भर्खरै :

भक्तपुरको राजनीतिमा पुँजीवादी छायाँ !

भक्तपुरको राजनीतिमा पुँजीवादी छायाँ !

भक्तपुर नगर र जिल्ला सफाइ आन्दोलन, रात्रि स्कुल सञ्चालन, साँढे धपाउने, किसान आन्दोलन भएका ठाउँ हुन् । उसबेला धानबाली तीन भागमध्ये दुई भाग जग्गा धनी वा सामन्तले बुझ्थे भने जोताहा किसानले एक भागमात्र पाउँथे । गहुँ बाली आधाआधा भई आएकोमा किसानले गहुँ बाली तिर्नै नपर्ने भूमिसुधार कानुन लागू गर्न दुईचार वर्ष लाग्यो । त्यो आन्दोलनबाट गरिब किसानहरूले साहुसँग १ सय रुपैयाँ ऋणको सय रुपैयाँ नै ब्याज लिएको हुँदा ‘भूमिसुधार ऐन’ ले सावाँभन्दा ब्याज बढी गएमा ऋण र ब्याज तिर्नै नपर्ने गरेको हुँदा किसान जनताले केही आर्थिक राहत पाए । किसान जनताको जीवनस्तरमा आएको सुधारबाट भक्तपुरको व्यापार र बजारमा राम्रो प्रभाव प¥यो र प्राथमिक विद्यालयहरूमा किसानका छोराछोरीहरूको भर्नामा ठुलो प्रगति भयो । जग्गा धनी सामन्तहरू पुरानै ढङ्गले बाली बुझ्न चाहन्थे भने जोताहा किसान र किसान कार्यकर्ताहरू भूमिसुधार ऐनअनुसार मात्रै बाली बुझाउन चाहन्थे । त्यसले आन्दोलनको लामो रूप लियो । त्यो पनि एक वर्गसङ्घर्ष थियो । भूमिसुधार ऐनअनुसार प्रशासन र प्रशासकहरूसमेत ऐन लागू गर्न उत्सुक थिएनन् र दोहोरो चाल चालेर उनीहरूले किसान र सामन्तहरूबिच बारम्बार जोताहा किसानलाई जग्गा निष्कासन वा बेदखल गर्ने खेल खेल्थे । त्यसैमा किसान स्वयम्सेवकहरू गएर बाली काटी किसानको घरमा फसल पु¥याउने काम गर्थे र बाँकी स्वयम्सेवकहरू शोषक सामन्त र प्रहरीसँगको मुठभेद शान्त गर्न सहयोग गर्थेे । हरेक घटनामा केही किसान कार्यकर्ताहरू ‘लुटपिट’ र अन्य मुद्दामा कारागार पु¥याइन्थे ।
किसान कार्यकर्ताहरू कानुनको भाकाभित्रै बाली बुझाउन जान्थे तर सामन्तहरू ‘तिमी हाम्रो मोही होइनौ’ भनी बाली बुझेर पनि भरपाई दिँदैनथे, विवाद चर्किन्थ्यो । यसरी किसान र सामन्तसँगको सङ्घर्षसँगसँगै ‘साँढे धपाउने आन्दोलन’, भारतीय विस्तारवादले नेपालको सुरक्षामा थिचोमिचो गरेको विरोधमा’ पनि ‘सुस्ता रक्षा आन्दोलन’ मा पनि धेरै किसान कार्यकर्ताहरू जेल गए र ‘राजकाज मुद्दा’ झेले ।
शिक्षा र सांस्कृतिक आन्दोलन
किसान रात्रि विद्यालय, रात्रि महिला विद्यालय र स–साना नानीहरूको निम्ति किसान कार्यकर्ताहरूले नै पाटी–पौवा र टहरामा, टोलटोल र केही गाउँमा एक कक्षादेखि पढाउने स्कूल सञ्चालन गर्न सुरु गरे । तर, सरकारले धेरै वर्षपछि मात्रै ती विद्यालयहरूमध्ये केहीलाई स्वीकृति दियो ।
रात्रि किसान स्कूलहरूले नयाँ किसान कार्यकर्ताहरूको राजनीतिक चेतनालाई जगाए र भियतनाममा अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा नेपालमा पहिलो भियतनामी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न प्रदर्शनहरू भएका थिए । केही किसान कार्यकर्ताहरू पक्राउ परे, बाँकी कार्यकर्ताहरूले चोक चोकमा भियतनामको फोटो प्रदर्शनीहरू गर्दै गए । त्यसले पनि एक आन्दोलनकै रूप लियो । समाजमा व्याप्त विसङ्गतिविरुद्ध गाईजात्रा र इन्द्रजात्रामा पनि गाईँचा म्ये (व्यङ्ग्य गीत) प्रहसन र प्रगतिशील नाटकहरू टोल–टोलमा मञ्चन भए ।
२०१७ सालपछि राजनीतिक दलहरूमा प्रतिबन्ध लगाइए पनि केही पुराना कम्युनिस्ट नेताहरू जेल गए, केही भारत प्रवासमा गए, केही भूमिगत बसेर तथा बाँकी नेताहरू शिक्षक, पत्रकार र अन्य पेसामा लागे । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलन एक प्रकारले विश्रृङ्खलित भयो ।
भक्तपुरमा पुराना मठमन्दिर जीर्णोद्धार गर्न किसानहरूको घर–घर र टोल–टोलमा पनि चर्पी बनाउने र ढल बनाउन ‘जर्मन प्रोजेक्ट’ को तर्फबाट सरकारले काम सुरु ग¥यो । त्यसको निम्ति जर्मन प्रोजेक्टमा नेपाली अधिकारीहरू र जर्मन प्राविधिकहरू मिलेर काम सुरु गर्दा इँटाको काम गर्ने आवश्यक डकर्मी र सिकर्मीहरूलाई काम दिन थाले । त्यसमा टोलटोलका धेरै कामदारहरूले तालिम र काम पाए । पहिले नगरभित्र खुला रक्सीको भट्टी पसल थिएन तर ज्यामीहरूले दिउँसो खाजा खाने चोकचोक र गल्ली–गल्लीमा भट्टीहरू खोल्न थाले ।
जर्मन प्रोजेक्टलाई आवश्यक इँटाहरू पाउन धनी किसान र मध्यम किसानका युवाहरूलाई इँटाभट्टाहरू बनाउन उत्साहित गरियो । यसरी भक्तपुरमा ठुलठुला इँटाका मालिकहरू नै ट्रक ड्रात्र र पछि ट्रक र बसका मालिक पनि बन्न थाले । काठमाडौँ उपत्यकामा जिल्ला–जिल्लाबाट जनसङ्ख्या बढाउने सरकारहरूको नीतिले पचहत्तरै जिल्लाका शोषक, सामन्त, साहुमहाजन र जालीफटाहाहरूबाट उपत्यका भर्दै गयो । अपराधको सङ्ख्या पनि बढ्दै गयो । घर जग्गाको व्यापारले नयाँ व्यापारीहरूको असङ्ख्य समूहहरू देखिए । उपत्यकाका अन्य ठाउँ जस्तै भक्तपुरको जग्गाको मूल्य पनि बढ्यो र सहर तथा गाउँमा पनि निर्माण कार्यहरू बढे । निजी कारहरू राख्न सक्ने हजारौँ परिवार भक्तपुरमा पनि देखिए । नयाँ पुस्ताका धनी र मध्यम किसानका छोराछोरीहरू पनि जग्गा बेचेको रकमले उद्योग र व्यापारी भए, डाक्टर, इन्जिनियर र प्राध्यापकहरू बने । तीमध्ये केही राजनीतिमा लागेका हुनाले भक्तपुरको राजनीतिमा पुँजीवादको छायाँ पर्नु अस्वाभाविक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *