमा तेलको महत्व दिनप्रतिदिन बढ्दै जानुले अमेरिकाको ध्यान खिचेको हो । आखिरमा भेनेजुयलाको तेलकै लागि अमेरिकाले उनीविरुद्ध आक्रामक गतिविधि गरेको हो । तेलको प्रशस्त भण्डार रहेको भेनेजुयलामा अब तेल कब्जा गर्ने उनको उद्देश्य अस्थायी रूपमा पूरा भएको छ । जबसम्म भेनेजुयलामा मादुरो सरकार रहन्छ, तबसम्म त्यहाँको तेलमाथि आप्mनो कब्जा जमाउन नसक्ने राम्ररी बुझेको अमेरिका र ट्रम्प सरकारले अन्ततः देश कब्जा गरी कठपुतली सरकार स्थापना गरी आप्mनो मातहतमा सरकार चलाउने प्रक्रिया आक्रमण गरेको केही घण्टाबाटै सुरु गरेको छ । अमेरिकाको यस किसिमको आक्रामक शैलीविरुद्ध भेनेजुयाली जनता जीवनमरणको सङ्घर्ष गर्दै छन् ।
एउटा स्वतन्त्र देशमाथि अर्को कुनै देशले कुनै पनि बहानामा आक्रमण वा हस्तक्षेप गर्न पाइँदैन । यो संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत छ । यो आतङ्कवाद हो । यस किसिमको आतङ्कवादी गतिविधि सार्वभौम मुलुकको लागि स्वीकार्य रहने गर्दैन । कुनै पनि देशको सीमाभित्र गएर आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत छ । तर, संयुक्त राज्य अमेरिकाले त्यसको पालना गरेको देखिएन । आज शक्तिको आडमा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन तोड्नुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भएको अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन् ।
अमेरिकी आक्रमणको पक्ष र विपक्षमा यतिखेर संसारका देशहरू विभाजित भएका छन् । केही युरोपेली र अमेरिकी कठपुतली सरकार रहेका देशहरू आज अमेरिकाको यस कदमलाई सकारात्मक मानिरहेका छन् भने विश्वका अधिकांश देशहरूले अमेरिकी कदम गलत भएको टिप्पणी गरिरहेका छन् । खासगरी फ्रान्स, जर्मन, इजरायलजस्ता पश्चिमा मुलुकहरूले भेनेजुयलामाथि अमेरिकी आक्रमणको खुलेर प्रशंसा गरेको पाइएको छ । ती देशहरूले विगतमा पनि अमेरिकाले गर्ने हरेक प्रकारका अमानवीय र आतङ्ककारी गतिविधिलाई प्रशंसा गर्ने गरेका थिए । मानौँ, ती पश्चिमा देशहरूको धर्म नै अमेरिकाको प्रशंसा गर्नु रहेको छ भने रुस, इरान, निकारागुवा, ब्राजिल, दक्षिण अफ्रिका, चीन, क्युवा, उत्तर कोरियालगायतका कम्युनिस्ट मुलुकहरूले भेनेजुयलाविरुद्धको आक्रमणको विरोधमा खुला रूपमा उत्रिएका छन् ।
यस सन्दर्भमा नेपाल सरकारको आजसम्म कुनै विज्ञप्ति आएको छैन । नेपालजस्ता साना र सार्वभौम मुलुकले भेनेजुयलाको पक्षमा आप्mनो आवाज उठाउनु आवश्यक भएको जनताबिच चर्चा छ ।
के नेपाल सरकारले यस विषयमा जनताको माग र चाहना समेटेर कुनै वक्तव्य बाहिर ल्याउला ? चासोको विषय छ । भदौमा भएको आन्दोलनपश्चात् जुन सरकार गठन भएको छ, सो सरकार स्वयं अमेरिकी योजनाबमोजिम भएकोमा शङ्का छैन । अन्तरिम सरकारले जनताको भावनाबमोजिम र एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको पक्षमा आप्mनो आवाज उठाउने नै छ ।
यस प्रकारको वक्तव्य सार्वजनिक गर्नेमा नेपालका ठुला भनिएका राजनीतिक दलहरू मौन देखिएका छन् । शक्तिको होइन विचारको पछाडि लाग्नुपर्ने नेताहरू यतिखेर अल्मलिनु ठीक होइन । देश हितविपरीतका एमसीसी परियोजनामा हस्ताक्षर गर्ने दलका नेताहरू नैतिक बन्धनमा बाँधिएको धारणा सार्वजनिक गर्छन् । नेपालका न्यायप्रेमी र स्वतन्त्रताप्रेमी भनिएका जनताले दलहरूलाई राम्ररी चिन्नु र बुझ्नु आवश्यक छ । नेपालमा बसेर विदेशीको लागि काम गर्ने दल र त्यसका नेताहरूले नेपाल र नेपालीको हितमा काम गर्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *