भर्खरै :

नेपालले अरूको बारेमा किन बोल्नु आवश्यक छ ?

नेपालले अरूको बारेमा किन बोल्नु आवश्यक छ ?

(विश्व जगत्मा साम्राज्यवादी अमेरिकाको हैकमवादको विरोध भक्तपुरका जनताले विगत ७० वर्षदेखि गर्दै आवाज उठाउँदै आइरहेको सर्वविदित छ । यस्तो वास्तविकतालाई नबुझी हामीले अत्याचारको बारेमा बोल्नु हुँदैन भन्ने गलत भाष्य निर्माण गर्ने तप्काहरू कि सा¥है अज्ञानी हुन् कि त विदेशी पुँजीको दलाली गर्ने दास र देशद्रोही हुन् भन्दा फरक

कूटनीतिज्ञ हृषिकेश शाह अमेरिकी राष्ट्रपति जोन एफ. केनेडी

नपार्ला ।)
गाजा र प्यालेस्टिन, भेनेजुयला र अरु देशको बारे हामी नेपाल र नेपालीले किन बोल्नुपर्यो भन्ने भाष्यलाई एक जमातले सामाजिक सञ्जालमार्फत स्थापित गर्न खोजिएको देखिन्छ । यसमा युवाहरू मात्र होइन बुद्धिजीवी र आफूलाई महापण्डित ठान्नेहरू समेत अग्रपङ्क्तिमा देखिन्छन् । यो कुनै विचार, सिद्धान्त वा विदेश नीतिका आधारमा भनिएको होजस्तो लाग्दैन । अल्पज्ञानले भनिएको जस्तो पनि लाग्दैन । सम्भवतः आफ्ना सन्तान, आफन्त र नातागोता पश्चिमा देशमा भएर वा त्यहाँबाट आम्दानी भइरहेकोमा उनीहरूको विरोध नेपाल वा नेपालीले गर्दा उताका आफन्तलाई अप्ठेरो नपरोस् भन्ने हेतुले भनिएको हुनुपर्दछ वा म्यानपावर कम्पनीहरू हुनुपर्छ । तिनीहरूको अर्को तर्क – हामीजस्तो सानो देशले बोलेर के लछारपाटो लाग्छ ? यदि यस्तो हो भने यो सा¥है हीनताबोधबाट पीडित र तल्लो स्तरको विचार होभन्दा फरक पर्दैन । हामी जस्तो सानो देशले बोलेर केही हुँदैन भन्ने तर्कका बारेमा भन्न सकिन्छ – यो सानो स्वार्थ र अल्पज्ञान पनि हो । अल्पज्ञान हुनु कुनै अपराध होइन । तर, बुद्धिजीवी र महापण्डित ठान्नेले प्यालेस्टिन र भेनेजुयलासँग हाम्रो नेपालीको के नाता र हाम्रो आर्थिक सम्बन्ध नै छैन । त्यसैले, हामीले उनीहरूका बारेमा बोल्नु हुँदैन भन्ने तर्क राख्छौँ । त्यसको उत्तर हो – त्यसो भए इजरायल, युक्रेन र संरा अमेरिकाको अत्याचारको पक्षमा किन बोल्ने ? यो सरासर पश्चिमाको दलाली होभन्दा फरक पर्दैन । यी कुराहरूका बारेमा प्रस्ट हुन र बुझ्नलाई तलका केही बुँदालाई मनन गरौँ –
१. हामी कुरा गर्ने बेलामा ग्लोबल वल्र्ड, ग्लोबल भिलेज, खुला बजार, खुला समाज, सिङ्गो संसारको कुरा गर्न रुचाउँछौँ । विदेशको खाना, शिक्षा, पहिरन, सिनेमा, रहनसहनका बारेमा चर्चा गर्न र त्यहाँ घुमफिर गर्न रुचाउँछौँ, त्यहाँको संस्कृति, सङ्गीत र नाचको प्रशंसा गर्छौँ । त्यहाँको भूगोलका बारेमा कुरा गर्न मन पराउँछौँ । अनि त्यहाँको राजनीति र विदेश नीतिका बारेमा कुरा गर्दा किन झस्कन्छौँ र नाक खुम्च्याउँछौँ ?
२. हामीले विद्यालय र कलेजमा समाज विज्ञान वा सामाजिक शिक्षा पढ्नुपर्छ । त्यसमा नेपालको बारेमा मात्र होइन विदेशका, भूगोल, इतिहास, राजनीति, अर्थशास्त्रसमेत पढाइएको हुन्छ । साहित्यमा नेपालको साहित्य र साहित्यकारबाहेक विश्व साहित्यसमेतको पढाइ हुन्छ । सेक्सपियर, बाइरन र किट्स (बेलायती), एन्टोन चेखोब, गोर्की, दोस्तोभोस्की र तोल्स्तय (रुसी), भिक्टर ह्युगो, अल्बर्ट कामु (फ्रान्सिसी), टैगोर, प्रेमचन्द्र (भारती), लुसुन, कोमोरो (चिनियाँ) र अरु धेरै देशका शास्त्रीय र आधुनिक कवि र साहित्यकारका बारेमा पढ्छौँ । ती कृतिले उक्त देशको समाजको चित्रणमात्र गरेका हुँदैनन् बरु आदर्श समाजको परिकल्पना समेत हामी पाठकलाई पस्किरहेका हुन्छन् । अनि हामी हाम्रो समाज र छिमेकीको समाज र सात समुद्रपारिको समाजलाई तुलना गरेर कुरा बुझ्न लालायित हुन्छौँ । यसरी विश्व साहित्यले पनि संसारलाई एउटा डोरीले उनेको हुन्छ ।
३. राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, कानुन, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दर्शनशास्त्रका विद्यार्थीले संसारलाई तुलना गरेरै अध्ययन गर्नुपर्ने हुन्छ । कूटनीतिज्ञले दुई देशको सम्बन्धलाई सन्तुलनमा राख्न यी विषयहरू अध्ययन गरेकै हुन्छ ।
४. साहित्य, राजनीति, कूटनीति वा अन्तर्राष्ट्रिय सम्बन्धबाहेक कहिलेकाहीँ कुनै दुई देशबिच ‘मानवीयता’ र ‘भाइचारा’ सबभन्दा बलियो पक्ष भएर उभिएको देखिन्छ । यहाँ आर्थिक वा राजनीतिक सम्बन्ध गौण हुन्छ । इटालीले सन् १९३१ मा अफ्रिकी देश एब्सिनिया (हालको इथोपिया) लाई हमला गर्दा नेपालका मानवतावादी जय पृथ्वीबहादुर सिंह गरिब इथोपियाली जनतालाई मद्दत गर्न राहत सा

डा. द्वारिकानाथ कोटनिश

मग्री लिएर त्यहाँ पुगेका थिए । चिनियाँ जनता आफ्नो देश स्वतन्त्रताका लागि १९३८ मा जापानी साम्राज्यवादसँग लडिरहँदा घाइते चिनियाँ सेनालाई उपचार गर्न भारतका चिकित्सक डा. कुटनिश आफ्नो टोलीसमेत त्यहाँ पुगेका थिए । कठिनभन्दा कठिन अवस्थामा भारतीय चिकित्सक टोली चिनियाँ जनताको सहयोगमा चीन पुग्यो । डा. कुटनिशले घाइते उपचार गर्दै गर्दा आखिर रोगी, घाइतेको रोगका किटाणुको सङ्क्रमणले उनी अल्पायुमा नै निधन भए । डा. कोटनिशलाई अन्तर्राष्ट्रिय भावना भएको व्यक्ति मानिन्छ र पछि चिनियाँ जनताको नेता – माओले उनलाई ‘राष्ट्रको साथी’ भनेका थिए ।
५. सन् १७७९ मा अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन फ्रान्सले धेरै मद्दत ग¥यो । सन् १९६२–७२ मा भियतनाम फ्रान्सबाट स्वतन्त्र हुन रुस र चीनले मद्दत ग¥यो । दोस्रो विश्वयुद्धमा युरोपलाई फासीवादबाट जोगाउन अमेरिका र रुसले मद्दत ग¥यो । उक्त दोस्रो विश्वयुद्धमा सोभियत रुसले करिब २ करोड ६० लाख मानिस बलिदान ग¥यो । रुसमा समाजवादी व्यवस्था स्थापनापछि सन् १९१७ देखि ७० को दशकसम्म नै उसले धेरै अफ्रिकी देशहरूलाई युरोपेली साम्राज्यबाट मुक्त गर्न भौतिक र नैतिक सर्मथन तथा अन्य मद्दत ग¥यो ।
६. सन् १९५१ मा नेपाल राणा शासनबाट स्वतन्त्र भएपछि भारत, चीन, रुस, अमेरिका, बेलायतलगायतले विकासका पूर्वाधार तथा शिक्षा, स्वास्थ्य क्षेत्रमा नेपाललाई धेरै मद्दत गरे । रुसले विशेषगरी इन्जिनियर, कानुन, चिकित्सा विज्ञान र अन्य धेरै क्षेत्रमा हजारौँ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा रुसमा नै पढाएर मद्दत गरे ।
७. नेपालमा ०४६ सालको बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको लागि पनि धेरै विदेशबाट नैतिक समर्थन प्राप्त भएको थियो । सन् १९६१ मा नेपालबाट संयुक्त राष्ट्रसङ्घका लागि पहिलो राजदूत हृषिकेश शाह थिए । तत्कालीन महासचिव ड्यागहेमरसोल्डको शङ्कास्पद विमान दुर्घनामा भएका मृत्युको जाँचबुझ आयोगको संयोजक शाह नै थिए । तत्कालीन सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबिच संयुक्त राष्ट्रसङ्घको बैठकमा वाक्युद्ध हुँदा सोभियत सङ्घका प्रधानमन्त्री निकिता ख्रुश्चेभले टेबलमा जुत्ता बजार्दा नेपालका शाहजीले प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने महाशक्तिहरूलाई यस्तो व्यवहार नसुहाउने भन्दै आपत्ति जनाएका थिए ।
