अमेरिकामा आप्रवासन विवाद चर्किँदै : न्युयोर्क होटलमा विरोध प्रदर्शन
- माघ १५, २०८२
पुँजीवादबिना नै विश्वव्यापी बनेको टापु
एक्काइसौँ शताब्दीको नक्सामा क्युवा एक भूराजनीतिक र जातीय अपवादका रूपमा देखापर्छ । क्यारिबिया सागरमा रहेको यो टापु जम्मा १ करोड १० लाख आवादी भएको देश हो । तर, यसले इतिहासकै सबैभन्दा लामो र क्रूर नाकाबन्दीको सामना गर्दै आएको छ । तैपनि, यसले विश्वको राजनीतिक मञ्चमा आफ्नो छवि बनाएको छ । त्यो पनि पुँजी, हातहतियार वा साम्राज्यवादी सौम्य शक्तिको मद्दतले होइन, बरु ठोस ऐक्यबद्धताको सहाराले । उसले संसारका दूरदराज इलाकामा डाक्टरहरू पठायो; दरिद्र मुलुकहरूमा विकासका लागि जनशक्ति पठायो; स्वदेशी विज्ञान केन्द्र र प्रयोगशालाहरूमा विकसित गरेका खोपहरू पठायो† पठायो सन्देश अन्तर्राष्ट्रवादी सदाचारको, जसले मानव जीवनलाई नाफाभन्दा धेरै माथि राख्छ ।
क्युवाली ऐक्यबद्धताका अनेक रङ छन् र यसका जराहरू नैतिक सिद्धान्तहरूसँग जोडिएका छन् । अफ्रिकाले उपनिवेशवादबाट मुक्त हुन खोज्दा यसले सहयोगी हात बढायो । अङ्गोलाको स्वतन्त्रता सङ्घर्षमा क्युवाको सहयोग निर्णायक सिद्ध भयो । नामिबियाको मुक्ति सङ्घर्षलाई क्युवाले साम्राज्यवादविरोधी भाइचाराको टेवा दियो । अफ्रिकाबाट रङ्गभेदी शासनसत्तालाई ढलाउन क्युवाले मद्दत ग¥यो । सत्कर्म गर्ने क्युवाली प्रयत्नका पाखुरा शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रमा पनि फैलिएको छ ।
यो एउटा बिब्ल्याँटो सत्य हो । एउटा सानो देशले सैन्य शक्तिले नभई सेतो डाक्टरी पोशाकले एकध्रुवीय विश्व व्यवस्थालाई चुनौती दिइरहेको छ । यो कुनै बिरानो घटना वा रुमानी अपवाद होइन । वास्तवमा यो एउटा वैकल्पिक अभियानको राजनीतिक, ऐतिहासिक र सभ्यताजन्य अभिव्यक्ति हो । यसको नाम हो – भाइचाराको विश्वव्यापीकरण । (यहाँ हामी अङ्ग्रेजीको Globalization लाई विश्वव्यापीकरण वा भूमण्डलीकरण शब्द प्रयोग गर्छौँ । अनु.) यो अवधारणा फिडेल क्यास्त्रोको चिन्तन र गतिविधिको परिणाम थियो । क्यास्त्रोले ६ दशकसम्म एक अन्तर्राष्ट्रवादी र क्युवाली क्रान्तिकारीको रूपमा सिद्धान्तको परिवर्तनकामी अभ्यास (प्राक्टिस) गर्नुभयो । यही अभ्यासको मर्म थियो – भाइचाराको विश्वव्यापीकरण । पुँजीवादी विश्वव्यापीकरण/ भूमण्डलीकरणको माचो छ । यसले बजारलाई एकैनासे पार्दै छ, विभिन्न देशको सार्वभौमसत्ता खोस्दै छ, हिंसा निर्यात गर्दै छ । त्यस्तो बेला दक्षिणी गोलाद्र्धका देशहरूबाट क्युवाले दक्षिण–दक्षिणबिच सहकार्यको सञ्जाल बनायो । यसको आधार बनायो परस्पर हातेमालो, अहस्तक्षेप, स्वास्थ्यको अव्यवसायीकरण र असहायलाई प्राथमिकता जस्ता सिद्धान्तलाई ।
अहिले संसार बहुध्रुवीय बन्दै छ । उदारवादी साँठगाँठको युग ढल्दै छ । शक्तिका नयाँ–नयाँ ध्रुवहरू उदाउँदै छन् । यो विरोधाभाष अब प्रतीकात्मक मात्र रहेन; यथार्थ नै बनिसक्यो । नवउदारवादी विश्वव्यापीकरणले आफ्नो मरणोन्मुख स्वरूप देखाएको छ । यसले वास्तवमा मृत्युको खेती गर्छ । नाफा, ऊर्जा सुरक्षा र सैन्य वर्चस्वको नाममा यसले मानिसलाई लगालग बलि चढाउँदै जान्छ । यद्यपि, यो सङ्कटग्रस्त प्रणालीको अन्तरालमा अर्को तर्क फक्रिँदै छ – जीवनको तर्क । यो कुनै आदर्शवादी अड्कल होइन । बरु राज्यको नीति, प्रतिरोधको रणनीति र सभ्यताकारी अभियानको रूपमा जीवनको तर्क फुल्दै छ ।
यो द्वन्द्वलाई यहाँ एउटा कठोर र वस्तुनिष्ठ कोणबाट केलाइनेछ । पहिलो, यो लेखले दुवैथरी विश्वव्यापीकरणको परिभाषा दिने र तुलना गर्ने सैद्धान्तिक खाका तय गर्नेछ । दोस्रो, यसले क्युवाली विदेशनीतिले अँगालेको विश्वव्यापी भाइचारा कसरी सुदृढ बनेको छ भनी विश्लेषण गर्नेछ । यो केवल आकस्मिक देखावा मात्र होइन, ठोस संरचना भएको पद्धति नै हो भनी पुष्टि गर्नेछ । तेस्रो, यो विकल्पलाई साम्राज्यवादीहरूको जवाफको छानबिन गर्नेछ । अन्त्यमा यसले विश्वभरि नै यो विश्वव्यापीकरणलाई विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनेछ । किनभने, विश्वको संरचनात्मक सङ्कटलाई अब पुँजीवादले हल गर्न सक्नेछैन । बाटो स्पष्ट छ – भाइचाराको विश्वव्यापीकरण अब नैतिक विकल्पमात्र रहेन, बरु एक्काइसौँ शताब्दीमा मानव अस्तित्वको एकमात्र सम्भावित मार्ग बनेको छ ।
१. दुई नितान्त भिन्न तर्कहरू
क) पुँजीवादी विश्वव्यापीकरण : पुँजी सञ्चय, हिंसा र वर्चस्वमा ¥हास
विश्वव्यापीकरण न हालसालैको हो न तटस्थ परिघटना हो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको थियो । त्यसमा पुँजीपतिहरूले कसरी ‘इतिहासमै पहिलोपल्ट’ जबरजस्ती विश्व बजार थोप¥यो र पृथ्वीको प्रत्येक कुनाकाप्चामा आफ्नो दबदबा कायम ग¥यो भन्ने वर्णन पाइन्छ । पुँजीको यो अन्तर्राष्ट्रियकरणका विभिन्न चरण छन् । १९ औँ शताब्दी ढल्दै गर्दाको साम्राज्यवाद, दुईध्रुवे शीतयुद्ध (सन् १९४५–१९९१), समाजवादी खेमाको विघटन, सन् १९९० को दशक यता प्रभुत्वमा जमाइरहेको नवउदारवादी एकध्रुवे भूमण्डलीकरण । यो पछिल्लो चरणलाई ‘इतिहासको अन्त्य’ भनी ठुलै हर्षबढाइँ गरिएको थियो; खुला बजार नै अपरिहार्य सत्य र ‘प्राकृतिक’ हो भनी घोषणा गरिएको थियो । तर, यसको यथार्थ अलि फरक रह्यो; पुँजीवादको संरचनात्मक अन्तर्विरोध झन्झन् गहिरिँदै गयो । विश्वभरि समृद्धि ल्याउनु त परको कुरा, यसले वर्गीय भेदलाई झन् चर्कायो† राष्ट्रिय उत्पादनको परिवेशलाई तहसनहस पा¥यो; अर्थतन्त्रलाई वित्तकरण ग¥यो† स्वास्थ्य, खानेपानी, शिक्षा, पर्यावरणलगायत अत्यावश्यक चीजलाई सट्टाबजारमा मोलतोल गर्ने माल/वस्तुमा फेरिदियो ।
विश्व पुँजीवादको वर्चस्व अहिले ¥हासोन्मुख छ । यो चरणमा उत्पादनको शैलीका रूपमा झन्झन् खुला हिंसाको सहारा लिँदै छ । लेनिनले भन्नुभएको थियो – केन्द्रमा (पुँजी) सञ्चय गर्ने ठाउँजति रित्याएपछि यो व्यवस्था हिंस्रक रूपमा परिधितर्फ फैलिनेछ । आज हिंसाको बहुरूपी भूमण्डलीकरण भइसकेको अवस्थामा लेनिनको भनाइ अझ सान्दर्भिक बनेको छ । हिंसाको भूमण्डलीकरणका विभिन्न पक्ष छन् । जस्तो :
आर्थिक हिंसा : नाकाबन्दी, आर्थिक प्रतिबन्ध लगाउने, मुद्रा सञ्चिती जफत गर्ने र वित्तीय दबाब दिएर असमग्र अर्थतन्त्रको घाँटी थिच्ने । साम्राज्यवादीहरूले क्युवा, भेनेजुयला, इरान र सिरियामा यही गर्दै छन् ।
राजनीतिक हिंसा : विपक्षी समूहहरूलाई खर्च दिने, अस्थिरता अभियान चलाउने, ‘समानान्तर सरकार’ लाई मान्यता दिने । भेनेजुयलामा ग्वाइडोले यस्तै टेवा दिइएको थियो । नोबेल पुरस्कार पाएकी मारिया कोरिना मचाडोलाई अहिले यस्तै उकेरा हालिँदै छ । त्यसैगरी, देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न गैरसरकारी संस्था (NGO) हरूलाई प्रयोग गर्ने । नेड (NED) र युएसएड (USAID) यसका उदाहरण हुन् ।
सैन्य हिंसा : ठाडो हस्तक्षेप, विश्वव्यापी सैन्य अखडाहरूको सञ्जाल र २१ औँ शताब्दीमा समेत युद्धको खुला धम्की दिने । उदाहरणका लागि, हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाले सातौँ जलबेडालाई स्थायी तैनाथ गरेर दक्षिण चीन सागरमा तनाव बढाएको छ । भेनेजुयला र क्युवाका तटनजिक अमेरिकाले इतिहासमै ठुलो सङ्ख्यामा जलसेना केन्द्रित गरेको छ । यो क्यारिबियामा समुद्री लुटपाटको नयाँ शैली हो । जस्तो, अमेरिकाले क्यारिबियामा अन्य देशका जहाजलाई अवैध रोकटोक र कब्जा गर्दै छ† तिनका तेल ट्याङ्कर लुट्दै छ† साना डुङ्गालाई सताउँदै छ; तिनका चालकहरूको हत्या गर्दै छ । साम्राज्यवादको यस्तो हत्यारा अनुहार अहिले गाजाका प्यालेस्टिनी जनताविरुद्ध भइरहेको जातिसंहारबाट छर्लङ्ग हुन्छ । पश्चिमा शक्तिहरूले मौन बसेर वा जातिसंहारलाई उचित देखाएर बालबच्चा र महिलाहरूको नियोजित नरसंहारमा भागिदारी लिइरहेका छन् । साम्राज्यवादले हातहतियार दिएर मध्यपूर्वमा खडा गरेको ‘इजरायल’ ले हजारौँ जनतालाई नामेट पार्दै छ† अस्पताल, विश्वविद्यालय, खाद्यान्न उत्पादन केन्द्र र खानेपानी वितरण प्रणालीलाई धुलोपिठो पार्दै छ । यो नृशंसता अपवाद होइन । बरु पुँजीवादी भूमण्डलीकरणकै चरम प्रदर्शन हो । यो भूमण्डलीकरणले विभेद र थिचोमिचोमा परेका साम्राज्यवादविरोधी जनतालाई संरचनात्मक हिंसाको वैध तारो बनाउँछ । यस्तो अपराध गर्नेलाई कुनै दण्डफराक बनाइन्छ वा सजाय पाउनबाट जोगाइन्छ । पतनोन्मुख चरणमा विश्व पुँजीवादलाई यसरी जबर्जस्ती अरूमाथि लादिन्छ । यो चरणमा पुँजीवादी भूमण्डलीकरणले आफ्नो जातिसंहारक अनुहार लुकाउनुपर्ने आवश्यकता पनि देख्दैन ।
बुझाइको हिंसा : मिडियाजन्य भाष्य थोपर्ने । जस्तो, फरक मत राख्नेहरूलाई अपराधी करार गर्ने† आफूले भनेअनुसार नगर्ने देशलाई ‘असफल’ देश घोषणा गर्ने† थोपरिएको सङ्कटका संरचनात्मक कारणहरूलाई लुकाउने ।
यी तर्कअनुसार मान्छेको जीवन केही होइन । कुनै व्यक्ति वा समुदायले अतिरिक्त मूल्य वा धन सिर्जना गर्न छोड्छ वा त्यसले अन्यायपूर्ण विश्व व्यवस्थालाई चुनौती दिने दुस्साहस गर्छ भने, तिनलाई सजिलै मार्न वा शत्रुवत व्यवहार गर्न सकिन्छ । समकालीन पुँजीवादले यस्ता व्यक्ति वा समुदायको शोषण मात्रै गर्दैन, तिनलाई नामेट पनि पार्छ । भेनेजुयलामाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका कारण ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यो तथ्याङ्क संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक एलिना दुहानको हो । त्यसैगरी, क्युवाविरुद्ध अमेरिकाले लगाउँदै आएको नाकाबन्दी नरसंहारको हतियार बनेको छ । दशकौँदेखि जारी यो नाकाबन्दीले क्युवामा सत्तापलट गर्ने बदनियत राखेर कैयन सर्वसाधारणलाई जानाजान पीडा दिइरहेको छ ।
ख) भाइचाराको विश्वव्यापीकरण : मानवतावादको तर्क
पीडा र मृत्युको सामना गरिरहे पनि क्युवाले क्रान्तिकारी विचारलाई नै वैकल्पिक तर्कको रूपमा अभिव्यक्त गर्दै छ । यो वैकल्पिक तर्क हो जीवनको तर्क । यो तर्क कुनै पुँजी सञ्चयमा नभई एक सामाजिक पुनरुत्पादनमा आधारित छ; प्रतिस्पर्धामा नभई सहकार्यमा आधारित छ† कसैमाथि वर्चस्वमा नभई आपसी ऐक्यबद्धतामा आधारित छ ।
यो मोडल कुनै रक्षात्मक प्रतिक्रिया होइन, बरु गहिरा जरा भएको एक सभ्यताकारी अभियान हो । होजे मार्टीले कुनै बेला साम्राज्यवादविरुद्ध एकता गर्ने इलाकाको रूपमा ‘हाम्रो अमेरिका’ को विचार अघि सार्नुभएको थियो । चे ग्वेभाराले सर्वहारा अन्तर्राष्ट्रवादको परिभाषा दिँदै भन्नुभयो, “एकजनाको दरिद्रता सबैको दरिद्रता हो (भन्ने भावना) ।” तर, क्युवाले कष्टकर समस्याहरूको सामना गरिरहेको अलग्गै र विशेष सन्दर्भमा फिडेल क्यास्त्रोले सोही सदाचारलाई भूराजनीतिक सिद्धान्तमा फेर्नुभयो । उहाँको अडान कहिल्यै डगेन । उहाँले भन्नुभयो – नवउदारवादी विश्वव्यापीकरणको पृष्ठभूमिमा हामीले ऐक्यबद्धतालाई विश्वव्यापी बनाउनुपर्छ ।
यो कुनै अमूर्त विचार होइन । फिडेलका विचारमा अन्तर्राष्ट्रवाद समाजसेवा नभई ‘क्रान्तिको आधारभूत सिद्धान्त’ थियो । उहाँले बारम्बार भनिरहनुभयो, “हामीसँग भएको हामी दिन्छौँ, जुठोपुरो दिन्नौँ ।” सन् १९७७ सेप्टेम्बर ७ को दिन उहाँले उद्घोष गर्नुभयो, “अन्तर्राष्ट्रवाद माक्र्सवाद–लेनिनवादको सबैभन्दा सुन्दर र क्रान्तिकारी सार हो ।” सन् २००५ मा ल्याटिन अमेरिकी मेडिकल तालिम कार्यक्रमको पहिलो शैक्षिक सत्रका विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले गहकिलो कुरा राख्नुभयो । फिडेलले भन्नुभयो, “आज हामी डाक्टर निर्यात गर्छौँ, सैनिक होइन; हामी स्वास्थ्य निर्यात गर्छौँ, युद्ध होइन; हामी ज्ञान निर्यात गर्छौँ, अज्ञान होइन; हामी ऐक्यबद्धता निर्यात गर्छौँ, स्वार्थ होइन ।”
यो विचार फिडेलले एउटै नारामा अटाएको छ – बम होइन, डाक्टर ! यो एक नारा मात्र होइन, बरु आपसमा मिल्नै नसक्ने दुई सभ्यताबिच भेद छुट्याउने कडी हो; नैतिकता र राजनीतिको सूत्र हो । यी दुई सभ्यता हुन् :
अ) मृत्युमुखी सभ्यता : हातहतियारमा सयौँ खर्ब डलर खर्च गर; ड्रोन, लडाकु विमान र सैन्य–उद्योग गठजोडमा लगानी गर ।
आ) जीवनमुखी सभ्यता : स्वास्थ्य सेवा, खोप, अस्पताल, डाक्टरी तालिम र सार्वभौम प्रविधिहरू हस्तान्तरणमा लगानी गर ।
यस अर्थमा भाइचारा कुनै अमूर्त भावुकता होइन बरु ठोस नीति हो† माल विनिमत्न्दा फरक आदानप्रदान, राजनीतिक सर्तबाजीभन्दा फरक सहकार्य, विपन्नलाई प्राथमिकता र राष्ट्रिय क्षमताको विकासजस्ता पक्षलाई सबल पार्ने नीति हो । भाइचारा पुँजीवादपछिको भूमण्डलीकरण हो । यो भूमण्डलीकरणले बिस्तारै आकार लिँदै छ ।
(पेद्रो मोन्जोन बाराता पूर्वक्युवाली राजदूत हुनुका साथै अन्तर्राष्ट्रिय नीति अनुसन्धान केन्द्रका अनुसन्धाता समेत हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply