अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पुस १९ गते तद्नुसार सन् २०२६ जनवरी ३ को राति २ बजे ल्याटिन अमेरिकी देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले बर्बर सैनिक हमला ग¥यो । राष्ट्रपति निकोलस मादुरो दम्पत्तिलाई अपहरण गरी सैनिक विमानमार्फत अमेरिका लगिएको छ । यसको विरोधमा संसारका प्रजातन्त्रप्रेमी देश र जनताले अमेरिकी दूतावासअगाडि र प्रमुख सहरमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रपति निकोलस मादुरोलाई स–सम्मान फिर्ता गर, भेनेजुयलामाथि अमेरिकी सैनिक आक्रमण बन्द गर, विश्वमा अमेरिकी दादागिरी बन्द गर आदि नारा लगाउँदै विरोध प्रदर्शनहरू गरिरहेका छन् । यो विरोधको लहर आँधीसरि विश्वको कुनाकाप्चामा फैलिरहेको छ । यसको विरोधमा विश्वमा उदाउँदो शक्ति राष्ट्रहरू चीन, रुस, उत्तर कोरिया, इरान, क्युवा, कोलम्बिया, टर्की, स्पेन, ब्राजिललगायतका देशहरूले विरोध गर्दै कडा आपत्ति जनाइसकेका छन् ।
भेनेजुयला तेलको भण्डार भएको धनी स्वतन्त्र र सार्वभौम देश हो । राष्ट्रपति निकोलस मादुरो वामपन्थी झुकाव भएका देशभक्त नेता थिए । भेनेजुयलाको राजधानी काराकसस्थित निवासबाट अपहरण शैलीमा सैनिक आक्रमण गरी सैनिक विमानमा अमेरिका लगेको तस्बिर
सञ्चारमाध्यममा आयो । हिजो अमेरिकी साम्राज्यको आदेश पालना नगर्ने पनामाका राष्ट्रपति जनरल म्यानुयल आन्टोनियो नोरियगालाई पनि यस्तै नियन्त्रणमा अमेरिका लगी बेपत्ता पारेका थिए । चिल्लीका साल्भाडोर एयण्डे, इराकका सद्दाम हुसेन, लिवियाका कर्नेल गद्दाफीको यस्तै नियन्त्रण र हत्या गरेको इतिहास हाम्रोसामु छ । संयुक्त राज्य अमेरिकी राष्ट्रपति ट्रम्प प्रजातन्त्रवादी हो कि साम्राज्यवादी, हो भन्ने कुरा यस आक्रमणले छर्लङ्ग पारेको छ । संयुक्त राज्य अमेरिकाका ७० प्रतिशत न्यायप्रेमी जनता यसको विरोधमा भएको समाचार पनि बाहिर आयो । उनीहरूले हिजो प्यालेस्टिनी जनताको फासीवादी इजरायलद्वारा गरिएको नरसंहारमा पनि यस्तै विरोध जनाएका थिए । ट्रम्प या अमेरिकाको यो आक्रमणले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्रलाई कुल्चेर भेनेजुयलामाथि ठाडो हस्तक्षेप गरेको छ । यसमा संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद् मूकदर्शक छ । त्यसैले, लिवियाका राष्ट्रपति मोहम्मद गद्दाफीले उसैको देशमा संयुक्त राष्ट्र सङ्घको महासभामा संयुक्त राष्ट्र सङ्घको मुख्यालयलाई अरु महादेशमा लानुपर्ने कुरा उठाएका थिए । यही न्यायोचित आवाज र विचारको कारण उनको अमेरिकी सेनाको सहयोगमा लिवियामै हत्या भयो र कठपुतली सरकार बनायो ।
भेनेजुयलामा हिजो आफूहरूले स्थापित गरिदिएको कठपुतली सरकारमार्फत तेलखानीलगायत अन्य खनिज भण्डार अमेरिकी साम्राज्यवादले लुट्दै आएको छ । वामपन्थी र देशभक्त नेता ह्युगो चाभेजले सरकारमा आएपछि अमेरिकालाई त्यहाँको तेललगायतका प्राकृतिक सम्पत्ति, भण्डार लुट्नबाट जोगाए र रोके । उनले त्यहाँका सबै प्राकृतिक खनिज भण्डार, भूमि, कृषि, उद्योग, कलकारखाना राष्ट्रियकरण गरे । त्यसले अमेरिकाले तेल लुट्न पाएन । भेनेजुयलाका देशभक्त नेता राष्ट्रपति ह्युगो चाभेजको मृत्यु वा हत्या भएपछि सत्ता उसैका देशभक्त नेता निकोलस मादुरोले सम्हाले । उनले पनि अमेरिकालाई देश लुट्न दिएनन् । अमेरिकाले त्यो देशको तेललगायतका खनिज हातमा पार्न निहुँ खोजिरह्यो । उनलाई लागूपदार्थको ओसारपसार र त्यसमा साँठगाँठ भएको आरोप लगाएर हमला गर्न अमेरिकाले निहुँ खोजिरह्यो । अन्ततः जनवरी ३ (पुस १९) गते राति सैनिक आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र पत्नीलाई सैनिक नियन्त्रणमा न्युयोर्क लगियो । यो स्वतन्त्र देश भेनेजुयलामाथिको नाङ्गो आक्रमणको कोलम्बिया, क्युवा, रुस, चीन, उत्तर कोरिया, टर्की, क्यानाडा, स्पेनलगायतका देशले विरोध गरिसकेका छन् । तर, नेपालको प्रधानमन्त्री सुशीला कार्कीको सरकार, राष्ट्रपति रामचन्द्र पौडेल भने मौन छन् । भदौ २३ र २४ गतेको जेन–जीको नाममा उपद्रव मच्चाएर देश जलाउनुमा अमेरिका र भारतको हात रहेको सञ्चारमाध्यममा बाहिर आएको हो । देशका सरकार प्रमुख, राष्ट्रपति र देशमाथि भएको सैनिक हमलाको विरोध गर्नु आफ्नो कर्तव्य हो ।
यो घटनामा हिजोका शासक दल काङ्ग्रेस, एमाले, माओवादीलगायतका दल मौन छन् । अमेरिकाले नेपालमा पनि कुनै बेला कुनै पनि तरिका र बहानामा त्यसरी नै सैनिक हस्तक्षेप नगर्ला भन्ने छैन । किनभने, नेपालले दरबार हत्याकाण्ड भोगिसकेको छ । यहाँका दलाललाई प्रयोग गरी धम्की दिएर आफ्नो देशको हालको र भविष्यमा बन्ने कुनै पनि कानुनमाथि लोभ देखाएर देशघाती एमसीसी पास गरिसकेको छ । स्मरण रहोस्, एक वर्षअगाडि जनवरीमा मादुरोले जननिर्वाचित भएर राष्ट्रपतिको पदभार ग्रहण गर्दा यहीँ ट्रम्पले मादुरोलाई लागूपदार्थको कारोबारमा संलग्न, त्यसलाई प्रोत्साहन गरेको झूटो आरोप लगाएर सत्ताच्युत गर्ने विचार राख्ने क्रममा नेपालमा पनि आतङ्कवादीहरू लगेर बसेको, संरक्षण गरेको आरोप लगाएका थिए ।
अमेरिकाको एनजीओ तथा आईएनजीओहरूले यहाँका थुप्रै दलाल, नेता, कार्यकर्ता र कर्मचारीहरू पालेका छन् । यसतर्फ नेपालका देशभक्त नेता, दल र नेपाली जनता सचेत हुनैपर्छ । भदौ २३ र २४ गतेको उपद्रवबाट पाठ सिकेकै हुनुपर्छ । फरक यति हो – भेनेजुयलामा सिधै नाङ्गो सैनिक हस्तक्षेप गरेर राष्ट्रपति मादुरोलाई अपहरण गरेर लगियो भने नेपालमा उनका नेपाली अनुहारका दलाल वा देशद्रोहीहरूले तोडफोड र आगजनी मच्चाए र देश जलाइदिए । ओलीको शक्तिशाली सरकार दुई दिनमै पल्टियो । नेपाली सैनिकले पनि भदौ २३ र २४ गते तथा त्यस अगावै सक्रियता देखाएको भए देश जल्ने थिएन† कलिला विद्यार्थीहरूको ज्यान जाने थिएन । सैनिक मुख्यालयलगायतका देशका अरु सम्पत्तिमाथि देशघाती र देशद्रोहीहरूले कसैको उक्साहटमा हमला गरे भने के गर्ने भन्ने कुरा सबैतिर प्रश्न उठेकै छ ।
अमेरिकी साम्राज्यवादले आफूले भनेजस्तो नबस्ने, आदेश नमान्ने, देशको महत्वपूर्ण प्राकृतिक भण्डार लुट्न नदिने देशभक्त नेता, दलमाथि निर्मम आक्रमण भएको घटना विश्वमा इतिहासले देखाइरहेको छ । इराक र सद्दाम हुसेन, लिविया र कर्नेल गद्दाफी नजिकैका उदाहरण हुन् । गोन्जालेज र पेरु, एयण्डे र चिल्ली, चे ग्वेभारा र अर्जेन्टिना, जनरल नोरियगा र पनामा आदि ल्याटिन अमेरिकी देशका उदाहरण हुन् । त्यस्तै, तेल, हिरा, सुनलगायतका खनिजको भण्डार रहेको राजनीतिक, शैक्षिक र आर्थिकरूपमा पछाडि पारिएका तर बलियो काला जाति, अफ्रिकी जनताका देशहरूबाट पनि साम्राज्यवादी, उपनिवेशवादीहरूले ती अमूल्य सम्पत्ति कठपुतली सरकार सत्तामा बसाएर लुटेर लगिरहेका छन् । अफ्रिकाको अथाह सम्पत्ति लुट्न नदिने, बचाउने, लुटेराहरूको आक्रमणको प्रतिकार र विरोध गर्न जनतालाई उठाउने, लड्ने देशभक्त, अफ्रिकी नेताहरूको हत्या गरिदिएका थिए । घानाको क्वामे एनक्रुमा, बुर्किना फासोका थोमस शङ्कारा, गिनीका शेकुतुरे, तान्जानियाका जुलियस न्येरेर, दक्षिण अफ्रिकाका क्रिस हानी, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका प्याट्रिस लुमुबा, अल्जेरियाका बेन बेल्ला आदि यसका उदाहरण हुन् । यी घटनाबाट नेपालका देशभक्त नेताहरू, दल, नेपाली सेना र जनता समयमै सचेत र सजग हुनु आवश्यक छ ।
Leave a Reply