लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस अहिले कठिन अवस्था उभिएको छ । नेकाको विशेष अधिवेशनले युवा नेता गगन थापालाई सभापतिमा निर्वाचित गरी विजयोत्सव मनाइरहेको बेला नेकाको केन्द्रीय कार्य सम्पादन समितिले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको सूचना बाहिर आएपछि नेका सङ्कटमा उभिएको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । यतिबेला कुन काङ्ग्रेस वैधानिक भन्ने प्रश्न तेर्सिएको छ । केन्द्रीय कार्य समितिले पुरानै समितिलाई वैध मानेको छ भने विशेष अधिवेशनले निर्वाचित केन्द्रीय समितिलाई वैध मानेको छ । दुवै पक्षको यो दाबीले नेकाका नेता तथा कार्यकर्ताहरू अन्योल र धर्मसङ्कटमा परेका छन् । कानुनविद् तथा राजनीतिक विश्लेषकहरूका अनुसार कुन काङ्ग्रेस वैध र अवैधबारे निर्वाचन आयोगले छिनोफानो गर्नेछ । माघको पहिलो साता या माघ ६ गते प्रतिनिधिसभामा सदस्य उम्मेदवार दर्ता गर्ने अन्तिम समय भएको हुँदा कसको सिफारिसमा सांसद उम्मेदवारको टिकट काट्ने भन्ने अर्को अन्योल सिर्जना भएको छ । त्यस अवधिसम्ममा नेकाको दुवै पक्षबिच सहमति भएन भने नेका नेता तथा कार्यकर्ताहरूमा द्विविधामात्र होइन दुई पक्षबिच कार्यकर्ता कार्यकर्ता झगडा हुने सम्भावना हुन्छ ।
राजनीतिक विश्लेषकहरू नेका फुटेको बताउँछन् । नेकाको दुवै पक्षले नेका कुनै हालतमा विभाजन नहुने दृढता व्यक्त गरिरहेको बेला एक पक्षले देउवाको नेतृत्वमा रहेको नेकालाई बेवास्ता गरेर विशेष महाधिवेशनले अर्को नयाँ कार्य समिति गठन गरेपछि र देउवा पक्षको केन्द्रीय समितिले नयाँ कार्य समितिका सभापति र उपसभापतिलाई कारबाही गरेको कारण पार्टी विभाजन भएको विचार सतहमा आएको हो । नयाँ कार्य समिति गठन भएलगत्तै पहिलो चरणमै सानेपास्थित नेकाको केन्द्रीय कार्यालयबारे दुई पक्षबिच विवाद निम्तिने लक्षण देखिएको छ । गगन–विश्व पक्षले सानेपाको केन्द्रीय कार्यालय खाली गर भन्दै नारा जुलुस ग¥यो भने देउवा पक्षका युवाहरू सुरक्षाको निम्ति कार्यालयमा घेराउ गरेर बसे । केन्द्रीय कार्यालयमा अहिले उठेको विवाद जिल्ला–जिल्लाको कार्यालयमा सर्नेछ । संस्थापन पक्षले गरेको कारबाही सही हो कि गगन–विश्व पक्षले देउवाको नेतृत्वमा रहेको कार्यसमिति अब छैन भन्ने तर्क ठीक हो ? कतै यी दुई पक्षको विवाद जिल्ला हुँदै नगर र गाउँ–गाउँको वडा–वडामा पुग्ने त होइन ?
पुरानो र प्रजातान्त्रिक भनिने नेकामा अलग अलग पार्टी अस्तित्वको निम्ति तँछाडमछाड किन भयो ? यसमा कसको हात छ भन्ने अर्को प्रश्न राजनीतिक वृत्तमा उठेको छ । जेन–जीको जुलुस र जुलुसको क्रममा भएको तोडफोड र आगजनीमा विदेशीको हात भएझैँ नेकाको यो विवादमा पनि विदेशीको हात हुनसक्ने विश्लेषण गरिन थालेको छ । अमेरिकाले पेलेको हो कि भारतले पेलेको हो भन्ने प्रश्न पनि उठेको छ । कुन पक्षीय काङ्ग्रेसलाई अमेरिका र भारतले दबाब दिएको हो ? घटनाक्रमले पुस्टि हुँदै जानेछ । काङ्ग्रेसको संस्थापन पक्ष र गगन पक्षबिचको यो शक्ति सङ्घर्षले राजनीतिक जटिलतातर्फ धकेलिएको यी दुईको बिचमा बस्ने नेकाका नेताहरू बताउँछन् । ‘सानेपा खाली गर’ र ‘सानेपामा छिर्न पाउँदैन’ भन्ने सन्दर्भमा नेकाका युवाहरू नाराबाजी गर्दै छन् । शक्ति सङ्घर्षले नेतृत्व फाल्ने र बनाउने यो खेलको राजनीति हतपती समाधान हुने देखिँदैन ।
नेकाको दुई पक्षबिच चर्किने अर्को विवाद प्रतिनिधिसभा सदस्य छान्ने सम्बन्धमा हुनेछ । उम्मेदवारी चयन कुन पार्टीले गर्ने ? कुन पार्टीले गरेको वैध मान्ने ? एकले छानेको उम्मेदवारी अर्कोलाई मान्ने स्थिति हुँदैन । के अबको निर्वाचनमा दुवै पक्ष एक ढिक्का भएर जानसक्छ ? वैध कुन पार्टी हो भन्ने निर्णय निर्वाचन आयोगले कहिले गर्ने हो ? निर्वाचन आयोगले टुङ्ग्याउँछ कि टुङ्ग्याउँदैन ? टुङ्ग्याउने निर्णय ढिलो भयो भने उम्मेदवारी चयनको स्थिति के होला ? यी सबै कुरामा कति नेता तथा कार्यकर्ताहरू अझै अन्योलमा छन् । निर्वाचन आयोगले फैसला नगरेमा या गरे पनि चित्त नबुझ्ने पक्षले अदालतमा उजुरी हाल्ने कुरा पनि बाहिर आएकोे छ । बहुमतले गरेको निर्णय आत्मसात गर्ने कि देउवा पक्षको समितिले गरेको निर्णय स्वीकार्य भन्ने टुङ्गो नलागेसम्म विवाद सुल्झिने स्थिति छैन । त्यसभित्र नेकाको दुवै पक्षले के कस्तो रूप लिने हो ? कस्तो कार्यशैली अपनाउने हो ? त्यो समयले बताउनेछ । देउवा पक्ष गल्ने हो कि विशेष अधिवेशन पक्ष गल्ने हो ? त्यो पनि समयले देखाउनेछ ।
Leave a Reply