भर्खरै :

शिक्षा क्षेत्र लथालिङ्ग हुनुमा शासक पार्टीहरू दोषी

शिक्षा क्षेत्र लथालिङ्ग हुनुमा शासक पार्टीहरू दोषी

भक्तपुर, २७ पुस । छालिङ सामुदायिक सिकाइ केन्द्रको १२ औँ वार्षिक साधारणसभा नगरकोटको होटल चौतारीमा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले शिक्षा क्षेत्र लथालिङ्ग हुनुमा अहिलेसम्म सरकारमा गएका शासक पार्टीहरूको अक्षमता र दृष्टिकोणमा खराबी हुनु हो भन्नुभयो । उहाँले साम्राज्यवादी देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा स्वतन्त्र र सार्वभौम देश भेनेजुयलाको प्राकृतिक स्रोतसाधन र प्रशासनिक यन्त्रहरू आफ्नो कब्जामा लिने उद्देश्यले राष्ट्रपति निकोलस मादुरो र उनका श्रीमतीलाई सैन्य कारबाही गरी अमानवीय ढङ्गबाट अपहरण गरेकोमा नेमकिपाले आपत्ति जनाएको र स–समान फिर्ता गर्नुपर्ने माग गरेको चर्चा गर्नुभयो ।
यस घटनाले विश्वका स–साना देशहरूको अस्तित्व समाप्त हुने प्रवल सम्भावना देखिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले साम्राज्यवादी देश र विस्तारवादी देशहरूको विरोध गर्नु कम्युनिस्टहरूको उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले छालिङ सामुदायिक सिकाइ केन्द्रले कार्यमूलक तथा रोजगारीमूलक तालिम र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा व्याप्त अन्धविश्वास, कुरीति, कुसंस्कार, बहुविवाह, बालविवाहको विरुद्धमा जनचेतना जगाउनुपर्ने र स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले चाँगुनारायण नपाको हरेक नगर अधिवेशनमा पार्टीको तर्फबाट ‘एक घर एक रोजगार’ को व्यवस्था गर्नुपर्ने, घरदैलो नर्सिङ सेवाको व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकहरूको लागि वडा–वडामा आदर निकेतन स्थापना गर्नुपर्ने, बालबालिकाहरूको लागि बालोद्यान र शिशुशालाको व्यवस्था गर्नुपर्ने, नपालाई भ्रष्टाचारशून्य, विकृति, विसङ्गति र अनियमितताबाट मुक्त गराउनुपर्नेजस्ता प्रस्ताव लगिने गरेको बताउनुभयो ।
वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले वाग्मती प्रदेशसभामा भएका गतिविधिहरूको जानकारी दिँदै प्रदेशसभामा शासक पार्टीका सांसदहरूको सोच विचार देश र जनताको सेवा गर्नेमा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलाहरू घरको चुलोचौकामा मात्र सीमित नभई देश र जनताको हित हुने कार्यमा संलग्न हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवा खेलकुद तथा शिक्षा शाखा चाँगुनारायणका जनार्दन रिजालले औपचारिक शिक्षा र अनौपचारिक शिक्षाको भिन्नताबारे प्रकाश पार्दै सामुदायिक सिकाइ केन्द्रले समुदायका निरक्षर जनतालाई साधारण लेखपढ गर्न सिकाउने काम, सीप र विविध विषयहरूमा चेतना जगाउने काम गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् छालिङ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सानुमाया लागेजूले केन्द्रको प्रतिवेदन र भावी कार्यक्रमबारे प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्णहरि फोजूले आव २०८१/०८२ को आयव्यय तथा आव २०८३/०८४ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
गायक विनोद विकले सार्वभौम देश भेनेजुयलामाथि साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले अमानवीय ढङ्गबाट गरिएको आक्रमणको विरुद्धमा गीत प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा इन्द्रबहादुर फोजू र जीना चाकतुले केन्द्रको गतिविधिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *