भर्खरै :

सोमालिल्यान्डको मान्यतामा देखिने इजरायलको व्याकुलता

सोमालिल्यान्डको मान्यतामा देखिने इजरायलको व्याकुलता

इजरायलका विदेशमन्त्री गिदोन साआरले २६ डिसेम्बरमा सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अफ्रिकाको सोमालिल्यान्डलाई औपचारिक रूपमा स्वतन्त्र देशको मान्यता दिएको जानकारी दिए । त्यही पोस्टमा साआरले छिट्टै एकअर्काको भूमिमा दूतावास खोलिने पनि बताएका थिए । सोमालियाबाट सन् १९९१ मा एकतर्फी रूपमा अलग्गिएको घोषणा गरेको सोमालिल्यान्डलाई हालसम्म कुनै पनि देशले मान्यता दिएका थिएनन् ।
त्यसअघि १८ डिसेम्बरमा विदेशमन्त्री साआरले नै जेरूसेलममा फिजीको दूतावास खोलिने र फिजीमा इजरायली दूतावास खोलिने जानकारी दिएका थिए । अचानक देखिएको इजरायलको यो कूटनीतिक सक्रियताले के सङ्केत गर्छ ? केही विज्ञले फिजी र कुनै देशले स्वतन्त्र देश नमानेको सोमालिल्यान्डसँग इजरायलले पारस्परिक दूतावास स्थापना गर्ने सहमति गर्नु कूटनीतिक सफलता नभएको औँल्याएका छन् । बरू, यसले दुई वर्षभन्दा लामो समयदेखि विविध मोर्चामा युद्ध लडेपछि इजरायलले आफूलाई एक्लो महसुस गरेको गहिरो निराशालाई सङ्केत गर्ने तिनको भनाइ छ । गाजापट्टीमा व्यापक बमबारीपछि निम्तिएको आमविनाश, मृत्यु र भोकमरीले इजरायलका दुई सबैभन्दा महत्वपूर्ण सहयोगीहरू जर्मनी र संयुक्त राज्य अमेरिकामा जनमत उल्लेख्य बदलिएको छ । गाजामाथिको आक्रमण जारी राखेका कारण जर्मनीले इजरायलमाथि आंशिक हतियार प्रतिबन्ध लगाएको छ । युरोपभर वामपन्थी दलहरूले अहिले इजरायलको बहिष्कार र हतियार प्रतिबन्धलाई मुख्य मुद्दा बनाएका छन् ।
अक्टोबरमा समेत गाजामा युद्धविराम नभएको भए, युरोपेली सङ्घले इजरायलविरूद्ध विभिन्न प्रतिबन्ध लगाउने थियो । युद्धविरामपछि पनि इजरायलको कूटनीतिक सम्बन्ध युद्धपूर्वको अवस्थामा फर्किनसकेको छैन । नरसंहारको विषयमा अन्तर्राष्ट्रिय न्यायालयमा परेको मुद्दा अझै चलिरहेकै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि नेतान्याहुविरूद्धको पक्राउ वारेन्ट रद्द गरिएको छैन । पछिल्लोपटक युद्धविराममा हस्ताक्षर भएदेखि, वेस्ट बैङ्कमा इजरायली आतङ्क र जातीय सफाया जोडतोडसाथ चलिरहेको संसारले देखिरहेकै छ । गाजामा पनि युद्धविराम भनिएको छ, तर अझै इजरायली आक्रमण रोकिएको छैन । अक्टोबरयता पनि गाजामा सयौँ नागरिक मारिइसके ।
नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पकै युद्धविराम योजनालाई समेत तोडमोड गर्ने सक्दो प्रयास गरिरहेका छन् । यसमा गाजामा बस्ती विस्तार गर्ने मनसायबारे इजरायली रक्षामन्त्रीको बयान पनि समावेश छ । यही मुद्दामा जर्मन सरकारले इजरायलमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्ने र हतियार ढुवानी रोक्नुपर्ने जर्मन वामपन्थी पार्टी ‘डाई लिंकेका नेता जान भ्यान अकेनले आह्वान गरे । खासमा भ्यान अकेनको टिप्पणी जर्मन जनतामाझ निरन्तर गति लिइरहेको भावनासँग मेल खान्छ ।
मन्त्रालयलाई यो कुरा राम्ररी थाहा होला । किनकि सन् १९६७ र १९७३ को युद्धपछि इजरायलले यस्तै खराब सम्बन्धको सामना गर्नुपरेको थियो । कमजोर हुँदा गाबोनजस्तो देशसँग पनि झुक्नुपरेको इतिहास छ ।
सन् १९६७ को युद्धपछि, विदेश मामिलामा सम्बन्धविच्छेदको पहिलो लहर सुरू भएको थियो । त्यतिबेला, इजरायलले हरेक सम्भावित माध्यममार्फत थप सम्बन्ध क्षय रोक्ने प्रयास गरेको थियो । हाल सार्वजनिक भएका विदेश मन्त्रालयको सञ्चारअनुसार सन् १९७० मा गाबोनका राष्ट्रपति तथा तानाशाह ओमर बोंगोकी पत्नी जोसेफिन बोंगो इजरायलको भ्रमणका लागि आइपुगेकी थिइन् । भ्रमणमा इजरायलले आफू ओमरको तानाशाही शासनकै पक्ष रहेको देखाउने योजना बनाएको थियो । तर, कार्यक्रम योजनाअनुरूप अघि बढेन । इजरायली प्रधानमन्त्री गोल्डा मेयर मन्त्री इसरायल बर्जिलाईको अन्त्येष्टिमा भाग लिन जोसेफिन बोंगोको सम्मानमा आयोजित चिया पार्टी रद्द गर्न बाध्य भइन् । चियापार्टीमा प्रधानमन्त्रीको अनुपस्थिति र इजरायली मिडियाले आफ्नी श्रीमतीको भ्रमणलाई पर्याप्त महत्व नदिएको थाहा पाएर तानाशाह क्रोधित थिए ।
त्यसलगत्तै उनले आफ्नी श्रीमती मात्र होइन, इजरायलका लागि देशका राजदूतसमेत तत्काल फिर्ता बोलाए । कूटनीतिक सम्बन्ध बिग्रिन लागेपछि इजरायल व्याकुल बन्यो । लामो वार्तापछि इजरायलले ग्याबोनका तानाशाहलाई दुई लाख डलर मूल्यको हतियार र अन्य सैन्य उपकरण उपहारमा दिएपछि बल्ल सम्बन्ध सुध्रिएको थियो । त्यही दौडधुपको प्रतिफलस्वरूप सेप्टेम्बर १९७२ मा संयुक्त राष्ट्र सङ्घ महासभामा ग्याबोन इजरायलविरूद्ध भएको मतदानबाट टाढा रहेको थियो । यति प्रयासका बाबजुद लगभग एक वर्षपछि, ग्याबोन पुनः सन् १९७३ को युद्धपछि इजरायलसँग सम्बन्धविच्छेद गर्ने दोस्रो लहरमा सामेल भयो ।
भविष्यमा इजरायलको विदेश मन्त्रालयले फेरि गाजा युद्ध र यसको परिणामबारे जोडिएका फाइल खोल्दा वा कुनै पत्रकारिताको खोजले ल्याएको सूचनाले इजरायली सरकार विश्वभर आफ्नो कूटनीतिक सम्बन्ध जोगाउन केसम्म गर्न तयार थियो भन्ने खुल्ला । यसैअन्तर्गत हाल मन्त्री साआरले ट्विटमार्फत केही देशमा दूतावास खोल्न केसम्म गरिएको थियो भन्ने पनि पर्दाफास होला ।
(म्याक इजरायली मानव अधिकार वकिल तथा अभियन्ता हुन्)
– द वायरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *