मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
ऋषि वाल्मीकिले अध्यात्म रामायणकै पूरक अंशको रूपमा एक अर्काे महाकाव्यको पनि रचना गरेका थिए । यसलाई अद्भूत रामायण भनिन्छ । यसमा अध्यात्म रामायणभन्दा फरक शैली र दर्शन प्रस्तुत गरिएको छ अद्भूत रामायणमा । वर्णन गरिएअनुसार लङ्का र लङ्कापति रावणमाथि विजय हासिल गरेपछि देवी सीता र अन्य सहयोगीहरूका साथ आफ्नो मातृभूमि अयोध्या फर्केका रामको भव्य स्वागत गरियो । राज्याभिषेक पनि भयो । राजभाहरू हुने गर्दा रामको वीरता साहसनबारे खुबै चर्चा गथ्र्याे । यसो हुँदा देवी सीता मुसुमुसु हाँस्ने गर्थिन् । रामलाई देवी सीता मुस्कुराउनुको कारण थाहा पाउन खुबै उत्सुकता जाग्यो । एकदिन मौका पारेर रामले आफ्नी धर्मपत्नी सीतासँग उनी त्यसरी मुस्कुराउनुको कारण सोधिहाले । त्यसको प्रत्युत्तरमा देवी सीताले भनिन् कि जाबो दसवटा शिरहरू भएको रावणलाई मारेर के भयो त त्योभन्दा शक्तिशाली अर्काे सहस्र रावण छ त्यसलाई पनि हजुरले पराजित गर्न सके पो वीर भन्न सुहाउँछ । यो घटनापछि अब राम आफ्नो वीरतामा मख्ख पर्न छोडेर सहस्र रावणबारे जानकारी पाउन तल्लीन भए । ठुलाबडा प्रभावशाली सत्ताधारीहरूको वरपर बसी तिनीहरूको प्रशंसा गरी आफ्नो स्वार्थ पूरा गर्ने चातुकारहरू प्रायः हरेक समय र स्थानमा हुने गर्दछ । अब राम त्यस्ता चातुकारहरूको घेराभन्दा बाहिर आई सहस्र रावणबारे जानकारी पाउन र सम्भावित युद्धको तयारीमा व्यस्त रहे ।
अद्भूत रामायणमै वर्णन गरेअनुसार हामी बस्दै आएको यो पृथ्वीभन्दा बाहिर एक विशाल असुर द्वीप छ । त्यो द्वीपलाई पुस्कर द्वीप भनिन्छ । यो अत्यन्त रहस्यमय शक्तिशाली एवम् मायावी तान्त्रिक शक्तिले भरिएको क्षेत्र थियो । त्यहाँ एक हजारवटा टाउको, दुई हजारवटा हातहरू भएको अद्भूत बलशाली राक्षसहरूको अधिपतिका रूपमा सहस्र रावणले राज्य गर्दथे । सहस्र रावणको शरीर अति तेजश्वी, अपार एवम् भयङ्कर डरलाग्दो देखिन्थ्यो । यिनको स्वरूप र बल अद्भूत भएकोले यिनलाई अद्भूत रावण पनि भनिन्छ । यिनको वंश र परिवारबारे स्पष्ट वर्णन नपाए तापनि यिनलाई पुलस्त्य ऋषिकै सन्तति राक्षस कुलको मानिन्छ । यी अद्भूत रावणले हजारौँ वर्षसम्म महाशक्ति देवीलाई प्रसन्न पार्न कठोर तान्त्रिक ढङ्गले तपस्या गरी अन्तत देवीलाई सन्तुष्ट पारी देवीबाट लगभग अमरत्वको बरदान पाए । देवीको बरदानअनुसार उनलाई देव दानव, गन्धर्व, मानव कसैले पनि मार्न नसक्ने भयो । उनी देवी स्वयम्को शक्तिले मात्र मारिन सक्ने भयो । यो बरदान पाएपछि अद्भूत रावणमा अहङ्कार घमण्ड अति बढ्यो । उनले ब्रह्माण्डमा नै खुब दमन, अत्याचार, आक्रमण गर्न थाले । स्वर्ग, मत्र्य एवम् पाताल तिनैलोकमा अत्याधिक हाहाकार मच्चियो । सम्पूर्ण देवगणहरू भयभित भई विष्णु र शिवकहाँ शरण माग्न गए । यस्तो अवस्थामा विष्णुकै अवतार राम पृथ्वी लोकको अयोध्या सहरमा राजा भई शासन गर्दै थिए । राजा रामले आफ्ना विभिन्न गुप्तचरमार्फत पुस्कर द्वीपका राक्षसराज अद्भूत रावण वा सहस्र रावणबारे जानकारी पाए । समस्त असुर राज्यहरूका सर्वाेच्च सम्राटका रूपमा अद्भूत रावणसमस्त ब्रह्माण्डमा आतङ्क फैलाउँदै थिए ।
रामले पनि युद्धको लागि आवश्यक तयारीपछि भाइ लक्ष्मण, सहयोगी वीर हनुमानलगायत थुप्रै शस्त्रअस्त्र सेनासहित अद्भूत रावणसँग युद्ध गर्न अघि बढे । उता अद्भूत रावण पनि रामको आगमनबारे जानकारी पाई भावी युद्धको लागि तयार भई बसे । अन्ततः दुवै पक्षको जम्काभेट भयो । महाबलशाली अद्भूत रावणले राम, लक्ष्मण, हनुमान र एक दुई जना अरुलाई छाडी बाँकी सबैलाई एकचोटि फू गरेर उडाएर अयोध्या पु¥याइदिए । राम लक्ष्मणहरूले केही गर्न सकेनन् । उनीहरू पराजित भई लज्जित भई बसे । अद्भूत रावणको लागि राम लक्ष्मण पनि भुसुनाजस्तै थियो । तैपनि, राजा भएकाले थोरै युद्ध गरेर मानमात्र राखिदिएको थियो । आफ्ना पति रामको यस्तो दूर्गतिबारे जानकारी पाएपछि देवी सीताले पनि भयानक तेजश्वी एवम् सम्पूर्ण ब्रह्माण्डलाई नै कम्पित गराउने महाकाली आदि शक्तिको दिव्यरूप लिएर अद्भूत रावणसमक्ष प्रस्तुत भइन् । देवीशक्ति एवम् अद्भूत रावणबिच भयङ्कर युद्ध भयो । देवीले अद्भूत रावण अर्थात् हजारवटा टाउको भएको सहस्र रावणको सम्पूर्ण शिर काटेर उनको बध गरिन् । यिनका एक हजारवटा शिर र दुई हजारवटा हातलाई हजारौँ प्रकारका विकारहरू, अहङ्कार, इच्छा, अन्धकार, क्रोध, मद्, अभिमान, हिंसा आदि युक्त शक्तिका प्रतीकका रूपमा लिइन्छ । अद्भूत रामायण र यसमा वर्णन गरिएका अद्भूत वा सहस्र रावण यस ग्रन्थकारको काल्पनिक विवरणहरू मात्र हुन् । धार्मिक साहित्यको एक सानो टुक्रामात्र हो । त्यसैले, यसमा सत्यतथ्य वैज्ञानिक आधार खोज्नु त्यति उपयुक्त नहोला । बरु, यस कथा र साहित्यबाट के कस्तो शिक्षा, ज्ञान हामीले पाउन सक्दछौँ त्यसको खोजी गर्नु नै उपयुक्त होला । सायद हाम्रा पूर्वजहरूले यसै उद्देश्यले यस्ता साहित्यहरूको सृजना गरेको हुनसक्दछ ।
हाम्रो समाजको विकास क्रममा मातृसत्तात्मक युगको अन्त्यअघि पुरुष प्रधानताले बलियो जरा गाड्दै आएको छ । वर्तमान आधुनिक युगमा पनि यो प्रवृत्तिको पूर्णरूपले अन्त्य भएको छैन । यस धर्तीमा सृष्टि भएका विभिन्न जीवहरू सबै पुरुष र प्रकृतिकै रचनाहरू हुन् । यसै प्रकृतिलाई नारीशक्तिको रूपमा लिइन्छ । त्यसैले, यी दुवैमा कुनै पनि अगाडि र पछाडि छैन† कुनै पनि प्रथम र दोस्रो होइन । दुवै समान स्तर र महत्वका छन् । एकको गैरहाजिरीमा अर्काेको अस्तित्व गौन हुन जान्छ । हरेक कार्य, निर्माण, अन्त्य गर्न शक्तिबिना सम्भव छैन । शक्तिमात्र भएर पनि पर्याप्त छैन । त्यहाँ कारण वा कर्ता पनि चाहिन्छ । समाजमा व्याप्त अन्धकार, अज्ञानता, अहङ्कार, घमण्डले गर्दा यही तथ्यलाई पटक–पटक बोध गराउन आवश्यक हुन जान्छ । पौराणिककालदेखि अहिलेको आधुनिक युगसम्म बेलाबखतमा नारीलाई कमजोर, पुरुषको एक सहयोगी पात्रका रूपमा मात्रै लिने गरिन्छ । त्यसैले, हाम्रो हिन्दू धार्मिक संस्कार, संस्कृतिहरूमा बराबर पुरुष समुदायलाई उच्चता प्रदान गरेको पाइन्छ भने त्यही धार्मिक साहित्य र संस्कारहरूमा नारीको समानस्तरमा उपस्थितिको पनि आवश्यक छ भन्ने तथ्यबोध गराउन देवी लक्ष्मी, सरस्वती, भगवतीलाई धन, ऐश्वर्य, ज्ञान र शक्ति सामथ्र्यको प्रतीकका रूपमा पनि चित्रण गरिएको पाइन्छ । एउटा राम्रो देश निर्माण हुनुमा राम्रो समाजको महत्वपूर्ण भूमिका रहन्छ । राम्रो समाज बन्न राम्रो घर परिवार चाहिन्छ । एउटा राम्रो व्यवस्थित सुसंस्कृत उपयुक्त परिवार बन्न नारीको भूमिका महत्वपूर्ण हुन्छ । घर परिवारको मुख्य आधारशिला नै त्यहाँ बस्ने नारी र उनीहरूको सद्व्यवहार हो । घर परिवार राम्रो भएन भने राम्रो नागरिक बन्दैन । किनभने, हाम्रो लागि आमा नै पहिलो शिक्षिका हो भने घर नै पहिलो पाठशाला हो । त्यसैले, पुरुषहरूले अहङ्कार घमण्डले होइन सहयोगी भावले व्यवहार गर्नुपर्दछ । नारीले त्यसमा साथ दिनुपर्दछ । शक्तिरूपी देवी सीताले अद्भूत रावणको बध गरेको वर्णन गरेर हामीलाई यही शिक्षा प्रदान गर्ने कोसिस गरेको छ ।
Leave a Reply