भर्खरै :

इरानमा उपद्रोपछाडि अमेरिका र इजरायलको हात

इरानमा उपद्रोपछाडि अमेरिका र इजरायलको हात

जनवरी १७ । इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनीले इरानमा हप्ताभर चलेको सरकारविरोधी प्रदर्शनमा ‘हजारौँ मानिस’ मारिनुमा संरा अमेरिका र इजरायल दोषी रहेको बताए ।
दुई साताअघि इरानमा सुरु भएको विरोध प्रदर्शनबारे शनिबार एक कार्यक्रममा बोल्दै खामेनीले भने, “इजरायल र संरा अमेरिकासँग जोडिएका मानिसहरूकै कारण ठुलो विध्वंस भयो र कैयन हजार (प्रदर्शनकारीहरू) मारिए ।”
उनले दङ्गामा अमेरिका र इजरायलको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘आपराधिक’ भने । इरानको सरकारी सञ्चार माध्यमले उनलाई उद्धृत गर्दै लेख्यो, “हालै भएको इरानविरोधी भड्काउ के मानेमा फरक छ भने यसमा अमेरिकी राष्ट्रपति व्यक्तिगत रूपमै संलग्न थिए ।”
इरानी अधिकारीहरूले बारम्बार देशमा हुने अस्थिरताका लागि विदेशी शक्तितिर औँला उठाउँदै आएका छन् । खासगरी उनीहरूले पुराना भूराजनीतिक प्रतिद्वन्द्वीहरू इजरायल र अमेरिकाले आफ्नो देशमा अस्थिरतालाई मलजल गर्ने र इरानभित्र प्रत्यक्ष कारबाही गर्ने गरेको बताउने गर्छन् ।
इरानले आफ्नो सीमाभन्दा बाहिर गएर तनाव नचर्काउने तर आफ्नो देशभित्र दङ्गा भड्काउने दोषीहरूले परिणाम भोग्नुपर्ने खामेनीले चेतावनी दिए । उनले भने, “हामीले देशलाई युद्धमा होम्नेछैनौँ तर स्वदेशी र विदेशी अपराधीहरूलाई हामीले बिनासजाय यत्तिकै छोड्नेछैनौँ ।”
तेहरानबाट भूउपग्रहमार्फत बोल्दै अल जजिराका संवाददाता रसुल सरदारले खामेनीले इरानको अडानलाई पुनः दोहो¥याएको र दङ्गामा भएको जनधनको क्षतिबारे फरक दाबी गरेको बताए ।
खामेनीले पुराना प्रदर्शनहरूको दाँजोमा यसपालि अमेरिकी संलग्नता अझ गहिरो रहेको आरोप लगाए । सरदार भन्छन्, “उनले अघिल्ला प्रदर्शनहरूमा अमेरिकी हस्तक्षेप न्यून हुन्थ्यो तर यसपालि अमेरिकी राष्ट्रपतिले नै इरानविरुद्ध यो अन्तर्राष्ट्रिय षड्यन्त्रमा केन्द्रीय भूमिका खेले ।”
तर, सबैभन्दा महत्वपूर्ण पक्ष मृतक सङ्ख्या रह्यो । सरदार भन्छन्, “उनको मन्तव्यको महत्वपूर्ण पक्ष के भने पहिलोपल्ट उनले मृतक सङ्ख्याको एउटा सङ्केत दिए । उनले दङ्गाकारीहरूले हजारौँ सर्वसाधरणको हत्या गरेको बताए ।”
मृतक सङ्ख्या अझै पनि यकिनसाथ भन्ने स्थिति छैन । तैपनि, अमेरिकाको एक मानव अधिकारवादी संस्था ‘ह्राना’ को अकलनअनुसार विरोध प्रदर्शनमा झन्डै ३ हजारको मृत्यु भएको छ । हालसम्म इरानी अधिकारीहरूले सयौँको हाराहारीमा मृत्यु भएको बताएका छन् । इरानी सुरक्षा निकायको दाबी पनि यस्तै छ ।
खामेनीको दाबी खासमा यसबारे इरानका सर्वोच्च अधिकारीले गरेको पहिलो दाबी हो । उनले मृतक सङ्ख्या हजारौँ रहेको बताए ।
सरदारले बताएअनुसार खामेनीको भनाइ केही अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको दाबीसँग अलिकति भए पनि मिल्छ । सरदारले भने, “ती संस्थाहरूले मृतक सङ्ख्या इरानी अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकारेको भन्दा बढी भएको बताउँदै आएका छन् ।”
इरानी अधिकारीहरूले ३ हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको बताउँछन् ।
खामेनीले प्रदर्शनकारीहरूले ठुलो आकारमा विध्वंस मच्चाएको आरोप पनि लगाएका छन् । ‘२५० मस्जिद र अस्पतालहरूमा आगजनी गरिएको’ सरदारले बताए ।
इरानको आधिकारिक धारणाअनुसार डिसेम्बर २८ गते इरानका विभिन्न सहरहरूमा आर्थिक कठिनाइ र बढ्दो महँगीका कारण शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो ।
सरदार भन्छन्, “सरकारले उनीहरूको माग र उनीहरूले भोगिरहेको कठिनाइलाई सही मानिरहेको पनि थियो ।” तर, पछि ती प्रदर्शनहरूमा ‘बाह्य शक्तिबाट आदेश लिने हिंस्रक प्रदर्शनकारीहरू हाबी भएको’ सरकारी अधिकारीहरूको तर्क छ ।
इरानी अधिकारीहरूले दङ्गाकारीहरूलाई विदेशी शक्तिले ‘हतियार, खर्च र तालिम दिएको’ दाबी गरे । सर्वोच्च नेता खामेनीले त ट्रम्प नै ‘यो षड्यन्त्रको केन्द्रमा’ रहेको बताए ।
इरानको अर्धसरकारी समाचार संस्था ‘फार्स’ का अनुसार इरानी अधिकारीहरूले चरणबद्ध रूपमा पुनः देशभरि ‘एसएमएस’ सेवा सुरु बनाएको बताए । इरानमा दङ्गा भड्केपछि आठ दिनसम्म इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
(स्रोत : अलजजीरा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *