नेपालले अरूको बारेमा किन बोल्नु आवश्यक छ ?
- पुष २७, २०८२
भक्तपुर, १७ पुस । विभिन्न व्यक्ति वा कम्पनीले विदेश पठाइदिन्छु भनी घर–खेत बेचाएर लाखौँ रुपैयाँ लिएको तर विदेश नपठाएका घटनाहरू हामीले धेरै सुनेका छौँ । त्यस्तोलाई ठगी गरेको भनी धेरै मुद्दा परेका र कारबाही भएका छन् ।
थुप्रै सहकारीहरूले आवश्यक वा मागेको बेला फिर्ता दिन्छु भनी रकम सङ्कलन गरेका छन् । तर, कतिपय सहकारी सञ्चालक सङ्कलित रकम कुम्ल्याएर भागेका छन् भने रकम फिर्ता माग्दा नदिएको वा दिन नसकेका पनि त्यतिकै छन् । यसमा पनि ठगी, अपचलन र भ्रष्टाचार गरेको भनी कारबाही भएका छन् ।
सबैजसो इन्टरनेट प्रदायकले दुई सय, एकसय एमबीपीएस स्पीडको इन्टरनेट दिन्छु भनी शुल्क लिएका छन् तर दुई सय भनेकोमा ८०–९०, सय भनेकोमा ४०–४५ एमबीपीएस स्पीडका इन्टरनेट दिएर अर्थात् कबुल गरेको भन्दा करिब आधा दिएर ठगेका घटना पनि सर्वत्र छ । तर, कुनै प्रदायकमाथि कारबाही भएको सुनिएको छैन ।
यसरी नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखालि) ले पनि घर–घरमा खानेपानी दिन्छु भनेर शुल्क उठाइरहेको हो । तर, पानी दिएको छैन । एक थोपा पनि नदिएर काउखालिले न्यूनतम महसुल भनेर मासिक एक सय रुपैयाँ लिइरहेको छ । महिनौँ वा वर्षौँ होइन दसकौँसम्म पानी नआएको कारण धाराको मिटरमा खिया लागेर जाम भइसकेको छ । ढल निकासको काम भने भक्तपुर नगरपालिकाले गरिरहेको छ तर ढल निकासको शुल्क पनि काउखालिले नै उठाइरहेको छ । यसरी काउखालिले थोपा पानी नदिएर न्यूनतम महसुल लिनु, जाम भएको मिटरको बहाल लिनु र ढल निकासका कुनै कार्य नगरे पनि शुल्क लिनु नैतिक हो कि अनैतिक ? यो सेवा हो कि शोषण ?
केही दिन पहिले काउखालि भक्तपुरका हाकिमले जर्मन प्रोजेक्टले राखिदिएका धाराहरू नियमानुसार दर्ता गर्न टीभीमार्पmत आग्रह गरेका थिए र टोल टोलमा सूचना जारी गरे । तर, उनले पानी दिन्छु भनी प्रतिबद्वता जनाएका छैनन् । पानी नआउने धारा दर्ता गरेर मासिक १५५ रुपैयाँ किन तिर्ने ? पानी दिन्छ भने दर्ता गर्नुपर्छ अन्यथा रुखबाट टिपेर ल्याएको पैसा हो र काउखालिका कर्मचारीलाई पोस्न ?
भक्तपुर नपा वडा नं. ६ को लालाछेँ, याछेँ क्षेत्रमा खानेपानीको ठुलो पाइप बिछ्याएको पनि महिनौँ भइसक्यो । स्थानीयहरूले पटक–पटक घरघरमा पानी वितरण गर्न हाकिमसमक्ष आग्रह–अनुरोध गरिसकेका छन् । तर, सधैँ एउटै जवाफ दिन्छ– तपाईंहरूको समस्या हामीलाई अवगत छ, त्यसैले १ नम्बरमा तपाईंहरूको फाइल केन्द्रमा पठाएको छु । आएपछि २–४ दिनमै काम हुन्छ ।
पछिल्लो समय नयाँ कुरा थपियो – सम्बन्धित कर्मचारीको सरुवा भयो अब नयाँ आएपछि हुन्छ ¤ बठ्याइँ गर्न कर्मचारीहरू खप्पिस हुँदारहेछन् ।
हामी भानुभक्तको युगबाट गणतन्त्रमा पुगिसकेका छौँ तर नेपालको सुशासन र प्रशासनमा ‘भोलि भोलि भन्दाभन्दै… ’ सदावहार छ ।
जलस्रोतको धनी भनिएको देशमा, राजधानी नजिकको भक्तपुरमा खानेपानी खुवाउन सक्ने सरकार ‘माटो सुहाउँदो’ व्यवस्थादेखि ‘उत्कृष्ट’ र ‘अद्वितीय’ व्यवस्थासम्म पनि सिंहदरबारमा अझै आएको छैन रहेछ ।
यो ‘शरणको मरण नगर्ने’ भक्तपुरमा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारमा लडाइँ गर्नाको परिणाम पो हो कि ? भक्तपुरले एउटा फिल्टर राख्न लामै सङ्घर्ष गर्नुप¥यो । पञ्चायतकालमा नगरमा आउने खानेपानीको मुहानबाटै कुनै होटलका लागि पानी पठाइयो । जलाधार क्षेत्रका वन म्हासेर खेलकुद मैदान बनाई मुहान सुकाइदिने काम पनि भयो । अहिले त बलेनीमुनि पानी भरिएको पाइप छ तर हामी काकाकुलमै छौँ । त्यसैले भक्तपुरमा खानेपानीमा राजनीति भइरहेको छ भन्दा अतिशयोक्ति नहोला । खानेपानीको हाहाकार भइरहेको यस क्षेत्रमा राजनीतिक, प्रशासनिक गण्यमान्य व्यक्ति नहुनु पनि हाम्रो दुर्भाग्य भएको छ । त्यस्ता व्यक्तित्व भएको भए सायद काउखालिसम्म हाम्रो पहुँच पुग्थ्यो । कुनै ठुला उद्योगी–व्यापारी, ठेकेदार आदि भएको भए पनि काउखालि ‘जी हजुर’ गर्दै आइपुग्थे । त्यस्तो पनि छैन ।
यद्यपि, काउखालिमा आग्रह–अनुरोध गर्न जानेहरूले पाइप किन्न हामी पैसा उठाउँछौँ अथवा नगरपालिकासँग समन्वय गर्न पनि भनेका थिए । एक–दुई लाख रकम पनि नभएको काउखालिले हामीलाई ‘सुनको पहाडमाथि बसेको गरिब’ को स्थितिमा राखेको छ ।
यदि संवेदनशील हाकिम र कर्मचारी काउखालिमा भएको भए अत्यावश्यक भएका बाहेकका आप्mना कर्मचारीहरूको एक–एक हप्ताको तलब ‘होल्ड’ मा राखेर पनि पाइप किन्ने रकम जुटाउन सक्थ्यो । केन्द्रबाट निकासा भएपछि ती कर्मचारीको रकम फिर्ता दिन सकिन्थ्यो । भक्तपुरमा कतिपय विद्यालयले शिक्षकहरूको तलब रोकी विद्यालयको जग्गा किन्न, भवन बनाउन, शैक्षिक सामग्री जोहो गरी विद्यालय सञ्चालन र प्रगति गरेका थिए । तर, काउखालि केही गर्दैन, न पानीको नयाँ स्रोत खोज्छ, न पानी दिन्छ न त ढल निकासकै काम गर्छ ।
जी. श्रेष्ठ, भक्तपुर–६
Leave a Reply