भर्खरै :

भेनेजुयला सुरुआत हो ट्रम्पका ध्वंसहरू बाँकी छन्

भेनेजुयला सुरुआत हो ट्रम्पका ध्वंसहरू बाँकी छन्

अमेरिकी बमवर्षाले भेनेजुयलाको क्षितिज धपक्क बलिरहँदा हामी एउटा पतनोन्मुख साम्राज्यका रुग्ण लक्षणसँग साक्षात्कार गरिरहेका थियौँ । पङ्क्तिकारको यो कथन अनौठो र असङ्गत प्रतीत हुनसक्छ । किनभने, अमेरिकाले भेनेजुयलाको नेतालाई अपहरण गरेको छ र डोनाल्ड ट्रम्पले ‘अब भेनेजुयला म चलाउँछु’ भन्ने घोषणा गरेका छन् । निःसन्देह यो पतन कम, उन्माद बेसी लाग्छ । आफ्नै शक्तिको मादकतामा चुर महाशक्तिको उन्माद !
गुण भन्न मिल्ने हो भने ट्रम्पको एउटा मज्जाको गुण छ । त्यो हो, स्पष्टवादिता । पहिलेका अमेरिकी राष्ट्रपतिहरू नाङ्गो स्वार्थको लाज ढाक्न ‘लोकतन्त्र’ र ‘मानवअधिकार’ को भाषा प्रयोग गर्थे । ट्रम्पलाई भने यस्तो ढाक्ने÷छोप्ने लँगौटी धारण गर्नु छैन । सन् २०२३ मा उनले भनेका थिए, “मैले ह्वाइटहाउस छोड्दा भेनेजुयला ढल्न ठिक्क परेको थियो । हामी त्यो देश कब्जा गर्न सक्थ्यौँ, त्यहाँको भएभरको तेल कब्जा गर्न सक्थ्यौँ । आफ्नै घरको वल्लातिर यी सारा कुरा गर्न सकिन्थ्यो ।” यो तात्तातो टिप्पणी थिएन । तेल हत्याउने तर्कका अतिरिक्त अन्य धेरै विषय ट्रम्पको ताजा प्रकाशित राष्ट्रिय सुरक्षा रणनीतिमा प्रस्टतः व्यक्त छन् ।
राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी दस्ताबेजले वासिङटनमा लामो समयदेखि अस्वीकार गरिँदै आएको एउटा कुरा स्वीकार्छ – अमेरिकी वैश्विक वर्चस्व एकादेशको कथा भइसक्यो । ‘शीतयुद्धको अन्त्यपछि अमेरिकी विदेश नीतिका हर्ताकर्ताहरूले सम्पूर्ण संसारमाथि स्थायी अमेरिकी वर्चस्व हाम्रो देशको सर्वाेच्च हितमा छ भनेर स्वयम्लाई विश्वस्त तुल्याए,’ दस्ताबेजले खुलमखुला भत्र्सना गर्दै भनेको छ, ‘सम्पूर्ण विश्व व्यवस्थालाई भीमकाय एटलासले झैँ काँध थाप्ने अमेरिकाको दिन गइसक्यो ।’ यस घोषणामार्फत राष्ट्रिय सुरक्षा रणनीतिले अमेरिकी महाशक्ति हैसियतको अप्रत्याशित अन्त्येष्टि–अनुष्ठान सम्पन्न गरेको छ ।
महाशक्तिको ठाउँ अहिले प्रतिद्वन्द्वी साम्राज्यहरूले लिएका छन् । प्रत्येक साम्राज्य आफ्नो प्रभाव क्षेत्र बलियो बनाउन खोजिरहेको छ । संयुक्त राज्य अमेरिकाको लागि त्यो क्षेत्र भनेको उत्तर, मध्य र दक्षिण अमेरिका हो । ‘वर्षाैँसम्म मुनरो सिद्धान्तलाई उपेक्षा गरियो,’ ट्रम्पको सुरक्षा रणनीतिको निक्र्याेल छ । यसले ‘पश्चिमी गोलाद्र्धमा अमेरिकी श्रेष्ठता पुनःस्थापित गर्न अमेरिकाले मुनरो सिद्धान्त पुनः दृढतापूर्वक लागू गर्ने’ घोषणा गरेको छ । सन् १८२३ मा प्रतिपादित मुनरो सिद्धान्तको दाबी थियो, यसले युरोपेली उपनिवेशवादको बाटो छेक्ने छ । तर, व्यवहारतः यसले ल्याटिन अमेरिकी छिमेकमा अमेरिकी वर्चस्वको जग हाल्ने काम ग¥यो ।
ल्याटिन अमेरिकामा वासिङटन–सहजीकृत हिंसा कुनै नौलो कुरो होइन । पङ्क्तिकारका आमाबुबा चिलीको दक्षिणपन्थी तानाशाहीबाट उम्किन शरणार्थी बन्न बाध्य भएका थिए । सन् १९७३ मा सीआईए–समर्थित ‘कू’ मार्फत समाजवादी राष्ट्रपति साल्भाडोर आएन्देको तख्ता पल्टाएपछि त्यहाँ अमेरिकाले तानाशाही रोप्यो । ‘कुनै देश त्यहाँका जनताको गैरजिम्मेवारी र निकम्मापनका कारण कम्युनिस्ट बनेको तमासा हामीले किन हेर्नुपर्ने हो, म बुझ्दिनँ,’ तत्कालीन विदेशमन्त्री हेनरी किसिन्जरले हाकाहाकी भनेका थिए । यही तर्कको सहारामा अमेरिकाले ब्राजिल, अर्जेन्टिना, उरुग्वे, पाराग्वे र बोलिभियाजस्ता देशका साथै मध्य अमेरिका र क्यारेबियन क्षेत्रका हत्यारा र रक्तपिपासु शासनलाई समर्थन गरिरह्यो ।
तर, विगत तीन दशकमा त्यो अमेरिकी वर्चस्वले चुनौती खेपिरहेको छ । उदाहरणार्थ, तथाकथित ‘गुलाबी ज्वार’ लाई लिऊँ । ब्राजिली राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले नेतृत्व गरेको ‘गुलाबी ज्वार’ ल्याटिन अमेरिकाका प्रगतिशील तथा वामपन्थ–झुकावी सरकारहरूको अभियान थियो, जसले बृहत्तर क्षेत्रीय स्वतन्त्रतामा जोड दिन्थ्यो । अमेरिकी प्रभुत्वलाई अर्काे कडा चुनौती चीनले दियो, जो अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी हो । दक्षिण अमेरिकाभरि उसले आफ्नो शक्ति र प्रभाव विस्तार गरिरहेको छ । चीन र ल्याटिन अमेरिकाबिचको दुईतर्फी वस्तु व्यापार सन् १९९० मा जति थियो, सन् २०२३ मा त्यसको २ सय ५९ गुणा ठुलो थियो । हाल चीन दक्षिण अमेरिका महादेशको दोस्रो ठुलो व्यापार साझेदार हो । ऊ अमेरिकाभन्दा एक कदम मात्र पछाडि छ । शीतयुद्धको अन्त्यताका दक्षिण अमेरिकासँग बृहत् व्यापार गर्ने शीर्ष १० देशको सूचीमा पनि चीन पर्दैनथ्यो । भेनेजुयलामाथि ट्रम्पको आक्रमण यो समग्र प्रक्रिया उल्ट्याउने खेलको सुरुवाती चाल मात्र हो ।
ट्रम्पको पहिलो कार्यकालको अनुभवले धेरैलाई कुन निष्कर्षमा पु¥यायो भने ह्वाइटहाउसको पहलमान् त धम्की दिनलाई मात्रै पहलमान् रहेछन् । तत्पश्चात्, ट्रम्पले परम्परागत रिपब्लिकन सम्भ्रान्तहरूसँग एउटा सहमति गरे । त्यो अलिखित सम्झौता स्पष्ट थियो – ट्रम्पले कर कटौती र विनियमन लागू गर्ने र उनीहरूले ट्रम्पको हाइहाइ गर्ने । त्यसपछि उनीे सामाजिक सञ्जालमा अविराम बकबास गर्न स्वतन्त्र थिए ।
ट्रम्पको दोस्रो कार्यकाल सम्पूर्णतः चरम दक्षिणपन्थी राज हो ।
जब उनी कोलम्बिया र मेक्सिकोका लोकतान्त्रिक तवरले निर्वाचित राष्ट्रपतिहरूलाई खुलेआम धम्काउँछन्, विश्वास गर्नुहोस्, उनले यत्तिकै धम्काएका होइनन् । जब उनी मुख मिठ्याउँदै घोषणा गर्छन्, ‘क्युवा ढल्न ठिक्क परेको छ,’ उनलाई विश्वास गर्नुहोस् । जब उनी भन्छन्, ‘हामीलाई हर हालतमा ग्रिनल्यान्ड चाहिएको छ,’ उनलाई विश्वास गर्नुहोस् । उनी साँच्चै नै २० लाख वर्ग किलोमिटरभन्दा बेसी युरोपेली भूभाग अमेरिकामा गाभ्न उद्यत छन् ।
ट्रम्पेली साम्राज्यले ग्रिनल्यान्ड निल्यो भने के हुन्छ ? भेनेजुयलामाथिको निर्लज्ज अवैध आक्रमणप्रति युरोपेलीहरूको टिठलाग्दो कमजोर प्रतिक्रियालाई उनले मनन गरेकै होलान् । डेनिस सार्वभौम भूभागमाथि अमेरिकाले कब्जा जमायो भने त्यो सामूहिक प्रतिरक्षा सिद्धान्तअन्तर्गत स्थापित नाटोको अन्त्यको जनाउ हुनेछ । रुसले युक्रेन खाएजत्तिकै सरमहीन तवरले डेनमार्कको भूमि लुटिने छ । लन्डन, पेरिस वा बर्लिनबाट जेजति मौन स्वरहरू सतहमा आऊन्, पश्चिमी गठबन्धन मृत हुनेछ ।
सोभियत सङ्घको पतनपछि अमेरिकी कुलीनवर्गले दुइटा मान्यतामा आफूलाई विश्वस्त तुल्यायो । एक, अमेरिका सैन्यशक्तिका हिसाबले अपराजय छ र दुई, उसको आर्थिक मोडलले मानव विकासको अन्तिम चरण अङ्कित गरेको छ । यही अहम्त्याइँले अमेरिकालाई इराक, अफगानिस्तान र लिबियामा घोर विफलता मात्र दिलाएन, सन् २००८ को वित्तीय सङ्कटमा पनि पु¥यायो । अमेरिकी सम्भ्रान्तहरूले जनतालाई आदर्शलोकीय सपना बाँड्दै एकपछि अर्काे विपत्तिमा घिसारिरहे । स्वयम् ट्रम्पवाद आम मोहभङ्गता र निराशाबाट जन्मिएको थियो । ट्रम्पको ‘अमेरिका प्रथम’ वा ‘अमेरिकाको हित सर्वाेपरि’ नीति थियो, अमेरिकी पतनप्रतिको प्रतिक्रिया । पश्चिमी गोलाद्र्धीय साम्राज्यको पक्षमा वैश्विक प्रभुत्व त्याग्नु त्यो प्रतिक्रिया थियो ।
पश्चिमी गोलाद्र्धमा साम्राज्य फैलाउने नीतिले अन्ततः अमेरिकालाई कहाँ पु¥याउँछ ? उन्नाइसौँ शताब्दीको अन्त्यतिर अमेरिकाले स्पेनलाई पराजित गरेर फिलिपिन्स कब्जा गरेपछि त्यस समयका विख्यात अमेरिकीहरू (लेखक मार्क ट्वेनलगायत) ले अमेरिकी साम्राज्यवादविरोधी सङ्घ स्थापना गरेका थिए । ‘हाम्रो धारणा छ, साम्राज्यवाद नामक नीति स्वतन्त्रताको वैरी हो र यो सैन्यवादतर्फ उन्मुख हुन्छ,’ उनीहरूको घोषणा थियो, ‘यस्तो दुष्टताबाट मुक्त हुनु हाम्रो गौरव रहिआएको छ ।’
सन् १९०० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीले घोषणा गरेको थियो, “कुनै पनि राष्ट्र आधा गणतन्त्र र आधा साम्राज्य भएर दीर्घजीवी हुन सक्दैन । हामी अमेरिकी जनतालाई सजग गराउन चाहन्छौँ, अन्यत्र फैलाइएको साम्राज्यवादले देशलाई द्रुतगतिमा र अनिवार्यतः तानाशाही र निरङ्कुशतातर्फ धकेल्छ ।” अन्ततः प्रत्यक्ष उपनिवेशवादको स्थान अनौपचारिक साम्राज्यले लियो र सर्वदा गम्भीर रूपले त्रुटिपूर्ण अमेरिकी लोकतन्त्र टिकिरह्यो ।
सवा शताब्दीअघि डेमोक्र्याटिक पार्टीले दिएको चेतावनीलाई आज कसले अतिरञ्जना ठानेर खारेज गर्ला ? देशबाहिर जे हुन्छ, देशभित्र पनि त्यही हुने हो । यसलाई मार्टिनिकन लेखक एमे सिजेअरले पौने शताब्दीअघि नै ‘साम्राज्यवादी बुम¥याङ’ भनेका थिए । उनले युरोपेली उपनिवेशवाद कसरी फासीवादका रूपमा युरोप महादेशमै फर्किएको थियो भन्ने विश्लेषण गरेका थिए । हामीले ‘आतङ्कवादविरोधी युद्ध’ मा यस्तो बुम¥याङ अर्थात् प्रत्यावर्तन देखिसकेका छौँ । यसको भाषा र तर्कलाई घरेलु दमनको निम्ति पुनर्अङ्गीकार गरियो । गत गृष्ममा ट्रम्पका डेपुटी चिफ अफ स्टाफ स्टिफेन मिलरले भनेका थिए, ‘डेमोक्र्याटिक पार्टी राजनीतिक पार्टी नै होइन । यो त घरेलु चरमपन्थी सङ्गठन हो ।’ डेमोक्र्याटिक पार्टी सत्तासीन भएका सहरहरूमा राष्ट्रिय सुरक्षा फौज खटाइन्छ । यसले कुनै बेला अफगानिस्तान र इराकमा कब्जा गर्न सेनाको उपस्थिति वृद्धि गरेको झल्को दिन्छ ।
यस दृष्टिकोणले युक्रेनमा रुसी महत्वाकाङ्क्षाप्रति ट्रम्पको नरम भाव र उदारतामा कुनै रहस्य छैन । सुनिएअनुसार सन् २०१९ मा रुसले अमेरिकासमक्ष एउटा प्रस्ताव राखेको थियो । युक्रेनबाट पछि हट्ने हो भने अमेरिकाले भेनेजुयलामा प्रभाव विस्तार गर्दा रुसलाई आपत्ति हुने छैन । के थाहा, यी दुईबिच यस्तो सम्झौता भएकै थियो कि ? सत्य के हो भने नयाँ विश्व व्यवस्थाको जन्म हुँदै छ । त्यस्तो विश्व व्यवस्था† जहाँ उत्तरोत्तर अधिनायकवादी शक्तिले छिमेकी देशलाई अधीनस्थ राख्न र उसको संसाधन हडप्न नृशंस बल प्रयोग गर्छ । उहिले जो दुःखदायी कल्पनाजस्तो लाग्थ्यो, अहिले त्यसैको खुलेआम विन्यास गरिँदै छ । प्रश्न यत्ति हो, यसविरुद्ध लड्नका लागि हामीसँग साधन, सामथ्र्य र तत्परता छ त ?
(ब्रिटिस पत्रकार तथा लेखक जोन्सका ‘चाभास : द डिमोनाइजेसन अफ द वर्किङ क्लास’, ‘दी अल्टरनेटिभ : एन्ड हाउ वी बिल्ड इट’ लगायत किताब प्रकाशित छन् ।)
– ‘द गार्डियन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *