भर्खरै :

ट्रम्प विश्वका साम्राज्यवादी अधिनायक

ट्रम्प विश्वका साम्राज्यवादी अधिनायक

भेनेजुयलामाथि भएको अमेरिकी सैन्य आक्रमणलाई संसारका विभिन्न मुलुकले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन भएको टिप्पणी गर्दै विरोध र निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘जङ्गली कानुन’ लागु गरेर भेनेजुयलाको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय मर्यादा उल्लङ्घन गरे । शासन परिवर्तनको लागि गरिएको यो सुनियोजित सैन्य हमलाले कुनै पनि सार्वभौम देशका राष्ट्राध्यक्ष सुरक्षित नभएको सन्देश गएको छ । भेनेजुयलामा सैन्य आक्रमणलगत्तै राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प भेनेजुयलाको सङ्क्रमणकालीन अवस्थामा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने चेतावनी दिन पनि पछि परेनन् । नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन गर्ने धम्की दिन पछि नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वसामु उदाङ्गिएका छन् । अरु स्वाधीन र सार्वभौम देशका राष्ट्रपतिलाई नियन्त्रणमा लिएर शासन गर्ने अभिव्यक्ति दिने ट्रम्प विश्वका साम्राज्यवादी अधिनायकको रूपमा देखिएका छन् । राष्ट्रपतिको जिम्मेवारी समालेका उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी कारबाहीको कडा भत्र्सना गरेकी छिन् । उनले भनिन्, “अमेरिकी सैन्य कारबाही भेनेजुयलाको ऊर्जा, खनिज र प्राकृतिक स्रोत कब्जा गर्ने बहानामात्र हो ।”
आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका ट्रम्प अप्रजातान्त्रिक, अमर्यादित र क्रूर ढङ्गले सैन्य हमला गरेर नरसंहार र ध्वंसक बनेका छन् । यो कदम विश्वका कुनै राष्ट्र र जनताको निम्ति शुभ सङ्केत होइन । देश ध्वस्त बनाउने, निर्वाचित राष्ट्रपतिलाई नियन्त्रणमा लिने ट्रम्प र अमेरिकी सेनालाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन संयुक्त राष्ट्र सङ्घले पहल गर्नुपर्छ । भेनेजुयलाको विकास गर्ने, जनताको सुखको बाटो रोज्ने काम ट्रम्पको होइन भेनेजुयला सरकार र भेनेजुयाली जनताको हो । एउटा देशका शासकले अर्काे देशमाथि शासन गर्ने, तेलखानी कब्जा गर्ने ट्रम्पको दाबी एक क्रूर शासकले मात्र गर्छ । संसारका सबै देशलाई एक–एक पाइला गरेर आफ्नो अधीनमा राख्ने ट्रम्पलाई कतिले ‘दादागिरी’ को संज्ञा दिएका छन् । अमेरिकाकै विभिन्न सहरमा अमेरिकी जनताले अमेरिकी सैन्य हमलाको विरोध गरेका छन् । अमेरिकाको लस एन्जलस, न्युयोर्क, वासिङटन डीसी र लास भेगासलगायतका स्थानमा प्रदर्शनकारीले ‘भेनेजुयलामा बम विस्फोट बन्द गर’, ‘तेलका लागि रगत नबगाऊ’, ‘युद्ध निम्त्याउने ट्रम्प चाहिँदैन’ आदि नारा लगाएका थिए । ‘द मस्को टाइम्स’ ले रुसी विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै भनेको छ, “अमेरिकाले दिएका तर्कहरू आधारहीन छन्† यो विश्व शान्तिका लागि गम्भीर खतरा हो ।”
भेनेजुयलामाथिको सैन्य आक्रमण अमेरिकाको आधिपत्यको पराकाष्ठा हो । संसारका विभिन्न मुलुकका जनताको चौतर्फी विरोध भए पनि ट्रम्पले भेनेजुयलामा फेरि हमला गर्ने चेतावनी दिएका छन् । अमेरिकी सरकारको उठबसमा नबस्ने, साम्राज्यवादविरोधी देशका राष्ट्र प्रमुख र जनतालाई सिध्याउने फासीवादी कदमको विरोध मात्र होइन अन्त्य गर्न संसारका देश र जनता एकजुट हुन जरुरी छ । अमेरिकाले ‘लागूऔषधको मुद्दा’ लाई मुख्य रणनीतिक औजार बनाएर अरु देशको सत्ता हातमा लिने या आफ्नो कठपुतली सरकार बनाउने ट्रम्पको साम्राज्यनीतिको अन्त्य हुनु जरुरी छ । ट्रम्पजस्ता साम्राज्यवादी शासकहरू रहेसम्म विश्वका जनताले शान्ति पाउने छैनन्† सुरक्षित हुन पाउने छैनन् ।
समाचार स्रोतअनुसार अमेरिकी जासुसी निकायले केही महिनादेखि भेनेजुयलाका राष्ट्रपतिको हरेक गतिविधि नियालिरहेका थिए । यस्ता गुप्तचरहरू विभिन्न देशमा छिराउन कहिले आर्थिक सहयोग, कहिले विकास योजना ल्याएर नौटङ्की गरिरहेका हुन्छन् । एमसीसी सम्झौता नेपालमा यस्तै गुप्तचर खेलाउने बाटो हो । यस्ता गुप्तचरहरू कति, कहाँ, कसले खेलाइरहेका हुन्छन् ? थाहै हुँदैन । विदेशीहरूको घुसपैठ भनेको यही हो । यस्तो सबै खबर नेपालको गुप्तचर विभागले थाहा पाउनुपर्ने हो । यही घुसपैठका कारण कसैले नसोचेझैँ नेपालमा नराम्रोसँग दुर्घटना भयो । खरबौँ रकम बराबरको देशको सम्पत्ति खरानी भयो । अतः विदेशीहरूको चलखेल, घुसपैठप्रति सरकार, राजनीतिक दल र जनता जहिल्यै चनाखो र गम्भीर हुनुपर्छ । विदेशी दलालहरूलाई नेपाल र नेपालीको माया हुँदैन; विकासप्रति चासो हुँदैन । देशमा अन्तद्र्वन्द्व बढाउने, देशलाई कमजोर बनाउने कुत्सित प्रयास उनीहरूले गरिरहेका हुन्छन् । जोशिला जाँगरिला भनेर सिद्धान्त र विचारले नभिजेका युवाहरूले देशमा केही गर्छन् भनेर छोडेमा, उनीहरूप्रति सहानुभूति राखेमा भोलि देशको कस्तो दुर्गति हुन्छ भन्नेतर्फ पनि व्यापक जनता सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *