भर्खरै :

नेमकिपाले केही गर्दैन !

नेमकिपाले केही गर्दैन !

तिमीले ठिक भन्यौ
नेमकिपाले केही गर्दैन !
नेमकिपा झूट बोल्दैन
नेमकिपा बेइमानी गर्दैन
नेमकिपा विश्वासघात गर्दैन
नेमकिपा भ्रष्टाचार गर्दैन
नेमकिपा ठगीकर्म गर्दैन
नेमकिपा अपराध गर्दैन
अपराधलाई राजनीति र राजनीतिलाई अपराध मान्दैन ।
भ्रष्टाचार, ठगी, अपराध गर्नेलाई बाँकी राख्दैन ।

तिमीले ठिक भन्यौ
नेमकिपाले केही गर्दैन !
नेमकिपाले विश्वासघात गर्दैन
नेमकिपाले देशघात गर्दैन
नेमकिपाले जनघात गर्दैन
नेमकिपाले मित्रघात गर्दैन ।
देशघात र जनघात गर्ने जहाँ लुक्न गए पनि छोड्दै छोड्दैन ।

तिमीले ठिक भन्यौ
नेमकिपाले केही गर्दैन !
नेमकिपाले गलत गर्दैन, गलत बोल्दैन ।
गलतलाई सही भन्दैन
सहीलाई गलत देख्दैन ।
पद–पैसाका निम्ति इज्जत बेच्दैन ।
पैसा बाँडेर चुनाव जित्दैन ।
विदेशीको भक्ति गर्दैन
विदेशीको दलाली गर्दैन
देशका नदी, भूमि विदेशीलाई दिँदैन
विदेशी धम्कीसामु झुक्दैन
विदेशी दलाललाई छोड्दै छोड्दैन ।

तिमीले ठिक भन्यौ
नेमकिपाले केही गर्दैन !
संसद्मा गएर सुत्दैन
संसद्मा गयल नै गयल हुँदैन
बैठक छोडेर स्टार होटलको डिनर खान हिँड्दैन
हरेक प्रस्तावमा ‘हुन्छ…..’ भन्दैन
आँखा चिम्लेर समर्थन गर्दैन
संसद्लाई सरकारी रबरस्टाम्प बन्न दिँंदैन
प्रखर प्रतिपक्ष बन्न पटक्कै डराउँंदैन ।
संसद्लाई सुनसान मसानघाट बन्न दिँदैन
संसद्लाई विचारशून्य लास बन्न दिँदैन ।
चीरहरण हुँदा आँखामा पट्टी बाँधर बस्दैन
रामलाई बनवास पठाइँदा मुखमा लडडु कोचेर बस्ने विद्वान् बाहुन बन्दैन
संसद्लाई विभीषण, लेण्डुप दोर्जे, जेलेन्स्कीहरूको ‘बर्थिङ सेन्टर’ बन्न दिँदैन ।

तिमीले ठिक भन्यौ
नेमकिपाले केही गर्दैन !
नेमकिपाले यो देशलाई अर्को गाजापट्टी बन्न दिँदैन,
एसियाली युक्रेन बन्न दिँदैन
दोस्रो फिजी बन्न दिँदैन
सिक्किम त कुनै हालतमा बन्नै दिँदैन
यो देशलाई ‘स्प्रिङ बोर्ड’ बन्न दिँदैन
नेपालबाहेक यो देशलाई अरू केही बन्नै दिँदैन ।
२०८२ माघ १८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *