भर्खरै :

फिलिङ्गोले लगाउनेछ आगो !

– मारिया प्रिलेजायभा

साइबेरियाका खानीमा मान र धैर्यको खाँचो छ अपार,
व्यर्थ जानेछैन दुखद् संघर्ष र तिम्रो उदात्त विचार ।
यी पंक्ति कवि पुश्किनले साइबेरियाको नेरचिन्स्कमा निर्वासित र खानीमा काम गर्न बाध्य डिसेम्बरवादीहरूलाई लेखेका थिए । यसको उत्तरमा डिसेम्बरवादी कवि ओदोएभ्स्कीले लेखे –
व्यर्थ हुनेछैन अथक संघर्ष हाम्रो फिलिङ्गोबाट लप्किनेछ आगो !
भ्लादिमिर इल्यीचले अखबारको नाम ‘इस्क्रा’ (फिलिङ्गो) नै राख्ने निर्णय गर्नुभयो । शूशेन्स्कोएमा छँदै उहाँले त्यसको पूरै योजना तयार पार्नुभएको थियो । अब त्यसलाई कार्यरूप दिनुथियो । साइबेरियाबाट फर्केपछि भ्लादिमिर इल्यीच प्स्कोभमा बस्न थाल्नुभयो, एक्लै । नाजेज्दा कोन्स्टान्टिनोभ्नाको निर्वासन अवधि अझै सक्किएको थिएन । त्यसैले बाँकी समय उफामै रोकिनुप¥यो । भ्लादिमिर इल्यीचलाई प्स्कोभमा बस्ने स्वीकृति दिइयो । त्यहाँ उहाँले ‘इस्क्रा’ निकाल्ने तयारी शुरू गर्नुभयो । उहाँ विभिन्न शहरको यात्रा गर्नुहुन्थ्यो । ‘इस्क्रा’मा काम गर्नका लागि साथीहरू खोज्नुहुन्थ्यो । अखबारका लागि लेख लेख्नेहरू खोज्नु थियो । फेरि अखबारलाई गुप्त रूपमा वितरण गर्ने मान्छेहरू पनि खोज्नुपथ्र्याे । ‘इस्क्रा’लाई अरूलाई जस्तो पसल र स्टलमा बेच्न सकिन्नथ्यो । र कसैले यस्तो गरेमा तुरन्तै जेल पर्न सक्थ्यो । अखबार निकाल्न पैसाको पनि खाँचो पर्छ । निकै दौडधुप गरेर चार महिनामा भ्लादिमिर इल्यीचले ‘इस्क्रा’को तयारी पूरा गरेरै छाड्नुभयो । तर एउटा प्रश्न अझै बाँकी थियो । अखबार कहाँ छाप्ने त ? रूसमा बसेर कोही किन जारको विरोधमा, जमिन्दार र उद्योगपतिको विरोधमा, पुलिस अफिसरहरूको विरोधमा अखबार छाप्न तयार हुन्थ्यो र ? भ्लादिमिर इल्यीचले यस विषयमा पनि खुब सोच्नुप¥यो । उहाँले साथीहरूसँग परामर्श गर्नुभयो । अन्तमा त्यसलाई विदेशमा छाप्ने तय भयो । विदेशमा पनि यस्तो अखबार पूर्णतया गुप्त रुपले मात्र निकाल्न सकिन्थ्यो । तर त्यहाँ रूसी पुलिसका गुप्तचरहरू त्यतिबित्ति हुँदैनथे । भ्लादिमिर इल्यीचले जसोतसो डाक्टरी सर्टिफिकेटको बन्दोबस्त गर्नुभयो र उपचारको बहाना बनाई विदेश जानुभयो । जाँदाजाँदै उहाँले नाजेज्दा कोन्स्टान्टिनोभ्नासँग पनि भेटेर आउनुभयो । नाजेज्दाको निर्वासन नौ महिनापछि सक्किँदै थियो । अब उहाँ देशबाट टाढा जाँदै हुनुहुन्थ्यो । लामो समयका लागि ? हामीलाई थाहा छ, त्यो विदेशगमन लामै समयका लागि हुनगयो ।
साँघुरा सडक, चुच्चे छतसितका घर र प्रोटेस्टेण्ट गिर्जाघरहरूको जर्मन शहर लाइप्जिगमा थुप्रै कलकारखाना र त्योभन्दा पनि धेरै छापाखाना र हरेक किसिमका किताब पसलहरू थिए । त्यहाँ त्यस्तै पैँतीस वर्षका गेर्मन राउ नामका एक जर्मन बस्दथे । शहरबाहिरको सानो गाउँमा उनको छापाखाना थियो । त्यहाँ मेसिनको नाममा खालि एउटा तर अल्लि ठूलो र पुरानो छपाई मेसिन थियो । त्यसमा मजदुरहरूको खेलकुद अखबार, किसिम–किसिमका पोस्टर र पेम्फ्लेट छापिन्थे । गेर्मन राउ एक सामाजिक जनवादी थिए । एक दिन लाइप्जिगका सामाजिक जनवादीहरूले उनलाई बताए – रूसबाट एकजना माक्र्सवादी आएका छन् । रूसी माक्र्सवादी आफ्नो क्रान्तिकारी अखबार निकाल्न चाहन्छन् र त्यसको पहिलो अंक लाइप्जिगमा छाप्ने निधो भएको छ । “रूसी साथीहरूलाई मद्दत गर्नुपर्छ,” लाइप्जिगका सामाजिक जनवादीहरूले गेर्मन राउसित भने ।

“अब हामीसँग आफ्नो, मजदुरहरूको क्रान्तिकारी अखबार छ ! लौ उड, हाम्रो अखबार, देशतिर ! जागाउ र उभार जनता क्रान्तिखातिर !” भ्लादिमिर इल्यीचले सबैलाई सुनाउँदै अखबारको नाम पढ्नुभयो – “इस्क्रा” । दायाँतिर माथिल्लो कुनामा छापिएको थियो – “फिलिङ्गोबाट लप्किनेछ आगो !”

लाइप्जिग आउने रूसी माक्र्सवादी भ्लादीमिर इल्यीच हुनुहुन्थ्यो । उहाँले शहरको एक छेउमा एउटा कोठा भाडामा लिनुभयो । उहाँ सधैँ सखारै उठ्नुहुन्थ्यो । जताततै निस्तब्धता हुन्थ्यो । फेक्ट्रीका घण्ट पनि बजेका हुन्नथे । कोठा निकै चिसो थियो । डिसेम्बरको महिना थियो । भ्लादिमिर इल्यीचले स्पिरिटको चुलोमा पानी उमाल्नुभयो । टिनको मगमा चिया बनाएर तात्तातै पिउनुभयो र सदाजस्तै घरबाट निस्कनुभयो । टाढा जानु थियो, गेर्मन राउको छापाखानासम्म । त्यस्तै पाँच-छ किलोमिटरको बाटो हुँदो हो । घोडागाडी त्यहाँ जाँदैनथ्यो । त्यसैले हिँडेरै जानुपथ्र्यो । बाटोमा पैदल वा साइकिलमा चढेका मजदुर र बजार जाने किसानका ठेला भेटिन्थे । शहरको सिमाना आयो । अगाडि बरफले ढाकिएका खेत थिए । पर, क्षितिजनजिकै जंगलको कालो छाँया देखिन्थ्यो । शहरको छेउमा बसेको बस्तीमा बत्ती बल्दै थिए । गेर्मन राउको छापाखानाको झ्यालबाट लालटिनको उज्यालो आइरहेको देखिन्थ्यो । पूरै छापाखाना एउटा ठूलो कोठामा अटाएको थियो । कोठाको आधा हिस्सामा पुरानो छपाई मेसिन थियो । कोठामा दुईवटा कम्पोजिङ बक्स पनि थिए । फलामको मकलमा दाउरा सल्कँदै, पड्कँदै थियो । आगोका लप्काहरू काँप्दै थिए । सँगै भित्तामा तिनका छाँया पनि काँप्दै थिए । “आज महत्वपूर्ण दिन हो,” गेर्मन राउले जर्मन भाषामा भ्लादिमिर इल्यीचसित भने । भ्लादिमिर इल्यीचले टाउको हल्लाएर सहमति प्रकट गर्नुभयो । साँच्चै आज महत्वपूर्ण दिन थियो । अहिलेसम्म त तयारी मात्र भैरहेको थियो । तर आज कम्पोजिटरले गरुङ्गो ब्लक उठाएर मेसिनमा चढाए । गेर्मन राउले हत्ता घुमाए । मेसिन गड्गडायो । सिलिण्डर घुम्न थाल्यो र अखबारको पाना मेसिनबाहिर निस्कियो । यसरी ‘इस्क्रा’ को पहलो अंक छापियो । भ्लादिमिर इल्यीचले एक प्रति उठाउनुभयो । यो समयको प्रतीक्षा उहाँले कहिलेदेखि र कति उत्कण्ठाले गर्नुभएको थियो !
“अब हामीसँग आफ्नो, मजदुरहरूको क्रान्तिकारी अखबार छ ! लौ उड, हाम्रो अखबार, देशतिर ! जागाउ र उभार जनता क्रान्तिखातिर !” भ्लादिमिर इल्यीचले सबैलाई सुनाउँदै अखबारको नाम पढ्नुभयो – “इस्क्रा” । दायाँतिर माथिल्लो कुनामा छापिएको थियो – “फिलिङ्गोबाट लप्किनेछ आगो !”

यात्रुगाडी केनिग्सवर्ग जाँदै थियो । तेस्रो दर्जाको डिब्बामा, एक कुनामा झ्यालनजिकै एकजना तन्नेरी बसेका थिए । उनी म्युनिखबाट चढेका थिए र बाटोभरी उँघिरहे । उनको खुट्टानजिकै एउटा निकै ठूलो सुटकेस राखिएको थियो । गाडी केनिग्सवर्ग पुग्यो । चट्टानका किल्ला, गिर्जाघर र राता खबटाका छत भएको यो पुरानो शहर थियो । बाल्टिक सागरको तटमा हुनाले यहाँ बन्दरगाह पनि थियो । तटमा दसौँ जहाज थिए । तीमध्ये एउटाको नाम थियो – ‘सेण्ट मार्गरिटा’ । म्युनिखबाट आएका जर्मनले यताउता चिहाए । अनि बन्दरगाहतिर नगएर नजिकैको एक भट्टीमा घुसे । भट्टीमा साह्रै भीड थियो । चारैतिर तमाखुको बाक्लो, कडा धुवाँ फैलेको थियो । ती जर्मन एउटा खाली ठाउँमा बसे र सुटकेसलाई मेचमुनि घचेटे । अनि वेटरसँग ससेज मागेर बियरसित बिस्तारै खान थाले । उनीसँग समय नै समय भएजस्तो भान हुन्थ्यो । हुनसक्छ उनी कसैको पर्खाइमा थिए कि ? अँ, उनलाई खासमा ‘सेण्ट मार्गरिटा’ जहाजको प्रतिक्षा थियो । यसैका लागि उनी म्युनिखबाट आएका थिए । यद्यपि त्यसलाई पहिले कहिल्यै देखेका थिएनन् उनले । कुनै नयाँ मान्छे भट्टीमा पस्दा, म्युनिखबाट आएका ती जर्मन दायाँ हातले कपाललाई दायाँ कानतिर मुसार्दै उसलाई क्वारक्वार्ती हेर्थे । कसैको ध्यान यता जाँदैनथ्यो किनकि कपाल मुसार्नु नौलो कुरा थिएन । तर यो एउटा इशारा थियो ।

आखिरमा जहाज चालक आइपुगे । समुद्री हावा र घामले उनको अनुहार तामाजस्तो भएको थियो । ढोकामा उभिएरै उनले सबैजनालाई हेरे र बाल मुसार्ने मानिसलाई देखेर उतै गए । टेबलसामु बसेर उनले खुट्टाले सुटकेसलाई सुम्सुमाए र भने, “उफ्, कस्तो भयानक हावा हो !”
“आफ्नो बाटोतिर बहन्छ भने केही छैन,” म्युनिखबाट आएका जर्मनले जवाफ फर्काए । “ठीक छ चिनेँ, आफ्नै बाटोतिर छ ।” यो पहिचान–वाक्य थियो । तुरन्तै दुवैबीच आत्मीयता झाङ्गियो । दुवैको एउटै ध्येय थियो । त्यसैका निम्ति उनीहरू यो भट्टीमा भेट भएका थिए । कुराकानी छिट्टै सक्कियो र दुवैजना भट्टीबाट बाहिर निस्के । अब सुटकेस जर्मनको हातमा नभई जहाज चालकको हातमा थियो । कसैले यो हेरफेरतिर ध्यान दिएन । कसैलाई के मतलब ? दुई साथी सँगै जाँदै थिए, कुरा गर्दै थिए । चौराहामा दुवैजना अलग भए । म्युनिखबाट आएका जर्मन स्टेशनतिर गए र सुटकेस ‘सेण्ट मार्गरीटा’मा बाल्टिक सागर हुँदै स्वीडेनको राजधानी स्टकहोमतिर । रातमा हावा तीव्र भयो । छालहरूले आकाश छुन थाले । तुफानले ‘सेण्ट मार्गरिटा’लाई कहिले यता त कहिले उता फ्याँक्न थाल्यो । आफ्नै हात पनि नदेखिने अँध्यारो व्याप्त थियो । जहाज ६ घण्टा ढिलो गरी स्टकहोम पुग्यो ।

फिनल्याण्डको जहाज ‘सुओमी’ शायद पहिल्यै हेल्सिग्फोर्सतिर हिँडिसकेको थियो । “समयमा पुग्न सकिएन,” जहाज चालकलाई थकथकी लाग्यो । अचानक उनले ‘सुओमी’लाई देखे । त्यसले स्टकहोमको बन्दरगाहमा वाफ छोड्दै थियो । शायद तुफानले गर्दा त्यो पनि रोकिएको थियो र अब हिँड्ने तयारी गर्दै थियो । “बिस्तारै अगाडि !” कप्तानले आदेश दिए । चक्कामुनि पानी खेल्न थाल्यो । जहाज चालु भयो । “सहकप्तान साप !” गरुङ्गो सुटकेस तान्दै जहाज चालक चिच्चाए, “केनिग्सवर्गबाट तपाईकी काकीले पार्सल पठाउनु भा’छ !”
दगुर्नाले जहाज चालक स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै थिए । सुटकेस निकै गरुङ्गो थियो । आफ्नो सारा कोसिस बेकार हुनेभयो भन्ने लागेको थियो उनलाई । किनभने ‘सुओमी’ तटबाट हटिसकेको थियो । तर कोसिस खेर गएन । चमत्कारजस्तै भयो । कप्तानले उनको चिच्याहट सुने । “बिस्तारै अगाडि !” ‘सुओमी’ मा आदेश सुनियो, “रोक !” “सह–कप्तान साप !…” जहाज चालक जोडले चिच्यायो, “…तपाईँकी काकीले तातो स्वीटर र नयाँ सुट पठाउनु भा’छ ।” घाटमा उभिएका सबै मानिस गलल्ल हाँसे । किन हो कुन्नी, ‘सुओमी’ पार्सल लिन फर्कंदा सबैजना खुसी थिए । सहकप्तानले सुटकेस लिए । हात हल्लाएर जहाज चालकलाई धन्यवाद दिए । र “पार्सल”लाई आफ्नो क्याबिनमा लुकाए । सुटकेसको यात्रा जारी रह्यो ।
जहाज हेल्सिग्फोर्स पुग्दा, मुशलधारे पानी पर्दै थियो । सह–कप्तानले वर्षाती लगाए अनि सुटकेस उठाएर हतारिँदै घोडागाडीको स्टेशनतिर लागे । पानी यति बेस्सरी वर्षिएको थियो, बाढी आएझैँ भान हुन्थ्यो । ओहो, बाक्सामा पानी नपसोस् ! सह–कप्तानले यताउता चिहाए । तर ती मजदुर कतै देखिएनन्, जोसित उनले स्टेशनमा भेट्नुपथ्र्यो । जहाज केही घण्टा ढिलो पुगेको थियो । त्यसमाथि यो मुशलधारे पानी ! सडक सुनसान थिए । कतै ती पिटर्सवर्गका मजदुर कुर्दाकुर्दा वाक्क त भएनन् ! के गर्ने त ? त्यति नै बेला घोडागाडी आउँदै गरेको देखियो तर ती मजदुर त्यसमा पनि थिएनन् । अचानक सह–कप्तानले अगाडिको घरको बार्दलीबाट एकजना व्यक्ति बाहिर निस्केर यताउता हेर्दै आफूतिर आइरहेको देखे । उनी तिनै मजदुर थिए ।
“कस्तो अभागी हुँ ! उभिएको उभियै अड्किएको छु,” मजदुर बर्बराए ।
“तुफानले गर्दा ढिलो भयो । कहिले जानुहुन्छ ?”
“आज ।”
“ठीक छ । म अहिले तारबाट सुचित गरिदिउँला ।”
मजदुरले सहमतिमा टाउको हल्लाए, सुटकेस उठाए र घोडागाडीमा चढेर गए ।
केही घण्टापछि सुटकेस रेलगाडीमा पिटर्सवर्ग जाँदै थियो । वसन्तकालीन नाङ्गा खेत, झरीले रुझेका गाउँ र निर्जन ग्रामीण बंगलाका छेउ हुँदै जाँदै थियो गाडी । पिटर्सवर्गका मजदुरका निम्ति यी स्थान पानी–पँधेरा थिए । त्यसैले चुपचाप बसेर अखबार पढिरहेका थिए र बेलोओस्त्रेभ स्टेशनको प्रतिक्षा गरिरहेका थिए । बेलोओस्त्रेभदेखि रूसको सीमा शुरू हुन्थ्यो । त्यहाँ सधैँ कस्टम चेकिङ हुन्थ्यो । कस्टमको कर्मचारी कम्पार्टमेण्टमा आयो । “कृपया आफ्नो सुटकेस दिखाउनुस् ।” पिटर्सवर्गका ती मजदुरले नहड्बडाइकन आफ्नो सुटकेस खोले । एक जोर लुगा, पुराना बुट्टे कम्मल र मिठाईका बट्टा । त्यत्ति हो । कर्मचारीले सुटकेसको किनार ठक्ठकायो, तर शंकास्पद केही पनि भेटिएन ।

त्यसै दिन । ती मजदुर पिटर्सवर्गमा थिए र भेसिलेभ्स्की द्वीपमा एउटा ढुङ्गाले बनेको घरको सिँढी चढ्दै थिए । दोस्रो तल्लामा ढोकामाथि तामाको प्लेट टाँगिएको थियो – “दाँतका डाक्टर” । आगन्तुकले घण्टी बजाए । दुई लामा र एउटा छोटो । यसको अर्थ हुन्थ्यो – डराउनु पर्दैन, आफ्नै मान्छे हुन् । दाँतका डाक्टरले ढोका खोले । “आउनुस्, तपाईँलाई नै कुर्दै थिएँ ।” क्रान्तिकारीहरू गुप्त भेटघाटका लागि यहीं एकत्र हुन्थे । डाक्टरको कोठामा एउटी ठिटीले मजदुरलाई पर्खिरहेकी थिइन् । “दिनुस्,” तिनले भनिन् र मजदुरका हातबाट सुटकेस लिइन् । बिचराले बाटामा केके झेलेनन् र ! तुफान, झरी, कस्टम चेकिङ । ठिटीले सुटकेसबाट बुट्टे कम्मल र अन्य चिज निकालिन् । लौ यो के हो ? आगन्तुकले सफाई देखाउँदै सुटकेसको पल्ला दबाए र त्यो ढक्कनजस्तै खुल्यो । सुटकेसमा दुई खाना थिए । तल्लो खानामा खाँजेर अखबार राखिएको थियो । ठिटीले एउटा अखबार उठाइन् । ‘इस्क्रा’ !
ए…, त्यसो भए यो पो हो, जसलाई केनिग्सवर्ग, स्टकहोम, हेल्सिग्फोर्स हुँदै यति मिहिनेत र यति गुप्त तवरले म्युनिखदेखि पिटर्सवर्ग पु¥याइएको थियो !

‘इस्क्रा’ले मजदुर र किसानहरूको आँखा खोल्थ्यो, उनीहरूलाई आफ्नो वास्तविक जीवन देखाइदिन्थ्यो । ‘इस्क्रा’ले उनीहरूलाई सिकाउँथ्यो, “जारशाहीको विरोधमा लड ! मालिकका विरोधमा लड !”

ठिटीले सुटकेसबाट ‘इस्क्रा’ निकालेर आफ्नो टोपीको डिब्बामा राख्न थालिन् । सबै अखबार राखेपछि, फिताले डिब्बालाई बाँधिन् र पिटर्सवर्गको कुनाकानीमा सक्रिय मजदुर मण्डलीहरूलाई बाँड्न हिँडिन् । उनी ‘इस्क्रा’की एजेण्ट थिइन् । ‘इस्क्रा’का गुप्त एजेण्ट रूसका सबै ठूला शहरमा थिए । ‘इस्क्रा’लाई गुप्त रूपले जहाजहरूमार्फत्, रेलगाडीमार्फत् ल्याइन्थ्यो, सीमावारि पु¥याइन्थ्यो । ‘इस्क्रा’ले मजदुर र किसानहरूको आँखा खोल्थ्यो, उनीहरूलाई आफ्नो वास्तविक जीवन देखाइदिन्थ्यो । ‘इस्क्रा’ले उनीहरूलाई सिकाउँथ्यो, “जारशाहीको विरोधमा लड ! मालिकका विरोधमा लड !”
‘इस्क्रा’ले उनीहरूलाई आफ्नो पार्टीको निर्माण गर्नका लागि, क्रान्तिका लागि लल्काथ्र्याे । छिट्टै नै रूसमा ‘इस्क्रा’को प्रेरणाले एक शक्तिशाली मजदुर आन्दोलन शुरू भयो । यस व्यापक आन्दोलनका नेता, मार्गदर्शक र ‘इस्क्रा’का मुख्य सम्पादक भ्लादिमीर इल्यीच हुनुहुन्थ्यो । भ्लादिमीर इल्यीचलाई रूसका मजदुरहरूबाट, ‘इस्क्रा’का एजेण्टहरूबाट ठूलो संख्यामा पत्र, लेख, आदि आउँथ्यो र तीमध्ये प्रायःजसो गोप्य भाषामा लेखिएका हुन्थे । उहाँले तिनलाई ‘इस्क्रा’मा छाप्नुहुन्थ्यो, मजदुरका पत्रहरूको जवाफ दिनुहुन्थ्यो । ‘इस्क्रा’का लागि लेख तयार पार्नुहुन्थ्यो । साथै राजनीति र क्रान्तिकारी संघर्षका बारेमा पुस्तक लेख्नुहुन्थ्यो ।
डिसेम्बर, १९०९ देखि भ्लादिमीर इल्यीचले आफ्ना लेख र किताबहरू ‘लेनिन’ नाम राखेर छाप्न थाल्नुभयो । यो त्यहीँ महान् नाम थियो, जससित छिट्टै नै सारा विश्व परिचित हुँदै थियो ।
अनुवादःसुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *