मतको आधारमा दलले राज्यको कोष लिने विचार गलत
- फाल्गुन १४, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारका अभिभावक होइनन् । संसारका सबै मुलुकलाई आफ्नो अधीनमा राख्ने, आफ्नो बोलीलाई नै ऐन कानुनसरह ठान्ने राष्ट्रपति ट्रम्पको मानसिक सन्तुलन ठीक ठाउँमा नरहेको विश्लेषण पहिले नै गरिएको थियो । आफूलाई संसारकै मालिक सम्झी संसारका स्वाधीन र सार्वभौम देशमा आतङ्कित पार्दै शान्तिको पुरस्कार पाउन माग दाबी गर्ने ट्रम्पलाई विश्वका न्यायपे्रमी जनताले अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर कारबाही गर्नुपर्ने माग गर्न थालेका छन् । अरु देशका राष्ट्रप्रमुख र जनतालाई आफ्नो अधीनमा राख्ने कुत्सित प्रयासको सर्वत्र निन्दा र विरोध भइरहेको छ । संयुक्त राज्य अमेरिकाको सैन्य सहयोग र साथमा इजरायलले प्यालेस्टिनमाथि आक्रमण गरेर सहर ध्वस्त पारेर नरसंहार गर्दा र भेनेजुयलामाथि आक्रमण गरी निर्वाचित राष्ट्रपति मादुरोलाई नियन्त्रणमा राखेर आफ्नो निमन्त्रणमा राख्ने दुस्प्रयासको संसारका लाखौँले होइन करोडौँ जनताले विरोध प्रदर्शन गरे । अमेरिका र ट्रम्पविरुद्धको यो प्रदर्शन हालसम्मकै ठुलठुला र ऐतिहासिक प्रदर्शनहरू हुन् ।
अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर सजाय गर्नुपर्ने अमेरिकी राष्ट्रपतिलाई सजाय नगरी त्यसै छाडिराखेमा उनले अरु त्यस्तै स्वाधीन र सार्वभौम देशमा आक्रमण गरी राष्ट्र प्रमुखहरूको हत्या गर्दैनन् भन्न सकिँदैन । राष्ट्रपति ट्रम्पले पछिल्लोपटक ‘नयाँ तेल डिल’ बाट पाउने रकमले भेनेजुयलाले अमेरिकाबाट मात्रै सामान किन्नुपर्ने बताएका छन् । नयाँ तेल सम्झौताबाट पाउने रकमले भेनेजुयलाले अमेरिकामा बनेका सामान मात्र किन्नुपर्ने बाध्यता बनाउने ट्रम्पको हुकुमी शैलीले ट्रम्प विश्वलाई तहसनहस पार्ने, विश्वमै आफ्नो प्रभुत्व जमाउन लागिपरेको थाहा हुन्छ । यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुयलाको तेल बिक्री अनिश्चितकालसम्म आफ्नै नियन्त्रणमा हुने बताएका थिए । लागूऔषध कारोबारको निहुँ खोजेर कुनै देशको राष्ट्रपतिलाई कब्जामा लिएर आफ्नो देशमा लगी मुद्दा चलाउनु अन्तर्राष्ट्रिय मान्यता र कानुनसम्मत छैन । आफ्नो देशको राष्ट्रपतिलाई कब्जामा लिएर विदेशीले शासन गर्ने चुनौती दिनु कुनै पनि देश र जनताको लागि सह्य हुने विषय होइन ।
हरेक दिनझैँ अमेरिकी आक्रमण र हस्तक्षेपको विरोध प्रदर्शन संसारका सबैजसो देशमा भइरहेको छ । यसरी नै नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा शुक्रबार राजधानी काठमाडौँमा विरोध प्रदर्शन भयो । सभामा वक्ताहरूले अमेरिकी हस्तक्षेपको निन्दा गरे । राजधानीमा भएको यो विरोध प्रदर्शनको सन्देश देशभरि फैलिने छ । जिल्ला–जिल्लामा विरोध प्रदर्शन भए अमेरिकाको हस्तक्षेपविरोधी भावना जनताको घर आँगनमा पुग्नेछ र आक्रमणकारी ट्रम्प जनतामाझ उदाङ्गिने छन् । अमेरिकी हस्तक्षेपको विरोधलाई संसारकै कुना काप्चामा पु¥याउनुपर्ने देखिन्छ । अमेरिकी प्रशासनले संसारमै ‘दादागिरी’ गरिरहेको छ । विरोधलाई विश्वव्यापी बनाएर खबरदारी नगरे अमेरिकी प्रशासन अन्य देशका राष्ट्रप्रमुख र जनतालाई खरानी पार्ने काम गर्न अघि बढ्नेछ । यसकारण, अमेरिकी हस्तक्षेपको विरोध गर्नुपर्छ ।
अमेरिकी आक्रमणको खुलेर विरोध गर्नुपर्ने बेला नेपाल र अमेरिकी सरकारबिच सांस्कृतिक सम्पत्तिको सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता नेपाल समृद्ध सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथाम गर्ने लक्ष्य राखेको छ । कतै यो सम्झौता अमेरिकी आक्रमण र हस्तक्षेपको विरोध रोक्ने जालसाजी गर्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । नेपालका अमूल्य सम्पदाको अवैध कारोबार रोक्न के सम्झौता आवश्यक छ र ¤ अमेरिका घुम्न जाने नेपालीलाई भिसा प्राप्तिको लागि धरौटी अनिवार्य गरिएको छ । नेपाल र नेपालीलाई एक एक पाइला गर्दै आफ्नो मुठीमा राख्ने, अमेरिकी कानुन मान्नुपर्ने एमसीसी सम्झौता गरेर गुप्तचर खेलाउने काम गरेर नेपाललाई पनि आफ्नो उठबसमा राख्ने कामलाई अमेरिका निरन्तरता दिँदै छ ।
अमेरिकाको पछिल्ला घटनाक्रमहरू अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार घोषणाको मर्मविपरीत छन् । अब विश्वका देशभक्त र न्यायप्रेमी जनता एकजुट भई ट्रम्पको आतङ्ककारी क्रियाकलाप अन्त्य गर्ने अभियानमा जुट्नुपर्छ । सिरियालगायत अन्य मुलुकमा चलिरहेको द्वन्द्वले शान्ति स्थापना गर्ने नाउँमा ट्रम्पमार्फत भइरहेको लगातारको आक्रमणले विश्व शान्तितर्फ होइन युद्धतर्फ लम्कँदै गइरहेको देखिन्छ । कुनै पनि देशमा चुनेका नेतालाई देशबाटै अपहरण गर्ने अधिकार ट्रम्पले कताबाट पाए ? कुनै पनि देशले नगरेको, गर्न नहुने काम गरेर आफूलाई शक्तिशाली र बहादुर ठान्ने अमेरिकी राष्ट्रपतिलाई ठाउँमा ल्याएर आत्मसमर्पण गराउनुपर्छ, कुनै पनि बेला, कुनै पनि हालतमा अरु स्वाधीन र सार्वभौम देशमा आक्रमण नगर्ने बाचा गराउन संयुक्त राष्ट्र सङ्घ अघि सर्नुपर्छ ।
Leave a Reply