८. यसरी आजभन्दा ६५ वर्ष पहिले नै आर्थिक, राजनीतिक र कूटनैटिक हिसाबले विश्व मञ्चमा सम्बन्ध गाँसिसकेको देश आज संसारका घटनासँग कसरी बेखबर र तटस्थ रहन सक्छ ? इतिहास नपढ्नेले यो कुरा थाहा नहुने नै भयो तर विद्वान् र बुद्धिजीवीहरू यो ऐतिहासिक तथ्यबाट बेखबर पक्कै छैनन् होला ! अनि किन यस्ता बुद्धिजीवीहरूले नेपाललाई सात साल पूर्वको राणाकालीन अवस्थामा फर्काउन खोजेका हुनु आश्चर्य लाग्छ ? राणाकालमा नेपालीले अरु देशका बारेमा होइन आफ्नै देशका बारेमा बोल्ने अधिकार पाएका थिएनन् । के अरु देशका बारेमा बोल्नु हुँदैन भन्ने भाष्य निर्माण गर्न खोज्नेहरू नेपाली जनताको मुख थुनेर विदेशी शक्तिको नुनको सोझो त गरेका होइनन् भन्ने शङ्का गर्नु अस्वभाविक होइन ।
९. सञ्चार, यातायात, साहित्य, शिक्षा र अन्य धेरै कुराहरूले विश्वलाई एक सूत्रमा बाँधिसकेको आजको विश्वलाई नै ग्लोबल भिलेज भनिएको हो । व्यापार र व्यवसायमा उदार र खुला नीतिअन्तर्गत संसारका हरेक देशले अर्को देशका लागि आफ्नो ढोका खुला राख्नुपर्ने विश्व व्यापार सङ्गठन (WTO) वकालत पश्चिमा देशहरूले नै गरेका हुन् । विश्वका धेरै देशहरूलाई चाहँदा नचाहँदै पनि WTO मा हस्ताक्षर गर्न बाध्य तुल्याएको थियो । आज संयुक्त राज्य अमेरिका जसले सबभन्दा बढी यसको वकालत गरेको थियो आज उसैले संसारभरका देशको सामानलाई यो नीतिको विरुद्ध कर थोपार्दै छ । यसबारेमा नेपालीले पनि बोल्नुपर्छ कि पर्दैन ?
१०. सबभन्दा बुझ्नुपर्ने कुरा त संसारको कुनै एक स्थानमा भएको घटनाले अर्को स्थानमा अप्रत्यक्षरूपले असर गरिरहेको हुन्छ । लडाइँ भएको युक्रेनमा गहुँ र तेलको भाउ संसारभर बढ्यो ।
यसरी एक सूत्रमा बाँधिसकेको विश्वलाई बेवास्ता गर्दै पश्चिमा गोलाद्र्धमा कोही पस्न पाउँदैन भन्ने, मध्यपूर्वमा इजरायलले आम नरसंहारलाई बढावा दिने, पेट्रोलको खरिद बिक्री अमेरिकी डलरले नै गर्नुपर्ने, ‘मलाई कुनै अन्तर्राष्ट्रिय कानुनले रोक्दैन’ भन्नेजस्ता हैकम लाड्ने अमेरिकी साम्राज्यवादको कर्तुतका बारेमा सबैलाई शिक्षित गराउँदै यसको विरुद्धमा बोल्नु भोलि नेपालको हितमा हुनेबारे नेपाली जनतालाई बताउनुपर्नेमा विरोध गर्नु उल्टो बुद्धि हो ।
भक्तपुरका बारेमा भन्नुपर्दा राणा र पञ्चायती सरकारको अत्याचारको विरुद्धमा यहाँका जनताले विगुल फुकेको होइन, २०४६ सालदेखि ठुला भनिने राजनीतिक पार्टीहरूले प्रजातान्त्रिक मूल्य तथा मान्यतविरुद्ध भागबन्डाको संस्कृतिलाई मलजल गर्दै दललाई रसातलमा पु¥याउने कार्यको बारेमा पनि सचेत गराउँदै यस्तो देशघाती कार्यको विरोध गर्दै जनतालाई सचेत गराउँदै आएको हो । विश्व जगत्मा साम्राज्यवादी अमेरिकाको हैकमवादको विरोध यहाँका जनताले विगत ७० वर्षदेखि गर्दै आवाज उठाउँदै आइरहेका छन् । यस्तो वास्तविकतालाई नबुझी हामीले अत्याचारको बारेमा बोल्नुहुँदैन भन्ने गलत भाष्य निर्माण गर्ने तप्काहरू कि सा¥है अज्ञानी हुन् कि त साम्राज्यवादी अमेरिकाको हितमा बोल्ने दास र देशद्रोही हुन्भन्दा फरक नपार्ला ।

‘अन्यायको समयमा मौन बस्नु स्वयं अपराध हो’– बर्टोल्ट ब्रेख्त
प्रसङ्ग भनेजुयला सार्वभौम सत्ता, मादुरोको अपहरण र अमेरिकी सम्राज्यवादको कुकृत्य :
“पहिले उनीहरू कम्युनिस्टहरूका लागि आए, म बोलिनँ…
अन्त्यमा उनीहरू मकै लागि आए, बोल्ने कोही बाँकी रहेन ।” – मार्टिन निमोलर

अन्यायको समयमा मौन बस्नु स्वयं अपराध हो : बर्टोल्ट ब्रेख्त
“मुर्दा बोल्दैन, पशु आफूमाथि सङ्कट पर्दा मात्र प्रतिरोध गर्छ”
“अरूको पीडामा मौन बस्नु भनेको आफ्नै आवाजलाई बिस्तारै दबाउनु हो । जसले अरूको घाउ देखेर बोल्दैन, उसले आफ्नै रगत बग्दा पनि साक्षी खोज्नु व्यर्थ हुन्छ ।
मुर्दाले कहिल्यै प्रतिरोध गर्दैन, पशु सङ्कट पर्दा कराउँछ – तर मानिस चुप लाग्यो भने ऊ मृत र पशुभन्दा तल हैसियत झार्छ ।”
“आज अरूको दमनमा बोल्दैनौ भने भोलि तिम्रो दमनमा बोल्ने कोही हुँदैन । अपराधको विरोध नगर्नु तटस्थता होइन, त्यो अपराधमै सहभागिता हो । मुर्दा मौन हुन्छ, पशु आत्मरक्षामा मात्रै लड्छ – तर सचेत नागरिकले अन्याय जहाँ भए पनि प्रतिरोध गर्छ, नत्र ऊ नागरिक होइन, भीडको हिस्सा मात्र हुन्छ ।”
“न्यायको मौनता पनि हिंसाकै एक रूप हो । जब मानिस अरूमाथि भएका अपराध देखेर पनि बोल्दैन, ऊ आफ्नो नैतिक अस्तित्व त्यही क्षण गुमाउँछ । इतिहासले देखाएको छ – अरूको दमनमा चुप लाग्ने समाज अन्ततः आफ्नै पीडामा पनि एक्लो हुन्छ ।
मुर्दा बोल्दैन, पशु आत्मरक्षामा मात्र प्रतिरोध गर्छ – तर मानवताको सार भनेको अरूको पीडालाई आफ्नै ठानेर आवाज उठाउनु हो ।”
स्रोत : नरेन्द्रजङ पिटरको फेसबुक

२७ पुस, २०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *