विश्वव्यापी पुँजीवादविरुद्ध विश्वव्यापी भाइचारा – १
- माघ २१, २०८२
टिओबी (TOB) ज्याकेटधारी
भदौ २३ र २४ गते नयाँ पुस्ताको आन्दोलनमा ‘स्वतन्त्र तिब्बत’ सँग सम्बन्ध रहेको टिओबी ज्याकेटधारी समूह घुसेर भिडलाई उत्तेजित पार्ने काम गरेको खुल्यो । टिओबी (TOB) को अर्थ Tibetan Original Blood (तिब्बती मूलको रगत) हो । जेन–जीको नाउँमा भएको नयाँ पुस्ताको आन्दोलनमा टिओबीको नेतृत्व तेन्जिङ दावा भन्ने व्यक्तिले गरेका थिए । जो विवादास्पद व्यक्ति हुन् । दावाले पहिरिएको ज्याकेटमा टिओबी (Tibetan Original Blood) लेखिएको थियो । उनले अगस्ट, २०२४ मै आफ्नो फेसबुक अकाउन्टमा टिओबीको लोगो अपलोड गरेका थिए ।
नयाँ पुस्ताको आन्दोलनमा संसद् भवन आसपास दावाको समूह देखा परेको थियो । त्यसक्रममा उनले ‘खबर बुलेटिन टिभी’ नामक फेसबुक पेजमा “मलाई मेरो देश फिर्ता चाहियो; मेरो देश, मेरो शान; हाम्रो देश, हाम्रो राज ।” जस्ता तिब्बतलाई सङ्केत गर्ने अभिव्यक्ति दिएका थिए । टिबेटन ओरिजिनल ब्लडकै नाममा १३ वर्षअघि खोलिएको एउटा फेसबुक ग्रुपमा “विश्वभर छरिएर रहेका तिब्बती र ‘स्वतन्त्र तिब्बत’का पक्षधरहरूको मञ्च तथा विश्व सञ्जाल” भनेर परिभाषित गरिएको छ । (टेकपाना, २०८२ असोज २६)
भदौ २३ र २४ गतेको शङ्कास्पद गतिविधिमा दावाको भूमिका देखिएपछि उनलाई प्रहरीले पक्राउ ग¥यो । छानबिनको क्रममा उनको नागरिकता, जन्म दर्ता प्रमाणपत्र र विद्यालय प्रमाणपत्रसमेत नक्कली रहेको तथ्य प्रहरीले फेला पा¥यो । तेन्जिनको नागरिकतामा बाबुको नाम कृष्णबहादुर उल्लेख छ । प्रहरीले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गरायो । तर, बाबु छोरा भनिने दुवैले एक अर्कालाई चिनेनन् । यसले दावा नेपालमा बसेर चीनविरुद्ध गतिविधि गर्ने व्यक्ति रहेको प्रस्ट हुन्छ । उनलाई लागुऔषध, लिखतसम्बन्धी कसुरका मुद्दा लागेको छ । तर, यस्तो गम्भीर मुद्दा लागेका दावालाई काठमाडौँ जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा छोडेको छ ।
नयाँ पुस्ताको आन्दोलनमा सहभागी सुरेन्द्र घर्ती नामका एक युवाले भने, “हामी नाच्दै गाउँदै शान्तपूर्वक प्रदर्शन गर्दै थियौँ । एभरेष्ट होटलभन्दा मुनि TOB ज्याकेट लगाएका एउटा समूह बाइक पड्काउँदै आयो । उनीहरू आएपछि माहौल तात्तियो । पुलिससँग वादविवाद पनि प¥यो । उनीहरूले नै पुलिससँग धक्कामुक्का गर्न थालेपछि प्रदर्शनमा उत्रिएका युवाहरू उत्तेजित भए । उनीहरूकै कारण भिड उत्तेजित भएर व्यारिकेड तोड्ने काम भएको हो ।” (पोडकास्ट, टङ्क दाहाल, २०२५ नोभेम्बर २३)
नेपालमा टिबेटीयनहरू
नेपालमा २० हजारभन्दा बढीको सङ्ख्यामा तिब्बती शरणार्थीहरू रहेको अनुमान छ । तीमध्ये धेरैजसो सन् १९५९–६० मा दलाई लामासँगै तिब्बतबाट भागेर नेपाल आएका थिए । यी तिब्बती शरणार्थी काठमाडौँ, पोखरा, सोलुखुम्बु, बागलुङ्, मुस्ताङ्लगायतका शहरमा बस्दै आएका छन् । कतिपय शरणार्थीहरूले प्रशासनलाई प्रभाव पारेर नेपाली नागरिकता लिइसकेका छन् । कतिपय शरणार्थीकै रूपमा छन् । नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएकाहरू नेपालको राजनीति र प्रशासनिक क्षेत्रमा समेत पहुँच पु¥याउँदै छन् । साम्राज्यवादी अमेरिकाले उनीहरूलाई नेपालमा बसेर चीनविराधी गतिविधि गर्न उक्साउँदै आएको छ ।
खम्पा विद्रोह
अमेरिकाको उक्साहटमा सन् १९५६ देखि दलाई लामाका पक्षधरहरूले तिब्बतमा सशस्त्र विद्रोहको सुरुआत गरे । १० मार्च १९५९ मा खम्पा विद्रोहको नाममा तिब्बतको ल्हासामा उपद्रव मच्चाए । ३० मार्च १९५९ मा तिब्बतका चौधौँ दलाई लामाले तिब्बत छाडेर अमेरिकी गुप्तचर संस्था (सीआईए) को सहयोगमा १८ अप्रिल १९५९ मा भारतको आसाम तेजपुरमा आश्रय लिन पुगे ।
अमेरिका, भारत र युरोपेली सरकारहरूको साथ र सहयोग पाएको दलाई लामाले सन् २०६० देखि सैनिक खडा गरेर सशस्त्र विद्रोहको तयारी गरे । उनीहरूले नेपाली भूमि प्रयोग गरे । खम्पाहरूले पूर्वओलाङचुङ्गोलादेखि पश्चिम हुम्लासम्मको हिमाली भेगमा शिविर राखेर चिनिया भूमिभित्र गुरिल्ला गतिविधि गरेर फर्कन्थे । दलाइ लामाका पक्षधरहरूले तिब्बतका खाम क्षेत्रका मान्छेहरू नेपालमा राखेर तिब्बतमाथि आक्रमण गर्ने रणनीति अपनाएका थिए । खम्पा विद्रोहको निम्ति नेपाली भूमि मुस्ताङ्लाई चुनिएको थियो । उनीहरूका सर्वोच्च कमाण्डर वाङ्दी त्यहीँ बस्थे ।
खम्पाहरू दलाई लामाका दाइ ग्यालो थोन्डुपमार्फत अमेरिकी गुप्तचर संस्था सिआईएसँग जोडिन पुगेका थिए । अमेरिकासँग मिलेर खम्पा गुरिल्ला परिचालन र मुस्ताङ्मा शिविर बसाल्ने मुख्य सूत्रधार ऊ नै थोन्डुप हुन् । उनीमार्फत गे वाङ्दीलगायत ६ जनालाई सीआईएले पश्चिम प्रशान्त क्षेत्रमा पर्ने साइपन टापुमा गुरिल्ला युद्ध, सूचना सङ्कलन र ट्रान्समिटर सञ्चालनको चारमहिने तालिम दिएका थिए । त्यसपछि उनीहरूलाई तिब्बतको विभिन्न भागमा प्याराजम्प गराइएको थियो । तीमध्ये ३ जना तिब्बत पसेको केही समयपछि नै चिनिया सेनाबाट मारिए । वाङ्दीको टोलीपछि अर्को टोलीलाई पनि साइपनमै तालिम दिइएको थियो । त्यहाँ हावापानी नमिलेर विद्रोहीहरू बिरामी पर्न थालेपछि दोस्रो वर्षदेखि अमेरिकाको कोलोराडोमा लगेर तालिम दिइयो । कोलोराडोको हावापानी तिब्बतसँग मिल्दोजुल्दो छ । त्यहाँ तालिम दिइसकेपछि सिआईएले तिनीहरूलाई तिब्बतका विभिन्न ठाउँमा प्याराजम्प गरायो । सन् १९५७ देखि ६१ को अवधिमा सिआईएद्वारा तालिम प्राप्त ४९ गुरिल्लामध्ये १२ जना बाँकी रहेर सबै मारिए । बचेकाहरू भागेर भारत पुगे ।
सिआईए अधिकारीहरूले माओको सेनासँग लड्न माओकै गुरिल्ला शैली अपनाउने योजना बनाएका थिए । सिआर्ईएले एअरड्र«पमार्फत खम्पाहरूको निम्ति हतियार, लत्ता कपडा, औषधी र खाद्यान्न पठाइदिने गरेको थियो । तिब्बतीलाई ‘साम्पा’ (सातु) मनपर्ने भएकोले सिआईएले ‘केलोग्स कम्पनी’ को सहयोगमा पर्याप्त तागत दिने पौष्टिक पदार्थ मिसाएर बनाएको साम्पासमेत झारिदिने गरेको थियो ।
मुस्ताङ मिसनमा भारत
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले तिब्बत मिसनमा भारतलाई पनि संलग्न गरायो । २०१९ कार्तिकमा भारत–चीन युद्ध छेडिएपछि मुस्ताङ मिसनमा अमेरिकाले भारतलाई समेत साझेदार बनायो । भारतीय गुप्तचर ‘आइबी’ (Intelligence Bureau) प्रमुख बीएन मल्लिकले दलाई लामाका दाइ थोन्डुपसँग ६००० तिब्बती युवा उपलब्ध गराउन मागे । उनीहरूलाई देहरादुनको चक्रातामा लगेर भारतीय सेना र सिआईएले establishment of 22 नामको तालिम केन्द्रहरू खडा गरेर गुरिल्ला युद्धको तालिम दिए । २०२० मा सिआईए र भारतले दिल्लीमा ‘कम्बाइन्ड अपरेसन्स सेन्टर’ खडा गरे । त्यसमा सिआईए, भारतका गुप्तचर अधिकारी र तिब्बती प्रतिनिधिहरू थिए । मुस्ताङबाट आउने चीनसम्बन्धी गोप्य सूचनाहरूको प्रशोधन र विश्लेषण त्यहीँ गरिन्थ्यो । सन् १९६० को अन्त्यसम्म तिब्बत अपरेसनका लागि अमेरिकाले बर्सेनि २५ लाख डलर खर्च गरेको थियो । भारतमा तालिम लिएका तिब्बतीलाई २०२८ सालमा भारतले बङ्गलादेश छुट्याउने पूर्वीपाकिस्तानको युद्धमा समेत प्रयोग गरेको थियो । जहाँ ५६ जना विद्रोही टिबेटीयनहरूको मृत्यु भयो भने थुप्रै घाइते भए । (भिक्षु, व्यापार र विद्रोह, सुधीर शर्मा)
नेपालमा खम्पा विद्रोह गराउनुको उद्देश्य
अमेरिका र भारतले नेपालको मुस्ताङलगायतका हिमाली क्षेत्रमा खम्पाहरूको गतिविधि बढाएर चीनलाई अस्थिर बनाउने, नेपाल र चीनको बिचमा सम्बन्ध बिगार्ने, नेपालमा चीनलाई आक्रमण गर्न उक्साउने र नेपालको सुरक्षा गर्न भन्दै नेपालको उत्तरी सीमामा भारत र अमेरिकाको सेना ल्याएर राख्ने दाउ हेरेका थिए । त्यतिबेला उनीहरू पूर्णरूपले सफल हुन सकेनन् ।
खम्पाविरुद्ध नेपाली सेनाको कारवाही
वि.सं २०३१ असार १ गते नेपाली सेनाको पोखरा ३ नम्बर बाहिनीबाट सैनिक कारबाहीलाई अगाडि बढाइएको थियो । नेपाली सेनाले खम्पा विद्रोहीलाई निःशस्त्रीकरण गर्न प्रमुख सेनानी सत्चित शमसेर राणालाई अप्रेसन कमाण्डरको जिम्मा दियो । नेपाली सेनाले पटक पटक खम्पा विद्रोहीहरूलाई आत्मसमर्पण गर्न भन्यो । उनीहरूले हतियार बुझाउने भनेर समय लम्ब्याउँदै झुक्याइरहे । नेपाली सेना खम्पाविरुद्ध उत्रिएको बेला चिनिया सेना नेपाली सेनालाई सघाउन सीमा क्षेत्रमा उत्रिएको थियो भने भारतीय सेना खम्पा विद्रोहीहरूलाई उद्धार गर्न हेलिकप्टरसहित आएको थियो ।
नेपाली सेनाले कारवाही थालेपछि वाङ्दीको टोली मुस्ताङबाट तिब्बत पस्दै, नेपालतर्फ ओर्लँदै लुक्दै–भाग्दै दार्चुलासम्म पुगेको थियो । त्यहाँबाट उनीहरू भारत छिर्न खोजेका थिए । त्यहीँ गौँडा ढुकेर बसेको नेपाली सेनाको टुकडीले २०३१ भदौ २४ गते बिहान ९ बजे तिङ्करनजिक टाटा भन्ने ठाउँमा घोडामा आउँदै गरेका खम्पाहरूमाथि गोली चलायो । दिउँसो तीन बजेतिर वाङ्दी नेपाली सेनाको गोली लागेर ढले । वाङ्दी ढलेपछि बाँकी खम्पाहरूको भागाभाग भयो । कोहीले नेपाली सेनासमक्ष आत्मसमर्पण गरे । यसरी खम्पा विद्रोहीहरू नेपाली भूमिबाट परास्त भएका थिए ।
अहिले नेपालमा सिआईएको चलखेल व्यापक भएको छ । नयाँ पुस्ताको आन्दोलनपछि नेपालमा अमेरिकी कठपुतली सरकार गठन भयो । यस्तोमा साम्राज्यवादी अमेरिकाले चीनविरुद्ध अर्को भाँडभैलो मच्चाएर नेपाललाई रणभूमि बनाउन सक्नेतर्फ नेपाली जनता सचेत हुनु जरुरी छ ।
२०८२ माघ १८ गते
Leave a Reply